आमा,
नमस्कार
म यहाँ आरामै छु। आशा छ यहाँलाइ पनि आरामै होला। केही दिन अघि राजधानीमा हाम्रो भेट भयो। यहाँलाइ भेटेर खुशी पनि लाग्यो। बिदेशबाट पढेर आएका इन्जीनीयर छोरालाइ बुहारी खोज्दै हुनुहुँदोरहेछ।
तर यहाँसँग त भेट भयो तर यहाँका छोरालाइ भने यहाँले भेटाउनुभएन। यहाँलाई मन परेपछि मात्र छोरालाइ बोलाउने र केटी देखाउने गर्नुहुन्छ भन्ने कुरा मैले सुनेकी थिएँ त्यस्तै भयो। यहाँलाइ मात्र भेटेर फर्कनुपर्यो।
इन्जीनीयर छोरा, कार्यालयमा काम गर्ने कामकाजी, पढेलेखेकी हजुर आफैं हुनुहुँदोरहेछ अनि हजुरका श्रीमान पनि इन्जीनियर भन्नुहुन्थ्यो।
पहिला नै हुनेवाली बुहारीलाइ तिमीले यो काम गर्न पाउंछयौ, यो काम गर्न पाउंदिनौ भनेर ब्रेन वास गरेपछि मात्र केटीले हुन्छ भने छोरालाइ देखाउने नत्र नदेखाउने हजुरको बिषेशता रहेछ।
आमा, परिस्थिति बदलिएको छ। यो आधुनिक जमानामा पनि छोरालाइ केटीसंग पहिला भेट नगराइकन र नदेखाइकन पहिला आफैं हेर्ने अनि मन परे छोरालाइ देखाउने नत्र नदेखाउने भन्ने जुन गरीराख्नुभएको छ नी , त्यो अलि मलाइ चित्त बुझेन।
हजुरको रोजाइ र छोराको रोजाइ उस्तै हुन्छ भन्ने के छ र? फेरी हजुरलाइ मन परेकी केटी नै छोराले मन पराउँछन भन्ने पनि के छ र? फेरी छोरालाइ मन परेकी पनि हजुरलाइ मन नपर्न सक्छीन नी, होइन र? कि मैले गलत भनें?
छोराको रोजाइलाइ प्राथमीकतामै नपार्ने र आफ्नो सजिलो मात्रै हेर्न खोज्ने जस्तो देखीने हजुरको यो कामप्रति ठुलो गुनासो छ मेरो।
हजुरले भेटमा भन्नुभएको कुरा सम्झीन्छु म। हजुरले भन्नुभएको थियो, “ ३ वटा नोकर चाकर थिए ति पनि भागे। दुइजना चोरेर भागे, १ जना यत्तीकै भाग्यो। घरमा काम गर्ने बुहारी चाहीएको छ। पढेलेखेकी, घरको मात्र काम गर्ने, पाहुनालाइ रिझाउने, घरपरीवारलाइ पकाइतुल्याइ गरेर खुवाउने। तर बाहीर अफिसमा काम भने गर्न पाइँदैन।
राजधानीको मुख्य बजार जस्तो ठाउँमा घर छ रे। बगैचा पनि ठूलो र फराकीलो छ रे। बगैंचामा अनेकथरी फलफुल छन रे।
हजुरकै भाषामा नोकरचाकर राखेपछि चोर्ने र भाग्ने भयो, त्यसैले भएका नोकर लाइ राम्रोसंग अह््राइ सिकाइ गरेर काममा लगाउने मान्छेको आवस्यकता छ घरमा।
घरमा आत्मनिर्भर बुहारी भन्दा पनि आफना जिवनका योजना, उद्देश्य मारेर घरधन्दाको काममा मात्र लागीरहने कामदार र अरु काम गर्ने घरका सहयोगीको नाइके आवस्यक परेको रहेछ जस्तो लाग्यो।
हजुर कामकाजी भएपछि सधैं घर भन्दा बाहीरको बाहीरै होला। घरको सारा काम बुहारीकै काँधमा त होला। अनि वुवा पनि इन्जीनियर भएपछि र छोरा पनि इन्जीनियर भएपछि सबैजना व्यस्त, बुहारीको काम भनेको तपाइले भनेका नोकरचाकरहरुसंग मिलेर काम गर्ने नोकरहरुको नाइके भएर होइन त?
हजुरले लगाएको साडी पनि कस्तो राम्रो थियो। महंगो होलाजस्तो। सुनले धपक्कै बल्नुभएको थियो। तर मेरो न गलामा सिक्री , न त कानमा, नाकमा नै गहना थिए।
राजधानीको ठाउँमा, तीन चारवटा नोकर राख्ने हैसियत भएको हजुरको परिवारसंग म के सुहाउँला र खै? व्यबहार र बोलीचाली नै मिल्दैन। यस्तोमा नाता जोडीसकेपछि व्यबहार पनी त्यही अनुसारको गर्नुपर्नेहोला। कसोगरी गर्ने हो खै?
हामीले नोकरचाकर कहिल्यै राखेनौं। सधैं आफ्नो काम आफैं नै गर्दै आएका छौं अहिलेसम्म। त्यसैले हजुरको परीवार र हाम्रो परिवारको सामाजीक हैसियत नै मिल्दैन। हामी मध्यमबर्गीय हौं र हजुरहरु उच्च्कोटीका घरानियाँ। आफुसंग स्टाटस मिल्दोसंग बिहे गर्नुपर्छ भनेर सायद त्यसैले भनिएको होला हामो समाजमा।
हजुरले घरमा काम गर्ने मान्छेलाई जसरी नोकर चाकर भनेर सम्बोधन गर्नुभयो , हो यही शब्दमै मेरो असहमति छ, आपत्ति छ। कामदार वा घरका सहयोगी भनेको भए पनि कमसेकम मलाइ त्यस्तो नराम्रो लाग्दैनथ्यो।
हजुरले मेरो पहिलो चरणको अन्तरर्वार्ता त लिनुभयो, अब दोश्रो चाहिँ फेरि कहिले हुने हो?
हाम्रो घरको ठेगाना लिनुभएको छ, अब वरीपरि छरछिमेकमा म कस्ती छु र कस्ती खाले हुँ भनेर बुझ्न आउने योजना पनि बुन्दै हुनुहुन्छ होला।
अँ, अस्ती अली साँझमा हाम्रो भेट भयो, चहकीलो उज्यालोमा त यहाँले मलाइ देख्नुभएकै छैन। त्यसो त अझै थुप्रै कुरा भने बाँकी नै छन।
आजकालका कतिपय केटाहरु आफनी जीवनसंगीनी आफूलाई आर्थिक हिसावले पनि सहयोगी होस भन्ने चाहन्छन रे।
र सायद हजुरका छोराले आफु सुहाउँदो, आफ्नो कामलाइ पनि सहयोग गर्ने र काँधमा काँध मिलाएर हिँड्न सक्ने खालकी पो चाहन्छन कि। तर यहाँले त छोरालाइ आफैं निर्णय गर्नै बन्देज लगाइदिनुभएको जस्तो देखीन्छ। किन आमा?
मानिसहरु महिला र पुरुष नभनी, कांधमा कांध मिलाएर काम गरेर आफनो देशलाइ कति माथि उठाएका छन, यो कुरा त छिपेको छैन नि हामीबाट होइन र आमा?
हजुरजस्तै सबै आमाहरुले यस्तै भन्ने हो भने के होला? एकातिर देशमा कानूनहरु महिला अधिकारको पक्षमा बन्ने कम बढेको पाइन्छ भने अर्कातिर हजुर जस्ता आमाहरु यस्ताखाले बन्देज लगाउंदै हुनुहुन्छ।
देशमा लोकतान्त्रिक व्यवस्था छ, गणतन्त्र आएको छ। तर तपाइँको कुरा गराइको श्ौली भने फेरीएको पाइन मैले।
हजुरहरुको बृद्ध अबस्था हुदैछ। अनि जिबन त छोराले बिताउने हो नि होइन र? अनि हजुरले छोराको सजिलो हेर्दै हुनुहुन्छ होइन की आफ्नो सजिलोका लागी बुहारी हेर्दै हुुनुहुन्छ जस्तो लाग्यो? नत्र भने अफिसमा काम गर्ने बुहारी खोजेको होइन,घर बाहीर अफिसमा काम गर्न पाइँदैन किन भन्नुभो? कमसेकम मेरो बिगतमा मैले अफीसमा काम गर्थें भन्ने कुरा थाहा पाएर पनि किन फेरी सबै काम चटक्क छोडन भनेर भन्नुभयो?
हजुरहरुको शेषपछि केहीगरी हजुरको छोरालाइ केही भयो भने मैले के गर्ने? त्यतीबेला, काम गर्नलाइ अनुभब हुँदैन, उमेर ढल्कीसकेको हुन्छ त्यो बेला। राजधानी जस्तो ठाउँमा एक पैसो आम्दानी नभएपछि भएको सम्पत्तीले मात्रै कति दिन थेग्ला र खै? बसी बसी खान थाल्यो र आम्दानी छैन भने त करोडौंको सम्पत्ती पनि सकीन बेर लाग्दैन होइन र आमा?
मलाइ लाग्छ, आफुले जानेको काम सबैले गर्नुपर्छ। सके त आफुले पढेअनुसारको काम गर्नुपर्छ होइन भने पनि यो महंगीमा परीवारलाइ अर्थोपार्जनमा सघाउने जिम्मेबारी बुहारीको पनि हुन्छ। आफ्नै लागी पनि बुहारीले काम गर्नुपर्छ। पढेको जानेको कुरा कमसेकम व्यबहारमा उतार्न सकियो भने न, पढेको पनि सार्थक हुन्छ होइन र?
मलाइ लागेको छ , म सायद हजुरको परिवारका लागी योग्य बुहारी होइन। म त्यस्तो भाग्यमानी पनि छैन कि बाहीर कामै नगरी घरमा आनन्दले बसेर तपाइँका घरमा काम गर्नेहरुलाइ काम गराएर मात्र खाउँ। मेरो मनले यसो गर्न मान्दैन आमा।
घरको काम ठ’लो समस्या होइन। बुहारी भएपछि घरको काम गर्न झन्झट पनि मान्नुहुँदैन र सहयोगी परीवार भयो भने जस्तै कामको चटारो भएका बेला पनि समस्या पर्दैन।
जानेको काम गरयो भने र सकृयतालाइ जारी राख्यो भने केही न केही अबस्य ह’न्छ। त्यसैले कृपया एकचोटी हुनेवाली बुहारीको रुचीतर्फ पनि बिचार गरीदीनुहोस।
मेरो वुवा आमाले यत्तिका समय खर्चेर पैसा सकेर स्नातकोत्तरसम्म मलाइ पढाउनुभएको यसै गर्नलाइ पक्कै होइन। आमा वावुको सपना साकार पारुँला, नाम राखुँला र समाजमा केही गरुँला भनेर हो, न की महलमा नोकर बनेर अथवा रानीजस्ती भएर बस्नलाइ।
तपाइँको प्रस्ताब मलाइ त चित्त वुझेन, मेरो आमावुवाले ठाडै अस्वीकार गर्नुहुनेछ। सधैं जिन्दगीमा केही गर्नुपर्छ भनेर हौसला दिइरहने मेरा साथीहरुले यो कुरा थाहा पाए भने के ठान्लान। मलाइ पढाउने गुरुहरुलाइ कस्तो लाग्ला?
हजुरले भन्नुभएको थियो। चिटीक्क परेर इज्जतमा बुहारी बसीदीए, र हेर्नेलाइ पनि राम्रो देखीइदिए हामीलाइ पुग्छ।
के बाहीर काम गर्नु इज्जत गुमाउनु हो?
आमा , बुहारी भनेको नोकर मात्र होइन, तपाइँको छोराकी जीवनसंगीनि पनि हो।
कहीँ यस्तो नहोस कि बाहीरी संसार केही थाहा नपाएर आफ्नै श्रीमती हो भन्न पनि तपाइंका छोरालाइ लाज नहोस , ज’न समस्या कतिपय जोडीहरुमा,दम्पत्तिमा अहिले देखीन्छ। त्यसैले आमा, बुहारीलाइ पनि आफुजस्तै कामकाजी बनाउन, र आफुजस्तै पोख्त बनाउन, हजुरको जस्तै छुट्टै खाले सामाजीक छबी बनाउन हजुरले बुहारीलाइ घरको मात्र होइन बाहीरको काममा पनि सघाउनुपर्छ। प्रेरणा दिनुपर्छ न की तिमीले यो गर्न पाउँदिनौ तिमिले यो छोड्नुपर्छ भन्ने।
आफ’ले जानेको कुरा समाजमा भन्न, अरुलाइ पनि बाटो देखाउन हज’रले बुहारीलाइ प्रेरणा दिनुपर्छ जस्तो लाग्छ मलाइ।
गरगहनाले सजिएर, राम्रा लुगा लगाएर , महलमा बसेर मात्र के गर्ने आमा, जब त्यो महलभित्र सुख चैन छैन भने? जब इच्छालाइ नै दमन गरीन्छ भने। की होइन आमा?
आमा, म आत्मनिर्भर बन्न चाहन्छु। काम गर्न चाहन्छ’। त्यसैले भैगो दुख नगर्नुहोस। हजुरका लागी म योग्य बुहारी होइन भन्ने हीसाबले मलाइ माफ गर्नुहोस। आत्मनिर्भर बन्न चाहने यो जमानामा हजुरले भनेजस्ती घरमै मात्र सिमीत भएर बस्ने ,पढालेखा बुहारी पाउन गाह्रै छ जस्तो लाग्छ, तर पनि के थाहा? भबिस्यको कुरा। तपाइँको छोराले चाहेजस्ती र छोरालाइ सुख दिने जिवनसंगीनी तपाइँका छोरालाइ मिलुन।
अलबिदा।
उही………..
सम्भावना
(Apr 27, 2012 मा पहिलो पटक प्रकाशित)
यो राम्रो रैछ, आमाहरुले पढून र बुझुन
कुरा त ठिक हो, तर हैट, यो पत्र चाहिं धेरै नै लामो भयो है !!
सिधै सक्किएको कुरा पनि किन तन्काई राखेको होला??
राम्रो लाग्यो