-शारदा पौडेल-
अाज मेरी साथी अाउने दिन । उसलाई एयरपोर्टमा नै लिन जाने विचार छ । मलाई उहीँ देख्दा त निकै खुशी हुन्छे होली । ऊ कस्ती पो भएकी होली ? यत्रा चार चार वर्षसम्म परदेशी भूमिमा बसेर अाउँदा त पक्कै केही न केही परिवर्तन भएकी होली ।
म उसलाई देख्न निकै अातुर थिएँ । दिउँसोको साढे तीन बजे ऊ त्रिभुवन विमानस्थलमा अवतरण हुने समय थियो । मलाई त्यो तीन कतिखेर बज्ला जस्तै भएको थियो । वास्तवमा कसैको व्यग्र प्रतिक्षामा समय कटाउनु भनेको पनि ज्यादै कठिन रहेछ । अाज म उसलाई भेट्ने व्यग्र प्रतिक्षामा थिएँ ।
ऊ र म बालसखा । नाम जानुका भएपनि जानु भनेर बोलाउँथेँ । उसो त उसले पनि मलाई कहिल्यै मेरो नाम भनेर बोलाएकी होइन । उसले प्राय: जसो शारा र अति नै घनिष्टता देखाउन परे शारु भन्ने गर्थी । बच्चा बेलादेखिको घनिष्टता त छँदै थियो । तरपनि अनायासै हामीमा सम्बन्धविच्छेदको अवस्था सिर्जना भयो । कारण थियो जानुको बिहे ।
शिक्षित परिवारमा जन्मेर पनि जानुले अाफ्ना पढ्ने र अगाडि बढ्ने सबै चाहनाहरुलाई तिलान्जली दिएकी थिई । उसको विहेको खबरले मेरो मन भक्कानिएको थियो । पृथ्वी नै भासिएर मलाई नै पुरे झैँ भएको थियो। एक मन उसका बुबा अामासँग झगडा गरौँ झैँ हुन्थ्यो त अर्को मन उसले बिहेलाई सहज रुपमा स्वीकार गरेकी होली झै लाग्थ्यो । त्यसैले विरोध गर्न ठिक हुँदैनथ्यो । फेरि बिहे पछि विरोधको कुनै अौचित्य पनि के नै रहन्थ्यो र ?
मान्छेले पढ्दैमा र राजनीतिको झोला बोक्दैमा मात्र बुद्धिमान नहुने रहेछ । जानू का बुबा गाउँका शिक्षित र माध्यमिक बिद्यालयमा पठाउने शिक्षक भएर पनि खै छोरीलाई पढाउनु पर्छ भन्ने भावनाको विकास गर्न सक्नु भएन । अझै समाज परिवर्तन गर्ने भनेर रातदिन राजनीति गर्दै डुल्न पनि छोड्नु हुँदैनथ्यो । घरमा आफ्नै छोरीकालागि शिक्षाको उज्यालो घामबाट बञ्चित गराउने राजनितिज्ञबाट हामी जस्ता सर्वसाधरणले के अाश गर्नु ? उसको बिहे भएको पनि वर्षौँ भयो तापनि मलाई अहिले जस्तै लाग्छ । र मन अमिलो हुन्छ ।
अाज घडीको सुई पनि किन घुम्न मानेको छैन । जतिबेला हेर्दा पनि जहाँको त्यही जस्तो मात्र । ए भगवान बल्ल साढे बाह्र । कतिखेर देखौँ जस्तै भएको छ उसलाई । हुन त जानुलाई पनि त्यस्तै भएको होला ।
म एयरपोर्टमा लिन अाउने कुरा त उसैलाई भने कै छैन । उसले मलाई त्यहाँ देख्दा पक्कै पनि अचम्मित हुनेछ ।
तर मानिसलाई समय र परिस्थितिले कठोर बनाउने रहेछ । ऊ अहिले पहिलाकी जस्ती नरम र मिलनसार छैन । समस्यासँग जुध्दाजुध्दै उसको जीवन नै साह्रो पत्थर जस्तै भएको छ । विचरीले बिहे पछि कति संघर्ष गर्नु परेको थियो । पढ्न चाह राखेकी उसले बिहे गर्दैको महिनादेखि घरबाट संघर्ष शुरु गरेकी हो । पछि संघर्षका श्रेणीहरु चढ्दै जाँदा माइती बुबा अामासम्म पुगेकी थिई । तर माइतीको सहानुभूति पाउनु भन्दा उल्टो गाली खानु परेको थियो उसले ।
एकदिनको कुरा थियो म उसलाई भेट्न उसैको घरमा गएकी थिएँ । तर ऊ माइती गएको समय परेछ । घरमा सासू र श्रीमान ढाडिएको जुका फुले झैँ फूलेर बसेका थिएँ । मलाई देख्दा उसको सारा रीस मैमाथि खन्याउन थाले । तर उसलाई सासू र श्रीमानले गाली गर्नुको पछाडि एउटा मात्र कारण थियो । त्यो हो उसले पढ्न नछोड्नु । बुहारीले पढेर छोरालाई जित्छे भन्ने सासुको चिन्ताको विषय थियो । उता श्रीमान पनि श्रीमतीले पढेकोमा खुशी थिएनन् । भित्री चिन्ताको विषय त तिन्को पनि त्यही नै थियो ।
खै सासुले के सोचिन् कुन्नि ? उसका सारा कमजोरी भनिसके पछि भनिन् – ” नानी मैले धेरै पटक त्यसलाई सुनाइसकेँ तर सुने झैँ नै गर्दिन । तिमीले एउटा कुरा भनी दिन सक्छ्यौ ” ?
” के कुरा अामा भन्नू न म सुनाइदिन्छु ” — मैले भनेँ ।
” तँलै पढ्न नछाड्ने हो भने तेरो श्रीमानले अर्को विहे गर्छन् रे भनिदेऊ है ” —- उसकी सासुले निर्धक्कसँग भनिन । मैले तिनले त्यो वाक्य भनिरहँदा त्यही भएका उसको श्रीमानको अनुहार पढ्न खोजेँ । उनमा कही कतै त्यो भनाइले प्रभाव पारेको थिएन । झन् छोरो मान्छे हुनुमा गर्व गरे झैँ लागेको थियो । अामाले सही भन्नू भएको छ या गलत छुट्टयाउन नसक्ने लोग्नेबाट जानुले कस्तो माया पाएकी होली भन्दै आफैसँग प्रश्न गर्न मन लाग्यो ।
यस्तो विरोधको पर्खालभित्र रहेर कसरी अंकुरण हुन सक्छे ऊ ? कसरी देखाउन सक्छे आफ्नो खुवी र प्रतिभा ? कसरी बढ्न सक्छे अगाडि र कटाउन सक्छे जिन्दगी ? अादि इत्यादि प्रश्नले मेरो मथिंगल खल्बलाउन थाले । त्यहाँ मलाई बस्नै मन लागेन । उठेँ र भनेँ – ” हवस् अामा म सम्झाएर भन्छु नि त अहिले जान्छु पनि ” भन्दै केही पाइला मात्रै हिँडेकी थिएँ ।
पुनः सासुले फेरि छोराको मुखतिर हेर्दै भनिन् – ” हेर बाबू अब हामीले भित्र भित्र केटी हेर्नुपर्छ । यस्ती जर्कटीबाट घर हुँदैन । घरको काम भन्दा पढन मन गरेर हुन्छ ? बिहे गरेपछि त घर भनेर पढाइ सढाइ छाडेर बस्नुपर्छ । अब त्यसका किताब फेरि पनि देखेँ भने जलाइदिन्छु ।”
मैले नजानिँदो पाराले उसको श्रीमानको अनुहार फेरि नियालेँ । उसको अनुहारमा कान्ति छाएको थियो । मानौँ उसले ठूलो युद्धमा विजय हासिल गर्दैछ ।
कठै जानु तेरो भाग्य ? मलाई त्यसैको भाग्यमाथि प्रश्न चिन्ह लगाउन मन लाग्यो । पढेको शिक्षित शिक्षक र राजनिती गर्ने कार्यकर्ता बाबुकी छोरी तँ अाज मात्रै पढ्नका लागि संघर्ष गर्दैछेस् ।
मलाई झन् उसैलाई नदेखिकन घरमा फर्कन मनै लागेन । त्यसैले साइकलको हेन्डील उसैको माइतीघरतिर मोडेँ । केही समयपछि उसको माइतीमा पुगेँ । बुबा अामा दाजुभाइ सबै त्यहीँ हुनुहुन्थ्यो । तर जानु भने थिइन ।
” अामा जानू खै त ” – प्रश्न गरेँ । उसैको घर होली नि – ठसक्क पर्दै भन्नू भयो ।” घरमा गएको तर थिइन त ” — मैले भनेँ ।
” कता मोरी त नि , यस्ता छोरी जन्मन भन्दा त गर्भमा नै तुहिएको भए हुने । गर्भ खेर गयो भनिन्थ्यो चित्त बुझाइन्थ्यो ” — अामाले भन्नू भयो।
” खुब मेरी छोरी भन्थिस् नि , देखिस् ? तँ गतिली भएको भए पो छोरी पनि गतिली हुन्थी । मरे हुन्थ्यो नि बरु । बाँचेको देख्न भन्दा त । कहीँ कतै मरि रे भनेको सुन्न पाए हुन्थ्यो । दुनियाँका छोराछोरी मरेको खबर अाउँदा यो राक्षेस्नी मरेको खबर किन अाउँदैन ।” —- बुबाले अामातिर हेर्दै अाफ्नो प्रतिशोध व्यक्त गर्नुभयो ।
दाजुभाइ केही बोलेका थिएनन् । सानो भाइ अलिपरबाट सुन्दै थियो र नजिकै अाउँदै भन्यो । ” दिदी त गणित पढ्न सरको घरमा गएकी छ । कान्छा कसैले सोध्यो भने दिदी यही छ भन्दै है भन्थी ” । कान्छाको कुराले सबैले मुखामुख गरे ।
यसरी पढ्ने चाहना राख्ने छोरीको बिहेले बुबालाई किञ्चित पश्चाताप थिएन । बाहिरी दुनियाँका छोराछोरीलाई पढ पढ्नु पर्छ । छोरीले पढे नै समाज परिवर्तन हुन्छ भन्दै हिड्ने बाबुको मुखबाट पढ्छु भन्ने छोरीका विरुद्धमा गाली वर्षेका थिए ।
जे जस्तो गरेपनि अाखिर समस्यासँग जुध्न यही छोरी मान्छे नै किन पर्छ ? मलाई त्यहाँ धेरै बेर बस्न पनि मन लागेन । र जान्छु भन्दै हिँडेँ ।
बाटाभरि उसैका बारेमा मात्रै सोच्न मन लाग्यो । र फेरि भन्न मन लाग्यो “अभागिनी जानू “। तँलाई भेट्ने चाह त्यत्तिकै भयो ।
त्यसपछि हाम्रो भेट करिव दस वर्षपछि भएको थियो । त्यतिखेर पनि उसको अनुहारमा खासै खुशी देखेकी थिइन । पातली दुब्ली शरीर पनि पतेराले चुसे जस्तै । उसको शरीमा लगाएका कपडा पनि लौरीलाई झुम्रो बेरे झैँ देखिन्थ्यो ।
उसलाई देखेर मेरा अाँखाबाट अाँसु खस्न थाले । म रोएको देखेर उसले सम्झाउँदै भनी “- नरो शारा , जीवन भनेको संघर्ष हो । संघर्षभित्र जीउन सिक्नुपर्छ । हिम्मत कहिल्यै हारेर पछाडि हट्ने काम गर्नु हुँदैन । सबैका सामु संघर्षको मिठो फल खान सक्ने उद्देश्य लिएर बढ्नु पर्छ । मेरो जीवनमा अझै केही वर्ष संघर्ष गर्न बाँकी छ । अझै गर्छु । तँ रोएर मेरो मनस्थिति कमजोर बनाउने प्रयास नगर । दे मलाई हिम्मत र हौसला ।
जुन हौसलाले मेरो लक्ष्य प्राप्त गर्न सकुँ ।
यसै क्रममा उसले संघर्षभित्र पढेर नै अाई ए पास गरेको बताएकी थिइ । त्यतिबेला मलाई सासू र बूढाका बारेमा सोध्न मन लाग्यो र सोधेँ ।” अोई तेरो बूढोले बिहे गरे त “?
उसले फिस्स हाँस्दै भनी – ” सोचे जस्तो सजिलो हुँदैन शारु बिहे गर्ने भन्ने कुरा । मलाई बिहे गर्ने भनेर के गरेनन् भन्न ? छोडपत्र धरी मागेका थिए । मैले हाँसी हाँसी हुन्छ भनेँ । अहिले भर्खरै हस्ताक्षर गर्छु पेपर लेऊ भन्दा पछि हटे । यो सब मलाई पढ्न छुटाउने बहाना थियो । तिमीले बिहे गर भनेर केही समय माइत गएर बसेँ । माइतमा बस्दा बाबा र अामाको टोकाँसो कति खाएँ खाएँ । अामाले ला खाएर मर भनेर मुसाको विषको पोकासमेत मेरो छेउमा फाल्नुहुन्थ्यो भने बाबाले डोरी त कति पटक हो कति पटक । फेरि बाबाले मलाई घर पठाउन पञ्च भलादमी जोडेर कचहरी लगाउनु भएन कि के गर्नु भएन र ? जसले जे गरेपनि मैले हिम्मत हारिन । जति जति बुबा अामाका गालीका वर्षा हुन्थेँ त्यति नै मलाई संघर्ष गरेर बाँच्ने उर्जा प्राप्त हुन्थ्यो। त्यसैले शारु जीवनमा हिम्मत हार्न होइन हिम्मत बढाउन सक्नुपर्छ । अहिले छोराछोरी भएपनि अझै मेरो संघर्ष बाँकी छ । यो संघर्ष मेरो फाइदाको लागि हो त ? हेर अहिले जागिर खाएर त्यो पैसा घरलाई भएको छ कि मलाई ? मान्छेले कुरा नबुझ्नाले मैले सारा झेल्नु परेको हो बुझिस् । बुबा अामाले पनि तेरो के हो चाह भनेर कहिल्यै सोधेनन् । देखेपछि गाली गरेरै तह लगाउने जस्तो गरे । हुन त जन्म दिने बाबू अामा भगवान सरह हुन भन्छन् ।तर मेरालागि के सरह भए विचार गर त शारु “?
उसका कुराले म रोएकी थिएँ । मन थाम्नै नसकेर हिक्क हिक्क भएको थियो । म त्यसको ठाउँमा भएको भए सायद अामाले दिएको बीस पिएरै मर्थेँ होला। वा बुबाले दिएको डोरीले झुन्डिएर । तर तँ महान होस् जानू तँ महान होस् ।
अाबुई उसैका बारेमा सोच्दासोच्दै त समय कति छिटो बितेछ । तीन बज्नै अाँटेछ । म एयरपोर्ट जानको लागि तयार भएँ र मोटरसाइकल झिकेर स्टार्ट मात्रै गर्न अाँटेकी थिएँ । मोबाइलको घण्टी बज्यो , उठाएँ । जानुको बुढाको रहेछ । उनले मलाई जानू अाउने कुरा जानकारी दिएका थिए । मैले थाहा नपाए झैँ गरेँ । र लागेँ एयरपोर्ट तिर ।
म जाँदा उसका छोराछोरी श्रीमान ,सासू बुबा अामा सबै जम्मा भैसकेका रहेछन् । केहीछिनमा नै ऊ चढेको जहाज अायो । भित्रको सबै चेकिङ सकेपछि जानू मुस्कुराउँदै बाहिर अाई भने उसको श्रीमान , छोराछोरी सासू लगायत बाबुअामा हर्षका अाँसु चुवाएर अंकमाल गर्न थाले । मलाई भने पछाडि बसेर हेरिरहन मन लाग्यो र सोच्न मन लाग्यो उसको जिन्दगीको अतीत। (फेसबुकको कथा ग्रुपबाट साभार)
(तपाईँसित पनि यस्तै कथा, लघुकथा छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा)
सालोक्य जी हामीले ( मैले ) माइ संसारको लागि कथा पठाउन मिल्छ कि नाइँ मिल्छ भने प्रक्रिया के होला यस्सो कष्ठ गरि दिए कसो होला ??
राम्रो लेखाई, उदाहरनिय महिला आवाज
Keti ko Thau ma keta bhayeko bhaye aaja ramro hunthyo