Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यतिको नाममा पत्रकारिताको हुर्मत लिइएछ यसरी

Posted on August 16, 2023August 16, 2023 by Salokya

१९ वर्षकी लाक्पा डोल्मा शेर्पा सगरमाथा क्षेत्रको माचेर्मो उपत्यकामा याक चराउँदै थिइन्। कुहिरोले ढाकेको चीसो दिन थियो।

एक्लै हिँडिरहेकी लाक्पाले अचानक केही सुसेलेको जस्तो आवाज सुनिन्। उनलाई लाग्यो, आफूलाई भेट्टाउन दाजु आएका होलान्।

तर जब उनले अगाडि हेरिन्, त्यहाँ त अहो, यति ! ठूलो, भुत्लैभुत्ला भएको र अनुहार बूढो मान्छेको जस्तो। रिसाएको रहेछ यति। लाक्पा डराइन्।

यतिले लाक्पाको कपाल तानेर उचालेर फालिदिए। उनी होसमै थिइन्। तर मरेको जस्तो अभिनय गरिन्। अब यतिको टार्गेट याकहरुमा थियो। तीन वटा याकलाई सिङ समातेर गर्दन भाँचिदियो। एउटा याक खाइदियो पनि। त्यसपछि त्यो त्यहाँबाट गायब भयो।

लाक्पा र उनका श्रीमान्। फोटो : बीबीसी ४

लाक्पा घाइते अवस्थामा यत्तिकै रहिन्। पछि उनलाई खोज्दै आएका दाजुले बल्ल भेट्टाए।

यो थियो सन् १९७४ को घटना। त्यतिबेला विश्वभरका मिडियामा आएको समाचार थियो। प्रहरीले पनि अनुसन्धान थाल्यो। केही पाइलाका डाम, तीन वटा याक मरेको र ती मध्ये एउटा खाइएको प्रहरीले पुष्टि गर्‍यो। प्रहरीले यसलाई यतिको आक्रमण भनेर आधिकारिक रुपमा घोषणा नगरे पनि एउटा हिंसात्मक आक्रमण भएको र त्यस्तो आक्रमण लाक्पालाई लागेको चोटसमेतलाई विचार गरेर मान्छेले गरेको हुननसक्ने निश्कर्ष निकाल्यो।

झण्डै पाँच दशकपछि यति खोज्दै एक विदेशी फेरि त्यतै पुग्यो। ती थिए एन्ड्र्यु बेनफिल्ड। उनी लाक्पा वा उनलाई चिन्ने वा कोही आफन्त खोज्दै थिए। तर त्यत्रो ठूलो इलाकामा खोज्ने पो कसरी !

तर भाग्यले उनले लाक्पाका एक नातेदार चिन्ने मान्छे एउटा चिया पसलमा भेट्टाए।

नातेदारले उनलाई लाक्पा जिउँदै रहेको जानकारी दिँदै उनलाई भेट्टाउन उनको घरतिर लगे। नभन्दै एन्ड्र्युले लाक्पालाई फेला पारेरै छाडे।

तर लाक्पाका नातिले त्यो आक्रमणको बारेमा कुनै पनि कुरा सोध्न दिएनन्। उनले माइक्रोफोन पनि बन्द गर्न पर्‍यो। किन त ?

त्यो आक्रमणपछि विश्वभरका पत्रकारहरु लाक्पाको अन्तर्वार्ता लिन ओइरिएका रहेछन्। उनी भर्खरै त्यस्तो डरलाग्दो आक्रमणबाट गुज्रिएकी थिइन्। ट्रमाको अवस्थामै थिइन्। तर शेर्पाहरुको पाहुनालाई गर्ने सत्कारको चलनले नाइँ भन्ने अवस्थामा पनि थिएन।

अधिकांश विदेशी पत्रकारहरुले उनलाई जोकको रुपमा लिएछन्। त्यतिबेला हिंसात्मक घटनाका पीडित प्रति संवेदनशील हुनुपर्छ भन्ने कुरा पनि उनीहरुलाई खासै याद भएन।

अझ एक पत्रकारले त अति गरेछन्। उनलाई त्यो घटना भएकै ठाउँमा नाटकीय दृश्यमा अभिनय गर्न भनेछन्। एक जनाले यतिको लुगा लगाएछ र उफ्रिएर लाक्पाको अगाडि आएर चिच्याएछ।

यो उनका लागि अति नै भएछ।

त्यतिबेलादेखि लाक्पाले यो यतिको आक्रमणको बारेमा कुनै पनि कुरा गर्न अस्वीकार गरेकी रहिछिन्।

त्यसैले एन्ड्रयु त्यहाँ पुगेर लाक्पालाई भेटेर पनि उनी र उनका नातिसँग अरु अरु नै गफ गरेछन्। चिया पिएछन्। पछि नातिले आक्रमण भएको ठाउँमा लगेर सुनेका सबै कुरा सही भएको बताएछन्।

यो प्रसंग छ बीबीसी रेडियो ४ ले प्रसारण गरेको यति शीर्षकको १० भाग लामो पडकास्टमा जुन बीबीसी साउन्ड्समार्फत् अनलाइनमा सुन्न सकिन्छ।

हामीलाई अहिले पत्रकारहरुले पत्रकारिताका नाममा अति गरे झैँ लाग्छ। भारतीय मिडिया यसमा अग्रणी छन्। तर ५० वर्षअघि समेत यस्तो हुने रहेछ।

एआईको कल्पनामा यति

यति खोज्न हिँडेका दुई जनाको यात्रामा आधारित यो पडकास्टमा नेपालका पनि थुप्रै प्रसंग छन्।

एउटा प्रसंग सगरमाथा पहिलो पटक आरोहण गर्ने न्युजिल्यान्डका सर एडमन्ड हिलारीसँग सम्बन्धित छ। उनलाई पछि नेपालले मानार्थ नागरिकतासमेत दिएको थियो।

सर एडमन्ड हिलारी खुम्जुङमा जाँदा त्यहाँको एउटा गुम्बामा यतिको टाउको विश्वास गरिएको अवशेष थियो। उनले त्यो यतिको हो कि होइन थाहा पाउनका लागि त्यसलाई लन्डन, पेरिस र शिकागोमा परीक्षणका लागि लगेका थिए। त्यसका लागि उनले त्यो गुम्बालाई डोनेसन दिने, त्यहाँ स्कूल बनाइदिने वाचा गरेका थिए।

तर परीक्षणको रिपोर्टमा भने त्यो अवशेष यतिको होइन, बाख्रा जस्तो जनावरको रहेको बताइयो।

सन् ५० र ६० को दशक पश्चिमी जगतमा ‘यतिमेनिया’ थियो। यति खोज्ने अभियान भनेपछि तुरुन्त फन्ड पाइने अवस्था थियो। त्यसैले खास काम अर्कै भए पनि देखाउनका लागि यति खोज अभियान चलाइन्थ्यो।

हिलारीले पनि यति खोज अभियान चलाएका थिए। तर उनले यति भने भेट्न सकेनन्।

१९६० मा हिलारीको यति खोज अभियान भनिए पनि उनी उच्च हिमाली क्षेत्रमा मानव शरीरको बारेमा अध्ययन गर्ने काममा थिए भन्ने आरोप पनि आइलाग्यो। अझ रुसीहरुले त हिलारी जस्ता पर्वतारोहीहरु खासमा चिनियाँ रकेट लन्चरहरुको बारेमा अध्ययन गर्न चाहन्थे भन्ने आरोपसमेत लगाउन छाडेनन्।

यतिको अर्को अवशेष पनि पाङ्गबोचे गुम्बामा रहेको छ। त्यहाँ रहेको अवशेषलाई यतिको हात भएको विश्वास गरिन्छ।

त्यहाँको कथा गजबको छ। त्यो गुम्बामा ध्यान गरिरहने भिक्षुलाई खानेकुरा ल्याइदिने काम त्यही यतिले गर्थ्यो रे। यति मरेपछि उसको हातलाई त्यहाँ जगेर्ना गरी राखियो रे।

यतिको औँला विश्वास गरिएको अवशेष। फोटो : बीबीसी ४

सन् १९५० एक अमेरिकी अर्बपति टम स्लिक यति खोज अभियान चलाउँदै थिए। उनको टिमका सदस्यले त्यो हात देखेपछि स्लिकलाई जानकारी दिए। उनी रोमाञ्चित भए। अब यसलाई परीक्षण गर्न चाहन्थे हो कि होइन भनेर।
यसका लागि त्यो हातको एउटा औँला हात पार्ने योजना बनाए।

त्यहाँ मान्छे पठाए। योजना थियो- मान्छेको औँला त्यहाँ राखेर यतिको औँला लिएर आउने।

हाम्रो देशका बहुमूल्य मूर्तिहरु बाहिरिए जस्तो त्यो औँला पनि उनीहरुले हात पारे। खै कसरी हो, उनीहरुले लिएर आएछन्।

तर अब लाने कसरी ? नेपालको सीमा कटाएर कोलकाता पुर्‍याउन उनीहरु सफल भए। अब विदेशमा लाने काम बाँकी थियो एयरपोर्टको सुरक्षा व्यवस्था छलेर।

यसका लागि त्यहाँ हलिउड कलाकार जिमी स्टुआर्टले सघाए। उनले उनकी श्रीमतीको सामानमा राखेर त्यो औँला स्मगलिङ गरे।

त्यसपछि लन्डनमा लगियो परीक्षणका लागि। तर परीक्षणको ठ्याक्कै यही हो भन्ने नतिजा आएन। एउटा परीक्षणले त मानवपूर्खाको औँला हुनसक्ने देखायो। तर पछि थप प्रविधियुक्त डिएनए टेस्ट गर्दा मान्छेको भन्ने देखायो।

अहिले पनि पाङबोचेको गुम्बामा त्यस्तै हात छ। तर त्यो नक्कल मात्र हो। सक्कली त ९० को दशकमा चोरी भइसकेको छ।

बीबीसीको यति पडकास्ट यहाँ सुन्न सकिन्छ।

सम्बन्धित ब्लगहरु

रहस्यमय जीव ‘यति’, नेपालमा हुने सम्भावना कति?

यति खोज्न जाने अमेरिकीलाई दूतावासले स्मरण गराएको तीन नियम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme