Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चौरजहारी जहाज काण्ड : गल्ती कसको ? एयरलाइन्सको, पाइलटको कि मिडियाको?

Posted on November 24, 2021November 25, 2021 by Salokya

प्लेन उड्दै थियो। उड्दाउड्दै पाइलटको ड्युटी आवर सकियो। त्यसपछि लानुपर्ने ठाउँमा नलगी पाइलटले प्लेनलाई डाइभर्ट गरेर अर्कै ठाउँमा झारे। 

यस्तै खालका समाचार भाइरल भएको थियो हिजो। तर साँझ पर्दा नपर्दै त्यस्ता समाचारमा केही गल्ती भएको खुल्यो। अधिकांश समाचारहरुमा लेखिए जस्तो जहाज रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको होइन रहेछ। त्यो एयरपोर्ट त धेरै भइसक्यो बन्द भएको। जहाज खासमा रुकुमको सल्ले विमानस्थलमा जानु पर्ने रहेछ।

किन त्यसो गरियो भन्ने कुरा खासै नखुलेका समाचारहरुमा पाइलटलाई चाहिँ दोषी बनाइएको थियो। उड्दाउड्दैको प्लेन त्यसरी रोक्दिने? डाक्टरले अपरेसन गर्दागर्दै ड्युटी सकियो भने के अपरेसनै रोकिदिने जस्ता कुराहरु सामाजिक सञ्जालमा लेखिए। आज भने यो विषयमा थप केही कुरा खुलेको छ।

काठमाडौँको एयरपोर्टबाट उड्दा त्यो प्लेन खासमा नेपालगन्जकै लागि उडेको थियो भन्ने जानकारी पाइयो। रुकुमको सल्ले विमानस्थलको टावरलाई पनि काठमाडौँबाट जहाज आउन लागेको भन्ने जानकारी थिएन भन्ने बुझियो। तर आधिकारिक रिपोर्ट आउला भनेर कोही बोल्न तयार भने भएनन्।

आज नेपाल एयरलाइन्सले एउटा विज्ञप्ति नै जारी गरी खास कुरा के थियो भनेर लेखेको छ। विज्ञप्तिका अनुसार त्यो प्लेन खासमा उडेको नेपालगन्जसम्मकै लागि भनेर रहेछ। हेर्नुस् विज्ञप्ति-

विज्ञप्तिका अनुसार यो जहाज आइतबार बिहान सवा ६ बजे रुकुमको सल्लेका लागि उड्नु पर्ने रहेछ। त्यसका लागि एक घण्टा अगाडि उडान कर्मचारीहरुलाई बोलाइएको रहेछ।

तर मौसम ठीक नभएङ्का कारण सल्ले उडान हुन सकेन। मौसम सुधार भएपछि दिउँसो सवा २ बजे उड्ने तालिका बनाइयो। पाइलट, यात्रुहरुलाई फोन गरेर फेरि एयरपोर्ट डाकियो। तर सबै जना एयरपोर्टमा आएर उड्न लाग्दा २ बजेर ५८ मिनेट भइसकेछ।

रुकुमसम्म पुग्दा ५ बज्ने रहेछ। बिहान सवा ५ बजे ड्युटी सुरु भएका पाइलटको ड्युटी आवर ४ बजे नै सकिन रहेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सिमा तोकेको रहेछ। त्यसैले रुकुम पुगेर नेपालगञ्ज फर्किन सक्ने अवस्था नरहेको देखियो।

अब यस्तो अवस्थामा के गर्ने ? निगमले त्यो दिन रुकुमको सल्ले नउडाउने निर्णय गरेछ।

तर सँगसँगै रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखिरहनु भन्दा नेपालगञ्ज सम्म पुर्‍याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुर्‍याउने निर्णय गरिएछ। विज्ञप्तिमा यसलाई ‘बाध्यता र उचित निर्णय’ भएको जिकिर गरिएको छ।

निगमसित जहाज कम भएको र भोलिपल्टको उडान तालिकामा समेत कनै असर नपुगोस भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिन परेको भन्दै विज्ञप्तिमा सो निर्णयको बचाउ गरिएको छ।

त्यसो भए कमजोरी कहाँनिर भयो त ?

शायद् निगमले यात्रुहरुलाई यसबारे प्रष्ट जानकारी दिन चुक्यो। यसै पनि रद्द गरिसकेको उडान फेरि हुने भो आउनुस् भनेर यात्रुहरुलाई डाकिएको थियो। अब फेरि हुँदैन भन्न झ्याउ होला भन्ठानेर वा अरु केही कारणले यात्रुहरुलाई यसबारे जानकारी दिइएन कि।

यात्रुहरुलाई त के थाहा र, रुकुम पुग्छौँ भनेर बसेको नेपालगञ्जमा पो झार्दिरा ! अनि तिनै यात्रुहरुले पत्रकारहरुलाई बताए। पत्रकारहरुले भटाभट समाचार लेख्न थाले। एउटाले जे लेख्यो, अरुले पनि त्यही एङ्गलमा लेख्न थाले।

यहाँसम्म कि मिडियाले सञ्चालनमा नरहेको रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको जहाज भनेर समेत लेखे। खासमा रुकुमको सल्ले लेखिनुपर्ने थियो।

यसमा पहिलो गल्ती निगमकै देखियो। नेपालगञ्जसम्म मात्र उडान गर्ने निर्णय भएको भए त्यसबारे प्रष्ट रुपमा यात्रुलाई जानकारी दिनु पर्थ्यो।

दोस्रो गल्ती मिडियाको पनि देखियो। उनीहरुले हावामा कसैले भनेको भरमा जहाज काठमाडौँबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको लेखिदिए। अर्को चाहिँ खासमा भएको के थियो, पाइलटले किन नेपालगन्जमा रोके? जहाज रुकुमकै लागि भनी उडेको थियो कि थिएन जस्ता तथ्यहरु भेरिफाइ गर्नबाट चुके। सुनेको भरमा ठोक्दिए।  समाचारहरु पढ्दा लाग्थ्यो, ड्युटी आवर सकियो भनेर गाडी गुडेकै ठाउँमा फ्याट्ट रोके जस्तै पाइलटले उड्दाउड्दैको प्लेन डाइभर्ट गरेर नेपालगन्जमा ल्यान्ड गराए।

एयरपोर्टको नाम गलत लेख्नेहरुले के गरे?

हिजो रुकुमको सल्ले विमानस्थलको साटो चौरजहारी विमानस्थल भनेर समाचार लेख्ने केही अनलाइन मिडियाका समाचारहरु मैले आज फेरि हेरेँ। त्यसमा यस्तो देखियो-

अनलाइनखबरले पाइलटको ‘ड्युटी आवर’ सकिएको भन्दै चौरजहारी जानुपर्ने विमान नेपालगञ्जमै अवतरणशीर्षकको समाचारलाई परिवर्तन गरेर पाइलटको ‘ड्युटी आवर’ सकिएको भन्दै सल्ले जानुपर्ने विमान नेपालगञ्जमै अवतरण मा परिवर्तन गरी समाचार सच्याइएछ। तर गलत समाचार राखेकोमा माफी माग्नु त परै जावस्, एउटा सानो सूचनासम्म पनि सच्याइएको भनेर राखिएनछ।

चौरजहारी पुग्नुपर्ने नेपाल एयरलाइन्सको जहाजलाई पाइलटले किन गराए नेपालगञ्जमै अवतरण ? शीर्षकको रातोपाटीको समाचारलाई अहिले सल्ले पुग्नुपर्ने नेपाल एयरलाइन्सको जहाजलाई पाइलटले किन गराए नेपालगञ्जमै अवतरण ? बनाइएको रहेछ र अन्त्यमा असावधानीवस चौरजहारी विमानस्थल हुन गएकोमा क्षमाप्रार्थी छौं । –स. लेखिएको रहेछ।

त्यस्तै सेतोपाटीले पनि आफ्नो समाचार सच्याउँदै यस्तो टिप्पणी राखेको छ- नोट : सल्ले विमानस्थल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। -सम्पादक

नेपालवाचले पनि यस्तो लेख्दै समाचार सच्याएको छ– भूलसुधार: उल्लेखित समाचार तयार गर्दा स्रोतले दिएको जानकारी पुष्टि गर्ने क्रममा भएको असावधानीका कारण सल्ले विमानस्थलको सट्टा चौरजहारी विमानस्थल भएकोमा पाठकसँग क्षमा माग्दै सच्याइएको छ ।– सं

तर अरु थुप्रै अनलाइनहरुमा अझै पनि गलत नाम नै छ। उदाहरणका लागि यो ब्लग लेख्दासम्म नागरिकन्युज र नेपालप्रेसमा चौरजहारी नै छ जुन गलत हो।

भविष्यमा नेपाली मिडियाको ‘चौरजहारी जहाज काण्ड’ नामले यो विषय सम्झनामा रहिरहनेछ 🙂

सम्बन्धित ब्लग

चौरजहारी विमानस्थलमा यसरी डुबेछन् मिडिया

2 thoughts on “चौरजहारी जहाज काण्ड : गल्ती कसको ? एयरलाइन्सको, पाइलटको कि मिडियाको?”

  1. Mahendra Gorkhali says:
    November 25, 2021 at 1:31 pm

    हामीले बुझे अनुसार यात्रुहरुलाई थाहा थियो रे अबेर भएकोले उनीहरुलाई नेपालगंजमा उतारिनेछ र भोलिपल्ट अर्को फ़्लाइट्मा सल्ले पुर्याइनेछ। निगमले त्यस्तै भनेको छ। साँच्चै यो मिडियाहरुको केही भर छैन। दोष कसैको पनि होइन रहेछ, दोष मौसमको रहेछ, किन प्रश्न गर्ने फेरी।

    Reply
  2. Pingback: चौरजहारी विमानस्थलमा यसरी डुबेछन् मिडिया – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme