कसैले माने पनि नमाने पनि ठूलो संख्यामा किशोरकिशोरी र युवा पुस्ताले समाचार स्रोतको रुपमा स्थापित कुनै मिडियालाई होइन, ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजलाई पछ्यउँछन्। ठूला मिडियाले समेत इर्ष्या गर्ने गरी लोभलाग्दो इन्गेजमेन्ट र फलोअरको विशाल संख्या योसित छ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजय पछि ‘रुटिन’मा शक्ति केन्द्रहरुको आँखा पनि परेको छ। यसको प्रमाण केही दिनअघि प्रधानमन्त्री पत्नी आरजु राणाले गरेको टिप्पणीलाई लिन सकिन्छ। इतिहास साक्षी छ, शक्ति केन्द्रहरु आफ्नो शक्ति खोसिएको, खोस्ने प्रयास भएको मन पराउँदैनन्। यस्तो अवस्थामा ‘रुटिन’ अझै चनाखो र सतर्क हुनुपर्ने हो। तर ऊ आफूले गल्ती गर्दा पनि पारदर्शी रुपमा नस्वीकारी लुकाउने गरेको देखिएको छ।
‘रुटिन’ले लुकाउन खोजेको त्यो विषय
‘नागरिक’ दैनिकले २०७९ असार १९ आइतबारको पत्रिकाको पाँचौँ पेजमा दाङकी ज्योति ‘अन्तरिक्ष यात्री’ शीर्षकमा समाचार छाप्यो। त्यो भन्दा अघि नागरिकको अनलाइनमा ‘अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती’ शीर्षकमा समाचार राखिएको थियो। अरु अनलाइनहरुमा पनि यो समाचार आएको थियो।
माइसंसारले त्यही दिन राति ब्लग लेखेर त्यो समाचार किन भ्रामक छ प्रष्ट पारेको थियो। छुटाउनु भएको भए हेर्नुस्- नझुक्किनुस्, नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी होइनन्, खास कुरा यस्तो हो यो विषयमा नेपालफ्याक्टचेकमा तथ्य जाँच पनि प्रकाशन भएको थियो- के नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी हुन्?
रुटिन अफ नेपाल बन्दले त्यही दिन अर्थात् आइतबार बिहान ८ बजेर ३३ मिनेटमा Jyoti KC from Dang, Nepal becomes one of the first astronaut from Nepal… लेखेर साढे ३१ लाखभन्दा बढी लाइक भएको आफ्नो फेसबुक पेजमा पोस्ट गरेको थियो।
माइसंसारमा ब्लग र नेपालफ्याक्टचेकमा तथ्य जाँच आएपछि राति १० बजेर ९ मिनेटमा रुटिन अफ नेपाल बन्दले सुटुक्क आफ्नो पुरानो पोस्ट सच्यायो। सम्पादन गरिएको नयाँ पोस्टमा becomes one of the first astronaut from Nepal लाई हटाइएको रहेछ।
फेसबुकमा कुनै पोस्ट पछि सम्पादन गरियो भने एडिट हिस्ट्रीमा गएर त्यो हेर्न मिल्छ।
त्यसैगरी ट्विटरमा पनि रुटिन अफ नेपाल बन्दले यही सामग्री राखेको थियो। यस्तो थियो ट्विटको स्क्रिनसट-
भ्रामक जानकारी राखेको भन्दै ट्विटरमा आलोचना हुन थालेपछि सुटुक्क त्यो ट्विट डिलिट गरियो।
तर इन्टरनेटमा एक पटक राखेको सामग्री कतै न कतै सुरक्षित रहेकै हुन्छ। ट्विटको अर्काइभ संस्करण यहाँ क्लिक गरी हेर्न सकिन्छ।
भ्रामक सूचना राखेपछि पारदर्शी रुपमा नसच्याउनु गल्ती
रुटिन अफ नेपाल बन्दले ज्योति केसी नेपालको पहिलो अन्तरिक्ष यात्री भनी राखेको सूचना गलत थियो। गलत रहेको कुरा त उसले आफै त्यसलाई हटाएर सम्पादन गरेबाटै प्रष्ट भइसकेको छ। सामाजिक सञ्जालमा आफूलाई पछ्याउने लाखौँलाई उसले भ्रामक सूचना दिएको थियो।
तर नेपालका केही मिडियाहरुले सुरु सुरुमा गर्ने जस्तै गल्ती रुटिनले पनि गरेको छ। अहिले मात्रै हो मूलधारका नेपाली मिडियाले गल्ती गरिसकेपछि सूचना राखेर सच्याउन थालेको। सुरुमा त सुटुक्क सच्याउने गर्थे। अहिले पनि केहीले ‘अन्यथा भएकोमा सच्याइएको’ मात्रै लेख्ने गर्छन्।
‘रुटिन अफ नेपाल बन्द’ अरु जस्तो सामान्य फेसबुक पेजमात्रै होइन। यो सूचना विभागमा दर्ता भएको अनलाइन पनि हो। सूचना विभागमा दर्ता भएका अनलाइन सञ्चार माध्यमको सूचीमा यो पनि भेटिन्छ-
रुटिनले आफ्नो बारेमा अबाउट असमा पनि आधिकारिक रुपमा दर्ता भएको न्युज मिडिया भएको उल्लेख गरेको छ।
आधिकारिक रुपमा दर्ता भएको न्युज मिडिया हो भने पत्रकारका लागि बनाइएको आचार संहिता पनि पालना गर्नु पर्ने नै हुन्छ। आचार संहितामा गल्ती सच्याउने तत्परता पनि पर्छ। गल्ती सच्याउँदा पारदर्शी रुपमा पहिले यस्तो लेखिएकोमा खास कुरा यस्तो हो भनी लेखेमा मिडियाकै विश्वास बढ्ने हो। यो मिडियाले गल्ती लेख्दैन, कथंकदाचित गल्ती भइहालेमा पनि पारदर्शी रुपमा सच्याउँछ भन्ने भएपछि मिडियाको जवाफदेहिताबाट पाठक प्रभावित हुन्छन्। पाठकको यही विश्वास नै मिडियाको ठूलो सम्पति हुन्छ।
तर धेरैलाई लाग्दो हो, गल्ती सच्याउँदा यसले गल्ती पनि लेख्दो रहेछ भनेर थाहा नपाएकाहरुले पनि थाहा पाउँछन्। अनि हाम्रो विश्वसनीयता गुम्छ। यो गलत हो। सुटुक्क गल्ती सच्याउँदा अघिल्लो गलत सूचना मात्र हेर्ने लाखौँलाई उसले भ्रममा पारेको ठहर्छ। नैतिक रुपमा पनि यसरी भ्रममा पार्नु उचित हुन्न।
रुटिन अफ नेपाल बन्दको फेसबुकमा यो पोस्टमा ७९ हजार रियाक्सन, ३ हजार कमेन्ट र ८३४ सेयर देखिन्छ मंगलबार रातिसम्म। अर्थात् यी मध्ये अधिकांशले ज्योति केसी नै नेपालबाट अन्तरिक्ष यात्री बन्ने पहिलो व्यक्ति भन्ठान्ने छन्। जुन सही होइन। अन्तरिक्षमा नै नगई अन्तरिक्ष यात्री अर्थात् एस्ट्रोनट भइन्न।
युएस एयर फोर्समा काम गर्ने पनि हैनन् ज्योति
रुटिन अफ नेपाल बन्दले ज्योतिलाई She works in the United States Air Force पनि लेखेको छ। यो पनि सही होइन। वास्तवमा उनी अमेरिकाको संघीय सरकार अन्तर्गत रहेको United States Air Force मा नभई संयुक्त राज्य अमेरिकाको एउटा राज्य टेक्ससको एयर नेसनल गार्डमा कार्यरत हुन्। लुनारेसको फेसबुक पेजमा लेखिएको विवरण
राष्ट्रिय संकटको बेला संघीय सरकारले रिजर्भ फोर्सका रुपमा आफ्नो मातहतमा ल्याउन सक्ने अवस्था भए पनि अरु बेला यो टेक्ससका गभर्नरको मातहतमा रहने गर्छ।
नेपाली मोमोको गल्तीमा पनि यस्तै गरेको थियो ‘रुटिन’ले
रुटिन अफ नेपाल बन्दले यसअघि गएको डिसेम्बरमा पनि यस्तै भ्रामक सूचना दिएको थियो। आफ्नो सूचना भ्रामक भएको थाहा पाएपछि पारदर्शी रुपमा गल्ती भएको नस्वीकारेर उसले त्यतिबेला पनि सुटुक्क सच्याएको थियो।
३ डिसेम्बर २०२१ मा आफ्नो फेसबुक पेजमा उसले सिएनएनले नेपाली मोमोलाई विश्वकै स्वादिष्ट र उत्कृष्ट डम्पलिङ्ग्सको सूचीमा राखेको दावी गरेको थियो। हामीले त्यतिबेला तथ्य जाँच गरेर यसलाई भ्रामक सूचनाका रुपमा वर्गीकरण गरेका थियौँ। सीएनएनको सूचीमा मोमो परेको सही हो तर यसमा नेपाली मोमो भनेर छुट्याइएको थिएन। मोमोलाई उत्तर भारतीय, नेपाली र तिब्बती परिकार भनिएको थियो। छुटाउनु भएको भए पढ्नुस्- नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्यो भनेर मख्ख पर्नुभएको? कुरो ठ्याक्कै त्यसो हैन रहेछ
त्यसपछि रुटिनले आफूले गरेको गल्तीमा माफी नमागी सुटुक्क नेपाली मोमो सूचीमा परेको जानकारी हटाएको थियो।
यद्यपि रुटिनको ट्विटरमा भने अझै पनि त्यही देख्न सकिन्छ जसले पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई समेत भ्रममा पारेको थियो। हेर्नुस् विस्तृत जानकारी।
Amazing: CNN has included Nepali Mo:Mo in the list of World’s tastiest and best dumplings. The list contains 35 best dumpling types from around the world. ❤️ pic.twitter.com/1FuFiGeRbG
— Routine of Nepal banda (@RONBupdates) December 3, 2021
रुटिन अफ नेपाल बन्दले के बुझ्नु पर्छ भने शक्तिसँगै जिम्मेवारीको बोझ पनि थपिन्छ। रुटिनसँग मूलधारका मिडियाभन्दा बेग्लै खालको प्रभाव र शक्ति भएको साँचो हो। उसकै सिको गरेर क्षेत्रीय रुपमा पनि केही फेसबुक पेज प्रभावकारी देखिएका छन्। जस्तै सुर्खेतको मोटे ग्याङ (यससम्बन्धी ब्लग पढ्न छुटाउनु भएको भए यता क्लिक गरी पढ्नुस्)
यो लोकप्रियतासँगै उसलाई इर्ष्या गर्नेहरु पनि बढ्ने सम्भावना हुन्छ। कहिले केही गल्ती गर्ला र मौकामा ठोकौँला भनेर कुरी बसिरहेकाहरु पनि हुनसक्छन्। तर आफू सही भएमा त्यस्ताले केही बिगार्न सक्दैनन्। सकेसम्म चुक्नु हुन्न। तर मान्छे हो, कहिलेकाहीँ गल्ती हुन्छन्। त्यस्तो गल्तीलाई पारदर्शी रुपमा सच्याएर माफी माग्दा पाठकको विश्वास गुम्ला भनेर डराउने होइन, विश्वास अझ बढ्न पनि सक्छ।
You are partially right about Air National Guard. I suggest you to visit the link below.
https://www.af.mil/About-Us/Fact-Sheets/Display/Article/104546/air-national-guard/
What do you expect from an FB page run by 3rd grader toddlers.