Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चौरजहारी विमानस्थलमा यसरी डुबेछन् मिडिया

Posted on November 23, 2021November 25, 2021 by Salokya

आज एउटा समाचार एकदमै चर्चामा आयो- नेपाल वायुसेवा निगमको एक जना पाइलटले रुकुमको चौरजहारी पुर्‍याउनु पर्ने विमान ड्युटी सकियो भनेर नेपालगञ्जमै झारेछन् रे। अलि अनौठो खालको खबर भएकोले सबैको ध्यान तानियो।

एउटाले लेखेपछि अर्कोले पनि लेख्यो। हुँदाहुँदा भएभरका मिडियामा एउटै कुरा देखियो।

तर खासमा पाइलटले मात्र एक ठाउँमा पुर्‍याउनु पर्ने जहाज अर्को ठाउँमा लगेका होइन रहेछन्, मिडियाका ‘पाइलट’रुपी पत्रकारहरुले पनि एउटा विमानस्थल पुर्‍याउनु पर्ने जहाजलाई अर्कै ठाउँमा पुर्‍याएका रहेछन्।

अनलाइनखबरको समाचार शीर्षक थियो- पाइलटको ‘ड्युटी आवर’ सकिएको भन्दै चौरजहारी जानुपर्ने विमान नेपालगञ्जमै अवतरण। समाचारको लिडलाइन यस्तो थियो- काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्स (नेवानि) को टि्वनअर्टर जहाज सोमबार साँझ नेपालगञ्जमै अवतरण भयो । विमानमा कुनै खराबी वा चौरजहारीमा अवतरणको समस्या भएर भने यो विमान नेपालगञ्जमा अवतरण गरिएको होइन । विमान चलाइरहेका पाइलटको ड्युटी आवर सकिएका कारण चौरजहारी पुग्नुपर्ने विमान नेपालगञ्जमै वतरण गरिएको हो । हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी रातोपाटीको समाचार शीर्षक थियो- चौरजहारी पुग्नुपर्ने नेपाल एयरलाइन्सको जहाजलाई पाइलटले किन गराए नेपालगञ्जमै अवतरण ? समाचारको लिडलाइन यस्तो थियो- नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले उडाएको ट्वीनअटर जहाज सोमबार दिउँसो ४ बजेतिर नेपालगञ्जको आकाशमाथि थियो । जहाजको गन्तव्य थियो – रुकुमको चौरजहारी विमानस्थल । तर, पाइलट शेर्पाले नेपालगञ्ज विमानस्थलमै जहाज अवतरण गराइदिए । हेर्नुस् अर्काइभ लिङ्क


सेतोपाटीले पनि रूकुम उडेको जहाजका पाइलटले यात्रुलाई ‘ड्युटी सकियो’ भनेर नेपालगञ्जमा अवतरण गराएपछि… शीर्षकको समाचारमा ‘निगम स्रोतका अनुसार सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको थियो’ लेखेको छ। हेर्नुस् अर्काइभ

यी त भए नाम चलेका केही अनलाइनको हालत। अरुको पनि पारा उस्तै नै हो।

सबैभन्दा पहिला मैले यो बारे समाचार देखेको चाहिँ नेपालवाचको थियो। हेर्नुस् अर्काइभ लिङ्क। समाचार चौरजहारीमात्रै ६ ठाउँमा लेखिएको छ।

अरु पनि थुप्रैले यही समाचार लेखेका छन्। गुगलमा खोज्दा भेटिएका केही उदाहरण हेर्नुस्-

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट प्रकाशित हुने आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले अनलाइनखबरको समाचारको स्क्रिनसट हाल्दै फेसबुकमा प्रश्न गरे- रुकुमको चौरजहारीमा नेवानीको सेवा नै छैन कसरी फ्लाइट हुनेरैच ?

खड्काका अनुसार चौरजहारीमा नेपाल एयरलाइन्सको सेवा बन्द भएको धेरै भैसक्यो। नेपाल एयरलाइन्सको पहिले रहेको कार्यालय समेत उठाएर नेपालगन्जमा गाभिसकेको छ। अरु निजी फ्लाइट पनि हुँदैनन्। अहिले रुकुमको सल्ले विमानस्थलमा नेपाल एयरलाइन्स र अन्य निजी एयरलाइन्सको फ्लाइट हुन्छ।

चौरजहारीमै घर भएका अर्का पत्रकार राजु लामिछानेले पनि चौरजहारी विमानस्थल हाल बन्द अवस्थामा रहेको बताए। ‘न कार्यालय छ, न कर्मचारी। न त जहाज आउने सेडुअल’, उनले भने।

भएको के थियो ?

खासमा अहिले रुकुमसित हवाई सम्पर्क सल्ले विमानस्थलबाट हुन्छ। सल्लेमा नेपाल एयरलाइन्स, तारा र समिट एयरले हप्तामा दुई दुई फ्लाइट गर्छन्। काठमाडौँबाट नेपालगञ्ज हुँदै रुकुमको सल्ले अवतरण गर्ने गर्छ यो रुटमा।


सल्ले र चौरजहारी विमानस्थलबीचको दूरी गुगल म्यापमा। 

तर एउटा मिडियामा चौरजहारी आउने बित्तिकै भएभरका मिडियामा पनि चौरजहारी विमानस्थल नै लेखेर समाचार आयो। भेरिफिकेसन कसैले गर्न जरुरी ठानेनन्। यहाँसम्म कि पाइलटको समेत कसैले कोट लिएका छैनन्। खासमा उनले के भएर विमान नेपालगञ्जमै अवतरण गरेका हुन् भन्ने कतै उनको भनाई राखेको देखिएन।

जहाज खासमा रुकुमका लागि नै उडेको थियो, तर चौरजहारी होइन सल्ले विमानस्थलका लागि। के कारण थियो नेपालगन्जबाट सल्ले नउड्नुको भन्ने चाहिँ प्रष्ट विवरण समाचारहरुमा देखिन्न। तर एउटा विमानस्थलको नाम लेख्नुपर्नेमा अर्कैको नाम लेखेर मिडिया चाहिँ डुबेकै हो। कि कसो ?

चौरजहारी जहाज काण्ड : गल्ती कसको ? एयरलाइन्सको, पाइलटको कि मिडियाको?

2 thoughts on “चौरजहारी विमानस्थलमा यसरी डुबेछन् मिडिया”

  1. Pingback: चौरजहारी जहाज काण्ड : गल्ती कसको ? एयरलाइन्सको, पाइलटको कि मिडियाको? – MySansar
  2. Pingback: ड्युटी सकिएका पाईलटको चौरजहारी समाचार, मुलधारे अनलाईन मिडिया र भुलधारे सोसल मिडिया 😀 « Gajureal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme