Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रवि लामिछाने जोडिएको ‘खोया’ फलोअपमा कान्तिपुरले छुटाएका महत्त्वपूर्ण विषयहरु

Posted on December 25, 2023December 26, 2023 by Salokya
  • राजन अधिकारी (@ADH_RAJAN)

आज ‘कान्तिपुर’ले फ्रन्ट पेजमा पोखराको सूर्यदर्शन सहकारी स्क्याम बारे ३-३ जनाको संयुक्त रिपोर्टिङ छापेको छ। त्यहाँ जीबी राईको फोटो राखिनुसम्मको औचित्य देखिन्छ किनभने जीबी सो सहकारीका हर्ताकर्ता थिए/हुन्। तर सँगै रवि लामिछानेको फोटो राखिएको मात्रै छैन, सिंगो रिपोर्टिङको केन्द्र नै बनाइएको छ।

२ जनाको फोटोसँगै त्यहाँ एक छानबिन समितिको प्रतिवेदनको एउटा पेज/चिर्कटो पनि राखिएको छ जुन निकै दिन अघिदेखि सामाजिक सञ्जालमा छ्याल्लब्याल्ल उपलब्ध थिए। र, सिङ्गो रिपोर्टिङको कन्टेन्ट नै त्यही एक चिर्कटोको गोलमटोल व्याख्यामा केन्द्रित देखिन्छ। त्यसबाहेक रिपोर्टिङ गर्नेहरुले कुनै थप विवरण दिन सकेका छैनन्। कतिसम्म भने कहिले कुन मितिमा सो transaction भएको भनी खुलाउन पर्ने न्यूनतम कुरा समेत खुलाउन सकेका छैनन्। रविले ऋण लिएको भनि ‘सबहेडिङ’ मै लेखिएको छ तर भित्र लेखिएका कन्टेन्ट केलाउने हो भने रविले ऋण लिएको पुष्टि हुने आधार दिन सकेका छैनन्। निकै गोलमटोल व्याख्या छ त्यो चिर्कटोको।

यसमा अलिकति थोरै पृष्ठभूमि दिन चाहेँ। अस्ति पोखरामा एउटा सभामा रविले भाषण गर्दैगर्दा मञ्चमा मकैको खोया हानियो।  त्यसको समाचार बनाउने क्रममा कान्तिपुरले पत्रकारिताको न्यूनतम मर्यादा समेत ख्याल नगरी हचुवाकै भरमा खोया हान्ने व्यक्ति सहकारी पीडित थिए र रविले सहकारीबारे बोलेपछि आक्रोशित भई खोया प्रहार गरेका हुन् भनी “ठोकुवा” सहित समाचार लेखिदियो। पढ्नुस् समाचार।

त्यसको प्रतिवाद गर्दै रविले सञ्जालमा लामो स्टेटस लेख्दै सो व्यक्तिलाई नियन्त्रणमा राखेका प्रहरी अधिकारीसँग भेरिफाइ गर्दै फोन संवादको भिडियो समेत हालिदिए। र कान्तिपुरलाई चुनौती समेत दिए। पढ्नुस् फेसबुक स्टेटस। 

त्यही चुनौतिको प्रतिवाद स्वरुप रविलाई केन्द्रमा राखेर आजको सो फ्रन्टपेज रिपोर्टिङ आएको हो भन्नेमा कुनै शंका छैन। किनभने आज नै खोया प्रहार बारे कान्तिपुरले गरेको “खोयाकारिता” वाला समाचारमा माफी माग्दै सच्याएको छ।

कान्तिपुरले क्षमायाचना गरेको समाचारको स्क्रिनसट।

 

अब रविलाई जोड्न समाचारमा के के गरियो, दफावार छलफल गरौँ।

ग्यालेक्सी टिभी र सहकारी सञ्चालक एकै भए पनि फरक entity हुन् भन्ने बुझ्न जरुरी छ। तर जीबी जोडिएपछि सबै एकै हो जसरी प्रस्तुत गरिएको छ समाचारमा। हेडलाइनदेखि लिडलाइनमा नै ग्यालेक्सी टिभीका संचालकले गरेको हिनामिना भनिएको छ। खासमा ग्यालेक्सी टिभीमा सञ्चालक समेत रहेका जीबी राई हर्ताकर्ता रहेको सहकारी बारेको रिपोर्टिङ हो/हुनपर्थ्यो। तर ग्यालेक्सी टिभीकै सञ्चालक भनेर नबनाए रविलाई केन्द्रमा राख्न अलि अप्ठेरै पर्थ्यो। एङ्गल नै मिल्दैनथ्यो।

जीबी राई र उसको सहकारीको इस्यु उठान गरेर बिना पर्याप्त आधार रवि लामिछानेलाई यत्रो ३-३ जनाको संयुक्त बाइलाइनको केन्द्रबिन्दु बनाउनुमा सम्पादकीय नियत के कति उचित मान्ने पत्रकारिताको दृष्टिकोणबाट हेर्दा? पत्रकारिता गरेका/गर्ने महानुभावहरुले यसो विचार गर्न पर्ने पक्ष हो यो जस्तो लाग्छ।

पुलेसो कर्जा भनेको के हो त?

सामान्य भाषामा भन्दा Bridging loan वा पुलेसो कर्जा भनेको तपाईँको आते र जाते कारोबार धान्न छोटो अवधिको लागि लिइने कामचलाउ कर्जा हो। जस्तै तपाईँलाई आफ्नो घर बेचेर अर्को घर किन्नुपर्‍यो तर बेच्ने घर तत्काल बिकेको छैन, अनि किन्न चाहेको घर लिन परिसक्यो भने त्यो किन्न लिइने कर्जालाई पुलेसो कर्जा भनिन्छ। त्यो बेच्ने घर बिकेपछि चुक्ता हुन्छ/ गर्नुपर्छ।

रवि लामिछाने बारे प्रतिवेदनमा १ करोड रकम जोडेर के लेखिएको छ त? यत्ति हो। यो भन्दा बढी कान्तिपुरले प्रतिवेदन पढेर बनाएको यत्रो लामो रिपोर्टिङमा थप केही राखेको छैन।

सामान्य बुझाइमा व्यवसायिक हिसाबले हेर्दा रवि र जीबी बिच “जीबी-सहकारी-जीबी-ग्यालेक्सी-रवि” यस्तो सम्बन्ध रहेको देखिन्छ।

ग्यालेक्सीले जीबीसँग र जीबीले सहकारीसँग गरेको कारोबार अनि त्यसको फलस्वरुप ग्यालेक्सी र जीबीले रविसँग गर्ने/ गरेको कारोबार हुनसक्ने सम्भावनालाई पूर्णतः नकार्न पनि सकिन्न। उनीहरु बीच लेनदेन नभएको त हुनै सक्दैन नि!

तर त्यो छुट्याएर हेर्न खोजिएको छैन।

फेरि यहाँ रविको नाम मात्र पनि छैन। यहाँ सँगैको अर्को खण्डमा गोर्खा मिडिया नेटवर्कको पेस्की फर्छ्यौट गरिएको पनि भनिएको छ जसको लागि रविको नाममा पुलेसो कर्जा बनाएर फर्छ्यौट गरिएको भनिएको हो। त्यो पुलेसो कर्जा फेरि जीबी राईको नाममा सारेर रफादफा भइसकेको पनि भनिएको छ।

रवि जोडिएका प्रसंगहरु बारे समाचारमा के छ ?

दोस्रो पाराग्राफमा यस्तो लेखिएको छ

यही क्रममा सूर्यदर्शन सहकारीसँग कुनै साइनो नभएको दाबी गर्ने लामिछानेले पनि पेस्कीका नाममा एक करोड लिएको र राईकै शैलीमा अर्को खाता खडा गरी फर्छ्योट गरेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिको नेतृत्व गरेका अनिल लामिछानेको बाइट लिएर छैठौँ पाराग्राफमा यस्तो लेखिएको छ

धेरै फेक लोन जारी भएको छ,’ उनले भने, ‘सुरुमा एक करोड रुपैयाँ बराबरको ऋण गोर्खा मिडिया नेटवर्कका नाममा लगेको देखिन्छ । त्यसपछि रवि लामिछानेका नाममा पनि पेस्की गएको भेटियो । त्यसलाई पनि सेटल गर्न सहकारीका तत्कालीन सञ्चालक जीबी राईकैमा सारेको देखियो । यसका लागि उनीहरूले ब्रिज ग्याप लोन (पुलेसो कर्जा) बनाएका रहेछन् ।’

त्यो चिर्कटोमा भएको यही होइन र? गोर्खा मिडिया नेटवर्कको नाममा १ करोड लगियो अनि रविको नाममा पुलेसो कर्जा खडा गरियो (यो रविले नै गरेको भन्ने आधार फेरि केही छैन) अनि त्यो फेरि जीबी राईकोमा सारियो। जीबीले यस्तो धेरैपटक गरेको भनेर फेरि सातौँ पाराग्राफमा यस्तो लेखिएको छ-

सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अध्यक्ष तथा सञ्चालकहरूले पेस्कीका रूपमा लिने र कृत्रिम खाता खडा गरी रकम जम्मा गरेको देखाएर फर्छ्योट गर्ने गरेको छानबिनबाट देखिएको छ । जीबी राईले मात्र १४ पटक निकालेको पैसा यस्तै खाता खडा गरी फर्छ्योट गराएका छन् । जबकि यस्तो रकम सहकारीको खातामा जम्मा भएकै थिएन । त्यस्तै ग्यालेक्सी टेलिभिजनका जीबीका व्यापारिक साझेदार रहेका रवि लामिछानेका नाममा पनि एक करोड रुपैयाँ पेस्की निकालिएको थियो । सहकारीबाट कर्जा पाउने अधिकार बचतकर्ता सदस्यहरूलाई मात्र हुन्छ । लामिछाने स्वयंले यो सहकारीसँग आफ्नो कुनै साइनो नभएको दाबी गर्दै आएका छन् । तर उनले ‘इन्टरनल लोन’ (आन्तरिक कर्जा) शीर्षकमा १ करोड ऋण लिएको प्रतिवेदनमा उल्लेख छ ।

गोलमटोल कुरा

यहाँ आएर कुरो अलि गोलमटोल छ। गोर्खा मिडियाको पेस्की फर्छ्योट गर्न रविको नाममा कर्जा खडा गरिएको हो। रविले पैसा निकालेको होइन। अनि रविको कर्जा फेरि जीबीको नाममा सारिएको हो। पैसा त यहाँ मूभ नै भएको छैन। सब कागजी काम भएको छ। जीबीले कसरी घपला गर्ने गरेका रहेछन् भनेर यहीँ बताइएको छ।

बचतकर्ता बाहेकलाई कर्जा पाउने अधिकार नै छैन पनि भनिएको छ तर फेरि रविले ‘इन्टर्नल लोन’ लिएको प्रतिवेदनमा उल्लेख छ भनिएको छ।

कानूनविपरीत रविलाई दिइयो भनिएको छ, तर सोझै दिएको त फेरि समाचारबाट कसैगरी पनि बुझिँदैन/ खुल्दैन। चिर्कटो बाहेक अन्य कुनै आधार प्रस्तुत गरेका भने छैनन्। तर पनि रविलाई नै केन्द्रमा पारेर समाचार बनाइएको छ। अरे बाबा, कहिले कुन मितिमा लिएको भन्नेसम्मको रेकर्ड त हुन्छ नि हौ प्रतिवेदन नै पढेको भए!

रविले सहकारीसँग सम्बन्ध नै नरहेको, न संचालक रहेको न बचतकर्ता रहेको दाबी झुठो हुनसक्छ कि भन्ने शंका लागेको भनौँ भने चार्टर्ड अकाउन्टेन्ट नेतृत्वको समितिले बनाएको प्रतिवेदन पढेरै समाचार बनाएको दाबी गर्दैछन्। त्यसमा त सबैथोक उल्लेख हुनपर्ने हो। उनीहरुले फूल अडिट नगरी प्रतिवेदन त बनाएनन् होला।

त्यो चिर्कटोमा देखिएको एक ठाउँ बाहेक अन्यत्र नामै भेटेनन् कि लेखेनन् उनै जानून्। तर यतिको आधारमा त्यत्रो ठूलो स्क्याममा co-conspirator जसरी पत्रिकामा प्रस्तुत गर्ने आधार पुग्ने देखिँदैन।

किन लेखियो त त्यसरी?

रविले च्यालेन्ज दिएपछि “पख तँलाई कान्तिपुरको पावर देखाइदिन्छु” भनेर पो यसरी लेखे कि!

कान्तिपुरले ठगिएका सहकारी पीडितको पक्षमा पत्रकारिता गरेको हुन्थ्यो भने यत्रो ठूलो स्क्याम बारे मुद्दा दर्ता भइ जीबी फरार हुँदा कभर गर्थ्यो। जीबीका सबै सहकारीको बारेमा खोतलेर यति ठूलो स्क्यामका बारेमा खुलस्त पारिन्थ्यो। तर यो त रविले चुनौती दिएकाले रविविरुद्ध तुस पोखेको जस्तो पो देखियो।

‘हर्ट अट्याक’ हुने अवस्था

‘ग्यालेक्सी टीभीका सञ्चालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्ब बचत’ शीर्षकको कान्तिपुरको पहिलो पेजको मेन न्युजको पहिलो sub-headline मा लेखिएको छ- पसिनाको कमाइ डुबेपछि बचतकर्ता ‘हर्टअट्याक’ भएर अस्पताल भर्ना हुने अवस्था।

मुटु भएका सम्पादक भएकाले मुटुलाई यति महत्त्वका साथ sub-headline तानिएको मानौँ ल। तर यसको पुष्टि चाहिँ कसरी गरिएको छ त? समाचारमा मात्र एउटा लाइन यस्तो राखिएको छ- पीडितहरू ‘हर्टअट्याक’ भएर अस्पताल भर्ना भएको पनि संघर्ष समितिका संयोजक श्रेष्ठले बताए ।

याद गर्नुस् त, sub-headline मा एकवचन भएको (बचतकर्ता) समाचारमा आइपुग्दा बहुवचन (पीडितहरु) भएको छ।

सहकारीका बचतकर्ता (पीडित) हरु हर्ट अट्याकै भएर अस्पतालमा भर्ना भएको अवस्था हो भने त परिचय खुलाएर यो ‘हार्ड न्युज’को ‘इन्ट्रो’ ‘सफ्ट न्युज’ पाराबाट पनि गर्न सकिन्थ्यो होला। त्यो गरे समाचारको ‘इमोसनल टच’ अनि ‘एङ्गल’ झन् पो प्रभावकारी हुन्थ्यो कि। यो चाहिँ किन छुट्टाए कुन्नि ?

कि sub headline मा तान्न सूर्यदर्शन बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको quote नै बंग्याइएको हो? खासमा ‘पीडितहरुको हर्ट अट्याक हुने अवस्था आइसक्यो’ भनेको तर समाचार सनसनीपूर्ण बनाउने धुनमा ‘पीडितहरू ‘हर्टअट्याक’ भएर अस्पताल भर्ना भएको’ त हुन गएको हैन ?

किनकि व्यक्तिको भनाई तोडमरोड गरेर आफ्नो समाचारको एङ्गल अनुसार बनाउनु त नेपाली पत्रकारिताका केही खास वरिष्ठहरुको त ‘सिग्नेचर शैली’ नै हो। यदि यस्तो अवस्था हैन भने हर्ट अट्याक भएर अस्पताल भर्ना भएका पीडितहरुको बारेमा फलोअप स्टोरी पनि आउला भन्ने आशा गर्न त मिल्ला नि।

समाचारमा सो प्रतिवेदन सूचनाको हक अन्तर्गत मगाएर अध्ययन गरेर लेखिएको भनिएको पनि देखियो। तर १-२ दिनमै सूचनाको हक अन्तर्गत मागेको सूचना पाउन त महानगरका मेयर नै ससुराली दलको हुनपर्छ। नत्र नेपालमा यो सहजै सम्भव हुने कुरो कल्पना बाहिरको कुरा हो।

रवि नै जोडेर यसअघि यस्तै पर्याप्त आधार बिना र गलत तथ्य राख्दै फ्रन्टपेज समाचारहरु आएको बेला पनि मैले ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए पढ्नुस्- रवि लामिछानेलाई मुछेर ‘कान्तिपुर’ले लेखेका तीन वटा ‘मेन न्युज’ ले लुकाएका महत्त्वपूर्ण विषय

मेरो त्यो ब्लगपछि समाचार लेखकहरुले ‘फ्याक्ट चेक’ को आवरणमा पत्रकारिता धमिलो बनाउने प्रयास भएको आरोप लगाउँदै मेरो विचारलाई मञ्च दिने ब्लग सञ्चालकलाई समेत व्यक्तिगत रुपमा लाञ्छित गरेपछि उनले पनि लामो ब्लग लेखेर प्रष्टिकरण दिएका थिए। यहाँ हेर्नुस्- रामेश्वरलाई जोगाएर रविलाई मात्र मुछ्ने समाचार लेख्ने कान्तिपुरका पत्रकारले दिएको चुनौतिमा मेरो जवाफ

आशा छ, मेरो यो ब्लगमा सञ्चालकले यो फ्याक्ट चेक होइन भनेर त्यसमा जस्तो डिस्क्लेमर हाल्नु पर्ने छैन। किनकि यो फ्याक्ट चेक होइन, मेरो व्यक्तिगत विचार समेटिएको ब्लग हो।

रवि बारे लेख्न थाल्दा खै किन हो किन कान्तिपुरले पत्रकारिताको एबिसीडी नै भुले जस्तो गर्छ। सूचनाको हक त त्यसबेला पनि प्रयोग गर्न सकिन्थ्यो नि- कान्तिपुरले विदेशी भनेको तर खासमा नेपाली नै रहेको कम्पनी एडभान्टेज इन्टरनेसनलबारे पत्ता लाउन ! चलखेल भयो भन्दै ठेक्का दिने बारे बडे बडे हेडलाइन बनाउने अनि त्यही चलखेल गरेर ठेक्का लिने बारे बुझ पचाउने पारा पनि गज्जबकै थियो। एडभान्टेजको साउजीको नाम पत्ता लाग्यो कि लागेन त?

त्यसमा त फलोअप पनि आएन। त्यो गृहमन्त्री नारायणकाजीले गठन गरेको समितिको प्रतिवेदन के भयो? कार्यविधि नयाँ बन्यो कि बनेन? कसले कसरी ठेक्का पाउने भन्दा पनि त्यो कार्यविधि बमोजिम हुनपर्ने काम त निकै महत्वको पो थियो त! त्यत्रो लगानी भएको बहुउपयोगी प्रोजेक्ट पंगु बनाएर राख्याछन्।

ए साँच्चै! एडभान्टेज त सर्वोच्च अदालत गएको छ भन्ने थाहै होला के रे! मुद्दा चालु नै छ है।

4 thoughts on “रवि लामिछाने जोडिएको ‘खोया’ फलोअपमा कान्तिपुरले छुटाएका महत्त्वपूर्ण विषयहरु”

  1. रमेश कुमार says:
    December 26, 2023 at 3:29 pm

    यसरी कसैको चरित्र हत्या गर्दै समाचार लेख्ने अनि फेरि यो कुरा हालसम्म पुष्टि नभएको भनी माफी माग्ने कान्तिपुरको नियतमा खोट देखियो

    Reply
  2. सुमन जी says:
    December 26, 2023 at 10:59 am

    अरू त त्यस्तै हो कान्तिपुर ले ठोस प्रमाण बिना समाचार लेख्ने अनि मान्छे सँग ब्ल्याकमेल गर्ने धेरै प्रमाण आउन थालेको छ

    Reply
  3. Akabar joshi says:
    December 26, 2023 at 10:33 am

    Damii blog.

    Reply
  4. पाठक says:
    December 26, 2023 at 7:18 am

    तर …. रवि लामिछानेले यसको प्रतिरक्षामा
    किन …
    “फेरि” …
    “मेरो नागरिकताको दुरुपयोग भएको हुनसक्छ, मेरो कुनै संलग्नता छैन” …
    भने ? …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme