Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘मोटे ग्याङ’बाट तर्सिएका सुर्खेतका पत्रकार

Posted on June 15, 2022June 16, 2022 by Salokya

पछिल्ला केही दिनमा ब्लग अपडेट भएन। कारण- म देशका विभिन्न प्रदेशहरुको यात्रामा थिएँ। मनाङबाट सुरु भएको यो यात्रामा देखेका, भोगेका विषयलाई समेटेर ब्लगहरु लेख्ने क्रम अब थाल्नेछु।

आइतबार सुर्खेत पुगेको थिएँ। दुई वर्षअघि लकडाउनका बेला रिपोर्टिङका क्रममा रुकुम पश्चिमबाट फर्कँदा सुर्खेतमा एक रात बास बसेको भए पनि खासै केही बुझ्न र घुम्न पाइएको थिएन। यस पटक भने ‘मिथ्या सूचना’ सम्बन्धी छलफल कार्यक्रम थियो र अरु पेशासँगै पत्रकारहरुसित पनि कुराकानी गर्न पाइयो।

औपचारिक कार्यक्रमको अघिल्लो साँझ केही पत्रकार र पूर्व पत्रकारहरुसित अनौपचारिक गफ गर्ने क्रममा अहिले मिडिया र पाठकबीचको दूरी बढेकोबारे कुरा भएको थियो।

‘मोटे ग्याङ’बारे पहिलो पटक सुनेको त्यतिबेला नै हो।

सोसल मिडियाले पाठकलाई बाइपास गरिदिएको छ। उनीहरु मिडियाको कन्टेन्टसम्म पुग्न नै नपाई बीचमा सोसल मिडिया आइदिन्छ- ती पत्रकारको गुनासो थियो। उनले मोटे ग्याङको बारेमा त्यतिबेला कुरा गर्दा मैले ठानेको थिएँ- कुनै गुण्डासुण्डा पाराका मान्छेहरुको ग्याङ होलान् जसले पत्रकारलाई गाह्रो बनाइरहेको छ।

के हो, कसो हो- खासै चासो लिइएन।

भोलिपल्ट औपचारिक कार्यक्रम थियो। मिथ्या सूचनाले पारिरहेको प्रभावबारे छलफल कार्यक्रममा आन्तरिक मामिला तथा सूचना मन्त्री, प्रदेश सभाका सांसदहरु, नागरिक समाजका सदस्यहरु लगायत पत्रकारहरु पनि उपस्थित थिए।

त्यो कार्यक्रममा फेरि पनि ‘मोटे ग्याङ’को कुरा उठ्यो।

इन्ट्रेस्टिङ कुरा चाहिँ के आयो भने, सहभागीहरुले भने अनुसार, मोटे ग्याङका मान्छेहरुलाई त्यहाँ हुने विभिन्न कार्यक्रमहरुमा आसन ग्रहण गराउन थालिसके रे।

काठमाडौँमा पो आसन ग्रहणको खासै भ्यालु हुन्न। बाहिरतिर त आसन ग्रहणको कम्ता लफडा हुन्छ! एक पटक एउटा पूर्वी पहाडी जिल्लामा एउटा कार्यक्रममा गएको, आधा घण्टासम्म यथास्थानमा आसन ग्रहण गर्न अनुरोध गरेको गर्‍यै मञ्चबाट। त्यसो नगरे त कार्यक्रममा आएका मान्छे रिसाउँछन् पो रे !

सुर्खेतमा पनि आसन ग्रहणको भ्यालु रहेछ। ‘मोटे ग्याङ’ले त्यो मान पाउन थालिसकेका रहेछन् जसलाई पत्रकारहरुले अस्वभाविक ठानेका रहेछन्।

मोटे ग्याङले यस्तो लेख्यो, मोटे ग्याङले उस्तो लेख्यो। मिथ्या कुरा लेख्यो, बढाइचढाइ गरेर लेख्यो। यस्तै कुरा आइरहेको थियो।

‘यो मोटे ग्याङ भनेको चाहिँ के ?’

नबुझेकोले मैले कार्यक्रममै सोधेँ।

फेसबुक पेज र ग्रुप- जवाफ आयो।

एक जना अर्का पत्रकारले अनुभव सुनाए- म दिनभर त्यही विषयमा रिपोर्टिङ गरेर घर आएको हुन्छु, बूढीले यस्तो भयो हैन भनेर सुनाउँछे। त्यसो होइन यसो हो भनेर सुनाउँदा खुब होला, अघि नै यस्तो भनेर लेखिसक्यो पो भन्छे। भरे बुझ्दा त मोटे ग्याङले दिउँसै त्यसो भनेर हालिसकेको रहेछ !

त्यही कार्यक्रममै मैले फेसबुकमा खोजेँ के रहेछ यो मोटे ग्याङ भनेको। एउटा फेसबुक पेज रहेछ जसमा सुर्खेतकेन्द्रित अपडेटहरु राखिँदो रहेछ। ४५ हजारभन्दा बढी लाइक रहेछ जसमध्ये अधिकांश सुर्खेत र वरपरको रहेको अनुमान गरियो।

सर्सर्ती यसका कन्टेन्टहरु हेर्दा देश विदेशका विभिन्न अपडेटहरु पनि यसमा राखिने भए पनि सुर्खेतकेन्द्रित धेरै सूचनाहरु यसमा राखिने रहेछ। जस्तै सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव भएको, लामो लाइन भएको, विद्युत आपूर्ति बन्द भएको, अघोषित लोडसेडिङ भएको भन्दै आन्दोलनको आह्वान…आदि इत्यादि। ‘रुटिन अफ नेपाल बन्द’ को लोकल भर्सन जस्तो।

किन रहेछ त यो चलेको? मैले अर्का सहभागीसित कार्यक्रमपछि अनौपचारिक गफ गर्ने क्रममा सोधेँ, पत्रकारहरुले भोलिपल्ट बल्ल लेखिरहेका हुन्छन्, उसले अहिलेको अहिल्यै तुरुन्त हाल्छ, अनि चल्दैन त?

सूचना संयन्त्र पनि राम्रो बनाएको रहेछ मोटे ग्याङले। प्रहरी, विद्युत प्राधिकरण, आयल निगमका कर्मचारीहरुले पनि मोटे ग्याङलाई सूचना दिने गरेको एक जनाले सुनाए।

सोसल मिडियाले मिडियाको परम्परागत शक्ति खोस्न थालेको यो एउटा राम्रो उदाहरण रहेछ सुर्खेतमा। सुर्खेतमा परम्परागत मिडियाको संख्या कम छैन। केही मिडिया कोभिडको मारमा परेर बन्द भए। तर केहीले अझै उपस्थिति जनाइरहेकै छन् तर उनीहरु समस्यामा परिरहेको तथ्य मोटे ग्याङबाट आतंकित भएबाटै देखियो।

त्यही दिन सुर्खेतको एउटा पत्रिका हेर्ने मौका पाएँ। कर्णाली प्रदेशको पहिलो रंगीन राष्ट्रिय दैनिक लेखिएको थियो। तर मास्ट हेड र विज्ञापन मात्रै रंगीन, फोटोहरु त ब्ल्याक एन्ड ह्वाइट नै। भित्र कन्टेन्ट हेर्छु त- दोस्रो पेजको सामग्री अन्नपूर्ण पोस्टबाट र तेस्रो पेजको सामग्री नेपालसमय अनलाइनबाट साभार रहेछ।

‘यो त अहिले बल्ल लेख्न थालेका, पहिले त क्रेडिट पनि नदिई चोर्थे,’ सुर्खेत कै एक जनाले सुनाए।

भनेपछि सुर्खेतको मूलधारका मिडियाको यस्तो बिजोग रहेछ। लगानी कम, मेहनत कम, पत्रिका कम बिक्ने, विज्ञापन कम आउने। उता मोटे ग्याङ लगायतको सोसल मिडियामा खासै लगानी नपर्ने, तुका तु सूचना राख्न मिल्ने, मान्छेले तत्काल हेर्न सक्ने, त्यसमा प्रतिक्रिया जनाउन सक्ने !

सोसल मिडियामा एउटा खतरा भने रहन्छ। यसमा राखिने विषयहरु पत्रकारिताको चरणबाट गुज्रिएका हुन्नन्। सम्पादकीय नीति अनुसार विभिन्न चरणबाट नगुज्री सूचना राख्दा मिथ्या सूचनाहरु पनि जाने सम्भावना रहन्छ।

सहभागीहरुले नै अनुभव पनि सुनाए। एक पटक राष्ट्रपति सुर्खेतमा आउँदा एक जना प्रदेश सांसदले नेपाली परम्परा अनुसार यसो झुकेर अभिवादन गरेकी रहिछिन्। त्यही बेला कसैले फोटो खिचेछ। त्यसपछि राष्ट्रपतिका अगाडि लम्पसार परेको, चाकडी गरेको भनेर ट्रोल बनाइएछ। ‘मैले बारम्बार फोटो र भिडियोलाई हेरेँ, झुक्न त झुकेकै हो सम्मानका लागि तर त्यसरी लम्पसारै परेको त होइन, चाकडी गरेको त होइन। मलाई रातभर निद्रा लागेन’, उनले भनिन्।

अर्काले सुनाए, एक पटक कसैको मृत्यु भयो भनेर फेसबुकमा लेखेका रहेछन्। पुलिस केसै भयो। किन यस्तो लेखेको भनेर सोध्दा रमाइलोको लागि भनेर भनेछन्। रमाइलोको लागि पनि सोसल मिडियामा यत्तिकै लेख्ने हुँदा रहेछन्।

यस्तो विषयमा ध्यान दिने हो भने सूचना आदानप्रदानका लागि मूलधारका मिडिया कुरिरहनु पर्ने अवस्था पाठकलाई नहुन सक्छ। स्थानीय रुपमा प्रभाव जमाएका यस्ता फेसबुक पेजका सञ्चालकहरुले लोकप्रियतासँगै जिम्मेवारी पनि थपिन्छ भन्ने कुरा बुझेर पत्रकारिताबारे पनि थोरै बुझेर गर्न हुने र नहुने कानुनी र नैतिक प्रश्नमा प्रष्ट भएर त्यही अनुसार सूचना सम्प्रेषण गर्न सके अझ राम्रो। नजानेका, नबुझेका कुराहरु बुझाउन सबै तयार नै हुन्छन् होला।

मूलधारका मिडिया र पत्रकारहरुले पनि अब नयाँ प्रविधि अनुसार नयाँ किसिमले सूचना सम्प्रेषण गर्ने शैली सिक्नु पर्‍यो।  अहिलेका पाठकले ताजा घटना बारे तुरुन्त जानकारी खोज्छन्, बासी समाचार होइन। सोसल मिडियामा जे पनि आउने, जसले पनि राख्ने हुनाले विश्वासको संकट हुनसक्छ। मूलधारका मिडिया पत्रकारिताको सिद्धान्त अनुसार चल्ने र समाचारको भित्री तहसम्म पुग्ने क्षमता भएकाले पाठकको विश्वास आर्जन गर्न सक्छ। त्यही विश्वास अहिलेको मिथ्या सूचनाको जगजगी भएको युगमा सबैभन्दा ठूलो सम्पति हुन्छ।

यति कुरामा ध्यान दिए मिडियामा काम गर्ने पत्रकारले मोटे ग्याङबाट आतंकित महसूस गर्नुपर्ने छैन।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme