Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टिकटकमा प्रतिबन्धको अर्को पाटो : हजुरआमाहरु माथि अन्याय भयो

Posted on November 16, 2023 by mysansar
  • स्वेच्छा राउत –

मैले मेरा हजुरआमाहरूलाई सबैभन्दा खुसी गीत गाउँदै गर्दा वा नाच्दै गर्दा देखेकी छु।

घरको आमा असारे वा काठे भाका दङ्ग पर्दै गाउनु हुन्थ्यो।

केही वर्षअघि सम्म उहाँले निस्फिक्री भाका हालेको दृश्य भिडियोमा कैद गर्थ्यौँ। उहाँ केही धकाउँदै भन्नुहुन्थ्यो – ‘नखिच् न! लाज हुन्छ।’

यद्यपि भिडियोमा आफैलाई हेर्दाको थोरै लाज अनि धेरै खुसी उहाँको आँखामा स्पष्ट देखिन्थ्यो।

करिब दुई वर्ष अगाडि होला, ८४ वर्षको उमेरमा उहाँले पहिलो पटक मोबाइलको रहर गर्नुभयो। आमालाई थाहा थियो त्यसमा गीत बज्छ, भिडियो हेर्न मिल्छ भन्ने।

दुर्भाग्यवश, मोबाइल राम्रोसँग समाउन जान्नुअघि आमा बितेर जानुभयो।

मामाघरको आमा चाहिँ नाच्न अनि गाउन दुवैमा सौखिन।

पहिलेपहिले त उहाँलाई पनि भिडियो खिच्न मनाउन सहज थिएन। प्राय सोध्नु हुन्थ्यो – ‘अरूले देखे के भन्लान्?’

कोभिड महामारी ताका होला उहाँको हातमा “आफ्नै फोन” पर्‍यो। त्यसपछि उहाँको प्रश्नको जवाफ Tiktok ले दियो।

उहाँले त्यहाँ देख्नुभयो – आफू भन्दा पाका मानिसहरू नाचेको। गाएको। अभिनय गरेको।

त्यसपछि खोइ आमाको रहर जाग्यो वा आत्मविश्वास, उहाँले आफू नाचेको भिडियो टिकटकमा राख्न लगाउनु भयो। कतिले उहाँको जोसको तारिफ गरे कतिले नाचको। त्यसपछि हरेक जमघटमा आमाले हामीलाई सोध्न थाल्नु भयो- ‘नातिनी भिडियो नबनाउने?’

आमाले फुर्सद र मोबाइल दुवै खेतबारी धाउन नसक्ने उमेरमा बल्ल पाउनु भयो। ‘फोन बोकेर के गर्नु, चलाउनै जान्दिनँ’ भन्ने मान्छेले आफ्नो मनको कुरासँग मेल खाने गीत छान्न जानुभयो। त्यही गीतमा नाचेर वा गाएर आफैलाई अभिव्यक्त गर्न सक्ने हुनुभयो।

मैले देखेको आमाको सबैभन्दा साक्षर र स्वतन्त्र रूप यही हो। त्यसअघि उहाँले आफ्नो रौसे चाह जिम्मेवारीको खातमा कतै लुकाउनु भयो।

झन्डै तीन दशक अघि श्रीमान् गुमाएपछि उहाँलाई लागेको थियो होला – अब श्रृङ्गारिनुको कुनै तुक छैन। आजभोलि उहाँ भिडियो बनाउनकै लागि भए पनि चिटिक्क पर्नु हुन्छ।

जिन्दगीभर नागढुङ्गा भन्दा अलि तल एउटा थुम्कोमा बसेको नै उहाँको लागि संसार बन्यो। त्यहीँ सीमित रह्यो उहाँले पाएको अनि गुमाएको हरेक भोगाइको फेहरिस्त। टिकटकले देखाउँदै थियो अलि परको दुनियाँ। मेटाउँदै थियो एक्लोपन।

***
एक्कासि टिकटकमाथि सरकारी प्रतिबन्धको खबर पढेँ। मैले आफ्नी हजुरआमा सम्झिएँ। अनि टिकटकमा रमाइरहेका पाको पुस्ता सम्झिएँ जसले जिन्दगीभर दिई मात्र रह्यो तर ‘बदलामा के पाएँ?’ भन्ने कुराको हिसाब खोजेन।

भर्खरभर्खर त हो उहाँहरूले अनेकन् भोगाइ, दबाइएका सपना, अव्यक्त रहरहरूलाई फुक्काफाल गर्ने एउटा माध्यम पाएको।
भर्खरभर्खर त हो सधैँ नेपथ्यमा रहेर अनेकौँ भूमिका निर्वाह गरेका ती हजुरआमाहरूले जीवनको उत्तरार्धमा आफूलाई केन्द्रीय पात्र बनाउन सिकेको।

सिक्दासिक्दै एक्कासि “सामाजिक सद्भाव बिगारेको” आरोप लाग्यो। हिजोसम्म चलिरहेको टिकटक चलेन। उहाँहरू न VPN बुझ्नु हुन्छ न त फेसबुक/ट्विटरमा सरकारको निर्णयबारे सशक्त विचार नै राख्न सक्नुहुन्छ।

हिजोसम्म सक्रिय मेरी हजुरआमा चुपचाप एउटा कुनामा बसेर ‘छोरी नातिनीमध्ये कसको मेसेन्जरमा हरियो बलेको छ’ हेरेर भिडियो कल गर्नुहुन्छ। सुरु मै खबर दिनुहुन्छ ‘टिकटक त बन्द गरे नि!’

टिकटक सबैले आफ्नो अनुकूल अनुसार प्रयोग गर्‍यौँ। आफ्नो इच्छाअनुसार प्रस्तुत भयौँ। अनि हामी सबैको घानमा उहाँहरू पर्नु भयो जसलाई न लाइक वा भ्यूजको प्रवाह रह्यो न फलोअर्सको। आज आमाको आवाज सुन्दा मभित्रको भावुक पाटोले भन्छ – हजुरआमाहरू माथि अन्याय भयो।

साह्रै खल्लो लागेर मध्यरातमा यति लामो स्ट्याटस लेख्दैछु। उसो त मैले लेखेर केही हुँदैन। भोलि फेसबुक बन्द गर्ने निर्णय होला। मैले लेखेको कुरा नरहला। त्यो निर्णयको विरोध गर्न मैले पक्कै अर्को माध्यम खोज्नेछु।

तर आज चाहिँ मलाई एउटै प्रश्नले सताइरहेको छ- हाम्रो हजुरआमा पुस्ताले प्रतिरोध गर्न सिकेनन् होला कि चाहेनन् होला?

1 thought on “टिकटकमा प्रतिबन्धको अर्को पाटो : हजुरआमाहरु माथि अन्याय भयो”

  1. स्रोत says:
    November 16, 2023 at 11:22 am

    एक छुट्टै पाटोको चर्चा गर्नु भो जुन हामी सबले नकारेको थियौँ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme