नेपालमा दुई किसिमका छापा मिडिया थिए- एउटा सरकारी, अर्को निजी लगानीको**। निजी लगानीका नाफा कमाउने उद्देश्य राखेका मिडिया कम्पनीले कति लगानी गरे, कति कमाए, कति गुमाए- केही पनि सार्वजनिक हुँदैन। तर पहिलो पटक एउटा निजी मिडिया कम्पनी- नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिकको प्रकाशन संस्था) को हरहिसाब पारदर्शी भएको छ। तर यो उसले चाहेर होइन, बाध्यताले। कम्पनीले सर्वसाधारणबाट ४३ करोड ५३ लाख रुपैयाँ रकम उठाउन शेयर बेच्न लागेको छ। यो कामका लागि यसरी हिसाब देखाउनै पर्छ। यो हिसाब ‘आह्वान पत्र’का रुपमा अस्ति बिहीबार ‘आर्थिक अभियान’ पत्रिकामा छापिएको थियो। नियमतः विवरण पत्र (prospectus) पनि सार्वजनिक हुनुपर्थ्यो तर यो ब्लग लेख्दासम्म न इस्यु म्यानेजर मेगा क्यापिटल्स, न कम्पनीको वेबसाइटमा न धितोपत्र बोर्ड (सेबोन) को वेबसाइटमा त्यो उपलब्ध छ। तसर्थ यो ब्लग संक्षिप्त विषय मात्र समेटिएको आह्वान पत्रमा उल्लेख भएको विषयका आधारमा तयार पारिएको हो। यसमा धेरै प्राविधिक कुरा हुन्छन्, सामान्य व्यक्तिले बुझ्ने गरी लेख्न आफूले पहिला बुझ्नु पर्यो। यसका लागि मैले केही आर्थिक पत्रकार र CA सँग सम्पर्क गरेको थिएँ। तर अधिकांश मिडियाको विषय भएकोले बोल्नै डराए। मिडियाको आतंक ठूलै छ। बल्लतल्ल केहीलाई मनाएर तपाईँको नाम आउँदैन भनेर सम्झाइबुझाइ गरेपछि यत्तिको लेख्न सकियो।
आह्वानपत्र हेर्न चाहनेले यता क्लिक गर्नुस्। नेपाल रिपब्लिक मिडियाको वेबसाइटमा। इस्यु म्यानेजरको वेबसाइटमा।
४५ प्रतिशत स्वामित्व सर्वसाधारणलाई
कान्तिपुरका दुई लगानीकर्ता कैलाश सिरोहिया र विनोदराज ज्ञवाली मध्ये ज्ञवाली आफ्नो हिस्सा लिएर बाहिरिएपछि २०६५ साउन २० गते नेपाल रिपब्लिक मिडिया प्राइभेट लिमिटेडका रुपमा दर्ता भएको हो। त्यतिबेला सम्पूर्ण लगानी साहुको मात्र थियो। तर अब IPO बाट शेयर बेचिसकेपछि यो कम्पनीको झण्डै ४५ प्रतिशत स्वामित्व सर्वसाधारणको हातमा आउनेछ। यसो हेर्दा गज्जब क्रान्ति भए जस्तो लाग्न सक्छ- एउटा प्रभावशाली निजी मिडियाको झण्डै आधा स्वामित्व सर्वसाधारणको हातमा आउँदैछ। तर यो ब्लग पूरै पढ्नुभयो भने मात्र यसको भित्री कथा बुझ्न सक्नुहुन्छ।
यस्तो किसिमको कम्पनीलाई रियल सेक्टर भनिन्छ। यस्तो कम्पनीलाई IPO जारी गर्न अनिवार्य हुँदैन। तर उनीहरुले आफ्नो इच्छाले जारी गर्न सक्छन्। नाफा भइरहेको वा हुने कम्पनीको हिस्सा किन अरुलाई बाँड्नु, हैन र? लगानी नै चाहिएको भए बैँकमा गए पनि मज्जाले ऋण पाउँछन्। उदाहरणका लागि चन्द्रागिरी हिल्स लिमिटेडले १२ प्रतिशत मात्रै IPO जारी गरेको थियो। भर्खरै IPO निकालेको सिटी होटल (हायाट प्लेस) ले १० प्रतिशत मात्रै शेयर सर्वसाधारणलाई निकालेको छ।
फेरि बजारमा शेयर सप्लाई धेरै भयो भने मूल्य घट्छ। मूल्य माथि राखिराख्न पनि धेरै शेयर मार्केटमा ल्याउँदैनन्। प्राइस माथि राखिराख्ने अनि ‘लक-इन पिरियड’ सकिएपछि बेच्यो भने पनि संस्थापकहरुलाई राम्रै नाफा हुन्छ।
तर यहाँ किन झण्डै आधा (४५%) शेयर बेचिँदैछ त?
यो बुझ्नलाई तपाईँले यो कम्पनीको वित्तीय विवरण हेरेर बुझ्न सक्नुपर्छ। यो हेरेपछि थाहा हुन्छ- नेपालमा मिडिया गज्जबको बिजनेस रहेछ- तलबै नपाए पनि पत्रकार काम गरिरहन्छन्, करोडौँ घाटा भए पनि साहु कम्पनी चलाइराख्छन्।
B+ क्रेडिट रेटिङको अर्थ : यति पाउनु पनि ठूलो
यो स्क्रिनसट कम्पनीको आह्वान पत्रबाट निकालिएको हो। शेयर बेच्नका लागि कम्पनीको क्रेडिट रेटिङ गराउनु पर्ने हुन्छ। २०७९ असोज ३० गते प्रदान गरिएको रेटिङ अनुसार IRN B+ पाएको छ।
यो बुझ्नलाई पहिला यो हेर्नुस्-
B+ को अर्थ वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम छ भनेको हो।
तर केही सिएहरुसित कुरा गर्दा उनीहरुले वित्तीय विवरण हेर्दा यतिको रेटिङ पाउनु पनि ठूलो कुरा रहेको बताए। मिडिया नभई अरु कम्पनी भएको भए प्रस्तुत विवरणको आधारमा सी वा डीतिर जान सक्ने सम्भावना रहेछ। सी वा डी रेटिङ पाएको भए IPO जारी गरेर सर्वसाधारणबाट रकम उठाउने अनुमति नै नपाइने रहेछ।
अब यो उच्च जोखिम किन भनियो? यसबारे थोरै चर्चा गरौँ। त्यसका लागि आह्वान पत्रमा रहेको यो वासलातमा एक पटक ध्यान दिउँ।
२७ करोड लगानी गर्दा ४१ करोड घाटा !
माथिको वासलात ध्यान दिएर हेर्नुभयो भने कम्पनी सुरु भएको २०६५ सालदेखि आर्थिक वर्ष २०७६/७७ सालसम्म २७ करोड लगानी गरेको देखिन्छ। हेर्नुस्- शेयर पूँजीको रकम २७५,१००,०००
तर त्यतिन्जेल कम्पनीलाई सुको नाफा भएको त कुरै छाडौँ, उल्टै घाटा भएको छ- ४१ करोडको। हेर्नुस् जगेडा कोष तथा सञ्चितीमा (४१४५७०२७४)
सजिलोको लागि मैले त्यो अंशमा मात्र पहेँलो चिह्न लगाएर राखिदिएको छु है-
अर्थात् बुझिने भाषामा- २०७६/७७ सम्म २७ करोड लगानी खरानी भइसक्यो। अब त्यो आउनेवाला छैन। अथवा यसो भनौँ त्यो रकम बालुवामा पानी हाल्दा जसरी गायब भयो। अझ त्यति रकम त सकियो-सकियो, थप रकम पनि गयो।
२७ करोड लगानी गर्दा ४१ करोडको घाटा भयो।
त्यो २७ करोड र ४१ करोडको संख्या रहेको कोलम (लहर) को हेडर (शीर्षक) हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ- तीन वटा आर्थिक वर्षको माथि ‘वास्तविक’ लेखिएको छ। त्यो भन्नुको अर्थ यो अडिटेड रिपोर्ट हो, अडिटरले साइन गरेको।
त्यसको नजिकै अपरिष्कृत लेखिएको छ। त्यो भनेको चाहिँ कम्पनीको म्यानेजमेन्टले सर्टिफाइड गरेको डेटा हो। अनि छेउको प्रक्षेपित जुन छ, त्यसमा भने अडिटरको काम म्याथम्याटिकल्ली ठीक छ कि छैन भनेर गणना मात्र हेर्ने हो।
सजिलोको लागि मैले त्यो कोलम हेडरमा पनि पहेँलो लगाइदिएको छु तल
कान्तिपुरमा विनोदराज ज्ञवाली र कैलाश सिरोहिया दुवैको ५०/५० प्रतिशत शेयर थियो। २०६९ सालमा प्रकाशित यो समाचार अनुसार ज्ञवाली कान्तिपुरबाट अलग्गिने बेला कम्पनीको चल अचल सम्पत्ति र ब्राण्ड भ्यालुसहित एक अर्ब ५० करोड रुपैयाँ मूल्यांकन गरिएको थियो र कान्तिपुरबाट ७५ करोड रुपैयाँ लिएर हिंडेका थिए। भलै कागजी रुपमा भने उनले २५ करोड रुपैयाँमात्र लिएको र १७ करोड मुनाफा भन्दै त्यतिको मात्र लाभकर तिरेका थिए।
२०७६/७७ सम्म २७ करोड लगानी गर्दा ४१ करोडको घाटा भएपछि, वासलातमा देखिएको तथ्याङ्क अनुसार, २०७७/७८ मा लगानी थपेर ३६ करोड पुर्याइयो। तर त्यो वर्ष पनि कूल ४६ करोड घाटा लाग्यो।
आर्थिक वर्ष २०७८/७९ मा लगानी थपेर ४६ करोड पुर्याइयो। त्यो पनि बालुवामा पानी त भयो भयो थप पानी (रकम) थप्नु पर्यो र कूल घाटा ५१ करोड पुग्यो।
तलको स्क्रिनसटमा नीलो र रातो हेर्नुहोला-
आर्थिक वर्ष २०७८/७९ सम्म ५१ करोड घाटामा गइसकेपछि साहुले चैत मसान्तसम्म लगानी थपेर ५३ करोड पुर्याएका छन्।
माथिको पहेँलो लगाइएको ‘जगेडा कोष तथा सञ्चिती’ को मुनि अन्य पूँजी भनेर लेखिएको छ। त्यो चाहिँ कमाइसकेको नाफा हैन, ‘मलाई यति नाफा भयो होला’ भनेर अनुमान गरेको नाफा मात्र हो ! एउटा उखान छ नि, ‘मनको लड्डु घ्यूसँग खाने’!
हो, त्यस्तै ठ्याकै !
मानौँ कम्पनीले कहीँ जग्गा किनेको छ। अब त्यो जग्गाको भाउ बढेर यति पुग्यो होला भनेर अनुमान गरेर हालिएको हो यो।
खासमा कम्पनीको हिसाब पोजिटिभ देखाउन यस्तो गर्ने चलन छ। तपाइँले सोच्दै हुनुहुन्छ होला, त्यो रकम चाहीँ कहाँबाट आयो होला त? त्यो रकम म्यानेजमेन्टलाई अनुमान गर्ने अधिकार हुँदो रहेछ। तर अडिटरले प्रमाण नभई मान्दैन। त्यही भएर इन्जीनियरले हालको बजार मूल्य प्रमाणित गरेर गर्ने चलन हुँदो रहेछ।
हो , त्यही पैसा देखाएर कम्पनीमा गरेको पूँजी अलिकति बचेको छ है भन्न खोजिएको मात्र हो यहाँ!
किन यसो गरियो त ?
यसरी कमाउँदै नकमाएको नाफा किन आफ्नो आर्थिक विवरणमा हालियो त भन्दा थाहा पाउनु पर्ने एक दुई वटा तथ्यहरु छन्-
पहिलो, पूँजीभन्दा नोक्सानी बढी भएको कम्पनीलाई बैँकले ऋण दिनै मिल्दैन। दिइहाले पनि राष्ट्र बैंकको नियमले सो रकममा थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले बैंकले सो ऋण तुरुन्त उठाउन ताकेता गर्दछन्।
ऋण त खानै पर्यो, अनि भन्ने बित्तिकै कहाँबाट पैसा तिर्ने व्यवसाय नै घाटामा गएको बेलामा ?
दोस्रो, सर्वसाधारणलाई शेयर जारी गरेर पैसा उठाउन नि खत्तमै देखिएको कम्पनीले पाउँदैन। त्यसैले लालीपाउडर घसेर भए पनि राम्रो देखाउन खोजिएको हो।
अब हामी नाफा नोक्सान हिसाबतिर एक पटक ध्यान दिउँ
१०० रुपैयाँको लगानी गर्दा वर्षमै २४ रुपैयाँ घाटा
आह्वान पत्रमा रहेको यो नाफा नोक्सान हिसाब खण्ड अनुसार आर्थिक वर्ष २०७६/७७ मा १०० रुपैयाँ लगानी गर्दा त्यो वर्षकै २४ रुपैयाँ ६० पैसा घाटा लागेको देखिन्छ।
त्यसैगरी २०७७/७८ १०० रुपैयाँ लगानी गर्दा मा १३ रुपैयाँ ६० पैसा अनि २०७८/७९ मा १० रुपैयाँ ४७ पैसा घाटा भएको देखिन्छ।
तर २०७९/८० को तेस्रो त्रैमास अर्थात् चैतसम्मको अपरिष्कृत तथ्याङ्कमा १०० रुपैयाँको लगानीमा ७ रुपैयाँ २२ पैसा नाफा देखिन्छ। निरन्तर घाटामा गइरहेको कम्पनी अकस्मात् नाफामा कसरी गयो त ? आउनुस् यसमा गरिएको चलाखी बारे पनि केही बुझौँ।
माथि नै स्पष्ट बनाउने प्रयास गरिसकेँ वास्तविक, अपरिष्कृत र प्रक्षेपितको अर्थ। क्विक रिमाइन्डर- वास्तविक= अडिटरले साइन गरेको रियल डेटा, अपरिष्कृत=म्यानेजमेन्टले मात्र सर्टिफाइ गरेको, प्रक्षेपित= म्यानेजमेन्टले सर्टिफाइ गरेको र अडिटरले गणितीय रुपमा मात्र गणना गरेको तथ्याङ्क।
तीन महिनामा के चमत्कार ?
अब यो पहेँलो लगाएकोमा एक पटक ध्यान दिनुहोला। अपरिष्कृत अर्थात् म्यानेजमेन्टले सर्टिफाइ गरेको डेटा अनुसार २०७९/८० को चैतसम्म आम्दानी झण्डै १६ करोड छ।
मिडियाको आम्दानी भनेको त्यही पत्रिका बिक्री र विज्ञापन छापेर भएको आम्दानी नै हो।
अर्थात् यो वर्ष चैतसम्म नौ महिनामा १६ करोड आम्दानी भयो।
अब प्रक्षेपितको २०७९/८० को कूल आम्दानी हेर्नुस् है- ३१ करोड छ।
मतलब नौ महिनासम्म १६ करोड मात्र आम्दानी हुने कम्पनीमा बाँकी तीन महिनामा के चाहिँ त्यस्तो चमत्कार हुन्छ र नौ महिनामा भएको बराबर आम्दानी भएर ३१ करोड पुग्छ ?
प्रशासनिक खर्च झन् घट्ने?
अझ रमाइलो कुरा देखाउँछु तपाईँलाई। पहेँलो लगाएकोमा हेर्नुस्, आर्थिक वर्ष २०७८/७९ मा २० करोडको बिक्री (पत्रिका, विज्ञापन) हुँदा प्रशासनिक खर्च ६ करोड ३७ लाख छ। यो वास्तविक हिसाब भयो।
अब अनुमान गर्नुस् अर्को वर्ष त्योभन्दा ११ करोड थप अर्थात् ३१ करोडको बिक्री हुँदा प्रशासनिक खर्च के हुन्छ ?
सामान्य हिसाब जानेकोले पनि भन्ने कुरा हो, खर्च त बढ्ला !
तर यहाँ खोलो उल्टो बगेको छ। कम्पनीले गरेको प्रक्षेपित हिसाब अनुसार २०७९/८० मा ३१ करोडको बिक्री हुँदा प्रशासनिक खर्च घटेर ६ करोड ४ लाख मात्रै हुन्छ रे।
अर्थात् प्रशासनिक खर्च घट्यो, बिक्री बढ्यो।
अब तपाईँले पनि कता के चलाखी गरेको हेर्न जान्नुभो होला। त्यसो भए अब प्रशासनिक खर्चको मुन्तिर रहेको बिक्रीवितरण खर्च पनि ध्यान दिनुस्।
२० करोडको बिक्री हुँदा बिक्रीवितरण खर्च २०७८/७९ मा २ करोड ८० लाख छ। अब अर्को वर्ष २०७९/८० मा ३१ करोडको बिक्री हुँदा त्यो खर्च कति होला ?
तपाईँको अनुमान फेरि पनि फेल खान्छ। बिक्री बढ्दा बिक्रीवितरण खर्च बढ्ने हैन घट्छ यो हिसाब अनुसार। घटेर २ करोड ७१ लाख भएको छ (माथि हेर्नुस् पहेँलो लगाएको मुनि)
सिल्ली मिस्टेक : नमिलेको हिसाब
आह्वानपत्रको हिसाबमा एउटा सिल्ली मिस्टेक पनि गरिएको छ। माथि पहेँलो लगाइएकोमा हेर्नुस्, २०७९/८० को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म अन्य आम्दानी ४ करोड ११ लाख रहेको छ। प्रक्षेपितमा २०७९/८० मा बाँकी तीन महिनाको रकम थप हुनुपर्ने हो। अर्थात् स्वभाविक रुपमा त्यसमा संख्या ४ करोड ११ लाखभन्दा बढी हुनुपर्छ। तर त्यसमा छ जम्मा ४ हजार २६४। यो त नेपोलियनले हुँदैन भने पनि असम्भव नै कुरा हो। मतलब यो नाफा नोक्सानको हिसाब राम्रोसँग कसैले हेर्दा पनि हेरेनछन् भन्ने यसैबाट बुझिएन र?
मिडिया नाफामा जान जग्गाको भाउ हेर्नुपर्ने?
यो नाफा नोक्सानको हिसाब हेर्दा मिडिया नाफामा जान वा गएको हिसाब देखाउन मात्र भए पनि जग्गा किनबेच नै गर्नुपर्ने जस्तो पो देखिएको छ त।
आर्थिक वर्ष २०७८/७९ मा अन्य आम्दानी शीर्षकमा ३ लाख ३७ हजार रुपैयाँ रहेको देखिन्छ। तर २०७९/८० को चैतसम्ममा अपरिष्कृत विवरण अनुसार अन्य आम्दानी ४ करोड ११ लाख रुपैयाँ भएको छ।
तपाईँले मुनि खुद नाफा/(नोक्सान) हेर्नुभयो भने पछिल्ला तीन वर्षमा घाटामा गएको कम्पनी त्यो बिन्दुमा आइपुग्दा अकस्मात् ३ करोड ८४ लाख नाफामा जानुमा त्यही ‘अन्य आम्दानी’को भूमिका देख्नुहुन्छ। यो अन्य आम्दानी के हो यसमा खुल्दैन। तर मिडिया भनेपछि नाम लेख्ला भनेर थरथर काँप्ने सीएहरुले बताए अनुसार यो भनेको जग्गा बिक्रीबाट कमाएको रकम हो। यो बारे आह्वानपत्र मा नै उल्लेख गरिएको छ।
मतलब यो हिसाब हेर्दा मिडिया कम्पनीलाई नाफामा जान जग्गाकै भर पर्नुपर्ने देखियो। जबकि त्यो भनेको त कम्पनीको रेगुलर आम्दानी होइन नि। नाफा त पत्रिका बिक्री र विज्ञापन बिक्रीबाट पो हुनुपर्ने हो। कम्पनी टिकेकै यही जग्गाको मूल्याङ्कन बढाएर वा जग्गा बेचेर भन्ने देखियो।
यो भनेको वास्तविक आम्दानी होइन। वास्तविक आम्दानी गर्न त पत्रिका वा विज्ञापन बेच्न पर्यो।
नेटवर्थ नेगेटिभ
अब आह्वानपत्रको १४ नम्बर बूँदामा रहेको यो तथ्याङ्कलाई एक पटक हेरौँ। हिसाब स्पष्ट छ- आर्थिक वर्ष २०७८/७९ सम्ममा ४६ करोड लगानी गरेर ५१ करोड डुबेको छ कम्पनीको। विदेशतिर भए टाट पल्टिएको भन्छ कि भन्दैन, उतातिरकाहरुले बताउनु होला। कम्पनी लगानीभन्दा ५ करोड नेगेटिभमा छ। यस्तोलाई प्राविधिक भाषामा नेटवर्थ नेगेटिभ भनिने रहेछ। मतलब सम्पति (पूँजी) भन्दा ऋण बढी। यस्तो कम्पनीलाई ऋण दिन मिल्दैन। त्यसैले कागजी रुपमा त मिलाउनु पर्यो। तर कसरी ?
कागजी नाफा
यहाँ तपाईँले ध्यान दिएर हेर्नुभयो भने अन्य पूँजी आर्थिक वर्ष २०७६/७७ मा ११ करोड छ भने २०७७/७८ मा एक्कासी बढेर ४३ करोड पुगेको छ। त्यही भएर २ करोड ६९ लाख नेटवर्थ नेगेटिभ भएको कम्पनी अर्को वर्ष ३३ करोड पोजिटिभमा आयो। ।
यो भनेको स्थिर सम्पतिको मूल्याङ्कन हो। जस्तै गाडी, कम्प्युटर आदि। गाडीहरुको मूल्याङ्कन त किन बढ्नु र, जग्गाको चाहिँ बढाउन मिल्छ। जे होस्, स्थिर सम्पतिको मूल्याङ्कन बढाएर कागजी रुपमा नाफा देखाइयो।
मुनि प्रति शेयर नेटवर्थ हेर्नुभयो भने पनि २०७६/७७ मा १०० रुपैयाँको लगानीमा त्यो पूरै सकिएर पनि उल्टै ९ रुपैयाँ ऋण लागेको अवस्था थियो भने अर्को वर्ष कागजी नाफाका कारण १०० रुपैयाँको लगानीको भ्याल्यु ९२ रुपैयाँमा पुगेको छ।
जग्गाको विस्तृत विवरण विवरणपत्र (Prospectus)मा थियो कि? वेबसाइटमा कतै पनि अहिलेसम्म नराखेको भएर हेर्न पाइएन। भएको भए यति नाफा हुने जग्गा कहाँको रहेछ, त्यो नि उल्लेख गर्नु हुन्थ्यो।
यी दुई वर्षको तथ्याङ्क तुलना गर्नुभयो भने सम्पत्तिमा खासै वृद्धि नभएको अवस्थामा सम्पत्तिको मूल्याङ्कन एकै वर्षमा तीन गुणाले बढाइएको प्रष्टै देखिन्छ। नेपालमा कुन व्यवसाय वा सम्पत्ति होला जुन आ.व. २०७७।७८ को कोरोनाकालमा एकैपटक तीन गुणाले त्यसको मूल्य बढेको होस ? यस वर्ष ३२,४४,२४,२८५ थप गरेको छ। जति आवश्यकता छ त्यति थप्ने।
अब कुरा बुझिहाल्नु भयो होला, मूल्य बढाएर कसरी र किन चलखेल भयो ?
प्रक्षेपणमै नदेखिएको कुरा
अब यो पहेँलो लगाएको जगेडा तथा कोषहरुलाई ध्यान दिएर हेर्नुस्। त्यसका सबै भ्यालु ब्राकेट भित्र छ। त्यो भनेको नेगेटिभ अर्थात् लस हो। जबसम्म त्यो भ्याल्यु पोजिटिभ हुँदैन, तबसम्म कम्पनीले बोनस बाँड्न पाउँदैन।
यहाँ त २०८१/८२ सम्मको प्रक्षेपणमै पोजिटिभ देख्न सकिएको छैन, नेगेटिभ नै छ। कम्पनी ऐनले पुरानो नोक्सानी नसकिएसम्म लाभांश बाँड्न रोक लगाएको छ। त्यस्तै कागजमा मूल्याङ्कन बढाएर जबरजस्ती देखाइएको नाफाबाट पनि लाभांश बाँड्न रोक लगाएकाले कम्तिमा आ.व. २०८१/८२ सम्म लगानीबाट लाभांश पाउने कुनै सम्भावना नै छैन। अर्थात् प्रतिफल बिनाको लगानी।
प्रकाशन बन्दको जानकारी किन लुकाइयो ?
आह्वानपत्रको बूँदा नम्बर ५ मा कम्पनीको स्थापनाकालदेखि हालसम्मको विषय राखिएको छ। तर यो क्रममा कम्पनीले पुराना कुरा राखेर नयाँ अपडेट लुकाएको छ।
उदाहरणका लागि यसको (२) मा कम्पनीले मिति २०६६/०१/११ देखि नागरिक दैनिक र Republica दैनिक पत्रिकाहरु प्रकाशन गर्न शुरु गरेको हो भनिएको छ। तर बन्द कहिले भएको भन्ने खुलाइएको छैन।
अङ्ग्रेजी दैनिक रिपब्लिकाको प्रकाशन अप्रिल १५ अर्थात् वैशाख ३, २०७७ देखि बन्द छ। अन्तिम अंकमा प्रबन्ध निर्देशक ज्ञवालीले कोरोना भाइरस महामारीका कारण विश्वभरीकै न्युजरुम प्रभावित भएको भन्दै रिपब्लिकाको प्रकाशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिने घोषणा गरेका थिए।
डिसेम्बर १, २०२२ देखि रिपब्लिका चार पेज प्रकाशन त हुने गरेको छ तर इपेपरमा मात्र। यसबारे आह्वानपत्रमा खुलाइएको छैन।
त्यसैगरी त्यसमा लेखिएको छ- ‘प्रकाशनको शुरुवाती दिनदेखि नै देश विकासको मेरुदण्ड रहेको आर्थिक कृयाकलापहरुको सम्पूर्ण जानकारी, योजना र राज्यले प्राथमितामा राख्नुपर्ने विषयवस्तुलाई समेटेर समग्र देशको आर्थिक कृयाकलापको प्याकेज समेटिएको ४ पेजको छुटै संस्करण नागरिक संगै दैनिक रुपमा प्रकाशन गर्दै आएको छ। जसले गर्दा आर्थिक प्याकेज सहितको यस संचार गृहको नागरिक दैनिक बजारमा निकै लोकप्रिय रहन सफल भएको छ।’
तर त्यस्तो चार पेजको छुट्टै आर्थिक संस्करण निकाल्न छाडेको धेरै भइसक्यो। अहिले दुई पेजमा आर्थिक समाचारहरु छापिन्छ।
त्यसैगरी त्यसमा लेखिएको छ-साहित्यमा रुची राख्ने पाठकहरुको लागि तयार गरिएको परिशिष्टाङ्क “अक्षर’, विश्वबजारमा समय समयमा भएका परिवर्तन अनुसारको जीवनशैली पछ्याउने पाठकहरुको लागि तयार गरिएको परिशिष्टाङ्क “जीवनशैली”, बालबालिकाको रुचि अनुसारका सामाग्रीहरु समेटेर तयार गरिएको परिशिष्टाङ्क “जुनकीरी”, नेपालको पर्यटन बजार र संभाव्यतालाई विश्लेषण गरिएको जानकारी मुलक परिशिष्टाङ्क “घुमफीर” जस्ता पाठ्यसामाग्रीहरु नेपाली आम पाठकहरुको बीचमा निकै लोकप्रिय सावित भएका छन्।
यो पनि गलत छ। अहिले यस्तो छुट्टै परिशिष्टाङ्क छापिँदैन। शनिबारको दिन नियमित ८ पेजभित्रै मिलान हुने गरी “अक्षर” मात्र छापिन्छ।
त्यसैगरी (३) मा लेखिएको छ- यसरी सफलता हासिल गर्ने क्रममा कम्पनीले शुक्रवार नामको थप साप्ताहिक मनोरन्जनात्मक पत्रिका तथा परिवार नामको मासिक म्यागजिन समेत प्रकाशनमा ल्याइसकेको छ।
यद्यपि २०७६ चैत महिनादेखि परिवार मासिक र शुक्रवार साप्ताहिक छापिन छाडिसकेको छ। यो बारे विवरण लुकाइएको छ।
खासमा यस्तो गर्न पाइन्न। कानुनमा यस्तो व्यवस्था छ-
शेयर संरचनामा गरिएको चलाखी
अब आउनुस् एक पटक शेयर संरचना पनि बुझौँ र यसमा गरिएको चलाखी पनि हेरौँ। आह्वानपत्रको सातौँ बूँदामा यसबारे उल्लेख छ-
यस अनुसार कम्पनीको कूल शेयर संख्या ९६ लाख ७५ हजार हुनेछ। त्यसमा संस्थापक शेयरधनीको ५३ लाख २२ हजार अर्थात् ५५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीको ४३ लाख ५३ हजार अर्थात् झण्डै ४५ प्रतिशत।
अब संस्थापक शेयरधनीहरुको बारेमा पनि बुझौँ।
संस्थापक शेयरधनीको साथमा रहेको ५३ लाख २२ हजार कित्ता शेयरमध्ये ५२ लाख २७ हजार कित्ता शेयर विनोदराज ज्ञवालीको नाममा छ। बाँकी ९० हजार कित्ता शेयर उनकै पत्नी शोभा ज्ञवालीको नाममा छ। दुवैको जोड्दा ५३ लाख १७ हजार हुन आयो। बाँकी ५ हजार कित्ता खै त ?
खोजौँ।
खोज्ने क्रममा आह्वानपत्रको बूँदा नम्बर १५ मा प्रमुख कार्यकारी अधिकृत पदमा रहेकी सम्वृद्धि ज्ञवालीको नाममा १ हजार कित्ता शेयर भेटियो। तर अझै पनि ४ हजार कित्ता गायब छ। त्यो कसको नाममा छ ? खुलाउनु पर्दैन ?
४ हजार कित्ता गायब !
बोर्डमा नियन्त्रण
४५ प्रतिशत शेयर सर्वसाधारणमा दिए पनि कम्पनीको बोर्ड अर्थात् सञ्चालक समितिमा ज्ञवाली परिवारकै बहुमत हुने देखिन्छ।
कसरी ?
यता पढ्नुस्-
यो व्यवस्था अनुसार संस्थापक समूहबाट ३ जनाको प्रतिनिधित्व बोर्डमा हुनेछ भने सर्वसाधारण समूहका शेयरधनीबाट १ जना अनि स्वतन्त्र सञ्चालक १ जना।
अब माथि शेयर बाबु, आमा र छोरीको नाममा किन रह्यो भन्ने कुरा बुझ्नुभयो होला।
संस्थापक शेयरधनीको ५५ % सेयर नै एक जनाको मात्र नाममा रहेको भए एक जना मात्रै बोर्डमा जान पाइन्थ्यो।
अनि ५५% शेयरधनी रहेको संस्थापकबाट बोर्डमा ३ जना प्रतिनिधि हुने तर ४५% हिस्सा रहेको सर्वसाधारण समूहबाट भने १ जना मात्र प्रतिनिधि हुने भयो।
यसमा स्वतन्त्र सञ्चालक पनि संस्थापकले चाहेकै मान्छे नियुक्त हुने हुँदा बोर्डमा दुई तिहाई बहुमत संस्थापककै हुनेछ। त्यसको अर्थ कम्पनीमा जस्तोसुकै निर्णय गर्न उनीहरुलाई सहज हुन्छ।
मिडियाका दुःख !
आह्वानपत्रमा मिडियाका दुःखका कुरा हेर्दा आँसु नै तुरुक्क चुहिएला जस्तो पो हुन्छ त। पढ्नुस् त यहाँ- कोरोना महामारीको प्रभावले विज्ञापन आम्दानी आधाभन्दा बढी घटेछ। १ हजार सीसीबाट घटेर ४०० पुगेछ। विज्ञापनमा मात्र हैन मिडियाको आम्दानी हुने अर्को बाटो ग्राहक शुल्कमा पनि धेरै छुट दिएको रहेछ।
अनि यही तथ्याङ्कबाट नागरिक र रिपब्लिका दैनिक कति छापिन्छ भन्ने पनि हिसाब देखिन्छ। सामान्यतया यो एकदमै गोप्य रहने विषय हो। दावी दैनिक लाख लाख छापिनेसम्मका गरिन्छन्। तर खास हैसियत यहाँ देखियो।
यसमा लेखिए अनुसार एक वर्षमा नागरिक १ करोड ४६ लाख प्रति छापिएछ। अब यसलाई एक महिनामा निकाल्दा १२ लाख १६ हजार हुन आयो। महिनामा ३० दिनको हिसाबले यो संख्यालाई ३० ले भाग गर्दा हुन आयो ४० हजार ५५५। मतलब नागरिक दैनिक ४० हजार चानचुन मात्र छापिने रहेछ।
त्यसमा देखाइए अनुसार रिपब्लिका र द न्युयोर्क टाइम्स चाहिँ ९ हजार हाराहारी मात्र छापिने रहेछ।
अझ दुःखको कुरा तल छ-
यसमा लेखिए अनुसार कम्पनीलाई त उधारोले निकै सताएको रहेछ। २०७८/७९ को विज्ञापन छापिए वापतको पैसा उठाउन आगामी दुई वर्ष लाग्ने रहेछ। अनि पत्रिका बेचेर आउने पैसा पनि चार वर्षभित्रमात्र उठ्ने रहेछ।
साह्रै दुःख !
केमा खर्च हुन्छ IPO बाट उठाइएको रकम ?
IPO बाट ४३ करोड ५३ लाख रुपैयाँ रकम कम्पनीले पाउनेछ। त्यो रकम गज्जबसँग अब राम्रोसित पत्रकारिता गर्न लगानी हुन्छ। राम्रा पत्रकारहरुको टिम बन्छ, खोजमूलक समाचारमा लगानी हुन्छ भन्ने सोच्नुभएको छ?
पख्नुस् दिउँसै सपना नदेख्नुस्। आह्वानपत्रमा रकम केमा उपयोग गर्ने भनेर विवरण राखिएको छ। त्यही विवरणलाई चार्टमा राख्दा* –
यसमा देखिए अनुसार सबैभन्दा धेरै अर्थात् आधा रकम (७१%) त बैँकमा लिएको ऋण तिर्न उपयोग हुने रहेछ। त्यसपछिको सबैभन्दा ठूलो पैसा (९%) छपाई केन्द्र सार्ने संरचना बनाउन जाने रहेछ।
पत्रकारको क्षमता बढाउन ६ % मात्रै खर्च हुने रहेछ।
सकारात्मक पाटोबाट हेर्दा बैँकको लगभग खराब कर्जा तिरिने भएछ जनताको पैसा उठाएर। बैँकलाई घाटा नहुने भो। बैँक पनि सर्वसाधारणकै पैसाबाट चलेको हो।
अनि अब चाहिँ पत्रकारहरुले तलब पाउने भए जस्तो छ। किनभने कार्यशील पूँजीमा १ करोड ६६ लाख छुट्याइएको छ।
मिडिया कम्पनीको पैसा कमाउने बाटो भवन भाडामा लगाउने?
यो सब विवरण पढेर धरधरी आँसुु बगाउन मन लागेको विषय चाहिँ मिडिया कम्पनीको रेभेन्यु मोडल देखेर हो। ठूलो लगानीमा राम्रो-गजबका समाचार छापेर ग्राहक बढाउने र विज्ञापन बढाउने नभएर घर बनाएर भाडामा लगाउने र त्यसबाट आम्दानी गर्ने रेभेन्यु मोडल रहेछ।
ए बाब्बा हो, मिडिया कम्पनीले भवन भाडामा लगाएर पैसा कमाउने ? त्यो पनि ३०० वर्गफिटको दरले ? कति सम्भव ?
त्यही पनि प्रष्ट रहेनछ। आह्वान पत्रको बूँदा नं. १४ (छ) मा २०,००० वर्गफुटको भवन बनाउने भनेको छ। बूँदा नम्बर २२ मा ३०,००० वर्गफुट छ। हो चाहिँ कति?
अनि ३० हजार वर्गफुटको भवन बनाउन पाँच वर्षमा छुट्याएको रकम २ करोड। यसले कस्तो भवन बन्ला र ३०० वर्गफिट प्रतिमहिनाको आम्दानी होला ?
यसरी हेर्दा त वर्षकै भाडा झण्डै ११ करोड । सबै व्यवसाय छोडेर यसै गरे कमाउन सकिएला बरु। यस्तो आइडिया जमानामा किन नफुरेको होला?
अनुत्तरित प्रश्नहरु
यो पढेर मेरो मनमा केही प्रश्न आए जसका उत्तर अनुत्तरित छन्। तपाईँसँग भए लेख्नुहोला है।
- के मिडिया मात्र चलाएर नाफा कमाउन सम्भव छैन रहेछ ?
- समग्रमा हेर्दा त मिडिया चलाएर त सुको कमाई नहुने रहेछ। तर किन यो व्यवसाय चलाउन मरिहत्ते गर्छन त व्यवसायीहरु ? अनि महिनौँ तलब नपाउँदा पनि पत्रकारहरु किन त्यस्तो संस्थामा टाँस्सिएर काम गरिरहन्छन् ? घर खर्च कसरी चल्छ उनीहरुको?
- सुको नाफा नकमाउने कम्पनीका सञ्चालकहरुको जीवनशैली सामाजिक सञ्जालमा मात्रै हेर्दा त झकिझकाउ देखिन्छ फेरि। मिडियाबाट अदृश्य आम्दानी वा फाइदा वा लाभ त हुने हैन ?
- आर्थिक रुपमा कोल्याप्स भइसकेको संस्थाले कसरी सही सूचना कहीँ कतैबाट प्रभावित नभएर पाठकलाई दिन सक्छ?
खासमा यस्तो गम्भीर विषय देशमा रहेका लगभग ५ सय आर्थिक पत्रकारहरुले लेख्नु पर्ने हो। दर्जनौँ आर्थिक अनलाइनहरु छन्, त्यहाँ विश्लेषण हुनुपर्ने हो। तर मिडियाको विषयमा मिडिया चुप रहने हुनाले मैले तीन दिन लगाएर यो जमर्को गरेँ। प्रतिक्रिया पाउँ।
र, अन्त्यमा
त्यसो भए IPO भर्ने त ?
मैले यही प्रश्न सीएलाई सोधेँ।
'भर्ने नि, किन नभर्ने?' उत्तर सहज आयो।
म ट्वाँ परेँ। नबुझेर सोधेँ, 'अनि यस्तो कमजोर आर्थिक अवस्था भएको कम्पनीमा पनि यति बुझेको मान्छेले IPO मा लगानी गर्ने त?'
उनले मलाई बुझाए, 'नेपालीले कहाँ अध्ययन गरेर लगानी गर्छन् त! शेयर किन्ने अनि कारोबार भएपछि बेचेर निस्कने। १०० मा किनेको शेयर १०० भन्दा बढी जतिमा कारोबार भए नि नाफा नै हो।'
अझ उनले गम्भीर कुरा थपे, 'यस्तो आर्थिक स्थिति भएको कम्पनीको समेत पावर लगाएर IPO नै निकाल्न लगाउन सक्नेले यसो अलिअलि मूल्य माथि पुर्याउन किन पावर नलगाउला र!'
त्यसैले मैले पनि आइपिओ भर्ने योजना बनाएँ।
[*माफीसहित गल्ती सच्याइएको : हिजो राति अबेला यो ब्लग प्रकाशित भएदेखि मंगलबार बिहान पौने १० बजेसम्म एउटा गल्ती थियो। ट्विटरमा पत्रकार रोशन साँवाले औँल्याएपछि बल्ल गल्ती महसूस भयो। के भएको रहेछ भनेर हेर्दा राति अबेर आँखा तिरमिर भएर मिडिया हब बनाउन २ करोड हुनुपर्नेमा एउटा सून्य बढी राखेर २० करोड हुन पुगेको रहेछ। त्यसपछि चार्टलगायतका सब प्रतिशतका हिसाब गडबड भएको रहेछ। उनले औँल्याएपछि तथ्याङ्क सच्याएर त्यसअनुसार माथि ब्लगमा मिलान गरिएको छ। यसका कारण पर्न गएको भ्रमप्रति माफी चाहन्छु र गल्ती देखाइदिने रोशन साँवालाई धेरै धन्यवाद पनि दिन चाहन्छु]
[**प्रष्ट पार्न थपिएको : सुरुमा 'नेपालमा दुई किसिमका मिडिया थिए- एउटा सरकारी, अर्को निजी लगानीको' लेखिएकोमा त्यसलाई अझ प्रष्ट्याउन 'छापा मिडिया' लेखिएको छ। ब्लग प्रकाशित भएपछि लक्ष्मण कार्कीले दिएको जानकारी यस्तो छ- 'नेपालमा मिडिया सरकारी र निजी बाहेक सामुदायिक पनि छन् खासगरी रेडियोहरू। नेपालमा ३८० जति सामुदायिक रेडियो छन्। जुन राज्यबाट वा निजी क्षेत्र दुबैबाट चलेका/चलाइएका नभई समुदायले सञ्चालन गरेका हुन्।]
पब्लिक कम्पनी हुन ७ जना शेयरधनी चाहिन्छ । दुईजना (पतिपत्नी) पहिलेदेखि थिए नै । बाँकी ५ जनाको लागि एकजना छोरी रहिछन् त्यो कुरा शेयरधनीको नाममा उल्लेख्य नभए पनि अन्तैबाट देखियो । अब ४ जना को होलान् भन्दा एउटा् ज्ञवालीकै लगानी भएको शुभारम्भ होल्डिङ्ग भन्ने कम्पनीबाट सञ्चालका प्रतिनिधित्वबाट देखियो । अझै तीनजना को को हुन नखुले पनि ती ज्ञवाली परिवारका कोही हुन भन्ने देखिन्छ । शेयर बिक्छ कि बिक्दैन भन्ने कुरोतर्फ जाउँ । सहज उत्तर बिक्छ । किन बिक्छ भने धितोपत्र बोर्डले अपनाएको १० कित्ते बाँडफाँड नीति यसको सहजता हो । आ १० कित्ता अर्थात हजार त हो नि गए जाला ५० भन्दा तल नजाला भन्ने पाराले गर्दा सहजै बिक्छ । यही नीति नै जतिसुकै खराव कम्पनी (योभन्दा खराव कुन होला) को पनि शेयर बिक्छ । यसले शेयरबजारमा गुणस्तरहिन कम्पनीको दवदवा बढ्नेछ । कुनै दिन यस्ता कम्पनीका कारण शेयरबजार ध्वस्त हुनसक्छ ।
शालोक्यजी, गजबको ब्लग । यत्रो मेहनतका लागि हार्दिक धन्यवाद । हजुरले अब यूट्युबमा भिडियो पनि बनाउन सुझाव दिन्छु । अहिले नेपाली पढ्न भन्दा पनि सुन्न र हेर्न मन पराउँछन् । तपाईंका सब्सक्राइबर त नेपालका सबै यूट्युबेहरुलाई माथ गर्ने गरि बढ्न थिए होलान् ।
Great Analysis and thanks for your effort.
Great analysis – congratulations and keep up the excellent work!
विश्लेषण गज्जब छ उमेश जी। ४ हजार कित्ताकाे शेयर लुकाएकाे कुराे चै विवरण पत्रमा अाधारभुत शेयरधनी (कुल शेयरकाे ०.५ प्रतिसत)काे मात्र विवरण खुलाए पुग्ने व्यवस्थाले त्यसाे गरेकाे जस्ताे लाग्छ।
super great analysis….
Great post, thank you for informing everyone on simple language
Worth Reading.
Dami 🙏
ओहो सालोक्य जी। यति मिहिनेत गरेर यति सरल भाषामा सबैले बुझ्ने गरी लेखिदिनुभएकोमा म धन्यवाद दिन चाहें।
यस्ता लेखहरू फ्रिमा पढ्दा ग्लानि भयो, त्यसैले सकेको सहयोग पनि गरियो।
Thank you for information .
नेपालमा सबै कम्पनीहरुले डबल ट्रिपल हिसाब राख्छन भन्थ्यो सही रहेछ । आफूलाई एउटा, बैंक वा शेयर बजारको लागि अर्कै, र कर प्रयोजनलाई छुट्टै हिसाब राख्छन् । मारबाडीहरु त यसमा गुरु नै भइहाल्यो । खुंखार भारतीय लेखापाल र अडिडर राखेर उस्तै परे अर्थ मन्त्रीलाई प्रभाव पारेर करको दर हेरफेर गर्ने ल्याकत राखिछन । राम्रो लेख धन्यवाद ।
शेयर बजारमा लागेका औसत नेपालीले अहिलेको समयमा यती लामो कुरा कहाँ ? पढ्छन र सर ! सरल र बुझ्ने भाषामा यो चिरफार पस्कनु भएकोमा धन्यवाद । सट्टेबजार, हल्ला बजारमा यो पनि चल्छ । म पनि आईपीओ चै भर्ने हो ।
Exposing the inner workings of insolvent media house to public. Commendable.
good job
nicely write
keep it up
Great article, keep up your hard work Umesh Je.
Gajjab
हिजो संसदमा अमरेश सिंह आधा नांगिएका(टपलेस) थिए………………………..सालोक्यजीले त यो मेडियाको IPO काण्डलाई पुरै पो नंग्याई दिनु भो …………………तर के गर्नु अधिकांस नेपाली(IPO भर्ने)हरु केवल सिर्षक हेरेर मात्र आफ्नो धारणा बनाई दिन्छन ………………पुरा पढ्दैनन ………………यो दोहोर्याई तेहर्याई त SEBON ले पढ्नु पर्ने थियो क्यार……………………मेरो प्रश्न चाही अब के त ………………..यत्तिको प्रश्न उठेपछि कुनै निकायले केहि प्रतिकृया जनाउला त ?…………..मलाई त्यो आश चाही छैन है ………………….सालोक्यजीले अरु पनि यस्ता बिषयहरुको चिरफार गरेको ब्लग पढ्न पाई राखियोस् l
बास्तबमै मिडियाको असली अनुहार देखियो ! अब अरु मिडिया IPO जारि गर्न अलि डराउलान कि !!
A great analysis….Wonderful
Worth reading and understanding the financial mechanism of bankrupt media organization. Hats off to your hard work.
Respect for your hard work and courage. Bring forward the corruption and fraudulent in the media sector. We will be with you.
Nice 😊😊👍
मिडियाको ऐना देखाउने सालोक्य त छन विश्वासिला।