शुक्रबार बिहानैदेखि काठमाडौँमा ‘नून आतंक’ नै मच्चियो। हामी नेपालीलाई फेरि हल्ला फैलिएपछि त्यो साँचो हो कि झुटो हो थाहा पाइराख्नु पनि परेन। मौका पर्खिरहेका कालो बजारियाहरुलाई त झन् के चाहियो- बढाइदिए नूनको भाउ र थपिदिए अझै हल्लामा मरमसला। दैनिक उपभोग्य वस्तु, तरकारकीको भाउ आकाशिँदा वास्ता नगर्नेहरुले हल्लाको भरमा सामाजिक सञ्जालहरुका स्टायटस नूनलाई डेडिकेट गर्न भ्याए। यो हल्लालाई चिर्न केही आर्थिक पत्रकारहरु मात्रै अघि बढे। आर्थिक पत्रकार समाजका अध्यक्ष विज्ञान अधिकारीले लेखे- “नेपाली समाजको जग यति कमजोर छ की सानो हल्लाले पनि मुलुकनै हल्लिन्छ । अहिले नून अभाव त्यसैको नमूना हो । नून अभाव भनेर अहिले बजारबाट एकैचोटी चार पाँच प्याकेट किनेर लगेको मैले आफ्नै आँखाले भेटे । जवकी नूनको एकाधिकार पाएको साल्ट ट्रेडिङले छ महिनालाई पुग्ने मौंज्दात राखेको छ । तर हामी उपभोक्ता पनि एक वर्षलाई पुग्ने नून किन्न बजार दौडिरहेका छौ।” अर्का आर्थिक पत्रकार विष्णु पोखरेल लेख्छन्- “सबै उपभोक्ताले बुझ्न के जरुरी छ भने, यो हल्ला मात्र हो, यथार्थ होइन, यसका पछि लागेर अनावश्यक तनाव लिनुको कुनै तुक छैन। भातजस्तो ग्वाम–ग्वाम खान नमिल्ने नुन घरमा थुपार्नुको अर्थ छैन।” आखिर किन फैलियो त यस्तो हल्ला ?
पोखरेलले आफ्नो ब्लग “खार्पालीको कुनो” मा विस्तृत लेखेका छन्। पढ्नुस्-
यसरी फैलियो ‘नुन सकिएको’ हल्ला
-विष्णु पोखरेल-
बिहानको चिसो हावासँगै शुक्रबार उपत्यकामा विहारतिरबाट आएको एउटा हल्लाले झ्याली पिट्यो। जुन हल्लाले धेरैको मनलाई चिसो बनायो। हल्ला सुन्नेहरु तुरुन्तै नजिकका पसलमा पुगे र नुनका पोका उठाउन थाले। बजारमा नुन सकिएको हल्ला आएपछि चुनावका मुखमा अलिनो तिहुनले छाक टार्नु पर्ला भनेर उपत्यकाबासी आतंकित बने।
‘नराम्रो खबर फैलन एकछिन, राम्रो फैलन धेरै दिन’ भनेजस्तै बजारमा नुन नभएको हल्ला चारै तिर फैलियो। व्यक्तिबाट परिवार, परिवारबाट छिमेक, छिमेकबाट टोल हुदै सहरभरी नुन सकिएको हल्ला फैलियो। वर्षैभरी जस्तो पेट्रोल र ग्यासको अभाव झेल्दै आएका नेपालीले केही महिना अघि पानीवालाको हड्तालले पानी अभाव समेत झेलिसकेका थिए। चुनावकै मुखमा नुन सकिएको हल्ला चलेपछि धेरैको मनमा चिसो पस्नु स्वभाविक नै थियो।
नुन सकिएको हल्ला चलेपछि उपत्यकाभित्र एक प्रकारको आतंक नै मच्चियो। घर, अफिस, सडक जताततै नुनकै चर्चा हुन थाल्यो। जो जहा छन्, त्यहिबाट नुनको जोहो गर्न लागे। पूर्वी नेपालमा त राजधानीभित्रै हल्ला चल्नु अघि नै यस्तै आतंक सुरु भइसकेको थियो।
जब भारतको विहार हुदै पूर्वी नेपाल छिरेको ‘आतंकी हल्ला’ राजधानी पस्यो, नुन आपूर्ति गर्ने एकमात्र निकाय साल्ट ट्रेडिङलाई पनि झस्का लाग्यो। अनि उसले सार्वजनिकरुपमा सूचना जारी गरेर भन्यो, ‘नेपालीलाई सात महिनासम्म पुग्ने नुन छ, अभाव छैन, कसैले अभाव छ भन्छ भने उजुरी गर्नु कारबाही हुन्छ।’
साल्ट ट्रेडिङले उपभोक्तालाई आश्वस्त पार्ने साइत जुराउन्जेल कालोबजारी गर्ने मौकाको पखाईमा रहेका व्यापारीले भने १५ रुपैयाँको नुनलाई ५० रुपैयाँमा समेत बेच्न भ्याइसकेका थिए। साल्ट ट्रेडिङको सार्वजनिक अपिल र वाणिज्य विभाग एवं जिल्ला प्रशासन कार्यालयहरुका अनुरोधलाई समेत अविश्वास गर्दै नुनको खोजिमा निस्कनेहरु शुक्रबार साँझसम्म पसलमा भिड लागिरहेका थिए। सायद शनिबार पनि बिहानैदेखि यस्तै भिड पसलमा देख्न सकिनेछ। तर, सबै उपभोक्ताले बुझ्न के जरुरी छ भने, यो हल्ला मात्र हो, यथार्थ होइन, यसका पछि लागेर अनावश्यक तनाव लिनुको कुनै तुक छैन। भातजस्तो ग्वाम–ग्वाम खान नमिल्ने नुन घरमा थुपार्नुको अर्थ छैन।
यसरी फैलियो हल्ला
नुन अभावको हल्ला नेपालभित्र बाट सुरु भएको होइन। भारतको विहारका चार जिल्ला दरभंगा, सितामणि, समस्तिपुर र मधुवनीबाट सुरु भएको हो। यी चार जिल्लामा गत बुधबार नै गुजरातबाट नुन आपूर्ति बन्द भएको हल्ला चल्यो। हल्लापछि त्यहाका व्यापारीले नुन लुकाएर एकाएक भाउ बढाए। उपभोक्ताले तछाड मछाड गरेर किलोको ६० भारतीय रुपैयाँसम्ममा नुन किने। चार जिल्लाबाट सुरु भएको हल्लाले पुरै विहारलाई एकैदिनमा आतंकित बनाइदियो।
नुनका लागि झडप र जुलुस समेत भए। भारतीय अखबारका स्थानीय संस्करणमा विहिबार गुजरातबाट नुन आउन बन्द भएकाले अभाव हुने भएकाले कृत्रिम भाउ बढेका समाचार छापिए। जब अखबारमा खबर सार्वजनिक भयो, तब यो हल्ला भारतका अन्य राज्यहरुमा समेत फैलियो। विहारसँग जोडिएका नेपालको पूर्वी तराईमा समेत हल्ला आइपुग्यो। विहिबार पूर्वी तराई भित्रिएको हल्ला शुक्रबार मुलुकभर फैलिइसकेको थियो। जसका कारण शुक्रबार बिहानैदेखि नेपालभरका पसलहरुमा नुन किन्ने उपभोक्ताको लर्को लाग्यो।
नुन किन्नका लागि उपभोक्ताको भिड लाग्न थालेपछि पसलेले बढी मूल्य लिएर बिक्री गर्ने र भएको नुन समेत लुकाउन थाले। उपत्यकामा समेत व्यापारीले त्यस्तै गरे। ‘नुन पाइरहेकै थियो, एक्कासी नुन छैन रे? भन्दै ग्राहकहरु आउन थाले,’ खुद्रा बिक्रेता संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले भन्छन्, ‘कहाँबाट हल्ला चलेछ दिनभर नुन किन्न मात्र आए।’ उनका अनुसार नुन अभाव भएको हल्ला चलेपछि केही पसलेले लुकाएर ‘नुन छैन’ भन्दै ग्राहकलाई फर्काउन समेत थाले। यसले गर्दा अभावको हल्ला झन् धेरै फैलियो।
‘यस्तो हल्ला गरेर लुकाउने पसलेलाई वाणिज्य विभागले कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यस्ता कार्यले व्यापारीप्रतिको विश्वास घट्नुका साथै उपभोक्तालाई सास्ती दिन्छ।’ बजारमा नुन नभएको हल्ला फैलिएपछि सरकारले दसैं अघिदेखि चार्डपर्व लक्षित गरि चलाएका उपत्यकाका एकिकृत सहुलियत पसलहरुमा पनि नुन किन्नेको भिड लाग्यो। नुन किन्ने ग्राहकको संख्या ह्वात्तै बढेपछि यस्ता पसलमा साल्ट्र ट्रेडिङले एकजना ग्राहकलाई तीन पोकाका दरले मात्र नुन बिक्री गर्यो।
‘अभावको हल्ला चलेपछि एकाएक हाम्रो स्टलमा नुन किन्न आउने बढे,’ रामशाहपथस्थित सहुलियत पसलमा बसेका ट्रेडिङका वरिष्ठ सहायक श्रृजन रेग्मीले भने, ‘हामीले यहा आउनेलाई अभाव छैन भनेर सम्झाई तीन पोकाका दरले नुन दियौ।’
साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले हाल संस्थानसँग ८४ हजार टन नुनको मौज्दात रहेको छ। यो मौज्दातले नेपालभरको सात महिनाको मागलाई पुग्छ। ‘हामीले सधैं ६ महिनाका लागि मौज्दात राख्ने गरेकै हुन्छौ,’ उनले भनिन्, ‘अहिले त त्यसभन्दा बढी समयलाई पुग्ने नुन छ।’ उनका अनुसार नेपालभर प्रति महिना १० देखि १२ हजार टन नुनको माग रहेको छ।
श्रेष्ठका अनुसार नुन अभावको हल्ला चलेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अघिकारी र वाणिज्य विभागका महानिर्देशकलाई जानकारी दिइएको छ। ट्रेडिङले अभावको हल्ला गरेर बढी भाउ लिने वा नुन लुकाउनेलाई कारबाही गर्न उनीहरुलाई आग्रह गरिसकेको श्रेष्ठले बताइन्। ‘कसैले अझै अभावको हल्ला गरेर बढी भाउ लिइरहेको छ भने हामीलाई खबर गरेपनि कारबाही गर्न पहल गर्छौ,’ उनले भनिन्, ‘नुनको मौज्दात पर्याप्त भएकाले अभाव हुदैन, हामीले नियमित आपूर्ति गरिरहेका छौ।’
उपत्यकाभित्रका व्यवसायीका अनुसार भने सुपथ मूल्य पसलमा छुट दिई नुन किलोको १३ रुपैयाँमा बिक्री गरेपछि केही डिलरले ट्रेडिङबाट नुन किनेका छैनन्। यसले गर्दा कतिपय स्थानमा नुनको आपूर्ति भएको छैन। छुट दिएर सस्तोमा नुन पाइने भएपछि उपभोक्ताले किन्दैनन् भनेर केही डिलरले नुन नउठाएको व्यवसायीहरु बताउछन्। तर श्रेष्ठले भने सबै डिलरले नुन उठाइरहेको दाबी गरिन्।
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले नुन अभावको हल्ला चल्ले वित्तिकै विभागले अनुगमन थालेको बताए। उनले नुन लुकाउने र बढी मूल्य लिनेलाई तत्कालै पक्राउ गरिने जानकारी दिए। ‘हामीले जिल्ला प्रशासन कार्यालय र प्रहरीको समन्वयमा कसैले अभाव देखाएर नुन लुकाउने र बढी मूल्य लिने गरेको भेटेमा तत्काल पक्राउ गरि कालोबार ऐन अनुसार कारबाही गर्छौ,’ उनले भने, ‘हामीले सर्वसाधारणलाई कतै त्यस्तो अवस्था देखिए खबर गर्न आग्रह गरिसकेका छौ।’
भारतीय सञ्चारमाध्यमहरुले विहारमा समेत नुनको अभाव नभइकन हल्ला चलाईको जनाएका छन्। हिन्दुस्तान टाइम्सको अनलाइन संस्करण अनुसार विहारमा हल्ला चलाउने केहीलाई पक्राउ गरिएको छ। उनीहरुले विहारका दरभंगा, सितामणि, समस्तिपुर र मधुवनी जिल्लामा यस्तो हल्ला फिँजाएर नुनको कृत्रिम अभाव देखाएका थिए। हल्लाले विहारमा किलोको ७० देखि सय रुपैयाँ भारुसम्ममा नुन बिक्री भएको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ। विहारका खाद्य तथा उपभोक्ता मन्त्री श्याम रजकले विपक्षी भारतीय जनता दलले नुन अभावको हल्ला फैलाएको आरोप लगाएका छन्। उनले हल्ला फैलाउने व्यक्तिहरु आवद्ध संगठनमा भारतीय जनता दलको प्रभाव रहेको भन्दै आरोप पुष्टी गरेर जनता दललाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएका छन्। (पोखरेलको ब्लग “खार्पालीको कुनो” बाट साभार)
यो कुरो चाहिं साँचो हो – भारतको टिवी च्यानलको खबरले गर्दा थोक व्यापारीले नून आपूर्ति बन्द गरेको महिना नाघी सक्यो… फेरी अर्को थप कुरो , साल्ट ट्रेदिंगले नून १ पाकेट बेच्दा पसलेलाई दिएको मात्र एक मोहर (५० पैसा) नाफा ग्राहक लाइ नून संगै दिनु पर्ने २ वटा प्लास्टिक झोला मै जान्छ . त्यसैले पनि केवल नून मात्र किन्ने लाइ खुद्रा पसलेहरुले बेच्न इच्छा गर्दैनन !…अत: वितरक तिर अनुगमन हुनु पर्यो र मार्जिनमा वृद्धि हुनु पर्ने देखिन्छ.
साल्ट त्रेडिङ्गमा खुद्र किन्दा प्रति प्याकेट १३ मा पौने नुन ब्यापारीले १६ मा बेच्दा कसरि ५० पैसा मात्र फाइदा हुन्छा र मित्र ??
हामीले पनि “नुन किन लुकाको ? खुरुक्क दिनुस त ” भन्दा मात्रै भित्र बाट झिकेर पायौ . आजसम्म पसलेहरुले नुन लुकिरहेका छन् . हल्लै हल्ला को देस के गर्नी हो ?
नेपाल भनेको हल्लै हल्लाको देश हो . हामीलाई कसैले ‘तेरो कान कागले लग्यो भन्यो’ भने आफ्नो कान छाम्नुको सट्टा कागको पछडि दौडिनछौ .
केहि उदाहरणहरु :
१) हृतिक काण्ड : एउटा सामान्य भारतीय नव-कलाकारले नेपालको बारेमा नराम्रो भन्यो भनेर हल्ला चलाइयो . हामीहरुलाई के चाहियो र, तोडफोडमा उत्रि हाल्यौ . सानै देखि लागेको बानी के छुट्थ्यो र ! पछि पो थाहा भो, कुन च्यानलको कुन कार्यक्रममा उसले त्यसो भनेको रहेछ भनेर कुनै नेपालीलाई थाहा रहेनछ . फोकटमा ४ जना नेपालीले ज्यान गुमाए . अहिले त्यही कलाकारको फिल्म हलमा लाग्यो भने, तछाड मछाड गर्दै हेर्न जान्छौ . अझ सम्म मैले बुझ्न नसकेको कुरा चाही, उसले त्यसो भनेकै भए पनि, तॅ झुसेले जे भने पनि हामीलाई फरक पर्दैन भनेर आफ्नो बाटो तताउने कि, आफ्नै देशको सार्वजनिक सम्पति तोडफोड गर्ने ?? मलाइ त लाग्छ, हामी नेपालीहरुको राष्ट्रियता पनि हाम्रो नेताहरुको जस्तै खोक्रो छ .
२) माओवादी द्वन्द : माओवादी नेताहरुले हल्ला चलाए संसदवादीहरुले देशलाई बेच्ने भए, भारतले नेपाललाई खाने भो, सामन्ती राजतन्त्रले देशको बेहाल भो आदि इत्यादी भनेर . हामीहरुले पत्याएर पछि लाग्यौ . अहिले उनीहरुको वास्तविकता देखि हालियो.
अरु पनि धेरै उदाहरणहरु छन् . तर अहिलेलाई यतीनै .