-राजु अधिकारी-
उसलाई माओवादी जनयुद्धले निकै आकर्षण गरेको थियो। उसका अधिकांश सहपाठीहरु पहिल्यै नै भित्रभित्रै माओवादीमा लागिसकेका थिए। उसलाई भने समर्थक वा सामान्य कार्यकर्ता होइन, जनमुक्ति सेना नै भएर युद्धमा होमिन मन थियो। जब माओबादी योद्धाहरु स्कुलमा आएर युद्धभूमि का उत्साहजनक कथाहरु सुनाउँथे, उसलाई तुरुन्तै युद्धभूमिमा गएर दुश्मन हरुको सफाया गरौं जस्तो लाग्थ्यो। जनयुद्ध चरमोत्कर्षमा थियो।उसले आफ्नो उत्साह थाम्न सकेन र एकदिन स्कुल बाट भागेर उ पुर्णकालिन माओवादी योद्धा भयो, त्यतिबेला उ १२ बर्षको थियो र कक्षा ६ मा पढ्दै थियो।
शुरुमा उसलाई जनमुक्ति सेना को सैनिक क्याम्पमा सामान्य तालिम दिइयो। बिस्तारै उसलाई प्रहरी चौकीबाट लुटेर ल्याएका भरुवा बन्दुक, र सिमापारी बाट तस्करी गरी ल्याएका कटुवा पेस्तोल चलाउन सिकाइयो। आफ्नो उत्सुकताका कारण उ छिट्टै ती हतियार चलाउन पोख्त भयो।छिटै उसलाई युद्धमा सम्मिलित गरियो। सल्लेरी देखि साँफे बगर सम्मका युद्धमा दुश्मनको सफाया गरेर उसले तल देखि माथिसम्मका कार्यकर्ता हरुमा हाई हाई कमायो। युद्धको दौरान दुश्मनको गोलीको छर्रा लागेर देब्रे कान चुडिनु बाहेक उसलाई अन्य कुनै गम्भीर चोट पटक लागेन। देब्रे कान चुडिएको हुनाले अन्य कार्यकर्ता हरुले उसलाई ‘बुचाकाने’ भनेर पनि जिस्काउने गर्थे।
तल्लो तहका कार्यकर्ता देखि माथिल्लो तहका नेता सम्म उसको राम्रो चिनजान र पहुँच थियो। उसले कमुनिस्ट क्रान्तिका अधिकांश पुस्तकहरु पढेको थियो र कुनै कुनै त कण्ठस्थ पनि परेको थियो। कमुनिस्टका सिद्धान्तहरु नेतृत्व बर्गले भन्दा उसले फरर भन्न सक्थ्यो तर एउटा कमी चाहिं उसले ती सिद्धान्तहरु पुर्णरुपमा बुझ्न सकेको थिएन।
समय समयमा केन्द्रीय नेतृत्व र कहिलेकाहीं अध्यक्ष कमरेड समेत आएर उनीहरुलाई सैन्य प्रशिक्षणतथा सैद्धान्तिक तालिम दिन्थे। ठुला नेताहरु आउँदा क्याम्पमा रौनक नै अर्कै हुन्थ्यो। राता झण्डाहरु फहराइन्थ्यो, जनवादी क्रान्तिका गीतहरु घन्काइन्थ्यो, गाउँबाट जबर्जस्ति ल्याएका दोपाया र चौपायाहरु काटेर भोज गरिन्थ्यो। उसलाई निकै रमाइलो लाग्थ्यो। उसलाई सबभन्दा रमाइलो त त्यो बेला हुन्थ्यो जब ‘रक्त क्रान्तिको ज्वालामुखीमा…..’ बोलको गित घंकिन्थ्यो। उसलाई त्यो गीतको लय र शब्द निकै मन पर्थ्यो। उसले गित कण्ठस्थ पारेको थियो, गीत बज्दा उ पनि संगसंगै गुन्गुनाउंथ्यो। तर एउटा कुराले उसलाई पिरोली रहन्थ्यो- रक्त क्रान्तिको खास अर्थ के भन्ने उसलाई थाहा थिएन। उसले आफ्ना धेरै साथीहरुलाई सोध्यो तर कसैले उसलाई चित्त बुझ्दो उत्तर दिन सकेनन। उसलाई यति चाहिं थाहा थियो की उनीहरुको जनयुद्ध पनि रक्तक्रान्ति को एउटा पाटो थियो।
उसले आफ्नो दिमागले भ्याए सम्म अर्थ लगायो- रक्त भनेको रगत, क्रान्ति भनेको बिद्रोह, अर्थात रगत बिद्रोह- यानि की रगत को खेल अर्थात मान्छे मार्ने खेल। तर कसरी हुन सक्छ? जनयुद्ध त जनताको उत्थान को लागि भएको हो, शोषकहरु बाट जनतालाई बचाउनको लागि भएको हो। शोषकहरु त मान्छेका रुपमा जन्मेका दानवहरु हुन, तिनलाई त मान्छे गन्नु भएन, उनीहरुको मृत्युमा त सारा जग खुशी हुनु पर्ने त्यसैले यो बिद्रोह लाई मान्छे मार्ने खेल भन्ने कुरै भएन- जनयुद्धले त समाजका जुका हरु पो निकालेर फाल्न खोजेको हो- त्यसैले त्यो रक्तक्रान्ति भएन।
उसले सम्झ्यो- उसको गाउँको डांडाको टुप्पोबाट हेर्दा तल बेशीमा जनमुक्ति सेना हरुले सामन्ती र शोषकहरुको जग्गा कब्जा गरी सामुहिकरुपमा खेति गरेको त्यो दृश्य निकै मनमोहक हुन्थ्यो। निधारमा रातो पट्टि लगाएका जनमुक्तिसेनाहरुले साहुहिक रुपमा मकै गोड्न लागेको त्यो दृश्य हेर्दा लाग्थ्यो- पुरै बारी रक्ताम्य भएको छ- सायद त्यहि नै हो रक्त क्रान्ति – अर्थात धनि र शिक्षित बर्गको सम्पत्ति बलजफ्ती कब्जा गरेर जनताको नाममा त्यसमा रजाई गर्नु नै रक्त क्रान्ति हो। तर त्यसले पनि उसलाई चित्त बुझाउन सकेन किनभने त्यसमा त रगत सम्बन्धि केहि छैन, कसरी हुन्छ रक्त क्रान्ति?
यस्तै आफुले सक्ने जति अर्थ लगाउदा लगाउंदै उ थाक्यो तर कुनै पनि अर्थले उसको चित्त बुझाउन सकेनन। उसले आफ्नो उत्सुकता शान्त पार्न अनेक उपायहरु खोज्दै गयो।
एक दिन अर्को हप्ता अध्यक्ष कमरेड उ बसेको क्याम्प आएर प्रशिक्षण दिने उसले खबर सुन्यो। उ रहेको जनमुक्ति सेनाको क्याम्पमा केन्द्रिय नेताहरु आएर सैनिक र सैधान्तिक तालिम दिई रहन्थे। त्यो भन्दा अगाडी एक दुइपटक अध्यक्ष कमरेड समेत आएर उनीहरुलाई प्रशिक्षण दिएका थिए, त्यो बेलामा उसले अध्यक्ष कमरेड संग फोटो खिचाउन पनि मौका पाएको थियो। उक्त फोटो उसले निकै सुरक्षित रुपमा राखेको थियो। अर्को हप्ता अध्यक्ष कमरेड आएको त्यहि मौका छोपेर अध्यक्ष कमरेड संग नै रक्त क्रान्ति को अर्थ सोध्ने उसले निश्चय गरेर आफ्नो मनलाई शान्त पा-यो।अध्यक्ष कमरेड भन्दा रक्तक्रान्तिको अर्थ लगाउन अर्को को नै हुन सक्थ्यो र?
अध्यक्ष कमरेड आउने दिन क्याम्पमा अर्कै रौनक थियो। क्याम्प फेरि एकपटक राता झन्डा हरुले सजिएको थियो, त्यही उसलाई मन पर्ने ‘रक्तक्रान्तिको ज्वालामुखीमा…’ गीत घन्किरहेको थियो। उसले पनि मन मनै गीत संगै स्वर मिलाईरहेको थियो।अध्यक्ष कमरेड आउने दिन उनीहरुको लागि दशैं आए जस्तै हुन्थ्यो। हुन त पार्टीको निर्देशन अनुसार उसले दशैं मान्न छोडिसकेको थियो तर सानै देखि मनाउदै आएको साँस्कृतिक चाडको छाप दुइचार बर्षको सिधान्त रटाई बाट कहाँ मेटिन सक्थ्यो र? दशैं मान्न नपाए पनि उसलाई अध्यक्ष कमरेडको आगमन ले उक्त इच्छा पुरा गराइदिन्थ्यो। गाउँबाट जबर्जस्ति ल्याएका दोपाया र चौपाया हरु काटेर अध्यक्ष कमरेडको स्वागतमा भोजको आयोजना गरिएको थियो। लाग्थ्यो त्यहाँ पनि निरिह पशुहरुलाई धर्मको नाममा बलि दिए जस्तै साम्यवादको नाममा उनीहरुको हत्या गरिएको थियो। पशुबध गरेर धर्मको नाममा पाप कमाइरहेका सामन्ती बुर्जुवाहरुले जस्तै उनीहरुले पनि लुटेर ल्याएको पशुपंक्षीको निर्मम रुपमा हत्या गरेर दोहोरो पाप कमाइरहेका थिए- एउटा पशुबधको र अर्को लुटको। तर जनमुक्ति सेनाको शब्दकोषमा ‘पाप’ भन्ने शब्द कहाँ थियो र ? उनीहरु त लाग्थ्यो गरिब, निमुखा, शोषित जनता हरुको उत्थान गरेर उनीहरुले धर्म कमाइ रहेका थिए।
बिहानको ११:०० बजे आफ्नो जत्था सहित अध्यक्ष कमरेड क्याम्पमा आइपुगे। उक्त क्षेत्र जनमुक्ति सेना द्वारा संचालित थियो, त्यहाँ सरकारी उपस्थिति शुन्य थियो त्यसैले अध्यक्ष कमरेडलाई त्यो क्षेत्रमा आउन कुनै डर थिएन- त्यो क्षेत्र उनीहरुको राजधानी जस्तै थियो।अध्यक्ष कमरेड आउने भनेर त्यहाँ हजारौंको संख्यामा कार्यकर्ताहरु र जनमुक्तिसेना हरु जम्मा भएका थिए। क्याम्पमा प्रवेश गर्दै उनले मुठ्ठी कसेको दह्रो हात हावामा उठाउंदै क्रान्तिकारी लालसलाम गरे। त्यहाँ उपस्थित सबैले त्यही पारामा उनको अभिबादन फर्काए- उनीहरुको ‘लालसलाम’ को ध्वनिले बातावरण गुन्जायमान भयो।
केहि समय पछि त्यहाँ उपस्थित सबैको लागि खानाको बन्दोबस्त गरियो। खाना पछि प्रशिक्षणको कार्यक्रम थियो। उसलाई जसरि भए पनि त्यो दिन रक्तक्रान्तिको अर्थ बुझ्नु थियो त्यसैले अध्यक्ष कमरेडसंगै अर्थ बुझ्न पाउने उक्त मौका उसले गुमाउन चाहदैनथ्यो। खाना खाने समयमा जसोतसो गर्दै उ अध्यक्ष कमरेड बसेको छेउमा बस्न पायो। उसलाई ठुलै सफलता हासिल गरे जस्तो लाग्यो। खाना खाँदै गर्दा अध्यक्ष कमरेडले उसलाई हेरेर मुस्कुराउदै उसलाई हालचाल सोधे। उ मख्ख पर्दै उत्तर दियो। एकैछिन पछि उसले अप्ठ्यारो मानीमानी अध्यक्ष कमरेड संग एउटा कुरा सोध्ने आज्ञा माग्यो। अध्यक्ष कमरेड ले भातको गास मुखमा हाल्दै टाउको हल्लाएर सोध्न अनुमति दिए। अलिकति लाज माने जस्तो गर्दै सानो स्वरमा उसले रक्तक्रान्तिको अर्थ के हो भनेर सोध्यो। अध्यक्ष कमरेड हाँसे। उनले भने- कमरेड अहिले हामीले जे गरिरहेका छौँ त्यहि हो रक्त क्रान्ति। उसको सोझो मनले सोंच्यो- पशुहरु काटेर क्याम्पमा रगतको भेल बगाइएको थियो र भन्यो- ‘उसो भए गाई काटेर भतेर गर्नु रक्तक्रान्ति हो त कमरेड?’ अध्यक्ष कमरेडलाई अलिअलि रिस पनि उठ्यो तर रिसलाई दबाउदै उनले भने- त्यसो होइन कमरेड, हामीले जनताको उत्थानको लागि अहिले जे गरिराखेका छौँ , त्यो हो रक्तक्रान्ति।
उसले अलि बुझे जस्तो गर्दै भन्यो- ए शिक्षित र धनी बर्ग हरुलाई सखाप पारेर अनपढ र गरिबहरुले उनीहरुको सम्पत्तिमा रजाई गर्नु नै रक्तक्रान्ति रहेछ। त्यति बेला चाहिँ अध्यक्ष कमरेडलाई सांचै रिस उठ्यो – रक्तक्रान्तिको अर्थ सम्म नजान्नेहरु के को जनयुद्ध मा लागेका होलान भनेर। तर उनी सम्हालिएर बनावटी हाँसो मुखमा ल्याउँदै भने- लाग्छ यसको अर्थ मैले प्रशिक्षणमै बिस्तारमा बताउनु पर्ला। चिन्ता नगर्नुस कमरेड- दिउसोको प्रशिक्षणमा तपाइले बुझ्ने गरि मैले रक्तक्रान्तिको अर्थ बताउने छु। अध्यक्ष कमरेडको उक्त आश्वाशनले उ ढुक्क भयो र छिटो छिटो खाना सकाई प्रशिक्षण को प्रतिक्षामा बस्यो।
प्रशिक्षणको दौरान अध्यक्ष कमरेडले आफुले बाचा गरे बमोजिम रक्त क्रान्तिको अर्थ लगाउन थाले- ‘ अगि खाना खाँदा एक जना कमरेडले मलाई रक्त क्रान्तिको अर्थ सोध्नु भयो। मलाइ एकछिन त अचम्म लाग्यो- हामी जनताको उत्थानको लागि घर परिवार र आफ्नो ज्यानको समेत पर्वाह नगरी जनयुद्ध होमिएका योद्धाहरुले अझैं पनि रक्त क्रान्तिको अर्थ बुझेका रहेनछौं भनेर- तर पछि मलाइ लाग्यो यसको अर्थ त्यति सरल छैन। अंझ भन्नुपर्दा रक्त क्रान्तिको अर्थ नै नबुझी जनयुद्धमा लाग्नु बामे सर्न नजान्दै दौडन खोज्नु जस्तै हुन जान्छ। त्यसैले आज म कमरेड हरुलाई रक्त क्रान्तिको अर्थ बिस्तारमा बुझाउन चाहन्छु। मैले शुरु गर्नु भन्दा पहिले यहाँ सहभागीभएका मध्य कसलाई रक्त क्रान्तिको सहि अर्थ थाहा छैन उहाँहरुले हात उठाउनुस।
सबभन्दा पहिले उसले नै लाज नमानी हात उठायो। बिस्तारै अरु दुइचार हातहरु माथि उठे। अध्यक्षले ‘लाज नमान्नुस, यदि थाहा छैन भने निर्धक्क संग हात उठाउनुस’ भनेर हौसला बढाएपछि एकैछिनमा अधिकांश सहभागीका हातहरु हावामा उठे। त्यो देखेर अध्यक्षलाई अलि अलि हाँसो पनि उठ्यो तर त्यो भन्दा बढि असजिलो महशुस भयो। उनले सोंचे – रक्त क्रान्तिको अर्थ थाहा नै नपाएर त्यति धेरै योद्धाहरु बन्दुक बोकेर समाज परिवर्तन गर्न हिंडेका छन्। तर ठिकै छ- उनीहरुले अर्थ बुझ्नु भन्दा पनि उनले प्रतिपादन गरेको उदेश्य र बाटोमा जनसहभागिता हुनु महत्वपूर्ण कुरा थियो अध्यक्ष कमरेडको लागि। त्यसैले उनी केहि बोलेनन् र भन्न थाले- ‘ ल ठिकै छ , तपाईंहरु यति धेरै जनालाई रक्त क्रान्तिको अर्थ थाहा रहेनछ, आज मैले त्यो स्पष्ट पार्नेछु। सामान्य भाषामा भन्नु पर्दा जनयुद्ध नै रक्त क्रान्ति हो। हामी कम्युनिस्टहरु हरेक कुरामा रातो प्रयोग गर्छौं, रातोको अर्थ हुन्छ रगत, रातोको अर्थ हुन्छ- जोश, अर्थ हुन्छ- बिजय। हरेक क्रान्तिमा रगत बग्छ , मान्छे मर्छन, दुश्मनका मान्छे पनि मर्छन हामी पनि मर्छौं, त्यसैले त्यो नै रातोको प्रतिक हो, जोशको प्रतिक हो, बिजयको प्रतिक हो। रातो को अर्को अर्थ हो उदाउँदो सुर्य- बिहान भर्खर सुर्य उन्दाउँदा जुन लालिमा आकाशमा देखा पर्छ त्यो पनि रातोको प्रतिक हो, उदाउँदो सुर्य भनेको नयाँ युगको थालनी हो, हामी त्यही नयाँ युगको थालनी गर्न यो जनयुद्धमा होमिएका छौं। जनयुद्ध अब बिजयोन्मुख छ, त्यसलाई सफल बनाउन पार्टी र नेतृत्वको लागि रगत बगाउन तत्पर हुनु नै रक्तक्रान्ति हो। मलाई बिश्वास छ अब कमरेडहरुले रक्तक्रान्तिको अर्थ बुझ्नु भयो होला। अब यहि रक्तक्रान्तिलाई साकार पार्न हामी सबै अझै दत्तचित्त भएर लाग्नुपर्ने बेला आएको छ- देशलाई हाम्रो रगत चाहिएको छ, तपाइंहरुको रगत चाहिएको छ।
अध्यक्ष कमरेडको ‘प्रशिक्षण’ पछि सबैले बुझे जस्तो गरेर गडड ताली बजाए। उसले पनि स्वरमा स्वर मिलायो। तर अझै पनि उसलाई रक्तक्रान्तिको अर्थ बुझे जस्तो लागेन। सोध्नको लागि बाँकि अर्को ठाउं पनि थिएन। उसले यताउता अरुलाई हे-यो। अन्य सबै सहभागीहरुले बुझे जस्तो गरेर उज्यालो अनुहारमा ताली बजाई रहेका थिए। अझैं पनि अर्थ नबुझेकोमा उसले आफुलाई ‘मुर्ख’ सम्झेर चुप लागेर बस्यो।
हजारौं निर्दोषहरुको ज्यान लिएर अनि सकारात्मक भन्दा धेरै धेरै नकारात्मक परिबर्तनहरु समाजमा थोपरेर जनयुद्ध बिचैमा तुहियो। दण्डहिनता, बिभाजन, अनुशासनहिनता, सामाजिक असहिष्णुता नयाँ नेपाली समाजको पर्याय बन्यो। तर अध्यक्ष कमरेड र केन्द्रिय नेताहरु जनयुद्दको सफलतामा खुशी मनाइरहेका थिए, जनतालाई ठूलो ठूलो स्वरमा सम्झाईरहेका थिए कि नेपाली समाजमा नयाँ चेतना जागेको छ, तर त्यो चेतना ‘कुचेतना’ थियो भन्ने उ जस्ता लाखौं कार्यकर्ता र सामान्य जनताहरुलाई थाहा थिएन। उनीहरुपनि जनयुद्धको ‘सफलता’ पछिको सुन्दर नयाँ नेपालको कल्पना मै भुलिरहेका थिए।
बिभाजन गरेर शाशन गर्नु पर्छ भन्ने तथ्य राम्ररी बुझेका अध्यक्ष कमरेडले बर्गीय, जातीय, भाषिक र क्षेत्रीय बिभाजनको लडाइमा जनता भुलाएर आफु सत्तामा पुगे।
आफ्नो पार्टी र केन्द्रिय नेताहरु सत्तामा पुगे पछि उ र उ जस्ता हजारौंकार्यकर्ताहरुको भुइंमा खुट्टा थिएन, उनीहरु खुशीले नाचिरहेका थिए। तर त्यो खुशी धेरै समय टिक्न पाएन जब केन्द्रिय नेताहरुले सेना समायोजन नहुँदा सम्म उनीहरुलाई अस्थायी शिबिरहरुमा राख्ने सहमति गरेर उसका आशाका मुनाहरुलाई निमोठिदिए। नेताको निर्णयलाई सर्वोपरी गर्दै उ पनि अन्य साथीहरु संग अस्थायी सैनिक शिविरमा थुनिए जस्तो भएर बस्न बाध्य भयो। देश बनाउने जोश लिएर आफ्नो र परिवारको ज्यानको परवाह नगरी युद्धमा होमिएका कलिला मनहरु चिसो शिविरमा गुम्सिन पुगे।
तर उसको आशा अझै मरेको थिएन। समय समयमा नेताहरु आएर जनमुक्ति सेनालाई सम्मान पुर्बक राष्ट्रिय सेनामा गाभिने छ भनेर आश्वाशन दिन्थे। उ पनि त्यहि दिनको प्रतिक्षामा थियो। जनमुक्ति सेना नभएपनि राष्ट्रिय सेनामा सामेल भएर देश र जनताको लागि रगत बलिदान गर्ने इच्छा उसमा प्रबल हुँदै गयो।
लामो प्रतिक्षा पछि उसको त्यो इच्छामा पनि तुसारापात भयो- उमेर नपुगेको कारणले उ राष्ट्रिय सेनामा समाबेश हुन अयोग्य ठहरियो। तर अरु कुनै उपाय थिएन, नेताहरुले ‘आफुले सकेको गर्ने’ आश्वाशन दिएर सरकारले दिएको पैसाको अधिकांश हिस्सा पार्टीको लागि राखेर केहि रकम दिएर उसलाई र उ जस्ता ‘अयोग्य’हरुलाई घर पठाए।
मन अमिलो पार्दै उ पुन: आफ्नो गाउँ फर्क्यो। चार बर्ष पछि गाउँ फर्कंदा गाउँ पहिले जस्तो थिएन। खालि खाली र सुनो थियो। अधिकांश मान्छेहरु गाउँबाट पलायन भैसकेका थिए। पहिले जस्तो रौनक थिएन। युवाहरु या त बजारतिर बस्न थालेका थिए या त विदेश तिर काम गर्न गएका थिए। बुढाबुढी, केटाकेटी र महिलाहरुले मात्रै गाउँ भरिएको थियो। खेत बारीहरु बाँझै थिए- काम गर्ने कोहि थिएनन। गाउँको त्यो दशा देखेर उसलाई दिक्क लाग्यो। पहिले त अब कम्मर कसेर पुन: खेतीपाती गर्नु प-यो भनेर उसले सोंच्यो तर लुटेर खाने बानी लागिसकेको ले मेहेनत गरेर खान उसलाई भित्र देखि आँट आएन। उ जस्तै अयोग्य अन्य साथीहरु पनि कोहि पसल खोलेर बसेका थिए, कोहि विदेश गएका थिए भने कोही त्यतिकै सहरतिर भौंतारिएका थिए।
दुइचार महिना केहि नगरि त्यत्तिकै बसेर उसले सरकारले दिएको पैसा पनि सकायो। दिक्दारिमा उसले मदिरा र चुरोटको पनि साथ लियो पछि अम्मली नै भयो। उसको लागि गाउँमा केहि काम थिएन, दिनभरि भौंतारिएर हिंड्थ्यो, केटाकेटी हरुलाइ जनयुद्दका कहानीहरु सुनाउथ्यो। विदेश जान पनि उसको मनले मानेन देशकै लागि रगत पसिना बगाउने उसको मनमा सवार भएको भुत भागिसकेको थिएन, उ त्यहि अवसरको प्रतिक्षामा थियो। तर अस्थायी शिविरको चिसोले र उसको कुलतले गर्दा उसको स्वास्थ्य बिग्रदै गएको थियो- निकै छिटो समयमा नै उसलाई क्षयरोगले ग्रस्त पारिसकेको थियो।
त्यसै बेला राष्ट्रिय सैनिकको लागि नयाँ आबेदन खुल्यो। उसको लागि त्यो ‘के खोज्छस काना आँखो’ भने जस्तै भयो। उसको उमेर पनि पुगिसकेको थियो त्यसैले उसले पनि आबेदन दिने विचार ग-यो। उसकै पार्टीकै सरकार थियो, उ ढुक्क थियो की अब उसलाई सैनिक बन्न कसैले रोक्न सक्ने छैन।
निकै उत्साहका साथ पछाडी प्वाल परेको भेस्ट, दुइ ठाउं टालेको हाफ प्यान्ट अनि चप्पल लगाएर अध्यक्ष कमरेडसंग खिचेको फोटो साथ लिई उ राजधानी तिर लाग्यो। अध्यक्ष कमरेड देशका प्रधानमन्त्रि थिए। उनलाई भेट्न उ सिंह दरबार पुग्यो। पालेले उसलाई भित्र पस्न दिएन। उसले अध्यक्ष कमरेडसंग खिचेको फोटो देखायो। तर केहि उपाय लागेन, उ मनमनै मुर्मु-यायो- पुरानो सत्ताको भुत अझै बाँकि रहेछ भनेर। अध्यक्ष कमरेडसंग भेट नगरी र आफ्नो सैनिक बन्ने इच्छा उनलाई नभनी नजानेअठोट लिएर उ त्यहीं कुरेर बस्यो। अबेर गरी प्रधानमन्त्रीको सवारी भयो। चिल्लो गाडीमा अध्यक्ष कमरेडलाई देखेर उसको मन ढक्क फुल्यो, उ केहि बोल्न सकेन तन्किएर ‘लाल सलाम’ ग-यो। अध्यक्ष कमरेडले देखे वा देखेनन उसलाई थाहा भएन, उनको गाडी सरर अगाडी बढ्यो। उसलाई गाडीको पछाडी पछाडी चिच्याउदै दौडन मन लागेको थियो तर सम्हालिएर हेरिरह्यो।
सिंहदरबारमा अध्यक्ष कमरेडलाई भेट्न नपाए पछि अर्को दिन उ पार्टीको केन्द्रिय कार्यालय गयो। उसकै गाउँको जमिन्दारलाई त्यहाँ चुरीफुरी गररेको देखेर उसले अचम्म मान्यो। कुनै समय जनयोद्धाहरुको डरले गाउँमा बस्न नसकेर सहर भागेको उ त पार्टीको निकै ठुलो ओहदामा पुगी सकेको रहेछ। उसले नै अर्को दिन अध्यक्ष कमरेडसंग भेट गराइदिने आश्वाशन दियो। जे भए पनि अध्यक्ष कमरेडसंग भेट हुने मिठो सपना बोकेर उ पार्टी कार्यालय बाट बाहिर निस्कन आँट्यो। बैठक कोठाबाट बाहिर निस्कन नपाउंदै उसलाई खोकी लाग्यो र अप्ठ्यारो महशुस भयो। उ जोड जोड ले खोक्न थाल्यो। खोकी बाट रगत निस्क्यो। सहन नसकेर उ थपक्क बस्यो र घोप्टो परेर खोक्न थाल्यो। उसले अंझ धेरै रगत बान्ता ग-यो। एकै छिनमा त्यहाँ उसको रगतको ‘पोखरी’ नै बन्यो। त्यो रगतको ‘पोखरीमा’ उसले आफ्नो अनुहार देख्यो, त्यहि रगतमा भित्तामा टाँसिएको अध्यक्ष कमरेडको ठूलो फोटो पनि देख्यो। उसले त्यो फोटोको छायाँलाई त्यहि रगतको पोखरीमा एकटकले हेरिरह्यो, उसलाई अचानक ज्ञान प्राप्त गरेको जस्तो महशुस भयो। उसले प्रशिक्षणको क्रममा अध्यक्ष कमरेडले भनेको झल्झली सम्झ्यो- ‘पार्टी र नेतृत्वको लागि आफ्नो रगत बगाउन सक्नु नै रक्त क्रान्ति हो’। उसलाई लाग्यो उसले बल्ल रक्त क्रान्तिको अर्थ बुझ्यो अनि आफुले पनि पार्टी र नेतृत्वको लागि आफ्नो रगत बगाएर बलिदान गरेकोमा गर्वले छाति फुलायो अनि सन्तोषको सास फेर्दै मुस्कुरायो त्यही रगतको छायामा अध्यक्ष कमरेडको फोटो पनि उ संगै मुस्कुराइरहेको थियो।
नमिठो एथार्थ बोकेको मिठो कथा. “रक्तक्रान्ति” को अर्थ लाटोले पनि बुझ्ने गरि सहज भाषा मा लेखिएका तलका हरफ हरु को लागि लेख ज्यु लाई धन्यबाद….
“उसले अंझ धेरै रगत बान्ता ग-यो। एकै छिनमा त्यहाँ उसको रगतको ‘पोखरी’ नै बन्यो। त्यो रगतको ‘पोखरीमा’ उसले आफ्नो अनुहार देख्यो, त्यहि रगतमा भित्तामा टाँसिएको अध्यक्ष कमरेडको ठूलो फोटो पनि देख्यो। उसले त्यो फोटोको छायाँलाई त्यहि रगतको पोखरीमा एकटकले हेरिरह्यो, उसलाई अचानक ज्ञान प्राप्त गरेको जस्तो महशुस भयो। उसले प्रशिक्षणको क्रममा अध्यक्ष कमरेडले भनेको झल्झली सम्झ्यो- ‘पार्टी र नेतृत्वको लागि आफ्नो रगत बगाउन सक्नु नै रक्त क्रान्ति हो’। उसलाई लाग्यो उसले बल्ल रक्त क्रान्तिको अर्थ बुझ्यो अनि आफुले पनि पार्टी र नेतृत्वको लागि आफ्नो रगत बगाएर बलिदान गरेकोमा गर्वले छाति फुलायो अनि सन्तोषको सास फेर्दै मुस्कुरायो त्यही रगतको छायामा अध्यक्ष कमरेडको फोटो पनि उ संगै मुस्कुराइरहेको थियो।”
मज्जा आयो..
विक्की
Reality but weak literature, not too bad.