Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्ड सकिएका हुन् ?

Posted on April 22, 2021 by सूर्य खड्का


नेपाली सत्ता राजनीतिमा केपी ओली अहिले शिखर राजनीतिक खेलाडी हुन्। उनी सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं निर्वाचित कार्यकारी अध्यक्ष हुन्। ओलीले तीन वर्षे बढी एमाले सत्ता कसरी चलाए? उनका कथनी र करणी आम जनताका सामु छर्लंग नै छ। त्यतातिर पछि अरु सन्दर्भमा चर्चा गरौंला। राष्ट्रपति दाहिना, दक्षिण छिमेक सुपर दाहिना, उत्तरी छिमेकलाई प्रेममा फुस्ल्याउन सफल र घरेलु राजनीतिमा सबै खाले शक्ति समुहलाई राम्रै हरियो घाँस हाल्न सफल ओली संभवतः २०४६ को परिवर्तनपछिका शक्तिशाली प्रधानमन्त्री स्व. किशुनजीपछिका सर्वाधिक अधिकारसम्पन्न र शक्तिशाली प्रधानमन्त्री हुन्।

तर, यति धेरै शक्तिशाली सत्ता प्रमुख ओलीको बिहान सबेरैदेखि राती अबेरसम्मको दैनिकी, वाणी र क्रियाकलापहरुको सरसरती समीक्षा गर्नुहोस् त। ओलीले शायद निन्द्रमा पनि बर्बराउँदा लिने नाम एउटै छ, त्यो हो प्रचण्ड। भाषण र बोलीहरुमा उनले कति पट्क प्रचण्ड प्रचण्ड भन्छन् भन्ने तथ्य त आम जनताका सामु दिनको घाम जत्तिकै स्पष्ट छ। कल्पना गर्नुस्, शक्तिशाली ओली हुन् भने उनलाई किन भैरहेको छ प्रचण्ड फोबिया?

हो, यहीनेर छ, गाँठी कुरा। त्यो के भने आवरणमा केपी ओली नेपाली सत्ता राजनीतिका मुख्य पात्र भए पनि नेपाली सत्ता राजनीतिका अहिलेका मियो पात्र ओली नभई प्रचण्ड नै हुन्। सबैले भन्छन नेकपाको उठानदेखि पतन, एमाले र माओवादीको पुर्नजन्मसम्मका दौरान प्रचण्ड सिद्धिए। कतिले ठान्छन्, अब प्रचण्ड बिजुक्छे वा सीपी मैनाली बन्ने पथमा गैसके। यो मान्छेले आआफ्नो स्तर अनुसार गर्ने अनुभूति मात्र हो।

खासमा प्रचण्ड नै अहिले सत्ता राजनीतिका वास्तविक नायक हुन भन्ने त ओलीले प्रचण्डलाई दिएको महत्व, गरेको गाली र खेलेका सत्ता खेलका नग्न दृश्यहरुले नै प्रमाणित गर्छ। प्रचण्डले जता जता कुम हल्लाउँछन्, मर्काउँछन् उतै उतै ओलीको बोली र शक्ति खर्च हुनुपर्ने जुन नियति वर्तमान राजनीतिक रस्साकस्सीमा देखिँदैछ, त्यसैले प्रमाणित गर्छ कि अहिले पनि प्रचण्ड नै छन्, सत्ताका किंगमेकर, राजनीतिका असली खेलाडी।

समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ ……भन्ने गीत प्रचण्डको हिजोआजको दैनिकीमा सुहाएकोसम्म त धरातलीय राजनीतिक यथार्थ हो। तर आम मान्छेले टिप्पणी गर्ने गरे जस्तो, प्रचण्ड सिद्धिएका छैनन्। बरु ओली दिनदिनै, पल पलमै रित्तिएका छन्। र, यो ओलीको रित्तिने क्रम निरन्तर छ। अब एक झमट सकी नसकी राष्ट्रपति शासन लागू गर्ने निर्णय हान्ने बाहेक ओलीसँग खास मूभ बाँकी छैनन्। सत्ताको मातमा ओलीका प्रचण्डविरोधी हर्कत केवल घुम्ने मेचमाथि अन्धो मान्छेको नग्न उदाहरण सिवाय केही होइन।

कम्युनिष्ट पार्टीको दुई तिहाईको बहुमत सिध्याउने, नेकपा विभाजन गर्ने, एमालेमा पनि आफूलाई निर्विकल्प बनाउने नाममा ओलीले जे जति गरे त्यो ७२ औं कम्युनिष्ट पार्टी स्थापना दिवसका दिनमा क्रुर समीक्षा हुनुपर्ने नेपाली वामपन्थीहरुको मुख्य कार्यभार नै होला। ओलीले जिते, पेलेर लगे र सबलाई देखाईदिए भन्ने निष्कर्षमा रहेका ओलीका फ्यानहरुलाई अहिले यो कुरा अपाच्य लाग्न सक्छ, कि ओलीले नेपाली वाम आन्दोलनलाई धेरै पछाडि धकेलिदिएका छन्। उनको दुष्कर्मको परिणाम समयले क्रमशः देखाउने छ। संविधानको तेजोवध, व्यवस्थाको हुर्मत र जनताको मतादेशमाथि ओलीको ठट्टाको हिसाब इतिहासले गर्नै बाँकी छ।

यहीँनेर, प्रचण्डको भूमिका र दायित्व अब बदलिएको छ। २०५२ यता आज पर्यन्त सकारात्मक वा नकारात्मक पोलबाट नेपाली राजनीतिलाई आफ्नो वरीपरी घुमाउन निरन्तर सफल प्रचण्डले अब पहिले आफू सच्चिने र नयाँ परिस्थितिमा नयाँ एकता र नयाँ सहकार्यको बाटो देखाउन र अरु सबैलाई समेटन सक्नुपर्छ। ओलीको राष्ट्रवाद सत्ताको भर्‍याङ र दक्षिणको सेवा गर्ने उग्रपन्थ मात्र थियो भन्ने प्रमाणित भैसकेको आलोकमा अब प्रचण्डले नेपालका सबै देशभक्त, राष्ट्रवादीहरुलाई समेटेर नयाँ राजनीतिक शक्ति सन्तुलनको ऐतिहासिक छलाँग मार्न सक्नुपर्छ। प्रचण्डको बृहत कम्युनिष्ट एकताको गर्भबाट जब प्रतिगामी ओलीपन्थ जन्मियो भने उनले अब यो ऐतिहासिक गल्ती सच्याउन घरेलु देशभक्त, राष्ट्रवादीहरुसँग हात मिलाउनुपर्छ। साथ लिनुपर्छ।

प्रचण्डले हमेशा हेक्का राख्नुपर्छ, उनले तत्कालीन राजा र सेनालाई पराजित गरेर शान्ति वार्तामा आएका होइनन्। त्यो बेला राजालाई धोका दिएर, सेनालाई स्वार्थमा पारेर गिरिजाप्रसाद कोइराला र प्रचण्डहरुले जे जे उपलव्धि हासिल गरेको भ्रम पाले, त्यसको हावा खुस्कियो अहिले। त्यसैले प्रचण्डकै मुद्धा, विचार र परिकल्पनाको यो व्यवस्थालाई अब पुर्नपरिभाषित गर्ने, राजासहितका सबै शक्ति अटाउने गरी नयाँ शासकीय संरचनाको व्यवस्था गर्न प्रचण्ड आफै अग्रसर हुन सके भने ७२ वर्षे कम्युनिष्ट संघर्षको तार्किक निकासमा उनको अन्तिम उपलव्धि हुन सक्छ।

अन्यथा, प्रचण्डले अब मेरो गोरुको बाह्रै टक्का गरेर यो संविधान नै अन्तिम सत्य भन्दै हिँड्ने हो भने उनले ओली भाग २ हुनुपर्ने कठिन दिन आउन सक्छन। प्रचण्डले नै बनाएका, जन्माएका ओलीहरु नै संविधान र व्यवस्थाको जरोकिलो उखेल्ने कार्यकारी भैरहेको वर्तमानमा अब प्रचण्ड व्यवस्था र संविधानको पुर्नलेखन, पुर्नव्यवस्थापनसहित सबैलाई समेटन र सबैलाई मिलाउन सक्षम हुने भूमिकामा नयाँ रुपमा प्रचण्ड हुन सक्नुपर्छ। यो नै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति सबैको साझा प्रस्थान बिन्दु हुन सक्छ।

प्रचण्डले राजासहितका सबै देशभक्त, राष्ट्रवादी, सेना र लोकतान्त्रिक शक्तिको विश्वास जितेर सबैलाई समेटने गरी नयाँ राजनीतिक मुभ गर्न जति ढिला गर्छन, उति नै उनी कमजोर हुँदै जानेछन्। नेपालमा राजासहितका शक्तिसँग हातेमालो गर्ने शक्ति नै स्थायी सत्ता हुनेछ। यो सत्य प्रचण्डले अब आत्मासात गर्नुपर्छ। उनले लडेको १० वर्षे जनयुद्ध तत्कालीन राजसंस्था र सेना विरुद्ध थियो, तर १२ बुँदे सम्झौता राजा र सेना बाहेकसँग गर्दाको परिणाम नै अहिले मुद्धा प्रचण्डको सत्ता प्रतिगमनको हुन पुगेको नै तीतो सत्य हो। अहिले प्रचण्डले लोकतन्त्रको हिमायती आफूलाई साबित गरिसकेपछि अब घरेलु देशभक्त शक्तिलाई सधै निषेध मात्र गरेर जित्न सक्दैान् नै। एकातिर ओलीपन्थ अर्कोतिर राजा ल्याउ, देश बचाउँ पन्थसँग सिंगौरी खेल्ने र जित्ने हैसियत गुमाइसकेका प्रचण्डले अब ओली या देशभक्त भनेर एकीन गरी एकातिर मात्र हात र साथ बढाउने गरी आफूलाई नयाँ प्रचण्ड बनाउन सक्नुपर्छ। यसो भएमा मात्र प्रचण्डको संघर्ष, बलिदानको उपलव्धी संस्थागत र देश तथा जनताको हितमा हुनेछ। अन्यथा उनले लडेर ल्याएको गणतन्त्र ओलीपथको शिकार हुने दिन टाढा छैन। ओलीसँगको प्रचण्ड प्रेम व्यवहारिक रुपमा नै असफल भैसकेकोले अब उनले राजासँग नयाँ खाले एकताको हात बढाउँदा नै हुनेछ, सबैको हित र जित। बाँकी प्रचण्डकै मर्जी।

3 thoughts on “प्रचण्ड सकिएका हुन् ?”

  1. सचेत says:
    May 5, 2021 at 9:14 am

    देशका लागि प्रचणड जस्ताे मान्छे सकिनु पर्छ । जति सक्दाे र छिटाे । किन कि देशलाइ अस्थिर र नेपाल र नेपाली अस्तित्व जाेगाउन । देशमा कम्युनिष्टको नाममा विदेशीकाे दलाल भएर राषट्घाती काम गर्दैैछन् । नेपालीहरु कम्युनिष्ट शब्द मन पराउने भएकाले विदेशीहरुले दलालहरुलाइ कम्युनिष्ट बनाएर आफ्नाे स्वार्थ पुरा गर्दैछन र हाम्राे स‌स्क्रतिमा आक्रमणा गर्दृैछन् । यस्ता कार्य गर्न यिनीहरु कम्युनिष्ट हाेइनन मतियार हुन् ।

    Reply
  2. गहन says:
    April 23, 2021 at 7:44 pm

    यो मन्तब्य माईसंसार मार्फत|
    ओलीको अहिले देखिएको इतर गुटका नेताहरुसँग वार्ता गर्ने काम देखावटी मात्रै हो|एउटा छिमेकिको तपाईंहरु मिल्नुस भन्ने सुझाव र दवाबका कारणले मात्र यो कदम देखाउनलाई ल्याएको हुनसक्छ|आफै बोलाउने र एक थोपा पनि लचिलो नहुने, अनि कसरी वार्ता सफल हुन्छ? उल्टो सके पाठ पढाउन खोज्ने| प्रधानमन्त्री ठुलो छाहरी भएर विमत राख्नेलाई पनि अटाउन सक्नुपर्छ| अन्तत ओली आफ्ना विपक्षकालाई हटाएर आफ्नो आलोचना होइन प्रशन्सा गर्ने र जे भने नी हो हो, हस, हजुर भन्नेलाई मात्र पार्टिमा राखेर चलाऊन चाहन्छन भन्ने प्रष्ट छ| वार्ताबाट केही हुनेवाला छैन| बरु सोमत राखेर यो ब्रेक अप फाईनल गर्नुस| नेताहरुले एकार्कालाई ढुङ्गामुढा गर्न बाहेक भन्न र आरोप लाउन केइपनि बाँकी राखेका छैनन| यो लामो गुटवन्दीलाई निकास दिएर देश बिकासमा लाग्नुस|
    देश कोरोनाको तीब्र कहरमा छ, प्रधानमन्त्री कुर्सी जोगाउन चौबिसै घण्टा बिजी छन| देशका संगठनहरु कोरोनाको अव्यवस्था सँग जुधन व्यस्त छन तर चकित हुनपर्ने के भने नेपालको राजनीतीलाई लक्ष्य बनाएर निरन्तर हरकत गरने, माया गरने नेपाली जो विदेशमा छन, संस्थागत र सामुहिक रुपमा किन आवाज उठाउदैनन? देशको टुंगोहीन राजनीतिले डोहोराएर कँहा पुर्याउने होला| यो बेला नबोले कैले बोल्ने?

    Reply
  3. गौरव says:
    April 23, 2021 at 9:32 am

    हन हाम्रो नेपालमा मात्र यस्तो अदभुत ताल किन? एकपल्ट पदमा पुगेर खुस्केपछी फेरी तुरन्तै पदको लाईनमा बसिहाल्छन, मन्त्री, प्रधानमन्त्री जो छन| फेरी खान मरिहत्ते गर्छन| भुतपूर्वको हैसियतमा सरकारले दिएको सुरक्षा र सुविधा प्रयोग गरेका छन|
    यस्तो नियम कानुन किन नबनाउने?
    १) भुतपुर्बलाई पद समाप्ती पछी बढीसे बढी ६ महिनासम्म राज्यले सुरक्षा र सुविधा दिने| त्यसपछी चाहे आँफै पैसा तिरेर ब्यहोर्न पर्ने|पदका लागि राजनीती र षडयन्त्र गर्दै हिंडने अनि राज्यले सुरक्षा किन दिने हँ?

    २) सरकारी तलब भत्ता वा सुविधा दिने गरेर पीए, सल्लाहकार, स्वकिय सचिव इत्यादि नियुक्ती गर्दा आफ्नो मान्छे, नाता परने नियुक्ती गर्न नपाउने| स्वास्नी, साला, भतिजा, छोरी भान्जी आदि नियुक्ती गरेर पारदर्शिता बिनाश पारेर भ्रष्टचार मौलाएको एउटा कारण यो पनि हो|
    ३) उदघाटन र शिलान्यास गर्दा २ x ४ को फ्रेममा रु ८०० भन्दा खर्च बढी नगरी बोर्ड राख्न पाइने|

    ४) सरकारी कर्मचारी र सरकारबाट तलब सुविधा लिएका पदमा बसेकाले अन्य श्रोत (एन्जिओ, आईनजीओ, दात्री संस्था) बाट टीएडीए लिन नपाईने र लिनपरे रेकर्डबुक र वेबसाईटमा रेकर्ड राख्नु पर्ने जुन अध्यवधी गरेर मेडियालाई हेर्न दिने|
    छल्ने नियत भएका हरुले जसरी पनि चोर्छन र छल्छन तर यी कदमहरु आवश्यक छन|
    सचिव, मुख्य सचिव नै यो लागु गर्न आनाकानी गर्छन त कसरी भ्रश्टचारको मुख हेर्दिन भनेर पुग्छ| शपथ लिएको झुटो रहेछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme