Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसार : हेर्दाहेर्दै १९ औँ वर्ष पूरा भएछ, सबैलाई धन्यवाद !

Posted on April 6, 2024 by Salokya

‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ शीर्षकमा एउटा पोस्ट लेखेको सन् २००५ मा रहेछ। त्यही थियो पहिलो ब्लग पोस्ट माइसंसारमा त्यतिबेला नाम थियो ‘मेरो संसार’। अहिले फर्केर हेर्दा अचम्म लाग्छ- सन् २००५ को अप्रिल ६। अर्थात् २०६१ साल चैत २४ गते। त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जालको बिगबिगी थिएन। फेसबुक सबैका लागि खुला भएको त त्यसको एक वर्षपछि मात्रै हो। ट्विटर पनि एक वर्षपछि बल्ल सुरु भएको थियो। युट्युब चाहिँ दुई महिना अघि सुरु भएको थियो तर गुगलले लिएको एक वर्षपछि मात्रै थियो। यति धेरै अनलाइन मिडियाहरु, यति धेरै सूचनाहरु इन्टरनेटमा पाइन्न थियो। अझ नेपालीमा सूचना पाउन त मुश्किल नै थियो। यस्तो प्रतिकूल परिस्थितिमा सुरु भएको थियो माइसंसार। युनिकोड नेपालीमा टाइप गर्न हात नबसेको बेला, डायल अप इन्टरनेटको सुस्त प्रविधिको बेला सुरु भएको यो यात्रा कहाँसम्म पुग्ने हो, केही टुङ्गो थिएन। तर आज १९ औँ वर्ष पूरा भएको ब्लग लेख्न पाइरहेको छु, यो पनि एक किसिमको सन्तुष्टि नै हो।

कुनै पनि यात्राको एउटा निश्चित लक्ष्य हुनुपर्ने रहेछ। माइसंसारको सुरुवाती वर्षहरुमा प्राविधिक काम हेरिदिने साथी प्रमेयसित अस्ति भर्खर यो विषयमा हाम्रो कुरा भएको थियो। यो यात्राको लक्ष्य कहिल्यै पनि पैसा कमाउने भन्ने थिएन, ‘सूचना दिने’ मात्रै थियो। त्यसैले एकताका भिजिटरको ओइरो थाम्न नसकेर सर्भरमै प्रति महिना सयौँ डलर खर्च गर्नुपर्ने अवस्थामा पाठकको डोनेसनबाट चलाएर पनि व्यवसायिक रुपमा यसलाई लानेतर्फ कहिल्यै ध्यान दिइएन। त्यो हिसाबमा एक किसिमको ‘असफल’ प्रोडक्ट हो माइसंसार। किनभने एकताकाको त्यस्तो लोकप्रियतालाई माइसंसारले व्यवसायिक रुपमा ‘क्यास’ गर्न सकेन।

तर, पछाडि फर्केर हेर्दा पैसा मात्रै सबैथोक होइन जस्तो पनि लाग्छ। भोलिन्टियर रुपमा जोडिएका केही साथीहरु बाहेक लगभग एक्लो प्रयासमा यत्रो वर्ष माइसंसारको यो यात्रा गर्दा कमाएको ‘विश्वास’ पनि त महत्त्वपूर्ण नै हो नि। मूलधारे व्यवसायिक मिडियालाई उनीहरुको गल्तीमा खबरदारी गरी उनीहरुलाई सत्य बताउन ‘हायलकायल’ पार्न सक्नु पनि उपलब्धिमूलक नै हो नि। तथ्यमा आधारित पत्रकारिता गर्नुपर्छ भन्दै तथ्यमा चुकेका खबरहरुबारे सार्वजनिक गर्नु पनि रोमाञ्चकै हुन्छ। भलै यस्तो काम गर्दा आउने दबाब र प्रभाव, अप्रत्यक्ष धम्कीको नालिबेली बेग्लै छ।

अहिले गुटुङटुङ चल्ने इन्टरनेट चलाइरहने बानी भएको हामीलाई टेलिफोनबाट चलाउनु पर्ने डायल अप इन्टरनेटको स्लो कनेक्सनमा पनि युट्युबमा भिडियो अपलोड हुन्थ्यो भनेर सोच्दा अचम्म लाग्छ। तर माइसंसारको युट्युब च्यानलमा सबैभन्दा पुरानो भिडियो अपलोड नै नोभेम्बर १५, २००५ को रहेछ। डा. दीपक खड्काको गजल वाचनको त्यो भिडियो अमेरिकाबाट पठाएको यता डाउनलोड गरेर अपलोड गरिएको थियो।

आफैले खिचेर अपलोड गरेको भिडियो पनि डिसेम्बर ६, २००५ को रहेछ। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जन्मिएको ब्लग। त्यतिबेला लोकतन्त्रका लागि ठाउँठाउँमा कार्यक्रम हुन्थे। एउटा राजनीतिक दलले नयाँ बानेश्वरमा गरेको कार्यक्रमको 3.5 Megapixel को डिजिटल क्यामेराले खिचेर भिडियो कम्प्रेस गरी क्वालिटी घटाएर अपलोड गरिएको भिडियो थियो यो-

त्यति पुरानो ‘युट्युबे’ भएर पनि भिडियोमा खासै केही गर्न भने सकिएन। किनभने त्यसका लागि आवश्यक भिडियो एडिटिङको दक्षता आफूसँग थिएन।

अहिले जस्तो फेसबुक, टिकटकमा लाइभ कहाँ सजिलो थियो र त्यतिबेला। ह्यान्डीक्यामलाई ल्यापटपमा जोडेर सीडीएमए मोडमको इन्टरनेट जोडेर नारायणहिटी राजदरबारबाट ज्ञानेन्द्र बाहिरिँदा गरेको लाइभ स्ट्रिमिङको दुःख पनि सम्झँदा अचम्म लाग्छ- यस्तो पनि गरिएको थियो है।

अहिले सयौँ अनलाइन मिडियाहरु छन्, तिनीहरुलाई पनि अडियन्स तान्ने हिसाबले जित्ने सोसल मिडिया पेजहरु छन्, युट्युब च्यानलहरु छन्। सूचना त्यतिबेला खोज्नुपर्थ्यो। अहिले सूचना तपाईँलाई खोज्दै आउँछन्। सूचनाको यस्तो ओभरफ्लोमा पनि सीमित पाठकबीच माइसंसार रमाइरहेकै छ। किनभने ती सीमित पाठकले मैले बनाएको कन्टेन्ट, मेरो रिसर्च गरिएको तथ्यलाई विश्वास गर्छन्। मूलधारका अरु मिडियाले लेख्न नसक्ने विषयमा स्वतन्त्र भएर लेख्न सकिन्छ, त्यसैमा गर्व छ।

गएको वर्ष मेरा लागि निकै कठिन रह्यो। माइसंसार सुरु भएको वर्षदेखिको इतिहास हेर्ने हो भने सबैभन्दा थोरै ब्लग लेखिएको वर्ष नै यही भयो होला। म आफ्नो व्यक्तिगत जीवनमा लामो समयदेखि समस्या झेलिरहेको छु। तर यो वर्ष मेरो मानसिक स्वास्थ्यमा पनि निकै असर पर्‍यो। यस्ता समस्या आँउदा त्यसले पारिवारिक, सामाजिक, आर्थिक पाटोमा प्रहार गर्दो रहेछ। जीवन कसैले सोचे जस्तो पनि नहुने भएपछि मैले सोचे जस्तो त झन किन पो हुन्थ्यो र!

धेरै पटक आफैमा गुम्साएर राखेँ आफ्ना कुराहरु। थोरै हिम्मत नजुटाएको भए सायद म अप्रिय निर्णयको संघारमा पनि पुग्थें होला कि। तर नजिकका केही साथीभाइ र परिवारका केही सदस्यहरुले मलाई यो आँट दिए। नबिराउनु नडराउनु भन्ने उक्ति म जस्ता मान्छेलाई लागू नहुने रहेछ। मैले कल्पना गर्न सके भन्दा फरक परिस्थितिको समेत सामना गर्नु पर्ला भनेर नबिराए पनि डराउनु पर्ने अवस्था आएको थियो। नबिराएरै डराउँदा डराउँदै पनि मैले अब हर परिस्थितिको सामना गर्ने अठोट गरेको छु। र, त्यही भएर पछिल्लो समय मैले परिस्थिति अनुकूल आफूलाई ढाल्ने प्रयास गरिरहेको छु। बुद्धको शिक्षा ‘सबैथोक अनित्य हुन्छ’लाई व्यवहार उतार्ने प्रयास गरिरहेको छु।

यो वर्षका लागि माइसंसारमा यस्तो गर्ने उस्तो गर्ने भनेर मैले कुनै योजना बनाएको छैन। पछिल्लो एआई प्रविधिलाई जोडेर केही गर्न सकिन्छ कि भन्ने प्रयास गर्नेछु। आफूले सिकेको कुरा सिकाउन पनि म तत्पर रहनेछु।

तपाईँहरु सबैलाई १९ वर्षसम्म माइसंसारलाई साथ दिनुभएकोमा धन्यवाद। कृष्ण ढुंगाना, दीपक भट्टराई, उत्तमबाबु श्रेष्ठ, प्रमेय भण्डारी, सुदर्शन काफ्ले, स्याटेलाइट, सूर्य खड्का आदिले विभिन्न समयमा नसघाएको भए यो यात्रा कठिन हुन्थ्यो। फेसबुकमा अन्तर्क्रिया सुरु हुनुअघि माइसंसारमा पाठकहरुको कमेन्टको लर्को लाग्थ्यो जसलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्थ्यो। पुष्प, लुना, मदन, गगने, द्रोण, शिशिर आदि सेलिब्रिटी कमेन्ट लेखकहरु थिए। आजको दिन उनीहरुमात्र हैन ती सबै पाठकलाई सम्झेर तपाईँहरुको योगदानका लागि धन्यवाद दिन चाहन्छु।

यात्रा जारी छ…

माइसंसारका लागि सहयोग

7 thoughts on “माइसंसार : हेर्दाहेर्दै १९ औँ वर्ष पूरा भएछ, सबैलाई धन्यवाद !”

  1. shailendra dhakal says:
    April 29, 2024 at 7:50 pm

    2010 dekhi 2012 samma harek din Mysansar herinthiyo. bigyan kaaka ko lekh dekhi aprilfool post, katha ani anya lekh haru niyemit padhinthiyo. ajha comment ma majja aauthiyo. vote up vote down garna milthiyo. pachi pachhi huda comment haru approve garnu parne ani praye comment post nai nahune bhaesi ali maja aayena. tara aja pani maile hapta ma ek patak kholera herekai hunchhu. factcheck matra dekhda alik khallo lagchha. nirantarata milos

    Reply
  2. Arjun Bhatta says:
    April 23, 2024 at 12:13 pm

    सापेक्षिकरुपमा अरुभन्दा आधिकारिक र विश्वसनीय ब्लग !
    तथ्यको खोजी र प्रस्तुति अझ निखारिंदै जाओस् ! आजै विश्राम नलिओस्!

    Reply
  3. sanumaya says:
    April 12, 2024 at 11:12 am

    ब्लगयात्राको १९औँ वर्ष सफलतापूर्वक पूरा गरेकोमा माईसंसारलाई हार्दिक बधाई छ । मैले २०६७-६८ देखि मात्र माईसंसार हेर्न थालेकी थिएँ । मलाई विदेश बस्ने साथीले राम्रो छ भनेर सिफारिस गरेको थियो । पहिले राम्रो लाग्थ्यो, अहिले भरोसा लाग्छ । चल्तीका न्यूज राम्ररी बुझ्न, भाईरल खबरहरूको क्रसचेक गर्न यही ब्लग हेर्नेगर्छु । त्यसैले त सालोक्य भाईको नयाँ पोष्ट केही छैन भने रिस उठेर आउँछ । व्यक्तिगत समस्याको बारेमा थाहा थिएन, जे पर्यो सो टर्यो, अब नयाँ वर्षले जीवनमा सुख, शान्ति, समृद्धि प्रदान गरोस् । माईसंसारले कमाएको विश्वास नटुटोस् र सालोक्य भाईलाई पैसाको अभाव पनि नहोस् भन्ने कामना गर्दछु ।

    Reply
  4. Rabi Aryal says:
    April 12, 2024 at 2:55 am

    My best wishes are with Mysansar and its team.

    Reply
  5. Santosh says:
    April 7, 2024 at 5:30 pm

    Congratulations in completing 19 years of ethical blogging/ journalism. Mysansar has been like my go-to source for real talk for so long, gotta say a HUGE thanks for keeping it real all this time.
    Sad to know the things have been tough on you lately, hope you’ll overcome your personal issues in no time.
    There are tons of readers out here (like me!) who rely on you for honest info. Sending you all the positive vibes in the world, and hoping you keep Mysansar going for many more years to come! We need your voice!

    Reply
  6. अनन्त पोखरेल says:
    April 7, 2024 at 6:33 am

    धन्यवाद । हिजो मात्रै मेरो मेमोरीमा आएको थियो , गतबर्ष आर्थिक सहयोगको कुरा रहेछ । म चाहिँ ६५/६६ सालदेखि जोडिएको हुँला सायद !

    Reply
  7. राजु आचार्य says:
    April 6, 2024 at 4:16 pm

    सबैको प्यारो माइसंसार ! सुभ यात्रा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme