Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिस्नुपानीको देउसी भैलो : सरकारलाई खबरदारी कि चाकडी?

Posted on November 8, 2018November 8, 2018 by mysansar


-रविन्द्र प्याकुरेल-

सिस्नुपानी नेपाल नामको एउटा संस्थाले देउसी भैलोलाई एक्सटेन्डेड भर्सन अफ गाईजात्रा बनाएको धेरै भइसक्यो। बरु यसपालि गाईजात्रा प्रज्ञा भवनमा भएको थिएन, सिस्नुपानी देउसी चाहिँ भयो। अचम्म के छ भने यो गाईजात्रा पाराको व्यङ्ग्यात्मक देउसी हेर्न सबै विशिष्ट उपस्थित हुन्छन्। यसपालि प्रधानमन्त्री बिरामी भएर मात्रै उपस्थित हुन सकेनन्। नभए सबका सब भिआइपी अरु काम छाडेर यही कार्यक्रम हेर्न बसिरहेका देखिन्थे। लाज पचाएर आफूलाई गरिएको व्यङ्ग्य हाँस्दै हेरिबस्थे। यसपालि पनि कुकुर तिहारका दिन सिस्नुपानीको देउसी भैलो गरियो। केही वर्षदेखि म यो गाइजात्रे देउसी हेर्दैछु, मज्जै हुन्थ्यो। यसपालि चाहिँ व्यङ्ग्यकर्मीहरुले सरकारलाई खबरदारी कम, चाकडी बढी गरेको मलाई महसूस भयो। केही नमूना हेरौँ।

एउटा लाइन यस्तो छ-

अहिले त सरकार – सग्लो छ
धरहराभन्दा – अग्लो छ

मेरो धरहरा म आफै बनाउँछु भनेर अभियान सञ्चालन गर्दै हिँडेर पनि अहिलेसम्म बन्न नसकेको धरहरा (बल्ल बनाउने ठेक्का पाएको छ) प्रति व्यङ्ग्य गर्न छाडेर सिस्नुपानी धरहराभन्दा सरकार अग्लो छ भन्दै चाकडीमा व्यस्त भएको छ।

अर्को लाइन यस्तो छ-

आकाशमार्ग मोडायौ जलमार्ग जोडायौ
भारतजीको एकाधिकार झण्डै तोडायौ ?

यो पनि चाकडीको हद नमूना हो। अहिलेको सरकारले आकाशमार्ग मोडाएको, जलमार्ग जोडाएको भन्दै प्रशंसा गरिएको छ। आकाशमार्ग कतै मोडिएको छैन र जलमार्ग कतै जोडिएको छैन। भारतले अहिलेसम्म हवाई रुट दिने भनिसकेको छैन। जलमार्गको सहमति भएकोलाई जोडिएको भन्दै भारतले नै दिएको सुविधालाई भारतकै एकाधिकार तोडिएको भन्दै चाकडी गरिएको छ।

यो वर्षको सबैभन्दा धेरै चर्चा र सरकारको आलोचना भएको निर्मला बलात्कार तथा हत्या काण्डमा पनि सिस्नुपानीले सरकार र प्रहरीप्रति व्यङ्ग्य गर्न डराएको छ-

छानबिनमाथि छानबिनमाथि छानबिनमाथि छानबिन
निर्मलाको दोषी खोज्न बोलाऊ अनमिन।

माओवादी द्वन्द्वताका शान्ति स्थापना गर्न खटिएको राष्ट्रसंघीय टोली अनमिनलाई फिर्ता बोलाउनु पर्ने गरी आन्तरिक शान्तिमा के विधि त्यस्तो उपद्रो भएको छ र नेपालमा उसलाई बोलाउनु पर्ने? प्रहरी र सरकारका ठालुहरुलाई व्यङ्ग्य गर्न सिस्नुपानी किन थरथर काँपेको? निर्मलाको दोषी अनमिनले खोज्न सक्छ? निष्पक्ष छानबिन गरी प्रमाण लुकाउन खोज्नेहरु माथि धमाधम कारबाही गर्न दबाब दिने कि अनमिन गुहार्ने?

बिरामी भएकोले हो कि प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्न डराएको छ सिस्नुपानी। बरु अप्रत्यक्ष रुपमा प्रशंसा गरेको छ-

केही गर्न खोज्छन् मन्त्री सल्लाहकारले छेक्छन् रे
पिएम एक्लै समृद्धिको सपना देख्छन् रे।

नेकपाका एक अध्यक्ष प्रम ओलीलाई माया गर्ने सिस्नुपानी अर्का अध्यक्ष प्रचण्डलाई भने दनक दिन पछि पर्दैन। भट्याउँछ-

फेर्छु भन्छन् प्रचण्ड सरकारको गियर
गियर हो कि फेर्न खोज्या पिएम चियर?

ठेकेदारलाई कारबाही गर्न हाम्रो सरकार मच्चियो
घरबेटीले थर्काएछन् आफैँ थच्चियो।

मन्त्रीहरुप्रति पनि सिस्नुपानीको मोह देखियो। आफूलाई सहयोग गर्ने मन्त्रीहरु राम्रो, अरुको आलोचना-

उड्डयन र पर्यटन श्रमको क्षेत्र सुध्रियो
भौतिक तथा यातायात ह्वाङ्गै उध्रियो।

यो लाइनले भने सिस्नुपानीलाई मन नलागी नलागी देउसी खेलेको प्रष्ट हुन्छ। त्यसैले सरकारलाई खबरदारी भन्दा पनि चाकडी भएको होला-

यसपालि त हाम्लाई देउसी खेल्न मनै थिएन
अरिङ्गालले चिलेर बस्नै दिएन।

हेर्नुस् सिस्नुपानीको कार्यक्रमको भिडियो-

3 thoughts on “सिस्नुपानीको देउसी भैलो : सरकारलाई खबरदारी कि चाकडी?”

  1. ramesh Sharma says:
    November 17, 2018 at 12:28 am

    यो सिस्नुपानिका कलाकारहरु एमालेका कार्यकर्ता र कुनै पनि तवरले बौद्धिक व्यक्तिहरु होइनन
    यिनीहरुको देउसी बासि र खल्लो हुञ्छ
    नेपालको दुख यस्ता मान्छेहरुको देउसी हेरेर रमाइलो मान्नुपर्ने .बिचरा हाम्रा दाजुभाई दिदीबहिनी तथा देश
    बर्सभारिका घटनालाई पत्रपत्रिकबता संकलन गरेर देउसी बनाउने उल्लुहरुले दुनियाहरुलाई उल्लु बनायको देखेर रिस उठ्छा

    Reply
  2. laxman lamsal says:
    November 11, 2018 at 8:01 am

    अरुकाे टाउकाेमा जुम्रा देख्ने अाफ्नाे जिउकाे भैंसी नदेख्ने सबैकाे गालीकाे समीक्षा गरेकाे भए राम्राे हुने । एक तर्फी समीक्षा गर्ने र प्रगतीकाे डाहा गर्ने काम नगरे राम्राे हुन्याे ।

    Reply
  3. Laxmi Bhattarai says:
    November 9, 2018 at 7:10 pm

    एक त व्यङ्ग्य नबुझी गरिएको टिप्पणी, दोस्रो एकपक्षीय टिप्पणी । सरकार विरोधी पंक्तिहरू पनि राखेर समीक्षा गरिएको भए ठिक हुन्थ्यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme