Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनमोल केसीलाई पत्रकारहरुले नर्भिक अस्पतालमा भर्ना गराए, प्रहरीले चैँ चिरायुमा

Posted on September 30, 2023September 30, 2023 by Salokya

पक्राउ परेर हिरासतमा राखिएका व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्‍यो भने कसले गर्छ?

पक्कै पनि प्रहरीले !

तर शनिबार अचम्म भयो। सब मिडिया मिलेर प्रहरीको हिरासतमा रहेका अनमोल केसीलाई थापाथलीको नर्भिक अस्पतालमा भर्ना गराए। अनलाइनखबर, सेतोपाटीदेखि अरु धेरै भुरेटाकुरे अनलाइनले अनि अस्ति भर्खर बन्द गरेर अब सुध्रिन्छु भनेर फर्कीआएको रुटिन अफ नेपाल बन्दले समेत अनमोललाई नर्भिक अस्पतालमा भर्ना गरेको भनेर लेखेपछि नपत्याएर भो? बिचरा पाठकहरुले पत्याएकै थिए। तर यो सही थिएन। प्रहरीले उनलाई चिरायु अस्पतालमा भर्ना गरेका थिए।


चिरायु अस्पताल महाराजगंजमा छ।

कहाँ थापाथलीको नर्भिक, कहाँ महाराजगञ्जको चिरायु अस्पताल। नजिकै नजिकैको अस्पताल भए त झुक्कियो भन्नु। त्यति टाढा छ दुवै अस्पतालको दूरी।

कसरी त्यसो भयो त ?

एउटा मिडियाले लेखिदियो नर्भिक भनेर, अर्कोले पनि त्यही हो भनेर पत्याइदियो। सानोमा हामीले सुनेको कथा जस्तो बाघै नआई बाघ आयो बाघ आयो भनेर गाउँ भरी हल्ला भए जस्तो।

जुन अस्पतालमा भर्ना छ भन्ने समाचार लेखिँदैछ, त्यो अस्पतालमा सोध्नु पर्दैन ?

काठमाडौँकै एउटा चर्चित कलाकारको समाचार पनि पुष्टि गरी सही लेख्नु पर्दैन? कति अल्छी भएका हाम्रा पत्रकार अचेल?

त्यस्तो अस्पतालको नाम कन्फ्युज छ भने बरु नामै नलेखेको भए हुन्थ्यो। नाम चलेका अनलाइनहरुले समाचार लेखेपछि त अरु अनलाइनहरुले त्यसलाई आँखा चिम्लेर विश्वास गर्छन् र जस्तातस्तै कपिपेस्ट हान्छन् भनेर त १० पैसे अनलाइनको ब्लगमा लेखिसकेको छु। छुटाउनु भएको भए पढ्नुस्- अनमोल केसी पक्राउ पर्दा देखा परेका ‘१० पैसे’ अनलाइन :)

तर यी नाम चलेका अनलाइनहरु सुध्रिएनन्। हिन्दीमा एउटा कहावत छ नि- हम तो डूबे हैं सनम तुम को भी ले डूबेंगे।

सुध्रने भनेर आएको रुटिन अफ नेपाल बन्दले पनि मिडियाको कपिपेस्ट गरेर सुध्रने छाँट देखाएन-

हामीले नेपालफ्याक्टचेकका लागि यो विषयमा फ्याक्ट चेक गर्दा नर्भिक अस्पताललाई सोध्दा  ‘एडमिट भएर बस्नुभएको भए आइपीडी डिपार्टमेन्टमा हुनुपर्ने’ जानकारी दिँदै ‘यो नामको कोही प्यासेन्ट भर्ना नभएको’ जानकारी दियो।

अनि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेललाई यस विषयमा सोध्यौँ। उनले अनमोल केसीलाई चिरायु अस्पतालमा भर्ना गरिएको पुष्टि गरे।

हाम्रो फ्याक्ट चेकपछि केही मिडियाले धमाधम समाचार सच्याए।

अनलाइनखबरले यसरी सच्यायो-

त्यसैगरी सेतोपाटीले अन्यथा भएको भन्दै सच्यायो

नेपालप्रेसले पनि सच्यायो यसरी

यी नाम चलेका अनलाइनहरुले गल्ती सच्याए पनि रुटिन अफ नेपाल बन्दले भने गल्ती भएको जानकारी पनि नदिई सुटुक्क एडिट गरेर झुक्याउने काम गरेको छ-

लोकान्तरले भने अझै अनमोललाई नर्भिकमै राखिरहेको छ-

लोकान्तर जस्तै अरु थुप्रै अनलाइनहरुले पनि अझै अनमोललाई नर्भिक अस्पतालमै भर्ना गरेर राखेका छन्। यहाँ क्लिक गरेर हेर्नुस्। 

अब यसलाई केही गर्न सकिन्न हेर्नुस्, पत्रकारहरुले मिलेर नर्भिकमा भर्ना गरेका हुन्। वास्तविक कुरा जे भए पनि मिडियामा त्यही सत्य भइसक्यो।

भएको चाहिँ के रहेछ ?

खासमा भएको के रहेछ त ? यसो सोधखोज गर्दा मिडियाले लेखे जस्तो स्रोतका अनुसार :) के बुझियो भने, पहिला नर्भिक अस्पतालमै लैजान खोजेका रैछन्। तर अस्पतालले सरकारी अस्पतालको चिकित्सकबाट रिफर आए मात्र राख्छु भनेछ। खासमा हिरासतमा भएका व्यक्ति बिरामी पर्‍यो भने राख्ने सरकारी अस्पतालमै हो। त्यहाँ सम्भव नभए मात्र निजीमा लाने हो।

नर्भिकले नमानेपछि लु भएन अब भनेर अर्कै ठाउँ खोज्दा चिरायुले मानेपछि उतै लगेर राखेका रहेछन्। तर समाचार आयो नर्भिकमा। लान खोजेको त नर्भिकमै थियो। तर लग्दै नलगेको ठाउँमा लगियो भनेर समाचार राख्नु त भएन नि, हैन र ?

1 thought on “अनमोल केसीलाई पत्रकारहरुले नर्भिक अस्पतालमा भर्ना गराए, प्रहरीले चैँ चिरायुमा”

  1. sejal says:
    October 18, 2023 at 7:47 am

    Anmol KC ko yetro news banauna parcha jasto chai lagena. There are lot of other topics that can be covered out there

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme