Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली महिला नासामा अध्ययन गर्न गएको? हावा समाचार, नपत्याउनुस् !

Posted on March 1, 2024March 1, 2024 by Salokya

हिजो अस्ति भर्खरको कुरा हो, पक्कै पनि तपाईँले एउटा छाती चौडा हुने, गर्व लाग्ने समाचार अनलाइन मिडियाहरुमा पढ्नुभएको हुनुपर्छ।

समाचारको शीर्षक थियो- ‘नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् फलानो’

नेपालीहरु नासा भन्ने बित्तिकै यस्सै भावुक भइदिन्छन्। विजय शाहीदेखि अरु धेरै नासा पुगिसके। कुरा बुझ्दै ल्याउँदा थाहा भो, यस पटक पनि भावुक मिडियाले नेपालीलाई नासामा उडाइदिएका रहेछन् पहिलो पूर्ण छात्रवृत्ति भन्दै।

मिडिया पनि एउटा हो र, धेरै वटामा आएका थिए। झुट पनि धेरै पटक बोलेपछि सत्य जस्तै हुन्छ भन्ने कुरा यसमा पनि देखियो। यति धेरै अनलाइन मिडियामा यो न्युज आए कि हो जस्तै लाग्न थाल्यो।

तर, तथ्य भने छुट्टै हुन्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले छात्रवृत्ति नदिने होइन, दिन्छ। तर सन् २०२४ को छात्रवृत्ति कसलाई दिने भनेर घोषणा हुनै बाँकी छ। यसका लागि आवेदन दिने म्याद नै अप्रिल ३० सम्म छ। नपत्यााए हेर्नुस् नासाको आधिकारिक साइटमा नै।

मिडियाकर्मीले यति मात्रै भेरिफाइ गरेको भए यस्तो हावा समाचार आउँदैन थिए। तर हेर्नुस् त- गोरखापत्रदेखि रातोपाटीसम्म, अनलाइनखबरदेखि नेपालखबर, नेपालभ्युजसम्म त्यही हावामा लागेका-

रातोपाटीको अर्काइभ लिङ्क। 

नेपालखबरको अर्काइभ लिङ्क। 

नेपालप्रेसको अर्काइभ लिङ्क। 

नेपालभ्युजको अर्काइभ लिङ्क। 

अनलाइनखबरले र गोरखापत्रले भिडियो राख्यो

मिडिया झुक्किएपछि रुटिने पनि झुक्किनु कुन ठूलो कुरो भो र। आखिर मिडियाकै न्युज त हो उसको पनि सोर्स। उसले पनि बिग एचिभमेन्ट भन्दै ठोक्दियो यसरी ।

 

खासमा कुरो के हो ?

जसले जे भन्यो वा पस्कियो, त्यही पाठकलाई दिनुअघि मिडियाले हल्का भेरिफाइ गरेको भए आजभन्दा ७ वर्षअघि प्रकाशित समाचार नै हेर्न सकिन्थ्यो।

यो हेर्नुस् सात वर्षअघि सन् २०१७ मा प्रकाशित समाचारको स्क्रिनसट-

छोटकरीमा STSI भनिने स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा रोजिताले सन् २०१७ मा समर इन्टर्नसिप गरेकी हुन्। STSI सन् १९८१ मा स्थापना भएको कम्युनिटीबेस्ड साइन्स सेन्टर हो। एसोसिएसन अफ युनिभर्सिटिज फर रिसर्च इन एस्ट्रोनोमीले नासाका लागि सञ्चालन गरेको यो सेन्टरमा रोजिताले २०१७ अगस्त ७ मा प्रस्तुति पनि दिएका थिए, जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ।

यसबाहेक नासासित उनको अरु केही सम्बन्ध छैन।

तर उनले छात्रवृत्ति नै नपाएकी भने होइन है। उनले Bell Burnell Graduate Scholarship Fund भने पाएकी छिन्। तर मिडियाले दावी गरे जस्तो यो अमेरिकाको नासाको छात्रवृत्ति नभएर बेलायतको हो। युनिभर्सिटी अफ म्यानचेस्टरले यो छात्रवृत्ति डक्टरल स्कलरसिप फन्ड अन्तर्गत भौतिकशास्त्र (फिजिक्स) अध्ययनका लागि दिन्छ। पढ्नुस् थप जानकारी

छात्रवृत्ति (स्कलरसिप) पाएकी उनको अन्तर्वार्ता यहाँ हेर्न सकिन्छ।

भूतकाल‌+वर्तमानकाल = भविष्यकाल

समाचार पढ्ने हो भने यसमा भूतकाल (नासाका लागि काम गर्ने सेन्टरमा समर इन्टर्नसिप गरेको) र वर्तमान काल (बेलायतको स्कलरसिप) लाई घोलघाल पारेर नासामा पूर्ण छात्रवृत्ति पाएको भनेर ठोकेका रहेछन्।

कति रमाइलो !

तथ्यलाई यसरी तोडमरोड गर्न पाइन्छ ?

भएको के होला त ?

यसो सोचिहेर्दा कुनै समाचार एजेन्सीको पत्रकारलाई सम्पादकले त्यो कार्यक्रम कभर गर्न अह्राएका होला। बिचराको धेरै ठाउँमा रिपोर्टिङ वा भिडियो खिच्ने काम थियो होला। अलि हतारमा पनि थियो होला। त्यसैले पूरा कार्यक्रममा बस्न भ्याएनन् होला। अनि सुरुका केही समय बस्दा नासामा पढेको (इन्टर्नसिप) को कुरा आइरहेको थियो होला, कार्यक्रम पनि छात्रवृत्ति सम्बन्धी नै थियो। लौ नासामा छात्रवृत्ति भनेर ठोक्दिएछन्। एजेन्सीको समाचार भनेपछि आँखा चिम्लेर हाल्ने बानी परेकाहरुले भेरिफाइ किन गर्थे र, हाल्दिए त्यही।

अनि ?

अनि पाठक त झुक्किए, झुक्किए। स्वयं समाचारकी पात्रलाई समेत लाज लाग्यो। अनि त बेलायतबाट रोजिताले यस्तो स्टायटस फेसबुकमा ठोकिन्। अब त अलि कुरीकुरी लाग्ला कि मिडिया र त्यो समाचार राख्ने पत्रकारहरुलाई 🙂

 

त्यसैगरी यो समाचार संकलन, उत्पादन र वितरण गर्ने न्युज एजेन्सीले पनि गल्ती स्वीकार गरेर यस्तो विज्ञप्ति निकालेको छ-

नासा र अन्तरिक्ष भनेपछि नेपालीहरु के साह्रो हुरुक्क हुन्छन् के।

केही वर्षअघिको यो समाचार पनि तपाईँहरुलाई थाहै होला।

नझुक्किनुस्, नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी होइनन्, खास कुरा यस्तो हो

त्यति मात्र होइन प्रहरीले पनि नासा भनेर झुक्याएको यो ब्लग छुटाउनु त भएन नि ?

‘नासा’ भनेपछि नेपालीहरु किन हुरुक्कै हो के, अपराधी पक्रन पनि ‘नासा’ !

 

*यो ब्लगमा केही समय नेपाललाइभको पनि नाम जोडिएछ। नेपालखबर लेख्नुपर्नेमा नेपाललाइभ पनि जोडिएकोमा क्षमा गर्नुहोला। नेपाललाइभमा यो खबर आएको छैन। 

1 thought on “नेपाली महिला नासामा अध्ययन गर्न गएको? हावा समाचार, नपत्याउनुस् !”

  1. Raghu Ghimire says:
    March 8, 2024 at 8:05 pm

    कती मिहीनेत गरेच यो mysansar ले! नेपाली मीडिया कती हावा छ, होस किया जाए!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme