Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : अन्तरज्वाला

Posted on July 1, 2017 by mysansar

-माया ठकुरी-

माघ महिनाको पारिलो घामपटि ढाड फर्काएर सोफामा बसेर पत्रिका पढ्दै सीडिमा गीत सुनीरहेकी छन् सुर्दशना ।
उनको अढाइ तल्ले घरमा भएका सबै कोठाहरुमध्ये यही बैठक कोठा नै उनको प्रिय बनेको छ ।

ठूला ठूला झ्याल भएको बैठक कोठामा व्यवस्थित ढंगले सजाएर राखिएको गमलाका फूल, आतेसखानामाथि राखिएका तस्विीरहरु, तैलचित्र र दराजभरिका पुस्तक आदिले गर्दा बैठक कोठाको शोभा बढेको छ ।

बीच बीचमा उनी पढ्दै गरे्को पत्रिका बन्द गरेर मन्द गतिले हावामा तैरँदै गरेको गजलको कर्णप्रिय धून र त्यसमा अन्तरनिहित मर्मस्पर्शी भावमय शव्दहरुमा समाहित भएर आत्मलीन हुने गर्छिन् ।

उमेरका हिसाबले प्रौढताको प्रारम्भिक खुडकिलो उक्लँदै गरेको भए पनि उनको सुन्दरता र देहको आकर्षणमा कुनै खास प्रभाव परेको छैन ।

समाजमा मान, सम्मान, धनसम्पत्ति, सन्तान सुख सबै प्राप्त भएको भए पनि उनी आफुलाई कतै कतै अपुरो अनुभव गर्छिन् ।

मनिसहरुको स्वभाव नैै त्यस्तो होला सायद…! वर्तमानसँग बाहाँ जोर्दै भविष्यको कन्दरातिर पाइला चालिरहँदा बिगतको स्मृतिले पनि उसलाई हरपल पछ्याइरहेको हुन्छ । उसले चाहेर पनि आफ्नो विगतको स्मृतिलाई पन्छाउन सक्दैन । यस्तै भएको छ सुदर्शनाको जीवनमा पनि ।

आजको जीवनसँग रमाएर बाँच्न चाहन्छिन् उनी तर उनको विगतको एउटा महत्वपूर्ण कालखण्ड बारम्बार सजीव भएर आई उनको एकल तन्द्रालाई खल्बल्याउँदै उनलाई अशान्त तुल्याउँछ ।
“मम्मी ! अब अर्काे वर्ष त तपाइँ पनि जागिरबाट निबृत भएपछि उतै क्यानडा जानुपर्छ । हामीसँग बस्न । यहाँ तपाइँ एक्लै बसेको हामीलाई मन परेको छैन । दादाले पनि ममीलाई उतै लाने भन्नु भएको छ ।”

नेपाल आएको बेला पटक पटक भन्ने गरेकी छ प्राचीले ।

“अब यो उमेरमा आफ्नो देश, आफन्त, इष्टमित्र, साथीसँगी सबैलाई छोडेर त्यो पराई देशमा कसरी जीवन बिताउन सकँला र ? मलाई त आफ्नै देश र माटोको सुगन्ध मन पर्छ ।”
छोरीको कुरा सुनेपछि भन्ने गछिन् सुदर्शना ।

“त्यसो भनेर हुन्छ त । हामी त्यति टाढा छौँ तपाइँ यहाँ एक्लै…।” आमाले दिएको उत्तरबाट दःुखी हुँदै भन्छे प्राची ।

“अबको समयमा संसारको कुनै पनि ठाउँ एक अर्काबाट टाढा छैन । हामीले चाह्यौँ भने भेटघाट भइरहन्छ र तिमीहरु सुख शान्तिपूर्वक बस यही छ मेरो आर्शीवाद ।” सुदर्शना भन्छिन् ।
मनिसको जीवनमा प्रतक्ष र अप्रतक्ष रुपमा जोडिएका समबन्धहरु मध्ये कतिपय यस्ता पनि हुन्छन् जसले उसको मानसपटलमा जीवनपर्यन्त अमिट छाप छाडेका हन्छन् । सुदर्शनाको जीवनमा पनि एउटा अप्रतक्ष अनुभूतिको कारणले गर्दा उनलाई अहिलेसम्म पनि गहिरो पीडाको अनुभूति भइरहेको छ ।

0000
सुदर्शनाले आफ्नो यौवनको प्रथम चरणमा आफ्नै सहपाठी अपूर्वलाई मनप्राणले चाहेकी थिइन । उनीहरु कलेजदेखि विश्व विद्यालयको प्राङगण सम्म पुग्दा पनि अपूर्वप्रतिको सुदर्शनाको एकतर्फी प्रेममा कुनै प्रकारको कमी आएको थिएन ।

त्यसताका हिजोआजको जस्तो युवा युवतीको सम्बन्धलाई लिएर परिवार र समाजको दृष्टिकोण त्यति उदार र खुला थिएन । त्यसकारण पनि कतिपय युवायुवतीमा एकअर्काप्रति प्रेमभाव भएपनि उनीहरुको हृदयमा टुसाएको प्रेमको आँकुरो सामाजिक र पारिवारिक बन्धनको कारणले गर्दा मौलाउन र हुर्कन नपाउँदै त्यसै ओइलाएर समाप्त हुने गर्थे ।

सुदर्शना अपूर्वलाई हृदयदेखिनै प्रेम गर्थिन । त्यही प्रेमको कारण उनी आफ्नो मनको भावना पत्रको माध्यमबाट व्यक्त गर्थिन् ।

त्यसरी उनले कैयौँ पत्र लेखेकी थिइन् अपूर्वलाई सम्बोधन गरेर । तर ती पत्रहरु कहिल्यै पनि अपूर्वको हातसम्म पुगेनन् । किनभने उनी आफूले लेखेको ती प्रेम पत्रहरु धूजाधूजा पारेर आफैं च्यात्ने गर्थिन् ।

त्यसताका सुदर्शनाको मोहनी रुप देखेर उनको प्रेम पाउनका निम्ति आतुर युवाहरुले उनको आँखा छलेर उनका पुस्तक र कपी भित्र प्रेमपत्र राखिदिन्थे तर अपूर्वलाई मनमनै मन पराउने भएकोले सुदर्शनाले अरुपटि कहिल्यै ध्यान दिइनन् ।

“हामीलाई अँग्रेजी पढाउने वेदान्त सरले पनि सुदर्शनालई निकै मन पराएजस्तोे छ हेै साथीहरु । क्लासमा बस्दा यसो याद गर त, सरका आँखा जतिबेला पनि सुदर्शनाकै वरिपरि घुमिराखेका हुन्छन् । हामीतिर त एकचोटी पनि फर्कँदैनन् ।” एकदिन विस्वविद्यालयको चमेनागृहमा वाँच छ वटी छात्राहरु बसेर चिया पिउँदै गरेको बेला समिधाले हाँस्दै भनेकी थिई ।

“छ्या कस्तो नचाहिँदो कुरा गरेकी ….। मलाई यस्तो कुरा मन पर्दैन ।” समीधाको कुरा सुनेर किंचित रोष प्रकट गरेकी थिई सुदर्शनाले ।

अँग्रेजी विषयका प्राध्यापक वेदान्त आफ्नो आकर्षक व्यक्तित्वका र कलाात्मक शिक्षण विधिका कारण विद्यार्थीहरुका माझ निकै लोकप्रिय थिए । कहिलेकाहिँ वेदान्त सर विद्यार्थीहरुलाई पनि
अंग्रेजी कविताका पङ्तिहरु सस्वर पाठ गर्न लगाउँथे । त्यस्तो क्षणमा जब अपूर्व आफ्नो दृढ एवं शान्त स्वरमा कविता पाठ गर्न थाल्थे तब सुदर्शना भित्र भित्र रोमाञ्चित हुने गर्थिन् ।
समय आफ्नै रीत अनुसार पंख फिँजाएर उडिरह्यो ।

विश्वविद्यालयको अन्तिम परीक्षा सिद्धिएपछि सबै विद्यार्थीहरु मिलेर बिदाई समारोह आयोजना गरेका थिए ।

त्यस दिन बिद्यार्थीहरुका तर्फबाट बोल्नेहरुमा समीधा र अपूर्व चुनिएका थिए ।

अरुबेला कुरैपिच्छे ठट्टा गरेर बोल्ने स्वभाव भएकी चंचल समीधा त्यसदिन बिदाई समारोहमा बोल्दाबोल्दै बीचबीचमा रोकिएर हत्केलाले आँसु पुच्छन लाग्थी । त्यस्तै अपूर्व पनि आफ्नो मन्तव्य राख्ने क्रममा बीचबीचमा अडिँदै भावविह्वल स्वरमा बोलेका थिए ।

त्यसदिन बिदाइपछि सुदर्शना र अपूर्वको भेट भएन । बरु समीधासँग अचानक एक दिन एयरपोर्टमा सुदर्शनाको भेट भएको थियो । त्यसबेला उनी आफ्ना पति भास्करराजसँग पी.एच.डी.गर्नका लागि जापान जान लागेकी थिइन् ।

त्यसपछि समयको गतिसँगसँगै पाइला चाल्दै आफूलाई अघि बढाउँदै गरेकी सदशर्नाको हृदयमा अपर्वको स्मृति धमिल हँदै गइरहेको भएपनि कहिलेकाहिँ अचानक कनै दृष्य अथवा प्रसंगले बिजली चम्केसरह अपूर्वको स्मृतिले उनको मनमष्तिष्कलाई व्याकल तल्याउँथ्यो । भास्करराजसँग विवाह भएको छ वर्ष भित्रमा सुदर्शना दुई सन्तानकी आमा भएकी थिइन् ।

विवाह पस्चात पतिको साहचर्यमा बिताएको सखद दाम्पत्य जीवनमा अपूर्वको स्मृतिलाई अनावृत गरेर पतिको हृदयमा अनावश्यक रुपले सन्देहको बीजारोपण गर्न चाहिनन् सदर्शनालेपनि । आफ्नो पारिवारिक जीवनमा एउटी मायालु, कर्तव्यपरायण,स्वावलम्बी पत्नी र आमा हुनको अर्थलाई सार्थक तुल्याएकी थिइन् उनले ।

समय बितिरह्यो आफ्नो धीर गतिमा । सुदर्शना व्यस्त रहिन् आफ्नै परिवेशमा । उच्च शिक्षाका लागि विदेशिएका उनका दुई सन्तान् आदित्य र प्राचीले उतै रमाएर बस्ने निर्णय गरेका थिए ।
सन्तानले गरेको निर्णयमा कुनैे प्रकारको व्यवधान् उत्पन्न गर्न चाहिनन् सुदर्शनाले ।

“तपाइँ नेपालमा एक्लै बसेको मन परेको छैेन मलाई ।” आदित्य बेला बेलामा भनिरहन्छ ।

“तिमीहरु मेरो पीर नगर । यहाँ म एक्ली छैन । माथिल्लो तलामा कृष्टि बस्छे । धेरै वर्ष हामीसँगै बसेको भएर होला, ऊ मेरी अन्तरंग मित्र बनेकी छ । दुःख र विरामी परेका बेला हामी एकअर्काका सहायक भएका छौँ । घर धन्दा सघाउनका लागि कमला छँदै छिन् । तिमीहरु व्यर्थमा मेरो पीर गर्छाै ” सुदर्शना छोराछोरलिाई भन्ने गर्छिन्।

“मुमा ! रातिको लागि खाना पकाएर राखिदिउँ है ? सुदर्शनाको तन्द्रालाई एकाएक भंग गर्दै बैठक कोठाभित्र पसेर सोधेकी हुन्छे कमलाले । “ए…के भन्यौ ? आफ्नो सोचाइको तानाबानालाई सँभाल्ने प्रयत्न गर्दै बोलेकी थिईन सुदर्शना ।

“अरु घर धन्दा त सबै सकेंँ । अब रातिको लागि खाना पकाएर राखिछोडँ कि भनेर सोधेकी…।” कमलाले फेरि भनी ।

“पर्दैन ! पर्दैन । आज भरेको खाना कृष्टिले बाहिरबाटै लिएर आउँछु भनेकी छ । काम सकियो भने तिमी गए हुन्छ ।” सुदर्शनाले भनेकी थिइन ।

कमला गएपछि सुदर्शना तल गएर फाटक र घरको मुल ढोका बन्द गरिन् । अनि सिँढी उकलेर माथि आउँदै गरेको बेला उनले बैठक कोठमाा फोनको घन्टी बजेको सुनिन् । कोठाभित्र पसेर उनले फोन उठाइन् ।

“हेलो ममी..।” उताबाट प्राची बोलेकी थिई ।

“अँ…भन् । म कमला गएपछि ढोका बन्द गर्न तल गएकी थिएँ, त्यही भएर घण्टीको आवाज…।”

“म त यत्तिका बेला सम्म घण्टी बज्दा पनि फोन नउठेपछि कतै तपाइँलाई नै सन्चो भएन कि भनेर डर लागेको थियो ।” सुदर्शनाको कुरा नटुगिँदै प्राची बोलेकी थिई ।

“होइन, होइन, ढमलाई केही भएको छैन । तिमीहरुलाई कस्तो छ ? मेरी नातिनीलाई कस्तो छ ? सुदर्शनाले सोधेकी थिइन् ।”

“हामी सबैलाई ठीकै छ ममी..। हाम्रो पीर नगर्नुहोला । मैले तपाइँलाई एउटा नयाँ खबर सुनाउन फोन गरेकी ।”

“नयाँ खबर..? के तिमी फेरी …?” सुदर्शनाले शंका व्यक्त गरिन् ।

“होइन, होइन । अहिले त म अर्काे बच्चा जन्माउने कुरा सोच्नै सक्दिन । प्राचीले उत्तर दिएकी थिई । मैले सुनाउने खबर अर्कै छ ।

हिजो हामी एउटा पार्टीमा गएका थियौँ । त्यहाँ अमेरिकाबाट क्यानडा डुल्न आएकी महिलासँग भेट भयो । उनीहरुसँग कुरा गर्दै जाँदा उनी त तपाइँकी कलेजदेखिकी साथी हनुहुँदोरहेछ । उनले तपाइँहरुको कलेज र युनिभर्सिटि लाइफबारे मसँग धेरै कुरा गरिन् । कति फ्र्यांक रहिछन् समीधा आन्टी त…। मलाइँ त एकदमै मन परिन् ।” एकै सासमा धेरै कुरा भन्न भ्याएकी थिइ प्राचीले ।

“अनि तिमीले उसको फोन नम्बर लिइनौ त ?” अधीर भएर प्रश्न गरेकी थिइन् सुदर्शनाले ।

“आन्टीले तपाइँको फोन नम्बर लिएकी छन् । भरे भोलि फोन गर्छीन होला ।” प्राचीले भनेकी थिई ।

त्यसपछि केहीबेर सम्म प्राची र सुदर्शनाको कुराकानी भएका थिए । त्यसदिन् बिगतमा समीधा र आफसँग जोडिएका अनेकौँ दृष्यहरु सुदर्शनाका आँखाअघि नाचिरहे ।

अर्काे दिनको कुरो हो, सुदर्शना विश्वविद्यालयबाट फर्केपछि कमला पनि घर धन्दा सिध्याएर गइसकेकी थिइ । कृष्टि पनि कामबाट फर्केकी थिइन । बैठक कोठामा बसेर सुदर्शना पुस्तक पढिरहेकी थिइन्, त्यत्तिकैमा फोनको घण्टी बज्यो ।

“हेलो…म समीधा बोल्दैछु । उताबाट नारी स्वरले भन्यो ।

समीधा..। ओहो..। यत्तिका वर्षपछि तिम्रो स्वर सुनेर अति खुशी लाग्यो । यत्तिका दिन उत्साहित हुँदै प्रफुल्लित स्वरमा बोलेकी थिइन् सुदर्शना ।

“खोई,कहाँ थिएँ भनुँ ? बिहे भएपछि कहिले क्यानडा त कहिले अमेरिकामा हँँुदै समय बितेको छ । अस्ति तिम्री छोरी प्राचीसँग भेट भएको थियो । उ त ठ्याककै तिम्रो प्रतिमूर्ति लागी
मलाई त । ओहो ! कति चाँढो बुढ्यौलीले छोएछ हामीलाई हगि ?” समीधाले भनेकी थिई ।

“हो समीधा ! समय कसरी यति चाँढै बितिसकेछ पत्तै भएन । आज यतिका वर्षपछि तिम्रो स्वर सुन्न पाउँदा मैले बितेका दिनहरु झलझली सम्झिएँ । कस्ती भएकी छ्यौ होला तिमी..। हाम्रा अरु साथीहरु पनि कस्ता भएका होलान्..। भन न,अरु कोसँग सम्पर्क छ ? तिम्रो ?” सुदर्शनाले सोधेकी थिइन् ।

“मैले अमेरिकामा अपूर्वलाई भेटेकी थिएँ, तीन वर्ष पहिले ।” दबेको स्वरमा बोलेकी थिई समीधा ।

“अपूर्व…? तिमीले उसलाई भेटेकी थियौ ? ऊ त्यहाँ के गर्दै छ ? उसको परिवार पनि त्यहाँ छ ?” मनभित्र उठेका उद्भावनाहरुलाई संयत गर्ने प्रयाश गर्दै प्रश्न गरेकी थिइन् सुदर्शनाले ।
उसको पहिलो विवाह धेरै दिन टिकेनछ । अमेरिकामा आएपछि धेरै वर्षसम्म उसले एक्लो जीवन बिताएको रहेछ । त्यसपछि उसले फेरि एउटी बिदेशी आइमाईसँग सहजीवन बिताउन थालेको रहेछ । तीन वर्ष अघि एक दिन अचानक एउटा सपिङमलमा उसँग मेरो भेट भयो । त्यसपछि हाम्रो परिवारसँग उसको निकै हिमचिम बढ्यो । उसको मृदु व्यवहारको कारणले गर्दा ऊ हाम्रो परिवारको आत्मीय मित्र बनेको थियो ।” समीधाले अपूर्वका बारेमा भनी ।

“अनि उसले कहिल्यै हाम्रो सम्झना गरेन ?” सुदर्शनाले व्यग्र भएर सोधेकी थिईन ।

“गर्थ्यो ..। ऊ सबै साथीहरुको विषयमा कुरा गर्थ्यो। विशेष गरेर ऊ तिमीलाई धेरै समझन्थ्यो ।” समीधाले भनेकी थिई ।

“मलाई..? मलाई विशेष..??”

“हो सुदर्शना ! ऊ तिमीलाई हरपल सम्झिरहन्थ्यो । यो कुरो उसले स्वयम् मलाई भनेको हो ।” सुदर्शनाको कुरालाई बीचमेै काटेर भनेकी थिई समीधाले ।

“हरपल मलाई सम्झिन्थ्यो.. मलाई त विस्स्वास नै लागेन ।” बढ्दै गरेको मुटुको ढुकढुकीलाई वशमा राख्ने प्रयाश गर्दै बोलेकी थिइन् सुदर्शना ..।

“तिमी विस्वाश गर या नगर सुदर्शना ..! अपूर्व तिमीलाई हृदयदेखि नै प्रेम गथ्र्याे । तर तिम्रो वैभवशाली खानदानको अघि उसले आफू लाई तिमी योग्य सम्झेन । त्यसैले उसले तिमी प्रतिको प्रेमलाई आफँैमा सीमित राख्यो ।” समीधाले भनेकी थिई ।

“मलाई अझै पनि बिश्वास लागेको छैन…।”

थरथराउँदो स्वरमा बोलेकी थिइन् सुदर्शना ।

“मलाई पनि सबै कुरा कहाँ थाहा थियो र सुदर्शना..,तर आजभन्दा दुई वर्ष अघि एकदिन आफ्नो हृदयको कुरा मेरो अगाडि व्यक्त गर्दै उसले तिमीलाई मनमनै प्रेम गरेको कुरा स्वीकारेको थियो ।

बिचरा.. अपूर्व..।!बउसलाई सम्झनासाथ मलाई उसको पीडाजनक सम्झनाले पिरोल्न थाल्छ । जीवनभर ऊ मानसिक शान्ति प्राप्त गर्न भौँतारिरह्यो ।” व्यथित स्वरमा बोलेकी थिई समीधा ।

“अनि अहिले ऊ कहाँ छ त ? तिमीले उसको स्थितिलाई पीडाजनक किन भनेको ? खुलस्त भन न समीधा ?” अुननय गर्दै बोलेकी थिइन् सुदर्शना ।

“ऊ अहिले यो संसारमा छैन सुदर्शना..। ऊ हामीबाट सदाको निम्ति टाढिएर गइसक्यो । ब्रेन ट्युमरले एक वर्षअघि उसको ज्यान लियो ।” अबरुद्ध कण्ठले बोलेकी थिई समीधा ।
समीधाको मुखबाट अपूर्वको देहावसान भएको समाचारले स्तव्ध भएकी सुदर्शनाले फोनको स्विच अफ गरिन् र दुवै हत्केलाले आफ्नो अनुहार छोपेर भक्कानिदै यसरी रोइन् यसरी रोइन्,जसरी वषौँ पहिले भाष्कर राजको मृत्यु हुँदा उनी रोएकी थिइन् ।।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme