Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी होइनन्, खास कुरा यस्तो हो

Posted on July 3, 2022July 4, 2022 by Salokya

पहिलो पटक एक नेपाली युवती अन्तरिक्ष यात्री बन्न सफल भएकी छिन्।

पछिल्लो समय नेपाली मिडियाका समाचारहरु पछ्याउनु भएको भए तपाईँले पनि यस्तो खालको खबर पक्कै देख्नुभएको होला।

तर नझुक्किनुस् है, अहिलेसम्म कुनै नेपाली वा नेपाली मूलका व्यक्ति अन्तरिक्ष पुगेर अन्तरिक्ष यात्री बनिसकेका छैनन्। समाचारहरुमा ‘अन्तरिक्ष यात्री’ लेखिए पनि खासमा ती युवतीले लिएको दावी गरिएको ट्रेनिङ पनि ‘एस्ट्रोनट ट्रेनिङ’ होइन रहेछ।

के के लेखियो मिडियामा ?

आज (२०७९ असार १९) को नागरिक दैनिकको पाँचौँ पेजमा दाङकी ज्योति ‘अन्तरिक्ष यात्री’ शीर्षकमा समाचार छापिएको छ।

नागरिककै अनलाइन संस्करणमा ‘अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती’ शीर्षकमा समाचार राखिएको छ। त्यसमा उनी अन्तरिक्ष यात्री बनेर घर फर्केको दावी गर्दै यस्तो लेखिएको छ- अनि ५ वर्षपछि अहिले ज्योती अन्तरिक्षयात्री बनेर घर फिरेकी छिन्। सम्भवतः उनी नै नेपालको पहिलो अन्तरिक्षयात्री पनि हुन्।

समाचारमा थप लेखिएको छ- ‘अन्तरिक्षयात्री बन्नका लागि थालिएको दुई हप्ताको तालिममा उनी सहभागी भईन्। उनको यो प्रशिक्षण उनको ‘प्रयाक्टिकल्ली’ थियो। अन्तरिक्ष यात्राका लागि थालिनु पर्ने हरेक प्रकृया उनले यो अभ्यासका क्रममा गरिन्। यो प्रशिक्षण उनको शब्दमा भन्दा आईशोलेशन अर्थात यानमै राखेर गरिएको थियो। उनले एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरिन्।’

हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

अरु अनलाइन मिडियाले पनि यो समाचारलाई प्राथमिकताका साथ लेखेका छन्। जस्तै शिलापत्रको शीर्षकले घोषणा गरिदिएको छ उनी अन्तरिक्ष यात्री बनिसकिन्-

समाचारमा अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गर्ने ज्योति सम्भवत पहिलो नेपाली हुन् भनी दावी गरिएको छ। हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

त्यसैगरी अनलाइन मिडिया लोकान्तरले नेपाली मूलकी ज्योति केसी अन्तरिक्ष यात्रामा निस्कने शीर्षकमा समाचार राखेको छ। समाचारमा लेखिएको छ- नेपाली मूलकी ज्योति केसीले अन्तरिक्ष यात्रा गर्ने भएकी छन् । अमेरिकी वायुसेनामा भर्ती भई काम गरिरहेकी उनी अन्तरिक्ष यात्राको तयारीमा जुटेकी हुन् । दाङ भालुवाङमा जन्मिएर एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगेकी उनी अन्तरिक्ष यात्राको लागि प्रशिक्षण सम्पन्न गरेर तयारी गरिरहेकी छन् ।

हेर्नुस् अर्काइभ लिङ्क।

के हो खास कुरा ?

यी समाचारहरुमा उल्लेख भए अनुसार उनले एनालग एस्ट्रोनटको कोर्स गरेकी हुन्। ज्योति केसीले आफ्नो फेसबुकमा लुनारेस रिसर्च स्टेसनमा ट्रेनिङ गरेको लेखेकी छिन्।

 

एस्ट्रोनट ट्रेनिङ होइन, रिसर्च

यसबारे थप जानकारी पाउन हामीले लुनारेसको आधिकारिक वेबसाइटमा खोज्यौँ।

लुनारेसले आफ्नो वेबसाइटमा स्पष्ट रुपमा लेखेको छ- यो एस्ट्रोनट ट्रेनिङ अर्थात् अन्तरिक्ष यात्रीको प्रशिक्षण होइन, रिसर्च अर्थात् अनुसन्धान हो।

लुनारेसको वेबसाइटमा उल्लेख भए अनुसार यस्तो एनालग एस्ट्रोनट प्रोग्राममा सहभागी हुन जोकोही योग्य हुने रहेछन्- विद्यार्थी, कर्पोरे्ट कर्मचारी, कलाकार, अनुसन्धानकर्मी, एडभेन्चरर, यात्रु, पत्रकार, इन्जिनीयर, अवकाशप्राप्त व्यक्ति, शारीरिक अपाङ्गता भएका व्यक्ति पनि। शर्त रहेछ- २० वर्षभन्दा माथि हुनुपर्‍यो, स्वस्थ हुनुपर्‍यो र संक्रामक रोग लागेको हुनुभएन।

हेर्नुस् वेबसाइटमा उल्लेख भएका विवरण। 

एनालग एस्ट्रोनटले पृथ्वीमै अन्तरिक्षमा हुँदाको जस्तो वातावरण बनाइएको ठाउँमा निश्चित अवधिसम्म बसेर अन्तरिक्ष यात्रीको भूमिकामा रहेर विभिन्न अनुसन्धानमा सघाउने काम गर्छ।

नासाको वेबसाइटमा उल्लेख भए अनुसार सबै प्रयोगहरु अन्तरिक्षमा गर्नका लागि समय, धन, उपकरण र जनशक्ति पर्याप्त हुँदैन। त्यही भएर यस्ता एनालग मिसनहरु जरुरी हुन्छ।

लुनारेसको वेबसाइटमा उसको दुई हप्ताको मिसनमा सहभागी हुन १ हजार ७५० युरो लाग्ने जानकारी राखिएको छ।

.अर्थात् दुई लाख ३० हजार रुपैयाँ जति शुल्क बुझायो भने तपाईँ पनि यस्तो एनालग मिसनमा सहभागी हुन सकिँदो रहेछ। यसमा सहभागी भयो भन्दैमा अन्तरिक्ष यात्री भइने होइन। अन्तरिक्ष यात्री हुनलाई त पृथ्वी छाडेर अन्तरिक्षमै जानु पर्‍यो नि। तर नेपाली मिडियाले भावुक भएर नेपालकै पहिलो अन्तरिक्ष यात्री समेत घोषणा गर्न भ्याइसक्यो।

अन्तरिक्षमा जस्तो वातावरण हुन्छ, त्यस्तै वातावरणमा बसेकी भने हुन् उनी। लुनारेसको फेसबुक पेजमा २५ मे देखि ११ जुन २०२२ सम्मको मिसनमा उनी एनालग एस्ट्रोनटका रुपमा बसेको उल्लेख छ।

 

तर जुन मिसनमा उनी सहभागी भएकी हुन्, त्यसैको अर्थात् लुनारेसको वेबसाइटमा नै यो एस्ट्रोनट ट्रेनिङ अर्थात् अन्तरिक्ष यात्री प्रशिक्षण होइन रिसर्च अर्थात् अनुसन्धान हो भनेर लेखिएको हुनाले नेपाली मिडियामा आएको खबरले सही सूचना नदिएर भ्रम फैलाएको देखिन्छ।

उनी अन्तरिक्ष यात्री भएकी होइनन्, अन्तरिक्ष यात्रीको अनुसन्धानमा सहभागी भएकी हुन्। अन्तरिक्षमा गएकी होइनन्, अनुसन्धानका लागि पृथ्वीमै अन्तरिक्ष जस्तो वातावरण बनाइएको स्थानमा दुई हप्ता बसेकी हुन्।

 

3 thoughts on “नझुक्किनुस्, नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी होइनन्, खास कुरा यस्तो हो”

  1. Lila Ram Shrestha says:
    July 4, 2022 at 4:59 pm

    सही सूचना जानकारी गराउनु भएकोमा धन्यवाद। कोही पनि समाचार पाठक (सर्व-साधारण) भ्रममा नपरोस्।

    Reply
  2. Dilip Adhikari says:
    July 4, 2022 at 10:33 am

    Nepali medias need to grow up from this type of stuffs. Without researching the facts and giving public a wrong information is not a professional journalism. They should always learn themselves first about the credibility of information and only broadcast to the public.

    Reply
    1. Kritika poudel says:
      July 4, 2022 at 9:15 pm

      Yes totally agree

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme