Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको निर्णयले ओली भए झन् शक्तिशाली, अब गर्न सक्छन् संसद विघटन

Posted on May 22, 2021May 22, 2021 by Krish
प्रधानमन्त्री केपी शर्मा ओली।

राज्य प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली फेरि चर्चामा छन्। आजको प्रसङ्ग नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन्। त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली १५३ सांसदको समर्थन आफूसँग रहेको भन्दै शीतल निवास पुगे। राष्ट्रपति र प्रधानमन्त्रीबीच के सम्वाद भयो त्यो सार्वजनिक छैन।

राष्ट्रपतिसँगको भेटका लागि निश्चय नै पहिला समय तय गरिनुपर्छ। हल्लिँदै रेष्टुराँ गए जसरी जाने ठाउँ शीतल निवास पक्कै होइन। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, माओवादीका पुष्पकमल दाहाल, एमालेका माधवकुमार नेपाल पनि ‘हामी आउँदैछौं है’ भन्ने प्रक्रिया पुर्याए नै गए होलान्। प्रधानमन्त्री ओलीले पनि समय लिएरै गए होलान्। पर्दा पछाडि कारण जे भए पनि, यसको परिणाम जे भए पनि सामान्य तथ्य के हो भने शुक्रबार साँझ ओली अघिअघि देउवा—प्रचण्ड—माधव नेपाल पछिपछि शीतल निवास पुगेका चाहिँ हुन्। के हुन्छ त अब?

कोरोना कहरमा श्वास फेर्न नपाएर नागरिक मरिरहँदा देशले पहिला अक्सिजन पाउँछ कि प्रधानमन्त्री त? यो प्रश्नको जवाफमा पुग्नुभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था र संवैधानिक सन्दर्भ हेर्नु उपयुक्त हुन्छ। संसदमा कसैले पनि आवश्यक बहुमत जुटाउन नसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताको रुपमा ओलीलाई वैशाख ३० गेत प्रधानमन्त्रीमा नियुक्त गरिन्।

संविधानको धारा ७६ (४) अनुसार यसरी नियुक्त प्रधानमन्त्रीले पनि ३० दिनभित्र संसदबाट विश्वासको मत प्राप्त गर्नुपर्छ। ओली संसद सामना गर्नेतर्फ नै गएनन्, विश्वासको मत लिएनन्।

त्यसपछि सुरु भएको हो नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया। जेठ ६ गते राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न आह्वान गरिन्। अन्तिम दिन शुक्रबार देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईहरु १४९ सांसदको हस्ताक्षरसहित शीतल निवास तर्फ लागे। संसदबाट बहुमत लिने प्रक्रियामा नगएका ओली देउवाहरुभन्दा अघिअघि शीतल निवास पुगे। अनि भने, ‘यी मैसँग बहुमत छ नि। मै हुन्छु प्रधानमन्त्री।’

१५३ सांसदको समर्थन ओली पक्षमा रहेको नेता विष्णु रिमालले ट्विटमा उल्लेख गरेका छन्।

नयाँ प्रधानमन्त्री चयनको प्रक्रियामा जानुभन्दा अगाडि राष्ट्रपति कार्यालयले यी दुवै निवेदनलाई दर्ता गर्नुपर्छ। शुक्रबार मध्यरात राष्ट्रपति कार्यालयमा सुरुमा निवेदन दर्ता गरिए। राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवाको निवेदन खडानन्द पौडलले दर्ता गरे। सो निवेदनको दर्ता नं. ९६ रहेको हो। यहाँ सम्मको कामको अर्थ संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने भन्ने हो।

तर होइन है मध्यराति राष्ट्रपति कार्यालयले यो प्रक्रिया रोकेको छ। त्यसको कारणमा देउवालाई समर्थन गर्ने एमाले सांसदलाई मान्यता नदिन ओलीले निवेदन पठाएको सहितका कारण देखाइएको छ।

‘दावीकर्ता दुवै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा (५) प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने ठोस आधार नदेखिएकाले उक्त उपधारा (५) बमोजिमका दावीकर्ता दुवै माननीय सांसदहरुको दावी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपतिले गरेको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाइदिएको छ। अब उनी जवाफदेही हुनुपर्ने ठाउँ अझ थोरै भएका छन्। उनको एकल निर्णयले जननिर्वाचित प्रतिनिधिसभा विघटन हुन सक्छ। जेठ १५ को बजेट पूरै चुनाबमुखी बनाउन रोकटोक हुने छैन। अनि ६ महिनाभित्र अर्को प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने अधिकार पनि उनैले पाएका छन्। मुख्य सवाल हो त्यसरी एकल निर्णयमा आह्वान गरिए चुनाब सम्भव हुन्छ कि हुँदैन।

शुक्रबार राति राष्ट्रपति कार्यालयले गरेको विज्ञप्ति

1 thought on “राष्ट्रपतिको निर्णयले ओली भए झन् शक्तिशाली, अब गर्न सक्छन् संसद विघटन”

  1. दुखी नेपाली says:
    May 22, 2021 at 8:45 am

    उक्त ब्लगमा प्रस्तुत गरिएका पोइन्टहरु ससक्त छन, विचारणीय छन|
    यद्यपि राष्ट्रपतिको रोबोटीय कृयाकलापले ओली झन शक्तिशाली भएका छन भन्ने मलाई पटक्कै लाग्दैन|ठीक विपरित, तन्नमे र राजनैतीक चरित्रहीनता उदांगिएका छन| चम्बु बिरालालाई हाउ गर्ने जम्बु स्यालको, अनि त्यसपछी भालुको, जस्तै प्रतिकार पनि नदेख्ने गरेर त्यसपछी राइनोको र त्यतीले पनि नपुगेर वाघको खोल ओढाउदैमा शक्तिशाली कदापि हुँदैन| वास्तवमा दुईतिहाई देखी खिएर कुत्सर्गमा पुगी ओली सबैभन्दा कमजोर र अत्यन्त भल्नरेबल प्रधानमन्त्री बन्न पुगेका छन| ओली तन्नम देखिन्छन, आफ्नो जालमा आँफै फंसेका छन|
    सचेत पर्यवेक्षक कतिले यो पनि महसुस गरे कि ओली नियुक्त कतिपय राजदुतहरुले ओलीको कुर्सी खुस्के आफ्नो पद पनि धरापमा परने देखेर अमर्यादित भएर भिखमँगा शैलीमा स्वास्थ्य सामग्री याटन गरेका देखिए| यस्तो लाजमर्नु स्थिती आउन दिनमा को जिम्मेवारी छन? ईश्वर पोखरेल कि प्रदीप ज्ञावाली वा सबैको नेत्रित्व गर्ने ओली महाराज?कसैले त मुल्याङ्कन गर्नपर्ला नी|

    राष्ट्रपति र ओलीले जे गरेका छन त्यो नेपालको इतिहासमै यो अत्यन्त दु:खदायी घट्ना हो| स्मरण रहोस, सपना देख्नु गलत होइन तर ओलीले दिवास्वप्न देखेर र बकेर मस्त छन| मैमत्त छन| कोरोनाको महामारी फैलिएको र समयमै खोप र उपचार नपाएको ओलीको असफल नेत्रित्वले गर्दा हो| समयमै सचेत गराएर सही ब्यवस्थापन गर्नु साटो हाँछ्यु साँछ्यु भनेर जनता हँसाए, बढ्दो महामारीलाई खेलांची र हेल्चक्र्याई गर्दै नजरअन्दाज गरे|पूर्वतयारीको कमी देखियो|
    ओली र राष्ट्रपती दुवैलाई जनताले दण्डित नगराए फेरि यस्ता अलोकतान्त्रिक कुक्रित्य दोहोरिने छन|
    राष्ट्रपति र विश्वासको मत दुईपल्ट पाउन नसकेका प्रधानमन्त्रीका यस्ता अलोकतान्त्रिक कृयाकलापका बिरोध गरौ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme