Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘नासा’ भनेपछि नेपालीहरु किन हुरुक्कै हो के, अपराधी पक्रन पनि ‘नासा’ !

Posted on September 15, 2021September 15, 2021 by Salokya

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (National Aeronautics and Space Administration) लाई नेपालीहरुले खुबै मान्छन् कि के हो। जेमा पनि नासा कै नाम झुण्डिरहेको हुन्छ। केही अघि मात्र स्वघोषित मेमोरी किङ विजय शाहीले आफू नासामा गएको कुरा बताएका थिए। मेमोरी र नासाको के सम्बन्ध छ, यो थाहा पाएर थाहा पाइनसक्नुको कुरो हो। तर नासाको कुरा ल्याएर मज्जैले झुक्याए युट्युबर भाग्य न्यौपानेले। तर उनै न्यौपाने चार महिनादेखि हराएका छन्, नासै गएका हुन् कि! त्यही भनेर भिडियो आउन बेर छैन।

नेपालीहरुको मनमा रहेको यही नासाको हौवा देखेर नै हो कि नेपाल प्रहरीले पनि यो नासालाई मज्जैले उपयोग गर्ने रहेछ। यो कुरा भर्खरको संखुवासभा काण्डमा खुलासा भएको छ।

म ध्यानमा रहँदा यता संखुवासभामा एउटा डरलाग्दो काण्ड भएछ। भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जना हत्या भएको अवस्थामा भेटिए।

प्रहरीले यो घटनाका अभियुक्त फेला पारिसकेको छ। प्रमाण खासै केही फेला पार्न सकिएको छैन तर प्रहरीले सबलाई मार्ने लोकबहादुर कार्की नै भएको आफ्नो अनुसन्धानको निश्कर्ष पत्रकार सम्मेलन गरेरै सुनाइसकेको छ।

कार्कीलाई पक्रन पनि प्रहरीले नासाकै सहयोग लिएको कुरा रातोपाटीमा प्रकाशित एउटा समाचारबाट खुल्छ।

६ जनाको हत्या गरेको चिर्पट अगेनामा हाल्ने लोकबहादुरको भित्रीकथा : अनुसन्धानमा संलग्न प्रहरी भन्छन्– …अनि बल्ल अपराध कबुल गर्‍यो’ शीर्षकको रातोपाटीमा प्रकाशित समाचारमा यो घटनाको अनुसन्धानबारे विस्तृत विवरण प्रकाशित छ।

सोधपुछकै क्रममा प्रहरीले ‘हत्यामा तिमीबाहेक अरू कोही संलग्न हुनै सक्दैन, हत्या किन र कसरी गर्‍यौ भन’ भनेपछि लोकबहादुरले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै प्रमाण देखाउन चुनौती दिएका रहेछन्।

त्यसपछि चाहिँ यो नासा प्रसंग आएको रहेछ।

समाचार अनुसार प्रहरीले त्यस गाउँ, घटनास्थलको वरिपरि र त्यहाँ रहेका सबै घर देखिने गरी ‘स्याटेलाइट पिक्चर’ निकालेछ। शायद गुगल अर्थबाट होला। त्यसमा लोकबहादुरको घर स्पष्ट देखिएछ र पहिलो पटक तेजबहादुरमाथि आक्रमण भएको स्थान पनि स्पष्टरुपमा चिनियो रे समाचारका अनुसार।

त्यसपछि प्रहरीले त्यही तस्बिरलाई देखाएर लोकबहादुरलाई भनेछ, ‘घटनामा संलग्न तिमी नै हौ, यो घटना भएको समयको फोटो हो र हामीले नासाबाट घटना भएको दिनदेखि बेलुकासम्मको सबै भिडियो मगाएका छौँ । त्यो भिडियो आएपछि तिम्रो संलग्नता पुष्टि हुन्छ।’

लौ भो त अब। नासाले कहाँबाट अब ठाउँ ठाउँको भिडियो खिचेर बस्नु।

तर अपराधीलाई पक्रन निकालेको टेक्निक रहेछ यो।

समाचार अनुसार त्यसपछि भने लोकबहादुरको अनुहारमा केही परिवर्तन आएछ। अनि लोकबहादुरले भने कि ‘भिडियो देखाए म स्विकार्छु कि मैले नै यो सबै गरेको हो, नत्र तपाइँसँग प्रमाण के छ ?’

फेरि पनि लोकबहादुरले प्रमाणकै कुरा गर्नु र भिडियो देखाए मान्छु भनेपछि प्रहरी अपराधमा संलग्न व्यक्ति ऊ नै हो भन्ने निश्चित गरेको भन्ने कुरा छ समाचारमा।

प्रहरीसित त लोकबहादुरले आफैले घटना गराएको भनेको छ। तर अदालतमा पुगेपछि इन्कारी बयान पक्कै गर्ला। नगरे त सजिलै भो। गर्‍यो भने त्यस्तो अवस्थामा उनको अपराध पुष्टि हुने प्रमाण जुटाउनु पर्ने चुनौती छ प्रहरीमा। नासाको भिडियो त पक्कै देखाउन पाउने छैन अदालतमा प्रहरीले।

चिर्पटले हानेर हत्या गरेको भनिएको छ तर त्यो चिर्पट जलाइसकिएको भनिएको छ। रगतको टाटा पनि धोइसकियो भनिएको छ। अब अरु परिस्थितिजन्य प्रमाणहरुबाट कसरी उसैले हत्या गरेको भनेर पुष्टि गर्ने हो अदालतमा, हेर्न बाँकी छ।

तर प्रहरीले चलाखी चैँ गरेको हो- नासाको भिडियो भनेर। नेपालीहरु यसै पनि नासा भनेपछि हुरुक्कै हुन्छन्। नासाले सबको भिडियो खिचिरहेको छ भन्ने पनि पत्याउँछन्। सावधान !

बच्चा बेलामा हामी बिजुली चम्कँदा माथि आकाशबाट फोटो खिचेर फ्ल्यास झैँ बत्ती बलेको भन्थ्यौँ। शायद् त्यसलाई पनि अब नासाले फोटो खिचेको भन्नुपर्ने होला 🙂

2 thoughts on “‘नासा’ भनेपछि नेपालीहरु किन हुरुक्कै हो के, अपराधी पक्रन पनि ‘नासा’ !”

  1. sushil says:
    September 24, 2021 at 3:05 pm

    Uhile Maobaadi le pani hamlai vote halenau bhane nasa baata satellite image nikalera patta lagayera herchau bhanera 2/3 lyako bhanne halla thiyo ek taakaa.

    Reply
  2. बासु says:
    September 15, 2021 at 6:49 pm

    हो नि, नासाको नाममा कलेज, रेस्टुरेन्ट, आदि त खुले खुले, गीत समेत बनेको छ |विदेशको जे पनि प्यारो |हैट!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme