Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : सशस्त्र प्रहरीले ४२ लाखको हैन करिब ४ लाख मूल्य बराबरको मात्रै प्याज बरामद गरेको हो

Posted on February 9, 2024February 9, 2024 by mysansar

‘रातोपाटी’, ‘लोकान्तर’ लगायतका अनलाइन मिडियामा बुधबार (२४ माघ, २०८०) मा सशस्त्र प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको प्याज सहित दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको समाचार लेखेका छन्।

हाम्रो तथ्य जाँचले भने यति मूल्य बराबरको प्याज नियन्त्रणमा नलिइएको र यो समाचार भ्रामक रहेको देखायो।

के छ समाचारमा?

‘रातोपाटी’मा बुधबार ‘४२ लाखभन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा’ शीर्षकमा समाचार प्रकाशित भएको छ।

समाचारको विवरणमा लेखिएको छ-

‘पर्सा जिल्लाको विभिन्न स्थानबाट ४२ लाखभन्दा बढी मूल्यको प्याजसहित सशस्त्र प्रहरी बल नेपालले दुई वटा पिकअप गाडी नियन्त्रणमा लिइएको छ।

वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विर्ताबाट माघ २४ गते करिब २१ लाख १६ हजार रुपैयाँ बराबरको प्याज र एउटा पिकअप गाडी नियन्त्रणमा लिइएको हो । प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते करिब २१ लाख १३ हजार रुपैयाँ बराबरको प्याज र गाडी नियन्त्रणमा लिइएको छ। प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको हो ।’

‘रातोपाटी’को फेसबुकमा पोस्ट गरिएको समाचारको स्क्रिनसट।   आर्काइभ लिंक

सोही विवरण सहितको समाचार ‘लोकान्तर’ र ‘अर्थडबली’ले पनि प्रकाशित गरेका छन् ।

समाचारको आर्काइभ लिंक

‘अर्थ डबली’को समाचारको आर्काइभ लिंक

समाचारमा प्रकाशित भएकै विवरण सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुकमा पनि बिहीबार बिहान पोस्ट गरिएको छ । तर उक्त पोस्टको समय भने बुधबार साँझको बनाइएको छ।

सशस्त्र प्रहरीको पेसबुक पेजमा पोस्ट भएको सामग्रीको स्क्रिनसट


फेसबुकमा प्रकाशित सामग्रीको आर्काइभ लिंक

के हो तथ्य?

समाचारको विवरण र सशस्त्र प्रहरीकै फेसबुक पेजमा राखिएको विवरणमा उल्लेख गरिएको प्याजको परिमाण र दावी गरिएको मूल्यबीचमा निकै ठूलो भिन्नता देखिएपछि हामीले समाचारको तथ्यजाँच गर्ने निर्णय गर्‍यौँ।

समाचारको विवरण अनुसार दुई फरक-फरक गाडीबाट क्रमशः २९१० केजी र २८३० केजी प्याज गरी कूल ५७४० किलो प्याज बरामद भएको देखिन्छ।

सो प्याजको मूल्य बिहीबार (२५ माघ, २०८०) को कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अधिकतम मूल्यलाई आधार मान्दा पनि प्रतिकिलो ६५ रुपैयाँका हिसाबले ३ लाख ७३ हजार १०० रुपैयाँ मात्र हुन आउँछ।

विहीबारको लागि तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यको स्क्रिनसट


लिंक

समाचारमा उल्लेख गरिएको फरक फरक गाडीबाट बरामद गरिएको प्याजको परिमाणको स्क्रिनसट ।

बरामद गरिएको कूल ५ हजार ७४० किलो प्याजको मूल्याङ्कन ४२ लाख रुपैयाँ हुनका लागि प्रति किलो प्याजको मूल्य ७ सय ३१ रुपैयाँ भन्दा बढी हुनुपर्ने देखिन्छ।

हामीले यस विषयमा अझ स्पष्ट हुन सशस्त्र प्रहरीको सीमा सुरक्षा सम्बन्धी जानकारी दिने टेलिफोन नम्बरमा सम्पर्क गर्‍यौँ।

त्यहाँबाट हामीलाई पर्सास्थित सशस्त्र प्रहरीका डिएसपी संगम श्रेष्ठको नम्बर प्राप्त भयो। डिएसपी श्रेष्ठसँग कुरा गर्दा भन्सार नतिरी भित्र्याइएको प्याज सशस्त्र प्रहरीले बरामद गरेको थियो। प्याज मात्र नभएर गाडीको समेत मूल्यांकन गर्दा ४२ लाख भन्दा बढी हुने जानकारी उनले गराए।

श्रेष्ठले प्याजको परिमाण पाँच हजार किलो भन्दा केही बढी रहेकाले प्याजको मूल्य त्यति नहुने बताउँदै प्याज प्रतिकिलो ४० रुपैयाँ मूल्यांकन गरी भन्सार कार्यालयमा बुझाएको जानकारी गराए।

उनले दिएको मूल्यको जानकारी अनुसार बरामद भएको प्याजको मूल्य प्रतिकिलो ४० रुपैयाँका हिसाबले २ लाख २९ हजार ६०० रुपैयाँ मात्र हुन आउँछ।

तथ्य जाँच

दाबीः सशस्त्र प्रहरीद्वारा ४२ लाखभन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा

दाबीकर्ताः रातोपाटी डटकम, लोकान्तर डटकम, अर्थडबली डटकम र सशस्त्र प्रहरीको फेसबुक फेज

तथ्यः भ्रामक सूचना । समाचार तथा सशस्त्रको फेसबुकमा राखिएको विवरण अनुसार प्याजको परिमाण र प्याजको हालको बजार मूल्यबीच निकै ठूलो अन्तर देखिन्छ। अर्काेतर्फ सशस्त्र प्रहरी बल पर्साका डिएसपी संगम श्रेष्ठले दाबी गरिएको मूल्यमा प्याजको मात्र नभएर पिकअप गाडीको समेत जोडेको बताए। गाडीको मूल्य किन जोडियो भन्ने बारे चाहिँ न समाचारमा प्रष्ट पारिएको छ, न प्रकाशित समाचारमा। त्यसैले उक्त समाचार र सशस्त्र प्रहरीको फेसबुक पेजमा राखिएको विवरण भ्रामक रहेको निष्कर्शमा हामी पुग्यौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme