आइपिओ जारी गर्ने नेपालको पहिलो मिडिया ‘नागरिक’ को प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडियाले केही दिनअघि दोस्रो त्रैमासिक अवधिको रिपोर्ट सार्वजनिक गरेको छ। पब्लिक कम्पनी भएपछि हरेक तीन तीन महिनामा आर्थिक हिसाबकिताब सार्वजनिक गर्नुपर्छ। दोस्रो बजारमा भाउ साढे तीन गुणा बढी भए पनि यो कम्पनीले नाफा कमाउने कुनै सम्भावना देखिँदैन। के के देखिन्छ त हिसाबकिताबमा ? आउनुस् केही सीए सापहरुसँगको कुराकानीका आधारमा तयार पारिएको यो ब्लग पढौँ।
हेर्नुस् नेप्सेको वेबसाइटमा कम्पनीले राखेको प्रतिवेदन
नेपाल रिपब्लिक मिडियाले प्रकाशन गरेको यो तथ्याङ्कमा मितिसहितको तीन वटा कोलम रहेका छन्। त्यसमा As on Jan 14, 2024 अर्थात् २०८० पुस मसान्त भन्ने एउटा रहेको छ।
त्यसैगरी २०८० असोज मसान्तको दोस्रो कोलम र २०७९ पुस मसान्तको तेस्रो कोलम देख्न सकिन्छ।
यसबाट के हेर्न सकिन्छ भने कम्पनीको सम्पति र दायित्व अस्तिको असोज मसान्तमा कति थियो र अहिले तीन महिना पछि पुस मसान्तमा कति छ ? अर्थात् तीन महिनामा कति परिवर्तन आयो भनेर यसमा हेर्न सकिन्छ।
तेस्रो तथा अन्तिम कोलमबाट चाहिँ गत वर्षको पुस मसान्तमा कति थियो भनेर तुलना गर्न पाइने भयो।
यसरी तीन वटा डेटाको तुलना गर्न सकियो।
अब सार्वजनिक तथ्याङ्कलाई हेर्दा अस्ति असोजमा यो कम्पनीको सम्पति ५३ करोड ९७ लाखको सम्पति थियो, अहिले आएर यो बढेर ५७ करोड २७ लाख चानचुन भएको छ।
मतलब झण्डै तीन करोड २९ लाखको सम्पति थपिएको छ। सम्पति र दायित्व बराबर नभई हिसाब नमिल्ने भएकोले दायित्व पनि बढेको छ, त्यसैले सम्पत्ति बढ्यो भन्दैमा मख्ख परिहल्नु पर्ने केही छैन ! त्यो सम्पत्ति कसरी बढेको हो, मुख्य कुरा चाही त्यो हो !
यसमा उल्लेखनीय कुरा जस्तै व्यापार नै बढ्ने गरी केही सम्पति जस्तै प्रेस वा त्यस्तै केही सामान थपेको भए अलग कुरा भयो, होइन भने यसमा शंका गर्न सकिन्छ। मैले सिए सापहरुसँग बुझे अनुसार सञ्चालकको सुविधाका लागि महँगो विलासी गाडी खरिद गरेको भए पनि देखिने यही हिसाबमा हो। माथिको कोलममा Property, Plant and Equipment को हिसाब हेर्नुस्।
त्यसैगरी तल पट्टी Notes को कोलममा २८ नम्बरमा राखिएको Depreciation शीर्षकको हिसाब हेर्नुस् त।
यसमा एक करोड ४ लाख ६८ हजार १२२ पुस मसान्तमा देखिएको छ भने त्यसमा असोज मसान्तको ५७ लाख माइनस गर्दा झण्डै ४७ लाख देखिन्छ।
मानौँ केही पनि नथपिएको भए माथि तीन नम्बरको नोटको फिगरमा ५३ करोड ९७ लाख नभएर तलको ४७ लाखको फिगर घटेर देखिन्थ्यो। त्यो नभएको हुनाले ३ करोडभन्दा माथिकै सामान थपिएको प्रष्ट हुन्छ।
४ नम्बरमा रहेको Intangible Assets भन्ने चाहिँ १६ लाखबाट ३६ लाख पुगेको चाहिँ २० लाख रुपैयाँको कुनै सफ्टवेयरहरु डेभलप गरेको या वेबसाइट/सर्भर इम्प्रुभमेन्टका लागि गरेको खर्च हुनसक्छ। Intangible Assets भनेको छुन नसकिने तर सम्पति हो। यो चाहिँ दुरुपयोग हुने खालको होइन। अघिको माथिको Property, Plant and Equipment मा चाहिँ सञ्चालकहरुको सुविधाका लागि गाडी किन्ने जस्तो कुरामा पनि दुरुपयोग हुनसक्ने सम्भावना हुन्छ।
१० नम्बरको नोटमा रहेको Trade and Other Receivables मा भने कम्पनीले प्रगति गरेको देखिन्छ। तीन महिनाअघि असोज मसान्तसम्म ४५ करोड उठाउन बाँकी रहेकोमा अहिले त्यो घटेर ४४ करोड भएको छ। अर्थात् तीन महिनामा एक करोड जति उठाउनु पर्ने पुरानो रकम चाहिँ उठाएछ।
खै त ऋण तिरेको ?
रोचक चाहिँ के देखियो भने आइपिओ निकाल्दा कम्पनीले सार्वजनिक गरेको विवरणपत्र र आह्वानपत्रमा IPO बिक्रीबाट कूल ४३ करोड ५३ लाख रुपैयाँ प्राप्त गर्ने र सो रकम केमा खर्च गर्ने भनेर योजना पनि उल्लेख थियो। त्यसमा ७१ प्रतिशत रकम ऋण तिर्न उपयोग हुनेछ लेखिएको थियो।
यस अनुसार साबिकको मेगा बैँक (हाल मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैँक) मा २७ करोड ऋण बाँकी रहेछ। IPO खोलेर सर्वसाधारणबाट पैसा उठाएपछि यो बैँकको सबै ऋण तिर्ने योजना त्यसमा उल्लेख थियो।
तर अहिले सार्वजनिक भएको हिसाब हेर्दा कम्पनीले ऋण नतिरेर बैँङ्कमा पैसा राखेको देखियो।
यो देखिन्छ ११ नम्बरको नोटमा Cash and Cash Equivalents मा। त्यसमा पुस मसान्तमा १२ करोड देखिन्छ। जबकि अघिल्लो वर्षको पुस मसान्तमा त्यो २४ लाख रुपैयाँ मात्रै थियो।
१६ नम्बरमा जाउँ अब। Long Term Borrowings शीर्षकको हिसाब हेर्नुभयो भने पोहोर पुस मसान्तसम्म ६ करोड २० लाख रुपैयाँ देखिन्छ। यो भनेको लामो समयका अर्थात एक बर्ष भन्दा बढी समयको लागि लिइएको ऋण हो।
यो रकम अस्ति असोज महिनासम्म आइपुग्दा झन् बढेर २२ करोड ९८ लाख देखिएको छ। मतलब ऋण झन् बढेको छ।
तीन महिनापछि पुस मसान्तसम्म यो ऋण रकम बढेर झण्डै २८ करोड (२७ करोड ९९ लाख) पुगिसकेको छ।
यो ऋण झन् कसरी बढ्यो त ?
के बैँकबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेर यो रकम बढेको हो त ?
त्यस्तो पनि देखिएन। किनभने माथि व्यवस्थापकीय विश्लेषणमा हालसम्म बैँकबाट लिएको ऋणको साँवा तथा ब्याजको भुक्तानी नियमित रुपमा गरेको उल्लेख छ।
साँवा र ब्याज नियमित भुक्तान भएको भए तीन महिनामा झण्डै ६ करोड ऋण कसरी बढ्यो त ? यसको जवाफ पाइन्न।
यसो विचार गर्दा, लामो समयको लागि लिएको ऋण दायित्व गत् पुषको तुलनामा ६ करोड सत्तरी लाखबाट बढेर २८ करोड पुगेको छ अर्थात लामो अबधिको ऋण झन्डै २१ करोडले बढेको छ, त्यस्तै नोट नम्बर २१ मा देखिएको छोटो अवधिको ऋण अर्थात एक बर्ष भन्दा कम अबधिको ऋण गत पुषमा झन्डै २९ करोड रहेकोमा यो पुषमा जम्मा ६ लाखमा सिमित भएको देखिन्छ यसरी दुवै तथ्य सँगै हेर्दा कम्पनीले खुदमा लगभग ८ करोड मात्र ऋण तिरेको देखिन्छ ! अझ यसो भनौ न, एक वर्ष भित्रै तिर्नुपर्ने ऋणलाई लामो अवधिमा तिर्ने गरी बैंकिङ कारोबार मिलाइयो !! त्यसो भए बाँकी पैसा कहाँ गयो ?
उता १२ करोड रुपैयाँ बैँकमा थुपारेर राखेको छ, यता ऋण थपिएको थपियै छ। ऋणको त ब्याज पर्छ। अनि फेरि ऋण तिर्छु भनेर आइपिओबाट ल्याएको पैसो ऋण तिरेको जस्तो देखिएन भन्छन् सीए सापहरु यो स्टेटमेन्ट हेर्दा। के गडबड भएछ त ? कसले खोज्ने ??
कर्मचारीहरुलाई पुरानो तलब पनि नदिएको ?
अब लागौँ २० नम्बरको नोटतर्फ Employment Benefit Liability शीर्षकमा। यो भनेको कर्मचारीहरुलाई तिर्नुपर्ने दायित्त्व हो।
अरु मिडिया जस्तै नेपाल रिपब्लिक मिडियाले पनि आफ्ना पत्रकार र अरु कर्मचारीहरुलाई समयमा तलब दिने गर्दैन।
आइपिओ निकाल्दा त्यहाँका कर्मचारीहरु दङ्ग परेका थिए- यत्रो पैसा आउँछ, जनताको लगानी भित्रिन्छ, अब त नियमित तलब दिन्छ होला ! विवरण पत्रमा कार्यशील पुजीमा उपयोग १.६६ करोडको योजना थियो, त्यो भनेको तिर्नु पर्ने पार्टी, कर्मचारीलाई भुक्तानी दिने भनेको हो !
तर हिसाबले त्यस्तो देखाएन।
पोहोर पुसमा जम्मा ७६ लाख रुपैयाँ तिर्न बाँकी थियो कर्मचारीहरुलाई। गत चैत्र मसान्तमा ..... मा आइपिओ जारी गर्दा सार्वजनिक गरिएको विवरण पत्रमा कर्मचारीहरुलाई दायित्व थियो २ करोड ४३ लाख रुपैयाँ।
अहिलेको पछिल्लो विवरण हेर्दा अझै २ करोड रुपैयाँ कर्मचारीलाई तिर्न बाँकी देखियो।
भनेपछि आइपिओ निकालोस् वा ननिकालोस्, कर्मचारीलाई खासै फाइदाको कुरा भएनछ। त्यसो त कर्मचारीहरुले पनि सेयर त किन्न पाए। तर त्यसबाट लाभांश आउने भन्ने कुरा चाहिँ सुदूरसम्म पनि आशा देखिएको छैन।
नागरिकमा कार्यरत पत्रकारहरुका अनुसार उनीहरुलाई साहुको निजी कम्पनी मातहत रहेको अनलाइनमा काम गर्न बाध्य बनाइएको छ। प्राथमिकता अनलाइनमा दिनु पर्ने भनिएको छ। बिचरा आफै पनि सेयरधनी रहेका कर्मचारी देखादेखी निजी कम्पनी मातहतको अनलाइनमा काम गरिरहेका छन्। अर्थात् आफैले आफैलाई ठगीरहेका छन्।
एआईद्वारा बनाइएको आर्ट
सफेद झुट !
अब हेरौँ २२ नम्बरमा। This Quarter Ending Poush End 2080 भनेको छ महिनाको डेटा हो। अनि त्यो भन्दा उताको Previous Quarter Ending Ashwin End 2080 भनेको चाहिँ साउनदेखि असोजको डेटा हो। यतापट्टी पुसको डेटा भनेको चाहिँ २०७९ साउनदेखि पुसको डेटा हुन्छ।
यहाँ रोचक के छ भने यसको कारोबार अघिल्लो तीन महिनामा साउन-असोज ४ करोड २५ लाख भएको छ। अनि पुस मसान्तसम्म ६ महिनामा चाहिँ ८ करोड ७० लाख भएको छ।
भनेको त्यस्तै चार, साढे चार करोड रुपैयाँ थपियो तीन महिनाको कारोबारमा।
इन्ट्रेस्टिङ के छ त यसमा ?
पोहोरको डेटा हेर्नुभयो भने ०७९/८० को पहिलो ६ महिनामा १५ करोड ७९ लाखको कारोबार भएको छ। यसले पोहोरको तुलनामा ५० प्रतिशतले कारोबार (बिक्री) घटेको देखायो।
तर माथि हेर्नुस् त कारोबार बढेको भनेर घोषणा गरेको छ।
पख्नुस् कपिपेस्ट नै गरिदिन्छु। व्यवस्थापकीय विश्लेषणको २ को (क) लेखिएको पढ्नुस् त- बिक्रीमा केही सुधार देखिएको छ।
यस्तो सफेद झुट लेख्दा पनि कारबाही गर्ने को ?
१५ करोड ७९ लाखको बिक्री ८ करोड ७० लाखमा आउनु भनेको सुधार हुनु हो ?
अब थप अलि तुलना गरेर हेरौँ है त-
पोहोर १५ करोड ७९ लाखको सामान (पत्रिका, विज्ञापन) बेच्दा उसको लागत ३ करोड ६३ लाख पर्यो। यसपालि ८ करोड ७० लाखको बेच्दा उसको लागत २ करोड ८७ लाख परेको छ।
कहाँ गडबड भएछ त ? यसो भएको नि हुन सक्छ, पोहोर आइपिओ निकाल्ने भनेर बढाइचढाइ कारोबार देखाइयो, यो पालि वास्तविक देखियो, तर पोहोरको वास्तविक भन्दा यसपालीको बास्तबिक चाही केहि बढेको हो कि, थाहा छैन.. राम जाने..
पोहोर २३ प्रतिशत मात्रै लागत परेको छ भने अहिले ३३ प्रतिशत।
व्यापारमा १० प्रतिशतले लागत बढ्नु भनेको अस्वभाविक हो।
के भएको होला त ? पोहोर आइपिओ निकाल्ने चक्करमा मिथ्याङ्क प्रस्तुत गर्दा यस्तो भएको हुनसक्छ। किनभने कम्पनीलाई सबै राम्रो देखाउनु थियो। अथवा अरु नै केही गडबड पनि हुनसक्छ।
ऋणको ब्याज
२७ नम्बरको फाइनान्स चार्ज।
पोहोर कम्पनीले २ करोड ९१ लाख ऋणको ब्याज तिरेको थियो। त्यही ऋण र ब्याज बढी भयो भने आइपिओ निकालेको हो। यसपालि हेर्नुस् त १ करोड ७६ लाख छ। भनेको ऋणको ब्याज त कम्पनीले तिरेको तिर्यै छ। आइपिओ निकालेर के ख्याँस्यो त ? खासै म्यानेज भएको त देखिएन।
७८ लाख घाटा
सार्वजनिक हिसाब हेर्दा कम्पनीले पुस मसान्तसम्म ७८ लाख घाटा बेहोरेको देखिन्छ। असोज मसान्तसम्म १ करोड ४१ लाख घाटा थियो। यो तीन महिनामा थप नाफा कमाएको भएर ओभरअलमा यो घाटा कम भएको हो।
यसमा पनि अलि ध्यान दिएर हेर्दा आइपिओ निकाल्दाको खर्च ३८ लाख देखाइएको छ। आइपिओ भनेको सधैँ निकालिने होइन। त्यसैले त्यो कटाउँदा आउने रकम यसको वास्तविक घाटा हुन आउँछ।
व्यवस्थापकीय विश्लेषण सबै गलत
कम्पनीले व्यवस्थापकीय विश्लेषणमा राखेका सबै बूँदा गलत देखिएको छ। विश्लेषणको पहिलो बूँदामा दोस्रो त्रैमासिकमा बिक्रीमा केही सुधार देखिएको लेखेको छ जुन गलत छ।
दोस्रो बूँदामा डिजिटल मिडियामा पनि व्यापार रहेको दावी गरेको छ। तर नागरिकन्युज प्राइभेट कम्पनीको नाममा रहेको देखिन्छ।
तेस्रो बूँदामा रहेको पूर्वेली र पश्चिमेली संस्करणको प्रकाशन उहिल्यै बन्द भइसकेको छ। बन्द भइसकेकोलाई चालु भए जसरी गलत दावी गरिएको छ।
चौथोमा ऋणको ब्याज तथा साँवा भुक्तानी नियमित रुपमा भइरहेको दावी गरिएको छ जुन विवरणमा राखिएको साँवा र ब्याज रकम बढ्दै गएकोबाट गलत पुष्टि हुन्छ।
तर धन्दा नमान्नुस्, कर्नरिङ हुँदासम्म यो कम्पनीको भाउ सेयर बजारमा माथि नै हुनेछ। संस्थापकहरुले सेयर बेच्न नपाउने अर्थात् लक इन अवधि (३ वर्ष) पछि भने सचेत हुनुपर्छ। त्यतिबेला संचालकबाट यिनीहरु हटे भने सतर्क हुनुपर्छ। किनभने संचालकले पदमा बहाल रहेको बेला सेयर बेच्न नपाइने व्यवस्था छ।
नत्र यस्तै हो, अलि पावर भए त पानीपुरी पसलको पनि आइपिओ आउला भन्ने भइसक्यो। कमसेकम पानीपुरी पसलमा नाफा त हुन्छ :)
छुटेका भए यी पुराना ब्लगहरु पढ्नुस्-
यो चाही एनआईसी एशिया का “कुखुराको भाले चुस्ने “, “बिराली चाट्ने ” दुइजिब्रे troll farm का आफ्नै कर्मचारीले लेखेको फेक न्युज जस्तै हो साथीहरु।
यो link मा हेर्नुस कसरि “advertorial” भनेर सानो प्रिन्ट मा लेखेर यी डकैत हरुले फेक न्युज लाइ समाचार जस्तो गरेर प्रेषित गरका छन र कसरी कान्तिपुर ले खुले आम यी “कुखुराको भाले चुस्ने ” एनआईसी एशिया का डकैत हरुलाई खुलेआम यो गर्न दी रहेका छन्
यो चाही एनआईसी एशिया का “कुखुराको भाले चुस्ने “, “बिराली चाट्ने ” दुइजिब्रे troll farm का आफ्नै कर्मचारीले लेखेको फेक न्युज जस्तै हो साथीहरु।
यो link मा हेर्नुस कसरि “advertorial” भनेर सानो प्रिन्ट मा लेखेर यी डकैत हरुले फेक न्युज लाइ समाचार जस्तो गरेर प्रेषित गरका छन र कसरी कान्तिपुर ले खुले आम यी “कुखुराको भाले चुस्ने ” एनआईसी एशिया का डकैत हरुलाई खुलेआम यो गर्न दी रहेका छन्
https://ekantipur.com/advertorial/nic-asia-bank-report-jumps
यो एनआईसी एशिया ले आफ्ना कर्मचारी लाइ लोभ लालच ड़र त्रास धम्कि दिएर सोसल मिडिया मा इनको गुनगान गर्ने , सी इ ओ को निर्लज्ज गुलामी गर्ने वाध्यता सिर्जना गरेको सर्व विदित छ मित्रहरु