Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : टी–२० विश्वकप छनोटअघि नेपालमै होला त ओडिआई सिरिजदेखि सुनको भाउ ६ वर्ष यताकै उच्च

Posted on February 5, 2019February 6, 2019 by राजेन्द्र मगर

आज माघ २२ गते मंगलवार अधिकाशं अनलाइनले तामाङ समुदायले  मनाएको फाग ल्हो(सुँगुर वर्ष) को बारेमा समाचार लेखेका छन।  राजधानीको टुडिखेलमा आयोजना भएको कार्यक्रमको बारेमा अधिकांश अनलाइनले फोटो फिचर हालेका छन।

डम्फु र ढ्याङ्ग्रोको तालैमा नाचे तामाङ, सोनाम ल्होछारको रौनक ४० फोटोमा हेर्नुस् भन्दै पहिलोपोस्टले फोटो फिचर हालेको छ।

त्यसमध्ये प्रवीण रानाभाटले खिचेका पाँच फोटो यस्ता छन्-

ल्होछारबारे अनलाइनखबरमा विकास श्रेष्ठका फोटो, नारायण महर्जनको सेतोपाटीमा फोटो, प्रवीण कोइरालाको नेपालखबरमा फोटो हेर्न सकिन्छ।

अब भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्विकृती अनिवार्य लिनुपर्ने भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी  उद्योग प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

खुला सीमानाकाका कारण सहजै आउन सकिने भएकाले नेपालमा ठूलो संख्यामा भारतीय नागरिकहरु बिना श्रम स्वीकृति कार्यरत छन् ।

भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भन्दै अनलाइनखबरले लेखेको छ।

निर्मला हत्या प्रकरण बारे गृहमन्त्री राम बहादुर थापा बादलले भोली  सासंदहरुको प्रश्नको जवाफ दिने भएका छन।

संसद सचिवालयले बुधबार गृहमन्त्रीसँगै अर्थ, वन र महिला तथा बालबालिका मन्त्रालयका विषयमा सांसदहरूले दर्ता गराएको प्रश्नमाथि जवाफ दिने कार्यक्रम राखेको छ।

गृहमन्त्रालयसँग सम्बन्धित  विषयमा मन्त्री थापाले बुधबार जवाफ दिनेछन्। कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको हत्यारा पक्राउ नपरेको’ विषयमा मौखिक प्रश्न दर्ता गराएकी थिइन्। सोही प्रश्नमाथि थापाले जवाफ दिन लागेका हुन्। संसद बैठक बुधबार १ बजे बस्दैछ।

निर्मला प्रकरणमा गृहमन्त्री थापाले बुधबार सांसदको प्रश्नको सामना गर्ने भन्दै सेतोपाटीले लेखेको छ।

७ वर्षमा २३ जना चितुवाको आक्रमणमा परेर मृत्यु भएको खबर काठमाण्डु प्रेसले लेखेको छ। खबर बैतडी जिल्लाको एउटा गाउँको हो। चितुवाको आक्रमणमा परेर मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला छन् भने एक सय भन्दा बढी घाइते भइसकेका छन् ।

चितुवाले खासगरी बालबालिका र एक्लै रहेका मानिसहरूलाई आक्रमण गर्ने गरेको देखिएको छ। चितुवाको डरले एउटा परिवार गाउँ छाडेर अन्तै बसाइँ सरिसकेको छ।

त्यस्तै  अधिकाशं अनलाइनले सुनको भाउ आकासिएको समाचार लेखेका छन। ६ वर्षयता सबैभन्दा बढी सुनको भाउ बढेको छ। आज मंगलबार छापावाल सुनको भाउ तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हिजो सोमबारको दाँजोमा १ सय रुपैयाँले बढी हो । पछिल्ला १० दिनदेखि सुनको भाउ निरन्तर बढी रहेको छ।

सुनको भाउ तोलाको ६५ हजारसम्म पुग्ने बाह्रखरी डटकमले लेखेको छ।

ओली-प्रचण्डलाई प्रतिवेदन बुझाउनुपूर्व कार्यदलको बैठक राख्न नेकपामा माग भन्दै नेपालखबरले लेखेको छ।

सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदललाई मंगलबार प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। तर, रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाउनु पूर्व बैठक डाक्न नेतृत्व समक्ष माग गरेका छन्।

नेकपा केन्द्रीय सचिवालयले पार्टी एकिकरणका लागि गृह मन्त्री रामबहादुर थापा (बादल) र महासचिव बिष्णु पौडेलको कार्यदल गठन गरेको थियो।

टी–२० विश्वकप छनोटअघि नेपालमा ओडिआई सिरिज हुने सम्भावना भन्दै नेपाल लाइभले समाचार लेखेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफ्ना पिच कन्सल्ट्यान्ट एन्डी एटकिन्सनलाई युएईविरुद्धको सिरिज लगत्तै नेपाल पठाएको छ। उनले आज किर्तीपुर स्थित क्रिकेट स्टेडियम निरिक्षण गरिसकेका छन्। एन्डीले आइसीसीलाई रिपोर्ट बुझाएपछि आइसिसीले त्रिवि मैदानलाई एकदिवसीय योग्य बनाउनका लागि गर्नु पर्ने कामबारे सुझाव दिनेछ।

आइसिसीले त्रिवि मैदानलाई मान्यता दिएमा नेपालमा एकदिवसीय खेल हुने सम्भावना छ। नेपालमै आएर सिरिज खेल्नका लागि यसअघि नेदरल्यान्ड्सले इच्छा देखाएको थियो। यस्तै स्कटल्यान्ड र आयरल्यान्ड पनि नेपालको घरेलु मैदानमा खेल्न सकारात्मक छन्। मैदानले एकदिवसीय मान्यता पाएपछि नेपालले आइसिसीमार्तफ एकदिवसीय खेल खेलाउनका लागि पत्राचार गर्नु पर्नेछ।

त्यस्तै सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।

क्रिकेट खेलाडीलाई जनही पाँच लाख दिने मन्त्रिपरिषदको निर्णय भन्दै देशसञ्चारले लेखेको छ।

विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा विप्लवले पाए सफाइ भन्दै खबरहबले लेखेको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको हो।

नेपालखबरले नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’ आगामी बैशाख ४ मा अन्तरिक्षमा प्रक्षेपण हुने समाचार लेखेको छ। अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालकाे पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो। जापानमा अध्ययन गरिरहेका विद्यार्थी आभाष मास्केले ‘नेपाली स्याट वान’ नानो स्याटलाइट निर्माण गरेका हुन्।

अन्तमा, आजको कान्तिपुरमा छापिएको एउटा विचार पनि पढ्न लायक छ। भेनेजुएलाको दन्त्यकथा शीर्षकमा मुराहरि पराजुलीले लेखेको लेखमा कुनै बेला ल्याटिन अमेरिकाकै सबैभन्दा धनी मुलुकमा अहिले मान्छे भोकभोकै मरिरहेका छन्, फोहरको डंगुरमा खानेकुरा खोजिरहेका छन्, शिशुहरूले पिउने दूध पाएका छैनन्, अस्पतालमा औषधि छैन, पैसा कागजको खोस्टो भएको छ, लुटपाट, चोरीडकैतीका घटना बढेका छन्, ३० लाख मान्छेले देश छोडेर छिमेकी मुलुकमा आश्रय लिइरहेका छन्, राजनीतिक संकट चुलिएको छ। किन? त्यसबारे उल्लेख छ।

अर्थतन्त्रलाई केन्द्रीकृत गर्दाका दुष्परिणामबारे साभेजलाई मतलब थिएन । तेल बेचेकै पैसाले सबथोक किन्न सकिन्छ भन्नेमा ढुक्क थिए । खाद्यान्न, औषधि, लत्ताकपडा, मोटरगाडी सबै आयात गरिन्थ्यो । निजी व्यवसाय नहुँदा आन्तरिक उत्पादन प्रणाली ध्वस्त भइसकेको थियो । सबथोक राज्यको नियन्त्रणमा ल्याउने बोलिभारियन रोमाञ्चबाहेक साभेजसँग कुनै आर्थिक मोडल थिएन । अन्तर्राष्ट्रिय बजारमा चलेको तेलको मूल्यले उनको रोमाञ्चलाई टिकाइरहेको थियो ।

समाजवादी प्रयोगका नाममा समानान्तर संस्थाहरू खडा गरिएका थिए । भइरहेका मन्त्रालय, विभाग र कर्मचारीतन्त्रलाई सुधार्नुको सट्टा गरिबी निवारण, सामाजिक कल्याण, सामाजिक न्याय कायम गर्ने गरी ‘मिसियोनेस’संयन्त्र बनाइएको थियो । यो संयन्त्रले खाद्यान्न, आवास, शिक्षा, स्वास्थ्य, वातावरण, पहिचान, ग्रामीण विकास, नागरिक मिलिसिया, भूमिसुधार, संस्कृति, सामाजिक सुधार सबै क्षेत्रमा काम गर्थ्याे । यसले राज्यको जिम्मेवारी र खर्चमा दोहोरोपन ल्यायो । तेलबाट आएजति पैसा सबै यस्तै काममा खन्याइयो । भविष्यका लागि कुनै बचत गरिएन । विदेशी ऋण लिएर समेत यस्ता कार्यक्रम विस्तार गरिएका थिए ।

लेखमा छ- अध्येताहरूका लागि भेनेजुयलाको आर्थिक प्रणाली एउटा दन्त्यकथाजस्तो छ । डेढ दशकमा यो मुलुकले समृद्धि र चरम गरिबी भोगेको छ । सहरबाट धन कमाई ल्याएको एउटा गाउँले केटो दुई चार दिन रमाइलो गरेर फेरि गरिबीमै जाकिएको जस्तो भएको छ भेनेजुयालाको अवस्था । लेखको निचोड छ- विश्वभरका राजनीतिज्ञ, प्राज्ञ, नीतिनिर्मातालाई छक्क पार्ने बोलिभारियन समाजवाद क्षणिक साबित भयो तापनि समाजवादीहरू यसलाई स्विकार्ने मुडमा छैनन् । उनीहरूले यो संकटमा साम्राज्यवादी षड्यन्त्र देखेका छन् । समाजवादका नाममा भएका कुनै पनि प्रयोग असफल हुँदैनन् भन्ने ढिपी कसिरहेकै छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme