Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्‍यो भनेर मख्ख पर्नुभएको? कुरो ठ्याक्कै त्यसो हैन रहेछ

Posted on December 4, 2021 by Salokya

शुक्रबार एकथरि नेपालीहरु त्यसै त्यसै दङ्ग परिरहेका थिए। सामाजिक सञ्जालमा एकखाले उत्सव रहेछ- नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्‍यो भनेर। कसले राखेको? अमेरिकी मिडिया सीएनएनले रे।

त्यसै त मोमोप्रेमी नेपालीहरु। रेस्टुरेन्टमा तीन पानाको मेन्यु पल्टाएर लास्टमा मोमो माग्नेहरु भनेर व्यङ्ग्य नै गरिन्छ नि। शुक्रबार सिमसिम पानी परेर जाडो भएको बेलामा झोल मोमोको झल्को आइराबेलामा यस्तो खबर ! के चाहियो र।

तर कुरो ठ्याक्कै यस्तो हैन रहेछ। यसबारे नेपालफ्याक्टचेकमा के नेपाली मोमो संसारकै स्वादिष्ट परिकार घोषित भएको हो? छुटाउनुभएको भए पढ्नुहोला। कुरो बुझिल्याउँदा हामी यसै दङ्ग परेका रहेछौँ। हामीलाई मोमो मिठो लाग्छ, भइगो त। किन अरुले राम्रो छ मिठो छ भन्दिनुपर्ने। हाम्लाई मिठो लाग्यो, सकियो !

हामी नेपालीलाई हामीले लगाएको लुगा सबैले राम्रो भन्दिनुपर्ने, हामीलाई मिठो लागेको कुरा सबैले मिठो भन्दिनुपर्ने। नेपाल र नेपाली मलाई मन पर्दैन भनेर अन्तर्वार्ता दियो भनेर ऋतिक रोशनविरुद्ध उ बेलामा त्यत्रो जात्रा गरेको हैन? मान्छे नै मरे ४/५ जना। लास्टमा ती भारतीय हिरोले त्यसो भनेको पनि हैन रहेछ। भनेको भन्ने कुनै प्रमाण फेला परेन। भनेकै भए पनि उसलाई नराम्रो लाग्न नपाउने? हामी अचम्मकै छौँ।

यहाँनिर पनि यस्तै भयो। हामीलाई मिठो लाग्ने मोमो संसारलाई नै मिठो लाग्न पर्ने। ठीक छ सूचीमा परेको भए। तर ठ्याक्कै त्यस्तो नभई कुरा घुमाइएको रहेछ।

खासमा सीएनएनको ट्राभल सेक्सनमा The world’s tastiest dumplings शीर्षकमा ३ डिसेम्बर २०२१ मा एउटा आर्टिकल राखिएको रहेछ। त्यसमा विश्वभरका ३५ वटा डम्पलिङ्ग अर्थात् पीठोमा बेरिएको खानेकुराको सूची राखिएको रहेछ। अनि त्यसैमा रहेछ मोमो पनि। तर सीएनएनले यसमा नेपालकै मोमोलाई सूचीमा राखेको भनेर छुट्याएको छैन। मोमो उत्तर भारतीय, नेपाली र तिब्बती परिकार रहेको उल्लेख छ। नेपाली व्यापारीहरुले पर्यटकहरु जाने ठाउँमा मोमो भित्र स्निकर्स र मार्स (चकलेट) पनि भर्ने गरेको उल्लेख छ।

यति लेखिएको कुरामा समाचार कसरी आयो हेर्नुस् त। यो नेपालप्रेसको-

माथिको अङ्ग्रेजी मूल र मुनिको नेपालप्रेसको अनुवाद पढ्नुस् त। कुरो कति बटारिएर आयो।

सीएनएनले संसारकै स्वादिष्ट खानाको सूची निकालेको हैन, विश्वका स्वादिष्ट ३५ वटा डम्पलिङ्गको सूची राखेको हो।

अनि अर्को लाइन हेर्नुस्, नेपालको राजधानी काठमाडौँ घुम्न जाने विदेशी पर्यटक माझ मःम आकर्षक परिकार रहेको समेत सीएनएनले जनाएको छ रे। कहाँ जनाएको छ?

त्यसमा उद्यमशील नेपाली व्यापारीहरुले काठमाडौँमा मोमोभित्र स्निकर्स र मार्स बार (चकलेट) पनि भर्ने गरेको, विशेषतः पर्यटकीय क्षेत्रमा पो भनिएको हो त।

अनलाइन मिडियाकै हालत यस्तो छ भने सोसल मिडियाको त झन् के कुरा ! रुटिन अफ नेपाल बन्दले पनि ‘नेपाली मोमो’ भनेर ट्विट गरेको रहेछ।

 

समोसासित किन रिस ?

अनि यो समाचार लेख्नेहरु सबैलाई मोमो मात्रै मन पर्ने रहेछ कि क्या हो। समोसासित चाहिँ रिस रहेछ कि ! किनभने सीएनएनको त्यो सूचीमा समोसा पनि रहेको छ। समोसा पनि नेपालमा खाइन्छ नै। समोसालाई चैँ त्यसमा दक्षिण र दक्षिणपूर्वी एसियामा लोकप्रिय लेखिएको छ।

कुरो जे भए पनि आफूलाई मीठो लाग्ने मोमो मज्जाले मीठो मानी मानी खाउँ। अरुले मीठो भनोस् नभनोस् बाल दिउँ। कसैको सूचीमा पर्नु परेन। आफूलाई मीठो लागे भइगो नि। कि कसो हजुर ? 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme