-किशोर नेपाल-
समाचारको रोचक प्रस्तुति र निर्भीकताका कारण देशान्तर साप्ताहिक बन्धुले र मैले सोचेभन्दा निकै कम समयमा लोकप्रिय हुन थालेको थियो । हामी जतिसुकै निष्पक्ष हुन खोजे पनि पाठकले हामीलाई काङ्ग्रेसको आधिकारिक समाचार दिने काङ्ग्रेससँग निकट साप्ताहिक भनेर चिन्दथे । देशान्तरमा म किशुनजीसँग नजिक थिएँ, शिव अधिकारी गिरिजाप्रसाद कोइरालाको समर्थक समूहमा । हामीले काङ्ग्रेसका मामिलामा सन्तुलित नीति अख्तियार गरेका थियौँ । हाम्रा लागि ‘नेतात्रय’ सबै बराबर थिए । गिरिजाप्रसाद कोइरालाका निकट मानिएका जयप्रकाश गुप्ता हाम्रो सम्पादकीय समूहका सदस्य थिए । उनी आफ्नो स्तम्भमा काङ्ग्रेस राजनीतिमा कोइराला पक्षका तर्फबाट घोचपेच गरिरहन्थे । शिव अधिकारी आफ्नो ‘रचना विधा’ स्तम्भमार्फत बेलाबेलामा गणेशमान सिंहलाई होच्याउने काम गर्दथे । म सकेसम्म सम्पादकीय सहकर्मीहरुले नेताहरुप्रति अभद्र शब्दहरुको प्रयोग नगरुन् भनेर सचेत हुन्थेँ। सम्पादकीय समन्वय निकै कठिन थियो ।
देशान्तर साप्ताहिक काङ्ग्रेस राजनीतिका कारण मात्रै चलेको थिएन । बाह्र पृष्ठको यो साप्ताहिकमा पढ्ने सामग्रीको निकै राम्रो संयोजन गरेको थिएँ मैले । समाचारहरुको चयन गर्दा त्यसको सामयिकता र पाठकहरुको रूचिमा हामी बढी ध्यान दिन्थ्यौँ । त्यतिखेर राष्ट्रिय पञ्चायतमा दिनहुँजसो ड्रामा हुन्थ्यो । कहिले पद्मरत्न तुलाधर रून्थे, कहिले वीरेन्द्र पोखरेलहरु मारपिटमा पर्दथे । यस्ता समाचारहरुमा पाठकको रूचि निकै हुन्थ्यो ।
देशान्तरका अन्तर्वार्ताहरु रोचक र तीखा हुन्थे । मानिसहरु मैले लिएका अन्तर्वार्ता निकै रमाएर पढ्दथे । उद्योगपति मणिहर्ष ज्योतिसँग मैले लिएको अन्तर्वार्ता निकै महत्त्वपूर्ण थियो र निकै पढिएको थियो । ह्लासा र कलकत्तामा व्यापार गरेर बसेका मणिहर्ष नेपालमा प्रजातन्त्र आएपछि यता आएका थिए । मानिसहरु उनलाई राष्ट्रिय उद्योगपतिका रुपमा हेर्ने गर्दथे र उनको सम्मान गर्दथे । बीपीसँग मणिहर्ष नजिक थिए । तर काङ्ग्रेसका अन्य नेतासँग उनको खासै हिमचिम देखिएको थिएन । मणिहर्ष अलिकति साम्प्रदायिक थिए, गैरहिन्दू नेवारहरुप्रति उनको सद्भाव थियो । पद्मरत्न तुलाधरलाई उनले नै अघि बढाएको चर्चा चलेको थियो त्यतिखेर काठमाडौँमा । यो चर्चा सत्य थियो ।
मिडियासँग टाढै बस्न रूचाउने मणिहर्षलाई अन्तर्वार्ता दिन तयार पार्नु त्यति सजिलो थिएन । निष्पक्ष, निर्भीक र बौद्धिक पत्रकारका रुपमा मेरो साख स्थापित भइसकेकाले मणिहर्षले मलाई अन्तर्वार्ता दिन इन्कार गरेनन् । उनले नेपालका उद्योग–व्यवसायीका बारे मेरो प्रश्नको उत्तरमा भने, “नेपालमा जेजति नयाँ उद्योगपतिहरु आएका छन्, तिनले राम्रै काम गरेका छन् । तर, तीमध्ये धेरै शिखण्डी छन् ।” उनले स्पष्टतः मारवाडी समुदायका उद्योगीहरुलाई लक्षित गरेका थिए ।
त्यति नै बेला बडामहारानीको नेतृत्वको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्ले बडामहारानीकै निर्देशनमा विभिन्न उद्योगी–व्यापारीसँग ठूलो रकम चन्दा उठाइरहेको थियो। चन्दा दिनेमा मोहनगोपाल खेतान लिडमा थिए । उनले पाँच करोडको हाराहारीमा चन्दा दिएका थिए । खेतानले त्यति ठूलो रकम चन्दा दिएपछि अरु ठूला व्यापारी–उद्योगपतिलाई पनि ठूलै रकम चन्दा दिनुपर्ने बाध्यताको सिर्जना भएको थियो । मैले यो प्रसङ्ग कोट्ट्याउँदै मणिहर्षसँग प्रश्न राखेको थिएँ। उनले त्यसको यति खरो जवाफ दिए, त्यस्तो जवाफ दिने आँट त्यतिखेर कसैले गर्न सक्दैनथ्यो । उनले भनेका थिए, “सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्लाई दिनुपर्दछ भन्ने त थियो, तर अलि बढी दिनुपर्दछ भन्ने प्रेसर लाग्यो । चन्दा दिँदा म आधा आफ्नै मनले दिन्छु । आधा प्रेसरले दिन्छु ।”
मणिहर्ष ज्योतिको अन्तर्वार्ताको प्रकाशनपछि राजदरबारबाट आक्रोशपूर्ण प्रतिक्रिया आयो । त्यही साता बडामहारानीले चन्दा दिन कसैलाई प्रेसर नदिएको भाषण गरिन् । “जसले प्रेसर दिएको भन्ने सोचेको छ, उसले आफ्नो पैसा फिर्ता लगे हुन्छ” सम्म भनिन् बडामहारानीले । सरकारी सञ्चार माध्यमहरुमा ती कुराहरु प्रमुखताका साथ आए ।
सामान्यतया, पत्रकारहरु राजारानीका सम्बन्धमा प्रत्यक्ष–परोक्ष सन्दर्भ जोडिने समाचार, विचार वा अन्तर्वार्ताहरु प्रकाशित गर्दैनथे । देशान्तरमा हामी फरक थियौँ । मणिहर्षको अन्तर्वार्ता छापिएपछि दरबारका एक जना पदाधिकारीले मसँग भेटेर सोधे, “किन छाप्नुभयो त्यो अन्तर्वार्ता ? मणिहर्षले छाप्नू भनेको हो ?”
उनको प्रश्न सुन्नेबित्तिकै मलाई रिस उठ्यो । मैले भनेँ, “तपाईं को सित कुरा गर्दै हुनुहुन्छ, त्यो विचार गर्नुहोस् । म कसैले तयार पारेर दिएको सामग्री छाप्ने, कसैले छाप् भनेर छाप्ने र नछाप् भनेर नछाप्ने खालको पत्रकार होइन । तपाईंहरुलाई मैले छापेका कुरा नाजायज र गैरकानूनी हुन् भन्ने लाग्दछ भने कानून अनुसार मुद्दा चलाए हुन्छ ।” मेरो कुरा सुनेर ती पदाधिकारी पक्क परे । उनले अहिलेसम्म यस्ता कुरा सुन्नुपरेको थिएन । राजदरबारको कुकुरको पनि इज्जत गर्नुपर्ने परिपाटी भएकोे देशमा एउटा सामान्य जनता पत्रकारको आक्रोशपूर्ण अभिव्यक्ति उनले पहिलोपल्ट सुनेका थिए । उनी केही बोलेनन् । रातो मुख लगाएर गए ।
नेपालका पत्रपत्रिकामा तस्करीका बारे दिनहुँजसो समाचार लेखिन्छन् । यो एक प्रकारको नियमितता नै हो । सीमा व्यापार विचलन र तस्करीका समाचारहरु त्यति बेला पनि लोकप्रिय थिए । पञ्चायती चुनावको रौनक हेर्न पूर्वाञ्चल गएका बेला हामी झापाको धुलाबारी पुगेका थियौँ । धुलाबारी तेस्रो मुलुकबाट आएका सामानहरुको ठूलो बजार थियो । यसका उपभोक्ताहरु भारतीय हुन्थे । यो सामान्य खुद्रा बजार मात्र नभएर थोक सामग्रीको पनि मुख्य बजार थियो । उपभोक्ताको माग अनुसारका सामान भारतका विभिन्न शहरमा डेलिभरी दिने व्यवस्था मिलाइएको हुन्थ्यो । बजार वैधानिक हिसाबले चलेको भए पनि यसको व्यवस्थापन तस्करहरुले नै गर्दथे । स्थानीय तहका नेतादेखि केन्द्रीय तहका नीतिनिर्मातासम्म पहुँच बनाएका थिए तस्करहरुले ।
चालीसको दशकको पूर्वाद्र्धतिर धुलाबारीका तस्करहरुको किङपिन थिए— शशि खतिवडा । उनलाई नेपालका हाजी मस्तान भनिन्थ्यो । हाजी मस्तान भारतको बम्बई शहरको ठूलो तस्कर थियो जसको गरीब जनतामा पकड थियो । ऊ पछि राजनीतिमा पनि आयो । आर्थिक हिसाबले शशि र हाजीका बीच तुलना हुन सक्दैनथ्यो । तर, दुवैको चरित्रमा केही समानता थिए । शशि स्थानीय गाउँ पञ्चायतको उप–प्रधानपञ्चमा निर्वाचित भएका थिए । जिल्लामा उनको सम्बन्ध सबै राजनीतिज्ञसँग राम्रो थियो । काङ्ग्रेसका भूविक्रम नेम्वाङ, पञ्चायतका नरेन्द्र खनाल, काङ्ग्रेसको राजनीतिबाट पञ्चायतको राजनीतिमा आएका केशवकुमार बुढाथोकी, जिल्लाका अधिकारीहरु … … सबैसँग उनको सम्बन्ध सौहार्दपूर्ण थियो । मलेरियाको भिजिटरका रुपमा जीवन शुरु गरेका शशि दलित जातिबाट आएका थिए । उनी अर्काको सामान ओसार्ने क्यारियरका रुपमा तस्करीसँग जोडिएका थिए । यो क्रममा धेरै पटक उनको मुठभेड भयो नेपाली र भारतीय प्रहरीसँग । पछि उनले आफ्नै सङ्गठन बनाए । नेपाल र भारतका प्रहरीहरुसँग हात मिलाएर आफ्नो नेटवर्क व्यापक तुल्याए । उनको सङ्गठन छिटै एक नम्बरको भयो । उनको चर्चा नेपालमा मात्र होइन, भारतका बङ्गाल र असममा पनि हुन थाल्यो । भारतका ठूला शहरमा विदेशी सामान सप्लाई गर्ने विश्वसनीय सप्लायरका रुपमा उनी स्थापित भए ।
मैले उनको अन्तर्वार्ता लिएँ। कुनै पनि नेपाली पत्रकारले एक जना तस्करसँग आधिकारिक र खुला रुपमा लिएको यो पहिलो अन्तर्वार्ता थियो । अन्तर्वार्तामा शशिले जीवनमा आफूले गरेको दुःखको बिलौना मात्रै गरेका थिएनन्, आफू मुठभेडमा परेका घटनाहरुको रोचक विवरण पनि सुनाएका थिए । तस्करी गरेर कमाएको धनको ठूलै हिस्सा शशिले सामाजिक काममा लगाएका थिए । स्थानीय राजनीतिज्ञ तथा विद्यार्थीहरुलाई उनी नियमित सहयोग गर्र्दथे । उनले जिल्लाको कर्मचारी वर्गलाई पनि आफूले जो सक्दो सहयोग गर्ने गरेको बताएका थिए । राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनले केशव बुढाथोकी र नरेन्द्र खनाललाई सघाउने बताएका थिए । यो अन्तर्वार्ताले पञ्चायतको केन्द्रीय राजनीतिमा एक प्रकारको तरङ्ग ल्याएको थियो भने झापाको राजनीतिमा सानोतिनो भूकम्प नै ल्याएको थियो । तस्करको पनि अन्तर्वार्ता छाप्ने भनेर ओठ लेप्य्राउनेहरुको कमी थिएन ।
नगेन्द्रप्रसाद रिजालले काङ्ग्रेससँगको वार्ता मिसक्यारिज नगरिदिएको भए २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा काङ्ग्रेस सहभागी हुने र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्ने आशा काङ्ग्रेस र काङ्ग्रेसबाट पञ्चायतमा प्रवेश गरेका धेरैले राखेका थिए । त्यो आशा पूरा हुन पाएन । जनमत सङ्ग्रहबाट सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थाका तेस्रो प्रधानमन्त्रीका रुपमा २०४३ असार १ गते मरीचमान सिंह पदासीन भए । राजा वीरेन्द्रको इच्छा अनुसार राष्ट्रिय पञ्चायतले मरीचमान सिंहलाई प्रधानमन्त्री बनाएपछि पञ्चायत राजनीतिको एउटा पाना पल्टियो । सिंह मन्त्री र राष्ट्रिय पञ्चायतका अध्यक्ष भइसकेका व्यक्ति थिए । सल्यानबाट आएका उनको व्यक्तिगत छविमा कुलीनहरुको छाया थिएन । वामपन्थी पृष्ठभूमि र शिक्षण पेशाबाट राजनीतिमा उक्लिएका सिंह प्रधानमन्त्री पदमा नियुक्त भएपछि सिंह श्रेष्ठ भएका थिए । प्रधानमन्त्री भएपछि उनले निकै अर्थपूर्ण ढङ्गले भनेका थिए, “म प्रधानमन्त्रीको कुर्सीको शोषण हुन दिनेछैन ।” तर, उनले कहिल्यै प्रधानमन्त्री पदको शोषण कसरी हुुन्छ, यसको व्याख्या गरेनन् ।
नेपालमा मधेशीहरुको हैसियतका बारे सार्वजनिक रुपमा पहिलो पटक मरीचमान सिंहकै पालामा प्रश्न उठेको थियो । जनसङ्ख्या आयोगद्वारा आयोजित एउटा राष्ट्रिय स्तरको जनसङ्ख्या गोष्ठीमा डा. हर्क गुरूङले प्रस्तुत गर्नुभएको जनसङ्ख्या र बसाइँसराइ सम्बन्धी टिप्पणीमा भएका वाक्यांशहरुलाई लिएर गजेन्द्रनारायण सिंहले आपत्ति प्रकट गर्नुभएपछि विवादको मुस्लो उठेको थियो । पञ्चायती शासनले दबाएर राखेका मधेशका समस्याहरुको यो उद्बोध नै अहिलेको मधेश आन्दोलनको प्रारम्भ विन्दु थियो । देशान्तर साप्ताहिकले यो समस्यामा मधेश पक्षको व्याख्याका लागि गजेन्द्रनारायण सिंहको अन्तर्वार्ता लियो । सुवास ढकाल र केदार शर्माले लिएको यो अन्तर्वार्तामा सिंहले नेपाली राष्ट्रियता र मधेशको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
२०३६ सालपछि आर्थिक क्षेत्रमा केही उत्साहपूर्ण वातावरण देखिए पनि नेपाली अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएको थिएन । काठमाडौ“मा शुरु भएको गार्मेन्ट उद्योगमा स्थानीयभन्दा भारतीय लगानी बढी थियो । स्थानीय लगानीकर्ता औँलामा गन्न सकिने थिए । गार्मेन्ट उद्योगका लागि चाहिने सम्पूर्ण आधारभूत सामग्रीहरु र कटिङ मास्टरदेखि सिलाई मजदूरसम्म भारतबाट आउने हुनाले नेपालको आर्थिक समृद्धिमा त्यसको खासै सकारात्मक प्रभाव थिएन । नेपालीहरु लाइसेन्सबापत पाइने केही प्रतिशत शेयर र घरभाडाबापतको रकम बुझेर नै सन्तुष्ट हुन्थे । तैपनि, सानातिना काममा नेपाली श्रमिककोे प्रयोग गरिने भएकाले काठमाडौँका निम्नवर्गका भनिने जनताको जीवनमा अलिकति सुधार आएको थियो । काठमाडौँमा प्रदूषण र शहर व्यवस्थापनमा बेथितिको प्रारम्भ विन्दु पनि यही नै थियो ।
भारतसँग बढ्दो व्यापार असन्तुलनलाई मिलाउने प्रयत्नस्वरुप सरकारले मुद्रा विनिमयमा बास्केट प्रणाली पनि २०४३ सालदेखि अपनाएको हो । नेपालका लागि आवश्यक भारतीय मुद्रालाई बास्केटबाहिर राखेर नेपाली मुद्रासँग भारतीय मुद्राको विनिमय दरलाई स्थायी राखिएको थियो । देशान्तर साप्ताहिकले प्रकाशनको प्रारम्भदेखि नै आर्थिक समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्ने गर्दथ्यो । देशको आर्थिक गतिविधिको उचित विश्लेषण र मूल्याङ्कन नगरेसम्म पाठकहरुको ध्यान तान्न सकिँदैन भन्ने मान्यताबाट अभिप्रेरित थिएँ म । जनताका लागि राजनीतिभन्दा पहिले दाल–चामलकोे जानकारी महत्वपूर्ण हुने गर्दछ । मानिसका आँखाअगाडि आर्थिक र अवसरको असमानताका चित्रहरु स्पष्ट हुँदै गएपछि मात्र देश राजनीतिक परिवर्तनका लागि तयार हुन्छ । मैले यही सोचेर डा. देवेन्द्रराज पाण्डेसँग देशान्तरका लागि नियमित लेख्ने आग्रह गरेँ । अर्थ–राजनीतिमा साधिकार कलम चलाउन सक्ने उहा“को टक्करको अर्को लेखक थिएन त्यस बेला । उहाँका आफ्नै मान्यता पनि गरीब नेपालीलाई आर्थिक समुन्नतिको बाटोमा हिँडाउन सबभन्दा पहिले उसलाई आर्थिक मामिलामा सुसूचित गर्नुपर्दछ भन्ने थियो । उहाँको नेपाली भाषामा अङ्ग्रेजीको प्रभाव किञ्चित् बढी देखिए पनि लेखाइ ओजपूर्ण र प्रभावकारी हुन्थ्यो । देशान्तरमा उहाँको पहिलो लेख छापियो— ‘मुद्रा, डालो र अर्थतन्त्र’ । भारतले नेपालमा नाकाबन्दी शुरु गरेपछि डा. पाण्डेले लेख्नुभएका लेखहरुले नेपालको सार्वभौमिक स्वतन्त्रता र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त अधिकार उपभोगको अवस्था सुरक्षित राखेर भारतसँग सम्बन्धमा सुधार ल्याउनुपर्ने आवश्यकतालाई स्पष्ट तुल्याए । २०४६ सालको जन–आन्दोलनको संरचनामा लागेको काङ्ग्रेसले डा. पाण्डेका यी विचारहरुलाई ऊर्जाका रुपमा प्रयोग गरेको थियो ।
पाण्डेले २०४३ सालपछि देशान्तरका लागि नियमित लेख्न थाल्नुभयो । यसले पत्रिकाको स्तर र प्रतिष्ठा हलक्क बढायो । देशान्तरमा लेख्नका लागि अन्य बुद्धिजीवी पनि सगबगाए । डा. हर्क गुरूङ, डा. ध्रुव श्रेष्ठ, डा. विश्वम्भर प्याकुरेल र पृथ्वीराज लिगल हाम्रा नियमित लेखकहरुको नेटवर्कमा हुनुहुन्थ्यो । मैले अमेरिकाबाट रसेल मार्शललाई देशान्तरका लागि टिप्पणी लेख्न आग्रह गरेको थिएँ। उनका टिप्पणीहरु नियमित प्राप्त हुन्थे र हामी ती टिप्पणीको नेपालीमा अनुवाद प्रकाशित गर्दथ्यौँ । प्राध्यापक कृष्ण खनालसँग पनि मेरो सम्बन्ध राम्रो थियो । तर, उहाँ देशान्तरमा लेख्न त्यति रूचाउनुहुन्नथ्यो । यसको खास राजनीतिक कारण थियो । नेपाली काङ्ग्रेसको राजनीतिलाई व्याख्या गर्ने उहाँका र मेरा दृष्टिकोण फरक थिए । उहाँ कोइरालासँग नजिक हुनुहुन्थ्यो, म किशुनजीसँग ।
देशान्तरले आफ्नो आर्थिक पृष्ठलाई मजबूत तुल्याउन विनोद सिजापतीको सक्रिय सहयोग पाएको थियो । देशान्तर साप्ताहिकका लागि उहाँले आर्थिक सूचना र विश्लेषणात्मक सामग्रीहरुको स्रोत मात्र जुटाइदिनुभएन, अर्थ मन्त्रालयमा यसका लागि सद्भावनाको ओइरो नै लगाइदिनुभयो । अर्थ मन्त्रालयका उच्च अधिकारीहरु, लोकबहादुर श्रेष्ठदेखि ठाकुरनाथ पन्तसम्म, मेरो सोझो सम्पर्क थियो । कुनै पनि उच्च पदाधिकारीसँग भेट्न समय लिनुपर्दैनथ्यो । खास गरेर, अर्थतन्त्रमा उदारवादी प्रयोगको जिम्मा पाउनुभएका ठाकुरनाथ पन्तसँग मेरो घनिष्ठता थियो । मलाई उहाँको घर र अफिसमा निर्बाध प्रवेशको छूट थियो । यो सबै देन विनोदको थियो । राजनीति र सामाजिक विषयमा कलम घोट्ने म जस्तो अर्थशास्त्रको क–ख–ग नजानेको व्यक्ति उहाँको सहयोगबिना उदारवादी अर्थतन्त्रको समझदार विद्यार्थी बन्न सक्ने सम्भावना नै थिएन । उहा“ले पछि संयुक्त राष्ट्रसङ्घमा काम गर्न थाल्नुभयो । त्यति बेला पनि उहाँले मलाई सघाउन छाड्नुभएन । विनोद सिजापतीका नामले लेख लेख्न नपाइने नियम छल्न उहा“ले ‘दीन प्रियदर्शी’ को उपनामले टिप्पणीहरु लेखी नै रहनुभयो ।
विनोद मेरा मित्र मात्र नभएर बन्धु थापाका जेठान पनि हुनुहुन्थ्यो । उहाँकी बहिनी वन्दना र बन्धुले एकअर्कालाई मन पराएपछि उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । तर, विनोदले यो सम्बन्धका कारण देशान्तरमा लेख्नुभएको थिएन । म देशान्तरबाट हटेपछि पनि उहाँले मेरै सम्पादनमा प्रकाशित भएका छापाहरुमा लेख्नुभयो । यो उहाँका र मेरा बीच गहिरो मित्रताको परिणाम थियो । विनोदका आर्थिक टिप्पणीहरुमा नरम भाषामा कठोरतम सत्यहरु उद्घाटित गरिएका हुन्थे । सामान्य नेपाली जनताले बोल्ने भाषामा पनि सुन्दर आर्थिक टिप्पणीहरु लेख्न सकिन्छ भन्ने कुराको नमूना हुन्थ्यो उहाँको लेखाइ । हामी आर्थिक पृष्ठलाई रोचक बनाउन युवा तथा महत्वाकाङ्क्षी उद्योगी र व्यवसायीहरुको अन्तर्वार्ता नियमित छाप्दथ्यौँ ।
मलाई अहिले पनि सम्झना छ, २०४३ सालकै कुनै महिना देशान्तर साप्ताहिकले अहिले नेपाली मिडियाका टाइकुन भनिने कैलाश सिरोहियाको सानो अन्तर्वार्ता प्रकाशित गरेको थियो । कैलाश र विनोद ज्ञवाली मेरा परिचित भाइहरु थिए । उमेरले म उनीहरुको दाइ भए पनि हामीबीच साथी–साथीको सम्बन्ध थियो । हामी घनिष्ठ थियौँ । आफ्नो व्यवसायमा सारै खट्ने र उन्नतिको बाटो पहिल्याउने क्षमता थियो दुवैमा । देशान्तरको प्रकाशनमा सङ्कट आउँदा दुवैले यसको प्रकाशनलाई निर्बाध राख्न बेलाबेलामा मद्दत पनि गर्ने गरेका थिए।
(पत्रकार किशोर नेपालको आत्मकथा ‘मेरो समय’ बाट साभार। यो आत्मकथा सन् २०१४ मा फाइनप्रिन्टले प्रकाशन गरेको हो। )