आदरणीय दाजु , पजेरो !
धेरै धेरै सम्झना र नमस्कार ! म यहाँ रापिलो गर्मीका दिन हरुमा उपमहानगरपालिका ले निर्माण को नाम मा अब्यबस्थित तरिकाले भत्काएका खाल्डे सडक हरुको दुवै तर्फ ढालेका रुख हरु र जता-ततै मिल्काईएका ढुंगा-रोडा , बालुवा र माटोले पुरिएका डरलाग्दा बाटो हरुमा जसो-तसो घश्रीरहेको छु ! अनि हजुर को गाथ मा के छ नि ? आशा गर्छु कि तपाईं त्यहाँ सकुशल नै चिल्ला सडक मा मज्जाले घुईकिएर यो गर्मीमा पनि एयर -कन्डिसन वातावरण मा कुल-कुल हुनुहुन्छ होला ! तपाईं संग केहि मनका कुरा राख्नुपर्यो भन्ने सोचेर यो पत्र लेख्दैछु ! कृपया झर्को नमानी पढ़िदिनुहुना र मनन गरिदुनुहुना अनुरोध गर्दछु !
हुन त दाजु , तपाईं र म एकै बर्गका सडक मैं गुड्किने चार चक्के सबारी नै हौँ तर निर्माण को दृष्टिले कहाँ तपाईं , अनि कहाँ म ! हामि बीच मा तुलना गर्ने सकिंदैन !तपाईं भित्र कस्ता कस्ता इन्जिन जडानगरिएका छन तर म जाबोलाई यसो दुई -चार ओटा रड ले निर्माण गरिएकोछ ! त्यसैले त होला नि तपाईंले ठुला-ठुला ब्यापारी, राजनीतिज्ञ र प्रशाशक हरु बोकेर हिड्नु हुन्छ भने मैले चाहिं गरीब, दु:खी, असहाय , अनपढ र मुर्ख हरुलाई बोकेर हिड्नु परेको , हैन त ? तपाईं ले बोकेर हिड्ने ठुला-ठालु हरु कति भलाद्मी, गमी र शान्त हुन्छन तर मैले बोकेर हिड्ने हरु चाहिं हतास, निरास र कुण्ठाले भरिएका हुँदारहेछन ! यी सबै कुरा मैले आफुले पढेर , जानेर अनि बुझेर भनेको हैन नि ! यी सबै कुरा त मैले हाम्रो समाजमा रहेका कुनै पनि लोभ-पाप नभएका अत्ति असल व्यक्तिहरुले गर्ने गरेको ब्यबहार बाट थाहा पाएर भनेको है ! नपत्याए तपाईं यसो बिचार गर्नुस है त ! तपाईंले बोकेर ल्याएका मानिसका पाऊले भुईं टेक्न नपऊँदै कसरि ति मानिस हरु तँ छाड र म छाड गर्दै उनीहरुका पाऊ मा रातो कार्पेट ओछ्याउन लालायत हुन्छन ! अर्कोतिर मैले बोकेका मानिस हरु लाई हाम्रो समाजका तिनै मानिसहरुले कसरि हेर्छन थाहा छ ? समाजमा हुनै नपर्ने , कामै नलाग्ने र वाहियात मानिसको रुपमा हेर्छन ! किन थाहा छ ? किनभने तपाईंले बोकेका मानिसहरुले यो देश चलाऊँछ्न, चाहे जसरि सुकै चलाउन ! अर्को तिर , मैले बोकेका मानिसहरुले बिकृति का बिरुद्ध मा बोल्दारहेछन र तिनै देश चलाउने हरुका नराम्रा कार्य को उछितो काढदा रहेछन ! अनि समाजका मानिसहरु के भन्छन थाहा छ ? उछितो काढेर भूँडी भरिदैन ! भरिन्छ त केवल रुपियाँ पैसाले ! र त्यो रुपियाँ पैसा कसले बाँडदो रहेछ थाहा छ ? तिनै तपाईं ले बोक्नेगरेका ठुला-ठालु ले !
तपाईं लाई एउटा चाख लाग्दो घटना सुनाऊँछु है त ? मैले बोक्ने गरेको एउटा शिक्षक भनाउदो अव्यवहारिक प्राणि छ ! हेर्दा उ मोटो-घाटो र खाईलाग्दो छ ! उसलाई नपुग्दो केहि पनि छैन ! न त उसले बिबाह गरेको छ न त स्वास्नी-छोरा-छोरी पाल्नु पर्ने चिन्ता छ ! न त बाऊ-आमा को हेर-बिचार गर्नुपर्छ ! आनन्द को जीवन छ ! त्यहि पनि के के न जान्दछु भन्छ , समाजको बिकृति हेर्नु हुन्न भन्छ र यस्तो धुले सडकमा , यस्तो प्रचण्ड गर्मीमा र यस्तो अराजकता मा पनि मलाई घिसार्दै हिड्छ ! किन त भन्दा तपाईंले बोक्ने ठुला-ठालु हरुलाई उसको समाजमा भैरहेका विकृतिका बिरुद्धमा ध्यान आकर्षण गराउन अरे !लौ भन्नुस त दाजु , मैले कस्ता-कस्ता मानिस लाई बोक्नु पर्छ ! तपाईं ले बोक्ने मानिस कत्ति भलाद्मी , कत्ति सहनशील र कत्ति उदार छन ! तिनीहरु कहिल्यै यस्ता नाथे विकृतिका बिरुद्ध मा बोल्छन त ? तपाईं लाई कत्ति हाई -सन्चो छ तर मलाई हेर्नु त यो गर्मीमा यस्तो अडियल मोटे र सन्काहा शिक्षक भनाउदो मान्छे रुपी प्राणि लाई घिश्री-घिश्री लिएर हिड्नुपर्छ ! हैन ! अरु को मामिलामा किन टांग अडाउनु हौ ? जो सुकैले जे सुकै गरुन ! आनन्द ले घर मैं सुतेर , टि.भी हेरेर , नेट चलाएर र मस्ती गरेर जीवन बिताउनु नि ! हो कि हैन भन्नु त ?
किन त्यसो गरेको भन्नु हुन्छ होला हैन ? लौ सुन्नुस , है त ? त्यसका बाउ को घर अगाडी को बाटो बनाउदैछ्न ! उसलाई चित्त बुझेन अरे ! त्यसका बाऊ भनेर किन गालि गर्या भन्नु हुन्छ होला , हैन ! किनभने उ बाउ कै घर मा बस्छ क्या ! उसको घर -सर केहि छैन ! अब बाटो बनाउदैछ्न भने के चित्त बुझेनछ त ? यहि सोध्नु हुन्छ होला, हैन त ? लौ सुन्नुस है त ! सरकारी कागजमा यसो-यसो गर्नु भनेर बाटो बनाउने बजेट आएको रहेछ तर काम गर्ने ले चाहिं शुरु मैं भन्दै नभनेको काम चाहिं गर्न थालिहालेछ्न ! उसले किन यसो गरेको हौ भनेर सरोकारवाला लाई सोद्धा , उसलाई टाल-टुले जवाफ दिएछन ! जुन काम गर्नु भनेको छैन , त्यो काम चाहिं बडो द्रुत्त गतिले गर्दा रहेछन , तर जुन काम पुरा गर्नु भनेर सम्झौता-पत्र दिएको छ त्यो काम चाहिं अपुरो नै छोड्न चाहदारहेछन ! म एउटा उदाहरण दिएर भन्छु है त ? सुरुवाल बनाउनु है भनेर सरकार ले पैसो दिएकोछ , उनीहरु चाहि कट्टु सिलाउदै छन ! उ सोध्छ ,” किन सुरुवाल को सट्टा, कट्टु सिलाएको ?” उनीहरु भन्दारहेछन ,” कट्टु सिलाएर के भयो त , हामीले बुट्टा भरिदिएका छौं नि !” बुट्टा भर्नुपर्दा सुरुवाल सिउने पैसा पुग्दैन ! त्यसैले कट्टु नै भए पनि बनाईदिएका छौं ! बुट्टा हालेर बनाईदिएको कट्टु को बिरोध नगर भनेर जवाफ दिएछन ! उ चाहिं के भनेर कुर्लिन्छ भने ए ! बाबा ! प्रथम त: बुट्टा हाल्नु नै हुन्नथ्यो ! हाले पनि एक पानि ले धुने बित्तिक्कै खुईलिने बुट्टा किन हालेको ? सुरुवाल काटेर बुट्टेदार कट्टु किन सिलाएको ?
त्यस्तो गैर-कानुनि जवाफ सुनेर उ रिस ले मुर्मुरियो ! बिराटनगर को यस्तो तातो घाम मा धुले सडक , खाल्डा-खुल्डी र दुर्घटनाको जोखिम लाई वास्ता नै नगरी उ मलाई लिएर हिड्यो ! हा ! हा ! हा ! मलाई त मरी मरी हाँसो उठ्यो ! थाहा छ किन ? किनभने उ तपाईंले बोक्ने ठुला-ठालु देश चलाउने मानिसहरुलाई पो भेट गर्छु भनेर हौसिदै थियो ! म यस्तो गर्मीमा त्यो धुले सडकमा र दुर्घटनाको जोखिम मा पनि मन भित्र-भित्रै खित्का छोडेर हाँसिरहेको थिएँ ! तपाईं का ठुला-ठालु सवारी र मेरो यो सवारी का बिचमा एउटा समानता चाहिं भेटें है मैले !जसरि तपाईंका ठुला-ठालु सवारीहरू हैकम चलाऊँछ्न नि , हो यसले पनि मलाई त्यस्तै हैकम चलाएर मेरो मर्म नै नबुझी घिसार्न थाल्यो मलाई ! नभन्दै, त्यस दिन यसले तपाईं का ठुला-ठालु सवारी लाई भेट गर्न भनेर उनीहरु कै अफिस पुग्यो ! धन्न यो मोरो आफैं भाग्यमानि भएर हो वा भनौं ती हाकिम हरु भलाद्मी भएर हो , दुवै पक्ष का बिचमा भेट-घा भयो ! अचम्म त के भो भने ,यो मोरालई भेट्न भनेर ती हाकिम साहब हरु आफ्नो तिन-ताला माथि को अफिस -रूम छोडेर भूई तलाको कोठामा पो आए हौ ! म त छक्कै परें ! दाजु, तपाईं ले बोक्ने ठुला-ठालु हरु पनि कोहि-कोहि त असल हुँदा रहेछन , हगि ? म पनि उनीहरु देखि प्रभावित नै भएँ यसले आफ्ना सबै कुरा सुनायो ! उनीहरुले पनि उसका कुरा सुन्दै , तर्क-बितर्क गर्दै र समस्याको समाधान को बाटो निकाल्ने प्रयास गर्ने भनेर जवाफ दिए ! उ पनि मख्ख परेर आयो !
दाजु, अन्त्यमा एउटा कुरो नलुकाईकन भनिदिनु ल ? तपाईं ले बोक्ने ती हाकिम साहब हरु ले यो अडियल शिक्षक का कुरा सुनिदिएका मात्रै हुन् कि सहयोग पनि गर्लान ? कृपया, कुरो नलुकाई भनिदिनु ल ! धेरै लामो गन्थन गर्यो भनेर नारिसईदिनु होला ! फेरि-फेरि पनि यस्तै पत्र लेख्दै गर्ने वाचा का साथ् आजलाई बिदा है !
उही तपाईं को प्यारो भाई “व्हील-चेयर”