Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नागरिक IPO सिरिज ४ : ऋण सबै तिर्ने हो भने पनि घाटा मै हुन्छ कम्पनी !

Posted on May 24, 2023 by Salokya

नेपालको इतिहासमै पहिलो पल्ट कुनै मिडिया कम्पनीले आफ्नो शेयर सर्वसाधारणलाई बिक्री गर्दैछ। ब्रोडसिट दैनिक चलाउने मिडियाको स्वामित्व सर्वसाधारणको हातमा आउन लागेको यो पहिलो अवसर हो।  नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारमा गएकाहरुलाई शेयर बिक्री खुला गरिसक्यो भने सर्वसाधारणका लागि जेठ २६ गतेदेखि खुला गर्दैछ। 

कुनै पनि कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा ‘अनिवार्य रुपमा कम्पनीले तयार पारेको विवरणपत्र पढी स्वविवेकले दरखास्त दिन अनुरोध’ गरिन्छ। तर धेरैलाई विवरणपत्रमा भएका प्राविधिक कुराहरु बुझ्न कठिन छ। माइसंसारले सुरुदेखि नै मिडियाको विषयमा चासो राख्ने भएको कारण यो कम्पनीको विवरणपत्रमा उल्लेख भएका तथ्याङ्कलाई सरल रुपमा बुझाउन सकिन्छ कि भनेर विज्ञहरुकोसितको सहकार्यमा प्रयास गर्दै आएको छ। 

नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीले वैशाख ३१ गते आफ्नै मिडियामा अन्तर्वार्ता दिए। नागरिक दैनिकले त्यसलाई ‘मिडिया व्यवसाय मात्र होइन, सत्कार्य पनि हो’ शीर्षकमा प्रकाशन गरेको छ। छुटाउनु भएको भए यता क्लिक गरी पढ्नुस्। 

त्यो अन्तर्वार्तामा ज्ञवालीले भनेका छन्, ‘हाम्रो कम्पनीले नाफा हुने गरी काम गर्ने कार्ययोजना बनाएको छ। हाम्रो चालु आर्थिक वर्षदेखि नाफा सुरु हुन्छ…प्राप्त पुँजीबाट हामीले हाम्रो ऋण घटाउँछौं। ऋण घट्नासाथ हाम्रो आम्दानी ब्याज आदि भुक्तानी गर्नु नपरेपछि स्वतः बढ्छ।’

आजको अवस्थामा यदि सबै ऋणमुक्त भएको भए कम्पनी नाफामा हुन्थ्यो त ?

आउनुस् कम्पनीले प्रस्तुत गरेको विवरणका आधारमा थोरै विश्लेषण गरौँ। 

यो टेबलमा तपाईँले आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को विवरण हेर्न सक्नुहुन्छ। 

आर्थिक वर्ष २०७६/७७ मा कूल नाफा माइनसमा छ। मतलब नाफा हैन घाटा भएको छ ६ करोड ३१ लाख। यसमा हामीले फिनान्सियल कस्ट अर्थात् ऋण ब्याजको पैसा हटाइदियौँ भने पनि कम्पनी घाटा मै हुन्छ। (हेर्नुस् If no FC मा रहेको एक करोड ५६ लाख चानचुन रुपैयाँ)

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ऋणको ब्याजको पैसा हटाइदियौँ भने पनि कम्पनी ५० लाख रुपैयाँ घाटामा नै हुन्छ भने आर्थिक वर्ष २०७८/७९ मा त्यो पैसा हटाइदिँदा ३५ लाख रुपैयाँ घाटा देखिन्छ। 

कम्पनीले त्यो घाटाबाट उम्कन आफ्नो प्रोफिट रेसियो (नाफाको दर) बढाउनै पर्ने हुन्छ। 

माथिको टेबलको विश्लेषणबाट के देखिन्छ भने कम्पनीले आफ्नो सेल्स (मिडियाको सेल्स भनेको पत्रिकाको बिक्री र विज्ञापन बिक्री नै मुख्य हुन्छ) को क्रमशः ५.३५%, २.९३ % र १.७६% बढाएको भए मात्र बल्ल घाटा हुँदैन थियो। 

यसमा आशाको किरण भने नदेखिएको हैन, २०७६/७७ पछिका वर्षहरुमा बढाउनु पर्ने प्रोफिट रेसियोको अङ्क कम हुँदै गएको छ। 

हो, आइपिओ निकालेपछि सर्वसाधारणबाट उठाइएको २७ करोड रकम एउटा बैँकलाई र अर्को बैँकलाई ३ करोड ८० लाख ऋण भुक्तान गर्ने तयारी छ। यसले तिर्नुपर्ने किस्ता रकमको बोझ पक्कै हट्नेछ। तर त्यो गरेर मात्र हुन्न, कम्पनीले सँगसँगै आफ्नो प्रोफिटेबिलिटी रेसियो अर्थात् आफ्नो आम्दानीको दर पनि सुधार गर्नुपर्ने चुनौति छ। 

सूचना प्रविधिमा आएको परिवर्तनका कारण पत्रिका किनेर पढ्नेहरुको संख्या घटेको छ। आर्थिक अवस्थाका कारण विज्ञापनको बजार पनि खुम्चिएको छ। अलि नाफा हुनसक्ने देखिएको अनलाइन न्युज पोर्टललाई साहुले पब्लिक कम्पनीमा नराखी आफ्नो निजी कम्पनी बनाइसकेका छन्। अर्थात् अनलाइन न्युजपोर्टलबाट हुने नाफामा पब्लिकको हिस्सेदारी हुनेवाला छैन, सञ्चालकको मात्र हुनेछ। 

त्यसबाहेक ध्यान दिनु पर्ने कुरा के हो भने माथिको हिसाब निकालिएका वर्षहरुमा अनलाइनको नाफा पनि जोडिएको थियो। अब अनलाइनको नाफा यसमा जोडिन्न।

विवरणले के देखाउँछ भने यदि कम्पनीले आफ्नो सबै ऋण तिर्छ र त्यसवापतको कुनै ब्याज तिर्नुपर्ने स्थितिर रहँदैन भने पनि कम्पनी अझै घाटामा नै रहन्छ।

त्यसै पनि कम्पनीले सबै ऋण तिर्ने योजना बनाएकै छैन। विवरणपत्रमा उल्लेख भए अनुसार अझै पनि नबिल बैँकको दुई करोड ऋण बाँकी नै राख्नेछ। त्यसको पनि साँवा र ब्याजको किस्ता बाँकी नै रहन्छ।

कम्पनीले नाफा कमाउनका लागि यसको अपरेटिङ र नेट प्रोफिट मार्जिनलाई सुधार गर्नै पर्छ। 

यसका लागि चुस्त व्यवस्थापन र दीर्घकालीन रणनीतिको खाँचो हुन्छ। के कम्पनी त्यसका लागि तयार छ ? 

कागजमा (विवरणपत्रमा) तीन वर्षमा रेभेन्यु डबल हुने कुरा प्रोजेक्सन लेख्न सजिलो छ, तर अहिलेको प्रतिस्पर्धात्मक वातावरणमा त्यसको वास्तविक धरातल थाहा हुने नै कुरा हो।

(यो विश्लेषणका लागि @nepse_invest ले सघाउनुभएको हो)

यो सिरिजका पुराना ब्लगहरु

नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?

नागरिक IPO सिरिज २ : कम्पनीको उद्देश्य नै नरहेको विषयमा जनताबाट पैसा उठाएर खर्च गर्न मिल्छ ?

नागरिक IPO सिरिज ३ : घाटा भइरहेको पत्रिका ‘पब्लिक’ कम्पनी, नाफा हुनसक्ने अनलाइन चैँ ‘प्राइभेट’ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme