Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने

Posted on September 5, 2017September 5, 2017 by mysansar

-श्रवण कुमार-

“तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, उहाँहरुको सेवा गर्नु हाम्रो धर्म हो भन्ने मन्दिरा भाउजूको आवाज मेरो कानमा गुन्जेको हिजो जस्तो लाग्छ। बुहारी होस् त यस्तो , रमेश दाइभन्दा बढी भाउजूले सासु ससुराको हेरविचार गर्ने रैछिन भनेर मलाई लाग्या थियो। तर आज एक्कासी….

हाम्रो रगतको नाता नभए पनि आफ्नै दाजु भाइ जसरी मिलेर बसेका थियौं नेपालमा डेरामा सँगै बस्दा। त्यो बेला मन्दिरा भाउजूले भन्नु हुन्थ्यो, सासु ससुराको सेवा गर्नु हाम्रो धर्म हो, उहाँहरुलाई हामीले नहेरे कसले हेर्छ ? रमेश दाजुले आफ्नो बुवा वा आमाको जन्म दिन बिर्से पनि भाउजूलाई याद रहन्थ्यो र दाइलाई बिहान उठ्नासाथ जनकपुर घरमा आमालाई फोन गर्न लाउँथिन्। दाइ आफूले खोजेको जस्तो बुढी पाएर मख्ख थिए भने भाउजू पनि जाँड रक्सी नखाने सीधा सोझा बूढा पाएर मख्ख थिए।

झन्डै डेढ वर्ष सँगै बसेपछि मैले अमेरिकाको एउटा युनिभर्सिटीमा पीएचडी गर्ने मौका पाएँ। अमेरिका जान लाग्दा मन्दिरा भाउजूले आँखाभरी आँसु पारेर भनेकी थिइन् “श्रवण बाबु, मान्छे विदेश गए पछि विदेशी हुन्छन्, आफ्नो घर -परिवार र देशलाई पनि बिर्सन्छन् , बाबुले त्यसो नगर्नु होला। संसारमा जन्म दिने बाउ आमा र देश भन्दा ठूलो कुरा केही हुन्न, पैसाले त्यो सब कुरा किन्न सकिन्न…..धेरै पढेर नेपाल नै फर्केर आउनू , बाबु जस्तो राम्रो मान्छेको खाँचो छ यो देशमा। हामीलाई नबिर्सनू……”

सुरु सुरुमा महिनामा १-२ पटक कहिले यता कहिले उताबाट हाम्रो फोनमा कुरा हुन्थ्यो। पछि-पछि २-३ महिनामा एक पटक कुरा हुन थाल्यो। तर पनि सम्बन्ध उही पुरानो थियो, राम्रो थियो। म अमेरिका आएको एक वर्षपछि मन्दिरा भाउजुलाई डिभी लोटरी पर्‍यो। मलाई फोन गरेर सुनाउनु भयो दाइभाउजूले। मैले बधाई दिएँ र कोलोराडो आउने निम्ता पनि दिएँ। बीचमा मेरो फोन नम्बर परिवर्तन भयो, अनि म पनि आफ्नो पढाइमा अलिक ब्यस्त भएछु। त्यसैले उहाँहरु अमेरिका आइसकेको वा आउन बाँकी भन्ने खबर थाहा पाइएन। हुनत मन्दिरा भाउजूकी मितिनी बाल्टिमोरमा छिन्, सुरुमा उनैकहाँ जाने भन्ने कुरा फोनमा भएको थियो । काम पाइए बाल्टिमोर मै बस्ने नत्र कोलोराडो आउने कुरा थियो। आउना साथै दुवै जनाले काम भेटेछन्। रमेश दाजुले ग्यास स्टेशनमा र भाउजूले मसाज सेन्टरमा। मलाई त थाहा नै भएन उहाँहरु आइसकेको, उहाँहरु चाहिं मेरो फोन नलागेर दिक्क मानेर बसेका रहेछन् ६ महिनादेखि। धन्न फेसबुक , मन्दिरा भाउजूले मलाई भेटिन् त्यसमा र मेसेज पठाइन्। पाउना साथ फोन गरेँ, सुरुमा दुवै जना रिसाए मैले बिर्सेँ भनेर। तर पछि एकछिन को भलाकुसारीपछि सबै कुरा मिल्यो। झन्डै १ घण्टा ४० मिनेट गफ भयो हाम्रो फोनमा र चाँडै भेट्ने वाचा पनि गरेँ मैले क्रिसमसमा बाल्टिमोर आउँछु भनेर।

६ महिनामा मेरो र दाजु-भाउजुको हप्तैपिच्छे झन्डै आधा घण्टा गफ हुन्थ्योl सुरु सुरुमा अमेरिकामा आएर पाएको दुःख, अनि कामको दुःखका कुरा हुन्थे। म पनि उहाँहरुलाई हौस्याउँथे। अमेरिका भनेको यही हो- सुरुमा दुःख , पछि सुख। तर पछि-पछि फोनमा कुरा गर्दै जाँदा रमेश दाजुको आवाजमा एक किसिमको सन्नाटा छाएको पाएँ मैले। मानौँ मनमा अनेकौँ कुराहरु गुम्सिएर बसेका छन्, तर पोख्ने ठाउँ पाएको छैन। भित्र-भित्र पिडित सुनिन्थे रमेश दाजु तर मन्दिरा भाउजूमा त्यस्तो थिएन। उनी फोन गरे पिच्छे आफू अमेरिकामा निक्कै खुसी भएको र सँधै यहीँ बस्ने मनसाय भएको कुरा सुनाउँथिन् मलाई। खैर…..डलरको गर्मी होला सबै भनेर मैले उनको कुरा लाई इजी लिन्थें। यसरी नै ६ महिना पनि बित्यो र आखिर हाम्रो अमेरिकामा भेट हुने दिन पनि आयो। म २२ डिसेम्बरमा बाल्टिमोर आएँ।

बाल्टिमोरमा मेरो नेपाल देखिकै मिल्ने साथी थियो सागर। ३ वर्षअघि मास्टर्स डिग्री गर्न आएको र अहिले पढाइ सकेर आफ्नै पढाइ अनुसारको काम गरेर बसेको। म सुरुमा उसकोमै गएँ किनकि उसले पनि मलाई बोलाएको बोलायै थियो। दोस्रो ऊ एक्लै बस्थ्यो, बिहा गरेको थिएन। त्यहाँ पुगेको भोलिपल्ट मैले मन्दिरा भाउजूलाई फोन गरें , म बाल्टिमोर आइसकें भनेर। सुरुमा उनी रिसाइन् किन सिधै उनकोमा नगएको भनेर। पछि मैले कुरा मिलाएँ र २५ डिसेम्बर क्रिसमसको दिन उनको घरमा आउने वाचा गरेँ। साँझको ६ बजेको थियो, म एउटा फूलको गुच्छा र एउटा चकलेटको राम्रो प्याकेट बोकेर उनको घर पुगेँ ट्याक्सीमा। घर बाहिर हल्ला सुनिन्थ्यो मान्छेको, म बिस्तारै ढोका नजिक पुगें र बेल बजाएँ। रमेश दाजुले धोका खोल्नु भयो, मलाई देखेर खुसी हुनु भयो तर कता कता डराए जस्तो पनि गर्नुभयो। दाजुले अंकमाल गर्दै मलाई भित्र लानु भयो बैठक कोठातिर। त्यहाँ ६-७ जना महिला र ८-९ जना पुरुषहरु पनि रहेछन पहिलेदेखि नै , सबै आ- आफ्नै धुनमा मस्त थिए। कोइ वाइनको गिलास हातमा लिएर नाच्दै थिए भने कोही एक झुप्प भएर कुरा गरिरहेका थिए, तर कसैले म कोठामा आएको चाल पनि पाएनन्। पाउन् पनि कसरी , त्यत्रो ठूलो स्वरमा अंग्रेजी गाना घन्किरहेको थियो ” पापा राजी “। रमेश दाजुले साउन्डको भोल्युम घटाउनु भयो र सबैको ध्यान आकर्षण गर्दै मेरो परिचय गराउनु भयो। त्यस्को एकछिनमा मन्दिरा भाउजू आउनु भयो किचेनबाट ठूलो क्रिसमस केक बोकेर। मैले हत्तपत्त आफुले लिएर आएको कोसेली भाउजूलाई दिएँ र क्रिसमस विस गरें। भाउजू मलाई देखेर निकै खुशी भइन् र मलाई एउटा वाइनको ग्लास तेर्साइन्। म त नेपाल मै पनि यसो कहिलेकाहीं साथीभाइको जमघटमा बियर पिउँथेँ। वाइन भने राम्ररी अमेरिकामै सुरु गरेको थिएँ। मेरो लागि ठूलो कुरा थिएन वाइन। त्यसैले मैले पनि सबैसँग तालमा ताल साथ दिएँ “क्रिसमस चीयर्स “। अचानक मेरो आँखा रमेश दाजुमा पर्‍यो। उहाँ खाली ट्रे लिएर किचेनतिर लाग्नु भयो। म उहाँको पछि-पछि गएँ। रमेश दाजुले म तिर नहेरी भन्नु भयो- चिकेन विन्ग्स सकिएछ, त्यसैले यहाँ लिन आएको। दाजुसँगै म पनि किचेनबाट बाहिर निस्केँ, बैठकतिर।

अरे म के देख्दैछु, मन्दिरा भाउजू वाइनको गिलास हातमा हल्लाउँदै एक हुल केटाहरुको भीडमा नाच्दै पो छिन् त। मलाई आफ्नो आँखामा विश्वास भएन, के यो त्यही मन्दिरा भाउजू हो जो नेपालमा हुँदा कोकको सट्टा फेन्टा पिउँथिन् र मलाई पनि बियर खान हुन्न बाबु भन्थिन्? अमेरिका आएको ६ महिनामा यत्रो परिवर्तन ! अहो कस्तो आश्चर्य !!

मैले रमेश दाजु तिर हेरें, उहाँ एउटा कोकको क्यान हातमा लिएर अरुलाई देखाउने हाँसो देखाएर बसेका थिए। बुढीको चर्तिकला उनलाई मन परेको थिएन तर बोल्न सकेका थिएनन् उनी। दया लाग्यो मलाई दाजुप्रति। तर केही बोलिनँ। एवंरितले ८-९-१० बज्न थाल्यो, मान्छे हरु पनि झ्याप हुँदै आ-आफ्नो घरतिर लागे। मैले पनि साथीकोमा जान बिदा मागेँ। भाउजू रिसाइन् र आज त्यतै बस्न कर गरिन्। मलाई भाउजूको हर्कत देखेर बस्न मन थिएन, रमेश दाजुको आग्रह काट्न सकिनँ र त्यहीँ बस्ने निधो गरें।

रातको ११ बजेको थियो, घर खाली भयो, मात्र हामी ३ जना थियौं त्यहाँ। अब हाम्रो कुरा भलाकुसारी सुरु भयो। पहिले मैले आफ्नो वृतान्त सकें। त्यसपछि रमेश दाजु ले सुरु सुरुमा आफूले अमेरिका आउने बित्तिकै पाएको दुःख फेरि सुनाउनु भयो। त्यति बेलासम्म मन्दिरा भाउजू लगभग झ्याप भैसकेकी थिइन्। उनले दाजुको दुखेसो सकिने नपाउँदै प्वाक्क बोलिन्, कति त्यही गनगन ? यस्ता हुतिहाराले किन अमेरिका आउनु, बसे भैगयो नि नेपालमा बाउआमाको काख समाएर ! कस्तो कठोर वचन, सुन्दै आङ जिरिङ्ग हुने।

लौ जानु तपाईं सुत्नलाई, भोलि ६ बजे काम होइन ? भोलि कामबाट फर्केर आएपछि कुरा गर्नु बाबुसँग, आफ्नो त भोलि काम छुट्टी, रातभर बाबुसँग कुरा गरेर बस्ने हो। रमेश दाजु लुरुक्क उठेर जानु भयो, भाइ निन्द्रा लग्यो म सुत्छु, भोलि फेरि बिहान काम छ, उताबाट आएर कुरा गरौंला हुन्न ? दाजुको आँखा मलिन देखिन्थें, मैले उनलाई खुशी बनाउन पनि भनेँ भइहाल्छ नि, भोलि दाजुभाइ मज्जाले गफ गरौंला।

भाउजूले दाजुलाई भनेको सुन्दा मलाई उनीसँग कुरा गर्ने रहर हराइसकेको थियो। त्यही पनि १२ बजे राति कता जानु साथीकोमा ? ऊ पनि आफ्नो पर्ने मामाको घर भर्जिनिया गएको थियो। त्यसैले मन नलागी-नलागी बसेँ भाउजुको गफ सुन्न। भाउजूले कुरा उकेलिन्, म नभाको भए अमेरिकामा तपाईंको दाजुको कमाईले खान पनि पुग्दैनथ्यो, बुझ्नुभयो ? मुला ७ डलर घण्टाको काम गर्छन् , हफ्ता को ५० घण्टा , त्यो पनि धोतीको ग्यास स्टेशनमा , मलाई फूर्ति देखाउँछन्। उनको कमाई महिनाको १२ सय डलर , जबकि हाम्रो फ्लाटको मासिक भाडा नै झन्डै १५ सय हुन्छ, बिजुली , गास, इन्टरनेट , फोन गरेर। खै खाने, लाउने खर्च ? गाडीको खर्च, मोबाइलको खर्च खै ? उनको एक्लो कमाई हुँदो हो त आज हामी बाटोमा मागेर हिँड्नुपर्थ्यो , भोकै हुनु पर्थ्यो , अहिले रुन्चे आँसु देखाउँछन् नामर्द।

मन्दिरा भाउजूको मुखबाट दाइप्रति त्यस्तो कुरा मैले कल्पना पनि गर्न सकेको थिइनँ….यो कानले के सुन्नु पर्‍यो ? मलाई भित्रभित्र मन पोल्न थालिसकेको थियो। अब मलाई भाउजू प्रति घृणा जागिसकेको थियो, म अरु कुरा सुन्न चाहन्नथें, तर पनि उनले सुन्न बाध्य बनाइन्।

मान्छेले परदेशमा कत्ति दुःख पाउँछन्, हामीले त्यस्तो केहि भोग्नु परेन। अमेरिका आउने बित्तिकै मितिनीको घरमा आइयो, एक महिना फ्रीमा बसियो, मितिनीले नै एक महिना पछि दाजुलाई काम लगाइदिए अहिलेको ग्यास स्टेशनमा। अहिलेको फ्लाट पनि मितिनीले नै खोजिदिएकी हुन् हामीलाई यति सस्तोमा। सुरुमा ४ महिनासम्म दाजु को नाइट ड्युटी थियो, पछि मितिनीलाई भनेर दे टाइममा सारेको, अब के चाहियो उनलाई ? नेपालमा भाको भए उही मास्टरी जागिर गुन्द्रुक भात पनि राम्ररी खान पाउँदैन थिए, अहिले मात लागेको यिनलाई “कुकुरलाई घिउ पच्दैन भन्छन नि यिनलाई त्यही भाको हो, अरु केही होइन बुझ्नु भो ?

अब मेरा कन्सिरी का रौँ ताती सकेका थिए, जुरुक्कै उठेर जाउँ भैसकेको थियो, तेही पनि रमेश दाजुसँग अन्तिम पटक भोलि बिहान बिदा भएर मात्र जान्छु भन्ने सोचेर बसें चुपचाप। भाउजूले मुख लेपारेर भनिन, थाहा छ मा कति कमाउँछु भनेर ,महिनाको ५०००, नेपाली होइन डलर बाबु , अमेरिकी डलर। यहाँको नाम चलेको मसाज सेन्टर मेरो मितिनीको हो, उनको मै काम गर्छु म। घण्टाको ५० डलर हुन्छ , टिप्स अलग्गै , हफ्ता को ३० घण्टा गर्दा पनि काफी हुन्छ मलाई। नेपालको भन्दा राम्रो बसाई छ, खानपिन दामी छ, महंगा महंगा लुगा लगाउन पाएको छ, गाडी चढिएको छ, बाहिर महँगा रेस्टुरेन्टमा खान पाइएको छ, अब के चाहियो तिनलाई ? दुखियालाई दुखी ठाउँ नै ठिक भन्थे, हो रैछ बाबु। नेपालमा दुख पाएर बस्नु पर्ने मान्छे , यहाँ सुख पाएर मातिएका, भाउजूले फेरि हेपिन् दाजुलाई।

कुरा गर्दै जाँदा रातको २ बज्न लागिसकेको थियो, मलाई निन्द्रा पनि लागि सकेको थियो, तर भाउजूको फूर्तिफार्ती भने सकिएको थिएन। मैले कुरा टुंग्याउने निधो गरे र भाउजूलाई सोधे , भाउजू अब नेपाल नजाने त? मेरो प्रस्न सकिद नसकिदै मन्दिरा भाउजूले च्याठियेर भनिन “तिनका बाउ आमा मर्छन , अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई , नत्र किन जाने अहिले -सबैको नोक्कर हुनलाई? ” तीनका जेठा दाजु छदै छन् नि बाउ आमा रुन्ग्नलाई , हामी किन जाने त्यहाँ दुखः पाउना लाई , खाचै सित्ति। अहिले उमेरमा नगरेको मोज-मस्ती कहिले गर्ने , बुढेसकालमा ? नेपालमा बस्यो, सासु-ससुरा भन्यो, नन्द आमाजू भन्यो, काका काकी, मामा-माइजु, भाई- भतिजा , दुनियाको नोक्कर। भान्छा, बारी , घरको र दुनिया खाते हरुको चाकरी गर्दै जिन्दगी जान्छ, अनि फेरि बच्चा ….ओह नो। मलाई त्यो सब कुराको बाल छैन, उमेर छौँजेल अमेरिका मै मोज गरेर बसिन्छ, न कसैको चिन्ता , न कसैको टेन्सन। कसैको कुरा पनि सुन्नु पर्दैन, कसैलाई केहि गर्नु पनि पर्दैन…आनन्दले येही बसिन्छ। नेपाल जाने परे पनि ती बुडा बुडी मरे पछि बल्ल जाने हो, आफ्नो अंश लिन लाई, नत्र गईन्न नेपाल , उही २-३ वर्ष म एक पटक घुम्न जाने हो , उनले फेरि मुख लेपारिन्।

२ वर्ष अगाडि मैले देखेको मन्दिरा भाउजू र अहिलेको मन्दिरा भाउजू म जमिन आकाशको फरक भइसकेछ। मलाई पत्याउन गाह्रो भइसकेको थियो, मान्छेलाई विदेशको हावा पानीले यति छिट्टै परिवर्तन गरौँछ भनेर। उनी थप्दै थिइन्, यिनले धेरै निहुँ खोजे भने म पनि मितिनीले आफ्नो बुढालाई छोडे जस्तै इन्लाई छोडेर एक्लै बस्छु, आ केको कच् कच् सधैं? यहाँ एक्लैको कमाईले खान पुग्दैन, मैले काम नगरी यिनको मुखमा माम जाँदैन भने म किन सधैं यिनको कच् पच सुनेर बस्ने ? बरु एक्लै बस्छु, पछि कोइ भेटे भने अर्को पोइ खोजौंला……अमेरिका म डलर भए सबै कुरा पाइन्छ बाबु, उनी जोडले हाँसिन्।

मलाई पुगिसकेको थियो, मैले मन मनै भने ” हे मुर्ख मान्छे, पैसा ले सबै भौतिक कुरा किन्न सके पनि , चोखो माया किन्न सक्दैन, आफुलाई जन्म दिने बाउ आमा किन्न सक्दैन, आफ्नो देशको प्रेम किन्न सक्दैन। तलाई अहिले अमेरिकाको डलरले अन्धो बनाएछ, तेरो बुद्धिमा किरा परेछ। भगवान यो आइमईलाई सदबुद्धी दिनुस, रमेश दाजुको खुसीको लागि भए नि एसको घैंटोमा चाडै घाम लगाईदिनुस “। एती कुरा मनमनै भन्दै म बसेको सोफा बाट जुरुक उठें र भने भाउजू म कहाँ सुत्ने हो, बेड रेडी छ ? तेसो भन्दै म बाथरूम गएँ, आउँदा भाउजूले गेस्टरूमको ढोका खोलि सक्नु भा थियो, गुड नाइट भनेर अनुहार तिर नहेरी म कोठामा छिरें र चुक्कुल लगाएँl करिब ३ बाजी सकेको थियो , भाउजूले बोलेका तीता बचन मेरा कानमा गुन्जी रहेका थिए। करिब १ घण्टा को छटपटाहत पछि बल्ल निदाएछु, एकै छिनमा बाथरूमको ढोका खोलेको आवाज सुने। येसो घडी हेरेको ५ बजेको रैछ, रमेश दाजु हुनुहुन्छ भन्ने मलाई लग्यो, किनकि ६ बजे देखि उहाँको काम थियो। म पनि जुरुकै उठें र लुगा लगाएँ, अनि बाहिर लिविंग रूम म रमेश दाजुलाई पर्खें। रमेश दाजी काम मा जान निस्कनु भयो र मलाई देखेर छक्क पर्दै भन्नु भयो, कहाँ एती सबेरै उठेको, बस मा भरे काम बाट आए पछि दाजु भाइ मज्जाले बात मर्नु पर्छ, जौ सुत तिमि। मैले कुरा बनाएँ, कहाँ सुत्नु अब, साथीको कोठाको चाबी मसंगै आएछ, उ कोठा बाहिर वेट गरिराछ, अहिले जानै पर्ने भयो, बरु पछि फेरि आउँला। दाजुले मुसुक्क हाँसेर भन्नुभयो, अब फेरि तिमी आउँदैनौ, मलाई थाहा छ, ल हिँड म तिमीलाई बाटोमा छोडिदिन्छु। म भाउजूको रूमतिर हेर्दा पनि नहेरी दाजुसँग गाडीमा बसेर आफ्नो साथीको कोठातिर लागें। बाटोमै हामी दुई जनाले सायदै केही कुरा गर्‍यौं, त्यतिकैमा मेरो ओर्लने ठाउँ आयो र म गाडीबाट झरें। दाजुका आँखा रसाएका थिए, दाजुले मसँग राम्ररी आँखा जुधाउन सक्नुभएन र म दाजुलाई बाई भनेर पछाडि नफर्की आफ्नो रूम तिर लागें। साथीको रूममा आउनासाथ मेरो पहिलो काम मोबाइलबाट मन्दिरा भाउजू र दाजुको मोबाइल नम्बर ब्लक गरें र फेसबूकबाट दुवै जनालाई अनफ्रेन्ड गरें। अझै कति दिनसम्म ती कुराहरु याद आउने हुन् थाहा छैन, तर पनि मन्दिरा भाउजूसँगको भेटबाट एउटा कुरा के थाहा पाएँ भन्देखि “विदेशमा बुढाबुढी काम गर्ने भैसके पछि र बुढीले बुढाको भन्दा धेरै कमाउने भए पछि, बुढालाई हेप्ने र नेपाल नफर्कने सोच राख्दा रैछन्।”

[सामाजिक कारणले पात्रहरुको नाम परिवर्तन गरेको छु- लेखक]

December 27th, 2011 मा पहिलो पटक प्रकाशित

19 thoughts on “बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने”

  1. Suren says:
    September 8, 2017 at 7:10 am

    तिमि लेखक पनि कमको छैनौ रैछौनि , तेत्रो मेलजोल भएको मान्छे अमेरिका आउन लाग्दा निम्तो दिइसकेपछी सहयोग गर्नुको साटो सिम परिवर्तन गरेर मुन्टो लुकाउने , अझ व्यस्त भए रे , तिमि जस्ता मित्र पनि हुदारहेछन, अनि पछि उनीहरु अलि बेवसथित भैसकेपछि सम्पर्कमा आउने अनि फेरि सम्पर्कबिछेद गर्ने , येस्तो मान्छे ले सहि सल्लाह सुझाव दिएर सुधार्न पनि सक्थ्यो नि , अरुको अनुहार देखाउन खोज्दा आफ्नो धोति फुस्केको थाहा नपाउने स्वार्थी बज्रस्वाठ ?

    Reply
  2. Kamal says:
    September 8, 2017 at 5:31 am

    Good playing of story. I agree with two realities of this story. One changing in Nepali’s habit and thinking when they come overseas. Second is imbalance in relationship when wife earns dollars. Kamal

    Reply
  3. Jitendra Bogati says:
    September 6, 2017 at 3:21 am

    Sahi kuro

    Reply
  4. Bibek Dhakal says:
    September 6, 2017 at 8:41 am

    @शंकर केहि छैन शंकर जी, टाइटल मात्र हेरेर कमेन्ट गर्ने नेपालीहरुको पुरानो बानि हो. बुझ्छु म.
    समग्रमा घतलाग्दो कथा.

    Reply
  5. Shankar says:
    September 6, 2017 at 2:10 am

    निश्चय पनि ,
    तपाइको कुरामा पूर्ण सहमत | टाइटल हेरेर मात्र लेखेको हुनाले मेरो प्रसंग अलि मिलेको छैन |

    Reply
  6. Ratna says:
    September 6, 2017 at 1:40 am

    मिहिनेत गरेर लेख्नु भएछ; ९०% सत्य हो जस्तो छ, अब मन्दिरा भाउजुको पालो | यो लेख त भाउजुले पढ्नु भो होला, कसैले न कसैले भनि सके होलान देवरको भक्कानो फुटेको माइ संसारमा | अब मन्दिरा भाउजु ! तपाइंको प्रत्युतर चाहिं के छ त ? यसो भन्नुस् न | आफुलाई टाइप गर्नु आउदैन भने केटाहरु छदैछन |

    श्रवणजी, बाउ आमा जीवितै हुँदा नेपाल फर्किने होइन त ? कि….किन बसी राख्या त्यो अम्रिकामा ? भौतिक सुख नै खोज्नु भएको हो कि आत्मिक ?

    जे होस्, तपाइंको स्टोरी धेरैको अनुभवसित मेल खान्छ ….राम्रो लेख….

    Reply
  7. Alikhit says:
    September 6, 2017 at 1:24 am

    दुइ बजे पश्चात कथाले छाडा रुप लेलाकी भन्ने लाइराथ्यो धन्न लिएन |

    Reply
  8. Rohini says:
    September 6, 2017 at 12:07 am

    शंकर जी

    तपाइको कुरा यो लेख संग मेल खादैन | याँहा यौटा मान्छेमा नेपालमा हुदाको सोचाई र डिवी परेर अमेरिका आएपछि को सोचाई को फरक देखौन खोजिएको छ | आफुलाइ जन्मदिने आमा बाबु को बुढेसकालमा सहारा बन्नु प्रत्येक छोरा छोरीको कर्तब्य हो |

    Reply
  9. Roshan Bhattarai says:
    September 5, 2017 at 4:21 pm

    Nice story…

    Reply
  10. Kundan Shrestha says:
    September 5, 2017 at 4:10 pm

    Yo bides Jane pataki haru sabai yestai huncha

    Reply
  11. राजु आचार्य says:
    September 5, 2017 at 9:15 pm

    मन पर्यो

    Reply
  12. Narayan Pandey says:
    September 5, 2017 at 3:23 pm

    मन छुने कथा तर यथार्थ पनि हो। यस्ता पात्रहरूको नियत र सोच ठाउ विशेष हुदैन। नराम्रा सोच भएकाहरू अमेरिकामा मात्र हैन नेपालमा पनि धेरै छन। वाउ आमालाई वृद्धाआश्रम पठाउने नेपालमा पनि नभएको हैन। राम्रा नराम्रा दुवै थरीका मान्छेहरू नेपाल, अमेरिका जाहा सुकै भेटिन्छ।

    Reply
  13. Shankar says:
    September 5, 2017 at 7:08 pm

    मेरा केहि असहमति हरु —–

    धेर्म को कुरा छोडौ , के लेखेको छ त्यो पनि बिर्सु ,नेपालि र इन्डियन हरु को समाज ले बाबु ,आमा लाइ देब तुल्य घोसना गर्छ , जसका लागि बाबुआमा लाइ देउता जस्तै बन्नु पर्यो , छोरा छोरीलाई परम भक्त बन्नु पर्यो | यहा न बाबुआमा देउता जस्तो बन्न सक्छन ( यथार्थ त् तिनले पनि मोज गर्दा गर्दै बचा पाउने हो , मोह ले गर्दा बाचालाई चाटेर बस्छन ), न छोरा छोरी परम भक्त | तेस्ले यी जटिलता लेउछ | कांग्रेस र एमाले मा बुढा नेताले राज गरेजस्तै घर घर मा बाउ ,आमा ले बढेको छोरा हरुलाई आफ्नो सास चलुन्जेल अन्तिम निर्णायाक मान्न तयार हुदैन( जहा समझदारी छ , त्यो घर राम्ररि चल्छ ) | त्यहा पनि नेतृत्त्व को होडबाजी हुन्छ | अनि द्वन्द को सिर्जना हुन्छ |छोरा छोरी पलायन हुने यो पनि कारण हुन्छन | आर्थिक कारण त् मूल छदैछ |
    बाबुआमाले छोरा छोरी पाल्न , पोस्न गर्ने त्याग अतुलनिय हुन्छ , तेत्ति अरु कुनै नातेदार र पराया ले गर्दैनन् | तेस्को मतलब हेरक बा आमा लाइ देउता , छोरा छोरी दानब को चित्रण मिल्दैन |

    Reply
  14. Puran Bdr Bajracharya says:
    September 5, 2017 at 12:14 pm

    bidesh baseka haru swodesh ka hudainan.

    Reply
  15. Animess Singh KC says:
    September 5, 2017 at 11:43 am

    Govt. Should not allow green card holders to have property in Nepal in their name….it should be transferred to next to kin. Ani ye American nokar haru ko chaak ma aago lagcha. Immigration needs to be tight.

    Reply
  16. Yubaraj Sharma Gyawali says:
    September 5, 2017 at 11:27 am

    Hundred percent right m

    Reply
  17. Kishan Bhandari says:
    September 5, 2017 at 9:56 am

    But my opinion this is wrong

    Reply
  18. Ichha Maharjan says:
    September 5, 2017 at 7:11 am

    100 %

    Reply
  19. Mohan Samit says:
    September 5, 2017 at 7:02 am

    यथार्थ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme