Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘नागरिक’ छाप्‍ने पब्लिक कम्पनीको रिपोर्टमा भेटियो यस्तो गलत जानकारी

Posted on February 12, 2024February 12, 2024 by Salokya

नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेड अब अरु भन्दा फरक छ। किनभने यो
आइपिओ जारी गर्ने नेपालको पहिलो मिडिया भइसकेको छ। आइपिओ जारी गरिसकेपछि अब उसले आफ्नो हरहिसाब पनि पारदर्शी रुपमा सबका सामु राख्नुपर्ने कानुनी बाध्यता हुन्छ। यसको विश्लेषणबाट हामीले नेपालको मिडिया व्यवसाय कस्तो रहेछ भनेर नाडी छाम्ने अवसर पनि पाउँछौँ।

यसै क्रममा भर्खरै कम्पनीले दोस्रो त्रैमासिक (सेकेन्ड क्वार्टर) रिपोर्ट सार्वजनिक गरेको छ। केही सीए साबहरुसँग कुरा गरेर यो प्राविधिक कुरालाई सहज रुपमा बुझाउन यो ब्लग लेखेको छु।

गलत विश्लेषण र विवरण

प्रतिवेदनको बूँदा नम्बर २ मा व्यवस्थापकीय विश्लेषणका रुपमा चार वटा बूँदा राखिएको छ। हामी क्रमैसँग त्यसलाई हेरौँ।

(ख) मा लेखिएको छ- कम्पनीले आफ्नो व्यापार डिजिटल मिडियामा पनि रहेकोमा आव २०८०/८१ मा यसमा नयाँ प्रविधि तथा विज्ञ जनशक्ति थप गरी बिक्री प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

गजब विश्लेषण।

तर के साँच्चै त्यस्तो छ त ?

नागरिक दैनिकको अनलाइन nagariknews.com अहिले अस्तित्वमा छैन।

पहिले भए यसमा लग अन गर्दा nagariknews.nagariknetwork.com मा खुल्ने बनाइएको थियो। अहिले भने यस्तो Error आउने बनाइएको छ

नागरिक दैनिकमा प्रकाशित सबै समाचार, इपेपर र अरु कन्टेन्टहरु nagariknews.nagariknetwork.com मा प्रकाशन हुने गर्छन्। तर त्यो पब्लिक न्युजपोर्टल सर्वसाधारणको झण्डै ४५ प्रतिशत शेयर भएको पब्लिक कम्पनीको भने होइन। यो त त्यो कम्पनीका प्रमोटरहरुको निजी अर्थात् प्राइभेट कम्पनी रिपब्लिका न्यूज नेपाल प्रा.लि अन्तर्गत पर्छ।

पब्लिक कम्पनीले उत्पादन गरेका समाचार सामग्रीहरु प्राइभेट कम्पनीमा कुन आधारमा राखियो भन्ने बारे कुनै जानकारी राखिएको छैन। यहाँसम्म कि त्यो न्युजपोर्टलका सम्पादक को हुन्, प्रकाशक को हुन् भन्ने बारे राख्नै पर्ने जानकारी समेत राखिएको छैन।

पब्लिक कम्पनीकै तलब खुवाएर राखिएका पत्रकार कर्मचारीहरुलाई प्राइभेट कम्पनीको स्वामित्वमा रहेको न्युजपोर्टलमा काम गर्न लगाइएको छ।

यसबारेमा विस्तृत यो ब्लगमा लेखिसकेको छु। छुटाउनु भएको भए पढ्नुस्- नागरिक IPO सिरिज ३ : घाटा भइरहेको पत्रिका ‘पब्लिक’ कम्पनी, नाफा हुनसक्ने अनलाइन चैँ ‘प्राइभेट’ ? 

बन्द भइसकेकोलाई ‘सुरु भइसकेको’ भनेर ढाँटियो

व्यवस्थापकीय विश्लेषणको बूँदा नम्बर (ग) मा लेखिएको छ- …नेपालगंज, विराटनगर तथा पोखराबाट पूर्वेली तथा पश्चिमेली नामका क्षेत्रीय संस्करणहरुको प्रकाशन सुरु भइसकेको हुँदा यसले संस्थाको व्यापार वृद्धि हुने निश्चित छ।

तर यो सफेद झुट हो।

नागरिक दैनिकले विराटनगरबाट नागरिक पूर्वेली र नेपालगञ्जबाट नागरिक पश्चिमेलीको प्रकाशन सुरु गरेको अहिले हैन १२ वर्षअघि नै हो।

हेर्नुस् २०६९ वैशाख १ गते प्रकाशित नागरिक दैनिकको पूर्व संस्करणको पहिलो अङ्क। यसमा वर्ष १ अङ्क १ लेखेको स्पष्टै देख्न सकिन्छ।

र, यो हेर्नुस् नागरिक पश्चिमेलीको २०६९ वैशाख १ गते प्रकाशित पहिलो अङ्क जसमा वर्ष १, अङ्क १ लेखेको देख्न सकिन्छ।

पूर्वेली र पश्चिमेली निकाल्दैमा संस्थाको व्यापार वृद्धि हुने निश्चित भएको भए त १२ वर्षअघि नै व्यापार वृद्धि भएर छेलोखेलो हुन्थ्यो होला। अनि व्यापार त्यसरी बढ्दै नाफा टन्न कमाएको भए कम्पनीको ठूलो हिस्सा (४४ प्रतिशत) सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने स्थिति आउँदैन थियो होला।

नागरिकले यसका अतिरिक्त गण्डकी प्रदेशको राजधानीबाट पश्चिमेली पोखरा र लुम्बिनी प्रदेशको आर्थिक केन्द्रबाट पश्चिमेली बुटवलको प्रकाशन २०७४ साल साउन ७ गते सुरु गरेको नागरिकन्युजमा प्रकाशित समाचारमा पढ्न पाइन्छ।

व्यवस्थापकीय विश्लेषणमा नेपालगंज, विराटनगर तथा पोखराबाट क्षेत्रीय संस्करणहरुको प्रकाशन भइरहेको भ्रम पार्न खोजिए पनि त्यो सही होइन।

हाल यी कुनै पनि क्षेत्रीय संस्करण प्रकाशन हुँदैनन्।

बुटवल संस्करण त कोरोनाभन्दा अघि नै बन्द भइसकेको हो। पोखरा र नेपालगन्ज, विराटनगरको क्षेत्रीय संस्करण पनि कोरोनापछि बन्द भइसकेको थियो।

अहिले काठमाडौँमै प्रकाशन हुने संस्करण नै ती ठाउँमा पुर्‍याइन्छन्।

बन्द भइसकेको कुरालाई सुरु भइसकेको भनेर ढाँट्न पाइयो त ?

एक पटक प्रतिवेदनको बूँदा नम्बर ७ हेरौँ-

कम्पनीका अध्यक्ष/कार्यकारी प्रमुखले व्यक्तिगत रुपमा नै उत्तरदायित्व लिएर सबै कुरा सत्य छन् भनिएको छ। कुनै सूचना तथा जानकारी लुकाएको छैन पनि भनिएको छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ ले यसरी झुटो विवरण दिएमा कारबाही गर्ने प्रावधान पनि राखेकै छ, तर त्यस्तो कानुनले छुने कसलाई ? आँट कसको छुने ?

आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक अवधिको प्रतिवेदनमा देखिएका हिसाबकिताबका रोचक बूँदाहरुबारे थप अर्को ब्लगमा लेख्नेछु। अहिलेलाई छुटेका भए यी पुराना ब्लगहरु पढ्नुस्-

 

नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?

नागरिक IPO सिरिज २ : कम्पनीको उद्देश्य नै नरहेको विषयमा जनताबाट पैसा उठाएर खर्च गर्न मिल्छ ?

नागरिक IPO सिरिज ३ : घाटा भइरहेको पत्रिका ‘पब्लिक’ कम्पनी, नाफा हुनसक्ने अनलाइन चैँ ‘प्राइभेट’ ?

नागरिक IPO सिरिज ४ : ऋण सबै तिर्ने हो भने पनि घाटा मै हुन्छ कम्पनी !

झण्डै ४ लाख पब्लिक अब बने ‘नागरिक’का लगानीकर्ता, अबको बाटो कस्तो होला?

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme