Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मलाका बाबु र आमाबारे धेरैले थाहा नपाएका कुरा

Posted on November 26, 2018August 15, 2020 by mysansar

-अमृता लम्साल-

सामाजिक सञ्जालमा #JusticeForNirmala अभियान चलाइरहेको समूहबाट कञ्चनपुर गएर निर्मला पन्तको बलात्कार/हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउनका लागि धर्ना बसेको निर्मलाको परिवार भेटेर हामी लाश पाइएको ठाउँ आदि हेर्दै निर्मलाको घर पुग्यौँ।

त्यहाँ, निर्मलाकी दिदी र बहिनीसँग सामान्य भेटघाट गर्‍यौँ। निर्मलाकी आमा दूर्गादेवी पन्तले आफ्नै घरको बरन्डा मै काठको टेबुलमाथि राखेर पानीपुरीको व्यापार गर्दिरहिछन्। त्यो टेबुल अहिले रित्तो भएर बसेको रहेछ।

निर्मला र उनकी दिदीसमेत पढ्ने ‘सरस्वती’ स्कूल उनीहरूको घर नै अगाडि रहेछ।

मैले निर्मलाकी दिदी मनिषालाई सोधेँ, “खाना कसले पकाउँछ ?” सोध्नुको कारण थियो, उनकी आमा दूर्गा, धर्नामा बसेकी थिइन्। मनिषाले भनिन्, “आमाले बनाएर जानुहुन्छ; बेलुकी मैले सघाउँछु।”

दूर्गादेवीसँग पहिल्यै कुरा गरेर आइसकेका थियौं। कुराकानीको क्रममा उनले भनिन्, एकातिर, उनी बलात्कार र हत्या गरिएकी छोरीको लागि ४ महिनादेखि न्यायको लागि लड्दै थिइन् भने, अर्कोतिर, आगामी वर्ष SEE दिने जेठी छोरी र कान्छी छोरीको पढाईको बारेमा पनि उत्तिकै चिन्तित थिइन्।

अहिले बलात्कार र हत्याको भयावह अपराध पछि दृश्यमा आएका निर्मलाका बाबु, खासमा निर्मलाको परिवारबाट १० वर्षअघि अदृश्य भैसकेका थिए। कारण थियो लगातार तीन वटा छोरी जन्माउनु। छोरा नपाउनु।

यसको प्रमाण, निर्मलाका बाबुको स्वर्गीय बाबुले, त्यतिबेला नै आफ्नो छोराले कान्छी श्रीमती ल्याएपछि, आफूले खोजेर विवाह गरीदिएकी बुहारीले दु:ख नपाउन् भनेर आफ्नो २८ धूर जग्गामध्ये १४ धूर ती बुहारीलाई र बाँकी १४ धूर छोरालाई अँशबण्डा गरिदिएका रहेछन्। त्यो साँधको जग्गा बेचेर निर्मलाका बाबु पहिल्यै अन्तै घरवास गरेर बसिसकेका रहेछन्।

सम्पत्ति त भएको तर हातमा खर्च नभएको दूर्गाले पानीपुरी बेचेर र अन्य दु:खजिलो गरेर छोरीहरू हुर्काइरहेकी रहिछन्। अकस्मात यस्तो भयावह घटना घट्यो।

हामी, उनको घरबाट फर्कँदै गर्दा, बाटोमा परैबाट दूर्गादेवी साइकल चलाएर घरतर्फ आउँदै गरेको देख्यौँ। उनको साइकलको अगाडि, ‘निर्मलाको लागि न्याय माग्दै गरिएको अपिलको पम्प्लेट टाँसिएको थियो।
त्यो दृश्य कस्तो थियो होला, एउटी आमाले, आफ्नी छोरीमाथि गरिएको भयावह अपराधको लागि न्याय माग्दै पम्प्लेट बोकेर हरेक दिन आफ्नो दैनिकीमा सरिक हुनुपरेको छ।

हामी गाडीमा थियौँ, अगाडिबाट फोटो खिच्न मिलेन। हामीलाई ती शशक्त महिलाको त्यो आत्मविश्वासले भरीपूर्ण आगमन सिनेमाको कुनै POWERFUL Hero को भन्दा कम लागेन।

हामी, अलि पर गएर गाडी मोडेर फर्कियौँ, ती शशक्त महिलाको फोटो खिच्न, जो, बिहानको घरधन्धा सिध्याएर, छोरीहरूको लागि खाना बनाएर राखिदिएर दिनभरी न्यायको माग गर्दै धर्ना बस्न जान्छिन्।
धर्नामा बस्दा पनि, घरमा भएका दुई छोरीहरूको पढाई र सुरक्षाको चिन्ता बोकीरहन्छिन्।

कुनैबेला ‘लोग्ने’ मानेर आएका व्यक्ति कान्छी श्रीमतीको काखमा टाउको राखेर सुतेर ‘धर्ना दिन’ बसेका हुन्छन्। त्यो दृश्य, सँगै बसेर हेर्न उनलाई कति सहज लाग्दोहोला ? तर, छोरीमाथि भएको भयावह अपराधको कारणले उनी त्यो पीडा पनि चुपचाप सहीरहेकी छिन्। नभए कुनचाहिँ महिलाले, आजको दिनमा त्यस्तो दृश्य सहजै पचाउँदो होला ?

हाम्रो दूर्भाग्य, हामीले ती साहसी महिलाको साइकल चढेर घर फर्कीरहेको फोटो जस्ताको तस्तै देखाउन सकेनौँ; किनकि, उनी साइकलबाट उत्रिएर छिमेकको एउटा घरमा पसिछिन्। हामी केही बेर कुरेर बस्यौँ, उनी निस्किनन्; हामी हिँड्यौँ।

कञ्चनपुर पुग्नुभएका पहिलोपोस्टका साथीहरूसँग साँझमा भेट्दा, हामीले त्यो दृश्यबारे चर्चा गर्‍यौँ, उहाँहरूले दूर्गादेवीलाई अघिल्लो दिन, इ-रिक्सामा फर्कँदै गरेको देख्नुभएको रहेछ।

त्यहाँ गएर देखेपछि धेरै कुराले मन पिरोलेको छ।

# पानीपुरी बेचेर गरिने आम्दानी धर्नामा बस्नुपर्ने र न्यायको लागि दौडनु पर्ने हुँदा, दूर्गादेवी र उनका छोरीहरूको दैनिक खर्च कसरी चल्छ होला ?

# ‘एकल आमा’ले हुर्काइरहेकी छोरीको बलात्कार/हत्या पश्चात उनीहरूले क्षतीपूर्ती पाइहाले भने त्यो रकममाथि दूर्गादेवी र उनकी दुई छोरीहरूको मात्रै हक लाग्नुपर्छ भनेर कसैले बोलीदेला कि नदेला ?

# धर्ना बस्न सल्लाह गर्दा, सल्लाह दिनेहरूले उनीहरूको घरखर्चबारे सोचेर बसालेका होलान् कि नहोलान्?

# देखेर आएपछि त ‘न्याय’ सजिलै पाउलान् भन्ने कुरामा आफैँ विश्वस्त हुन नसकेको अबस्थामा, यो केस कसरी, कता गएर टुङ्गेला ?….

मनभरी थूप्रै प्रश्न बोकेर बस्नुपरेको यो अबस्थामा दूर्गादेवी र उनका दुई छोरीहरूको भविष्य सम्झिएर मन भतभती पोलेको छ।

यी सबका वावजूद, ‘दूर्गा’ जत्तिकै साहस बोकेर हिँडेकी दूर्गादेवीलाई सहर्ष अभिवादन!

त्यो साहस विखण्डित नहोस्!

6 thoughts on “निर्मलाका बाबु र आमाबारे धेरैले थाहा नपाएका कुरा”

  1. Rohini says:
    November 27, 2018 at 11:34 pm

    प्रमाण नस्ट गर्ने प्रहरीहरुलाई समातेर कोर्रा लाउनुपरो| सहि कुरो थाहा हुन्छ | सरकार को ठुलो पौच्वाला को राक्षस कुपुत्र हुनुपर्छ निर्मला लाइ बलात्कार गरेर हत्या गर्ने |

    Reply
  2. Sanu Gautam says:
    November 27, 2018 at 6:28 pm

    # ‘एकल आमा’ले हुर्काइरहेकी छोरीको बलात्कार/हत्या पश्चात उनीहरूले क्षतीपूर्ती पाइहाले भने त्यो रकममाथि दूर्गादेवी र उनकी दुई छोरीहरूको मात्रै हक लाग्नुपर्छ भनेर कसैले बोलीदेला कि नदेला ?
    माथि लेखको यो अंश पढेपछि मलाई पनि केहि भन्न मन लाग्यो, जुन लोग्ने स्वास्नी ले छोरी जन्माई भनेर अर्को श्रीमती ल्याउछ र अलग्गै बस्छ तर यो घटना भएपछी अनसन बस्न आइपुग्छ त्यस को नियत कस्तो होला ? अनुहार हेर्दा नै “नाटककार” जस्तो देखिन्छ….अब जे हुनु भैहाल्यो अनसन बसेर क्षतीपूर्ती को रकम बढाएर आफ्नो भाग कुम्ल्याएर कान्छी स्वास्नी संग मोजमस्ती गर्ने यसको उद्देश्य हो भन्दा अत्युक्ति नहोला !!!!
    हो यस बजिया लाई सुको पनि दिनुहुदैन, जे जति क्षतीपूर्ती आयो वा आउछ त्यो सबै आमा र दुइ छोरी ले मात्र पाउनुपर्छ, छोरी को माया भएको भए किन घर छोडेर हिडेको ?

    Reply
  3. Shyam Shrestha says:
    November 26, 2018 at 6:41 pm

    Kunai aarthik rupma sahayog garnako lagi… uhako phone number bhaye mero emailma pathaidina saknuhunchha? [email protected]

    Reply
  4. madan bajracharya says:
    November 26, 2018 at 8:42 am

    निर्धो व्यक्ति पिडित हुँदा र पिडक पहुंचा वाला भयमा प्रहरी चुप बस्ने मात्रै होईन उल्टै पहुच भयको अपराधीलाई बचाउन प्रहरी देखि कानुनि ब्यबशाई नेता सबै लागि पर्छ/ यस्तो कुरा अहिले ओलीको नेतृत्वको सराकार भयकै बेलामा मात्रै होईन कुनैको नेतृत्वको सरकार बनेको बेला पनि हुँदै आयको छ/ यसले कर्मचारी तन्त्रमा अपराधि हावी भयको स्पस्ट संकेत गर्छ/ अब कुरो उठ्छ कानुनको रछ्या गर्ने र पिडितलाई न्याय दिलाउने निकायमै अपराधि कसरि हावी भयो? सिधा र स्पस्ट कारण दलहरुको कुनियत नै यसको कारण हो/ नेपालको राजनैतिक दलले ज्यानमारा रास्त्रघाती जनघाती देखि भ्रस्ट र गुण्डा सबैलाई आफ्नो राजनैतिक स्वार्थको निमित उपयोग गर्दै आयको छ र यस्ता माथि कार्यवाही गर्ने जिम्मेवारी पायको निकायहरुमा आफ्नो आफ्नो स्वार्थ अनुरुप यस्तैलाई सम्रछ्यन गर्नेलाई नै नियुक्त गर्ने गरेकैले निर्मला जस्तै धेरैले अत्याचार भोग्नु पर्यो भने अत्याचारीले उन्मुक्ति पायो/

    निर्मला माथि अत्याचार भयको दवाउने पीडकलाई बचायर निर्दोष फसाउने कर्मचारी ओलीको भर्खरै बनेको सरकारले नियुक्त गरेको होईन/ त् यस्तो पिडक बचाउने निर्दोष फसायर सरकारलाई समेत अप्ठ्यारोमा पर्ने कुकार्य गर्ने कर्मचारी कसको पालामा कसरि नियुक्त भयको थियो र यो काण्डलाई ओलीको सरकार असफल भयको बनाउने तरिकाले नै किन उठाईरहेको छ यो कुरामा पनि खोजि गरेमा निर्मलाले मात्रै होईन निर्मला जस्तै अरुले पनि न्याय पाउने र निर्मलाले भोगेको अत्याचार अरुले पनि भोग्नु नपर्ने हुन् सक्छ/

    अपराध नियन्त्रण गर्ने निकायमा राजनैतिक दलकाले आ आफ्नो भागवण्डामा नियुक्त गर्नुको मूल आशय मात्र आफुले पालेको बा आफुलाई पाल्ने अपराधी बचाउन र अरुको नेतृत्वको सरकारलाई अप्ठ्यारोमा पार्न प्रयोग गर्नुनै भयको स्पस्ट देखिन थालि सक्यो/

    Reply
  5. bijay says:
    November 26, 2018 at 6:43 am

    Salute to her dedication and bravery.

    Reply
  6. Shankar says:
    November 26, 2018 at 5:18 am

    अपराधी अझै पत्ता न लागेको सन्दर्भ मा निर्मलाको बुबा र सौतेनी आमा को ब्यबाहार कस्तो थ्यो ? अनुसन्धान को बिषय हो कि हैन ? येस्मा पनि बिचार गर्नु उपयुक्त हुन्छ कि |

    किनभने पुलिस का अधिकारि हरु , बम दिदि बहिनि हरु कोइ पनि अझै अपराधी किटान गर्न सकेको छैन | सरकार ले काम मा लापरबाहीको कारबाही मात्र गरेको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme