Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चिनियाँ सेनामा गोर्खा सैनिक भर्ना ? नपत्याउनुस्, गलत हो

Posted on March 29, 2024 by mysansar

हालै २१ दिन लामो अनसन (क्लाइमेट फास्टिङ) बसेका चर्चित भारतीय पर्यावरण अभियन्ता सोनम वाङचुकले अनसनको चौथो दिन दिएको अभिव्यक्तिमा भारतीय सेनामा भर्ना हुने नेपालीहरु अब चिनियाँ सेनामा भर्ना भएर भारतविरुद्ध लड्न लागेको दाबी गरिएको छ। तर हाम्रो तथ्यजाँचले भने उक्त दाबी गलत देखिएको छ ।

के छ दाबी?

२१ दिन लामो ‘क्लाइमेट फास्टिङको चौथो दिन वाङचुकले बोलेको भिडियो क्लिपमा गोर्खा सैनिकबारे उनले भनेका छन्, ‘गोर्खा सैनिकले भारतीय सेनाको ‘अग्नि वीर’ स्किमको चार वर्षको सेवालाई अस्वीकार गरेका छन्। उनीहरु चीनको सेनामा भर्ना हुन गइरहेका छन्। उनीहरु हाम्रो शक्ति थिए। एउटा भनाई छ, ‘यदि कसैले मर्नबाट डर लाग्दैन भने या त ऊ झुठ बोलिरहेको छ या त ऊ गोर्खा हो’। उनै गोरखा अब चीनका तर्फबाट हामीसँग लड्छन्। यसबारेमा मूलधारका मिडियाले कुनै चर्चा गरेका छैनन्।’

वाङचुकको भनाई सहितको उक्त भिडियो उनको आधिकारिक फेसबुक रिल्स र इन्स्टाग्राम पेजमा सेयर गरिएको छ।

मार्च ९, २०२४ मा पोस्ट गरिएका ती भिडियो मध्य फेसबुक रिलमा पोस्ट गरिएको भिडियोमा बिहीबार दिउँसो (१५ चैत २०८०) सम्म १४ हजार ७०० पटक रियाक्ट, ५४५ कमेन्ट र पाँच हजार १०० पटक सेयर गरिएको छ।

फेसबुक रिल्सको लिङ्क

त्यस्तै उनको इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा बिहीबार दिउँसोसम्म ७७ हजार ६६३ वटा लाइक, दुई हजार ५२ कमेन्ट र ३१ हजार ७०० पटक सेयर गरिएको छ।

इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोको स्क्रिनसट

इन्स्टाग्रामको लिङ्क

वाङचुकले गोरखा सैनिकका बारेमा गरिएको दाबी सहितको भिडियो द आसुतोस पोद्दार अनिता नन्दन नामको इन्स्टाग्राम एकाउन्टबाट पनि पोस्ट गरिएको छ । २३ मार्च २०२४ मा इस्टग्राममा पोस्ट गरिएको भिडियोमा बिहीबार दिउसोसम्म एक लाख २९ हजार २७२ पटक रियाक्ट गरिएको छ । हेर्नुस् लिङ्क

फेसबुक रिल्समा सेयर भएको सोही भिडियोमा एक लाख २९ हजार रियाक्ट, एक हजार एक सय कमेन्ट र ५९ हजार पटक सेयर गरिएको छ। हेर्नुस् लिङ्क

के हो तथ्य ?

गोरखा सैनिक चिनियाँ सेनामा भर्ना हुन लागेको दाबीसहितको सामग्री सामाजिक सञ्जालमा भाइरल भइरहेको फेला पारेपछि हामीले तथ्यजाँच गर्ने क्रममा नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईसँग यस बारेमा जिज्ञासा राख्यौँ।

उनले चिनियाँ सेनामा नेपाली भर्ना हुने कुनै प्रावधान नरहेको र हालसम्म चिनियाँ सेनामा नेपाली भर्ना भएको सूचना पनि परराष्ट्र मन्त्रालयमा नआएको बताए।

उनले वाङचुकको दाबी मिथ्या भएको बताए। यस किसिमका दाबी बदनियतपूर्ण ढंगले गरिएको उनको भनाई थियो।

तथ्यजाँचका क्रममा चीनले आफ्नो सेनामा नेपाली भर्ना गर्न लागेको दाबी सहितका समाचार भारतीय मिडिया फर्स्टपोस्ट , दि वायर र दि युरेसियन टाइम्स  मा मे २०२३ मा प्रकाशित भएको पायौँ । ती समाचारलाई आधार मानेर १३ मे २०२३ को दि काठमाडौ पोस्टको अनलाइन संस्करणमा ‘के चीनले नेपालीलाई पिएलएमा भर्ना गर्ने योजना बनाइरहेको छ ?’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

समाचारमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको भनाई राखिएको छ। राजदूत श्रेष्ठले भारतीय मिडियाको समाचारमा कुनै सत्यता नरहेको बताएका छन्। साथै उनले चिनियाँ पक्षबाट कुनै त्यस्तो प्रस्ताव नआएको र उनीहरुले कुनै पनि सन्दर्भमा त्यस्तो विषय नउठाएको बताएका छन्।

तथ्य जाँच

दाबीः नेपालका गोर्खा सैनिकहरु चिनियाँ सेनामा भर्ना भएर भारतविरुद्ध लड्न लागेका छन् ।

दाबीकर्ताः चर्चित जलवायु अभियन्ता सोनम वाङचुक।

तथ्यः  मिथ्या सूचना। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपालीहरु चिनियाँ सेनामा भर्ना सम्बन्धी कुनै कानुनी प्रावधान नभएको बताए। साथै उनले नेपालीहरु चिनियाँ सेनामा भर्ना भएका बारेमा नेपाललाई हालसम्म कुनै सूचना पनि प्राप्त नभएको बताए।

त्यस्तै चीनका लागि नेपाली राजदूत विष्णपुकार श्रेष्ठले पनि काठमाडौ पोस्टसँगको कुराकानीमा त्यस्ता दाबीमा सत्यता नरहेको र चिनियाँ पक्षबाट त्यस्तो कुनै प्रस्ताव नआएको र कुनै पनि सन्दर्भमा त्यस्ता विषय नउठेको बताएका छन् । त्यसैले वाङचुकको दाबी मिथ्या रहेको निष्कर्षमा हामी पुग्यौँ।

[के तपाईँलाई सामाजिक सञ्जाल वा मिडियामा आएका कुनै विषय, फोटोमा शंका छ? हामीलाई ‌+9779886069780 नम्बरमा ह्वाट्सएप वा भाइबरमा पठाउनुस्। हामी सम्भव भएसम्म त्यसको तथ्य जाँच गरी सबैलाई जानकारी दिनेछौँ]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme