– कमला बुढाथोकी सरुप –
हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ । यसरी आज ६,७ वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो । हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ । तर यतिखेर उसले समाजलाई बिर्सेको छ र निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको छ ।
‘जीवन यति छोटो छ कि धेरै ठाउँमा घुम्न पनि यति छोटो जीवन र समय पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरामा नै मैले विश्वास गर्न सकिरहेको छैनँ । तर जे भए पनि तिमीलाई म माया गर्छु, मन पराउँछु त्यसैले हामी टाढा घुम्न जाने है ! तिमीसँग धेरै कहिल्यै नसकिने कुरा गर्नु छ । मलाई त मृत्युकै जस्तो आभास पो भएको छ ।’ उसको आँखामा अव्यक्त पीडा थियो त्यो मैले नदेखेरै महसुस गरेकी थिएँ । हाम्रो सम्बन्ध सधैँ जीवित रहनुपर्छ जस्तोसुकै अवस्थामा पनि सम्बन्ध बाँच्नुपर्छ ।
उसले कुराकानी सुरु गर्यो । म भने गम्भीर भएँ । ‘म गम्भीर मान्छेलाई मन पराउँदिनँ, मान्छेले खुसी हुन जान्नुपर्छ । गम्भीर मान्छेहरूका विचार र उनीहरूसँगको सम्बन्धले चिसोपनमात्रै बढाउँछ, मैले सोचेको कुरा पनि यही नै हो ।’ ऊ लगातार बोलिरहेको छ र म सुनिरहेकी छु । मेरो गम्भीरतालाई उसले त्यति महत्त्व दिएको जस्तो मैले महसुस गरिनँ । मैले भनेँ ‘म देश र घर सम्झेर रोइरहेकी छु । मलाई थाहा छ कति एक्लोपन हुँदो रहेछ घर र देशबाट टाढा बिरानो ठाउँमा आउँदा। ‘एकताका म पनि गम्भीर थिएँ तिमी जस्तै, तर आज म खुसी छु किनभने मैले बाँच्न सिकेको छु ।’ उसले सान्त्वना दिन खोज्यो । मेरो कुरा सुनेर उसले त्यति ध्यान दिएजस्तो लागेन ।
साँझको लगभग ६ बजेको छ । डुङ्गाभित्र हामीहरू कतै पूर्वको सहरमा जान तम्तयार भएका छौं । डुङ्गाभित्र मान्छेहरूको भीड बढेको छ । मान्छेहरू नाचिरहेका छन्, यस्तो लाग्छ यो उनीहरूको खुसियालीको समय हो । मैले कल्पना पनि गरेकी थिइनँ मानिसहरू यति धेरै खुसी प्राप्त गर्न सक्छन् । झमक्क साँझ पर्न लागेर पनि होला परपर देखिने सानातिना डुङ्गाहरू सँगसँगै बगिरहेका छन् । ठूलाठूला घरहरू, र दक्षिणपट्टिको हरियो ठूलो चौर पूर्वपश्चिम फर्किएको मोनुमेन्टका दरबारले मन्त्रमुग्ध बनाएको छ । मैले भनेँ ‘जीवनमा बाँच्न सिक्नु भनेको सायद सबै भन्दा कठिन काम हो । गम्भीरता त क्षणिक हुन्छ जस्तै खुसीहरू सधैँ टिक्दैनन् । तर बाँच्ने कला भनेको अत्यन्तै गाह्रो कुरा हो । मान्छे सजिलै बाँच्न सक्दैन ।’ मैले एकैसासमा भनेँ र उसलाई हेरेँ ऊ हातमा पुराना किताबहरू पल्टाएर पढ्न व्यस्त देखिन्छ । ‘तिमीले जीवनमा कसैलाई प्रेम गरेकी थियौ ?’ उसको अप्रत्याशित प्रश्नले म झस्किएँ । मैले भनेँ ‘गरेकी थिएँ । तर त्यो प्रेम मैले सोचेको जस्तो आदर्श प्रेम थिएन । पानीको फोकाजस्तो क्षणिक थियो । त्यो एक पीडादायक र सम्झन नसकिने प्रेम थियो । त्यो पूर्णतः पीडादायी थियो । म यतिखेर के पनि सोचिरहेकी छु भने मेरो प्रेमको त्यो उच्चताले किन जीवनको त्यो गरिमालाई छुन सकेन, मैले भनेँ र ऊ फिस्स हाँस्यो ‘तनावमा बाँच्नु व्यर्थको कुरा हो भन्ने मलाई लाग्दछ । मान्छेमा तनाव भएमा उसले आफ्नो असीम शान्तिलाई गुमाउँछ र त्यो बाँच्नका लागि खतरनाक हुन्छ ।’ उसले सम्झाउन खोज्यो । अनि फेरि भन्यो ‘पैसा कमाउनुपर्छ, अभावले दिने पीडा जीवनमा झन् निर्रथक र खतरनाक हुन्छ।’ म पनि हाँसेँ ।
सडकमा मोटरहरूको लस्कर लागेको थियो । मान्छेहरूको भीड नजानिँदो किसिमले बढेको थियो । हामी बसेको डुङ्गा यतिखेर सडकछेउमा बगिरहेको थियो। ‘सायद यो व्यस्त सडकमा मान्छेहरूलाई बिस्तारै हिँड्ने पनि फुर्सद छैन । मान्छे बेफुर्सदी भएको नै राम्रो हुन्छ किनभने मान्छेको लागि त्यो ठूलो महत्त्वपूर्ण कुरा पनि हुन्छ ।’ उसले नै प्रश्नको जबाफ दियो र बिस्तारै भन्यो, गम्भीर हुनु र नहुनु जीवनमा त्यति महत्त्वपूर्ण कुरा हैन । तर जीवनमा महत्त्वपूर्ण कुरा हो – जीवनलाई बाँच्न सिक्नु । धेरै मान्छेले बाँच्न सिकेका छैनन् त्यसैले अल्मलिएका छन्, दुःखी छन् र हतास छन् । मलाई यस कुराले खुसी बनायो कि कमसे कम मेरो साथीले बाँच्न सिकेको छ । पक्कै पनि तिमी व्यावहारिक हुनुपर्छ र साथै भावुक पनि । सायद तिमी पनि साहित्य मनपराउँदछौ होला हैन त ? मैले एकैसासमा सबै कुरा सिध्याएँ । मलाई उसको गम्भीरता र गम्भीरताप्रतिको उसको टिप्पणी महत्त्वपूर्ण लागेको थियो ।
उसले हाँस्दै भन्यो – ‘म अरूको सम्मान गर्नुपर्छ भन्ने पक्षको मान्छे हुँ । मलाई एउटै सिद्धान्त थाहा छ – जसले अर्काको सम्मान गर्छ त्यसले धेरै मात्रामा बाँच्न सिकेको हुन्छ । तनावमा रहनु या जीवनदेखि अल्मलिनु भनेको जीवनलाई दुःखी बनाउनु हो । जहाँसम्म भावुकताको कुरा छ – भावुक भएर पैसा बन्दैन, पैसा बनाउन मिहिनेत गर्नुपर्छ । तर म सम्वेदनशील भने पक्कै छु ।’
मलाई उसको कुरा मन पर्यो। ‘हेर, सडकमा मोटरहरूको जाम लागेको छ ।’ उसले सडक देखायो । डुङ्गा यतिखेर सडक छेउबाट बगिरहेको छ ।’ मानिसहरू हतारमा छन् । दिनभरिको कामको थकाइ मेट्न र आफ्नो परिवारसँग भेट्न कति आतुर भएर मानिसहरू आफ्नो घरतिर लागिरहेका छन् । आखिर हरेक मान्छेलाई मान्छेको आवश्यकता छ । कोही पनि एक्लै बस्न मन पराउँदैनन् । सबै मानिस मायामा बाँच्न मन पराउँछन् ।’ उसले मेरो देब्रे हात समात्दै भन्यो । ‘ तिमीले ठीकै भन्यौ – मान्छे सधैँ माया खोज्छ । तर मसँग एउटा गम्भीर प्रश्न छ – यदि माया गर्छौ तर बदलामा अपमान पाउँछौ भने के गर्ने ?’ मैले अनाहकमा उसलाई प्रश्न गरेँ । उसले भन्यो- ‘हामीले सधैँ एउटा कुरा के बिर्सन हुँदैन भने सबै असल मान्छेहरूले असल मित्रता पाउँदैनन् यदि तिमी तिम्रो मित्रताबाट अपमान पाउँछौ भने तिमीले त्यो मित्रतालाई जीवनमा त्यति महत्त्व दिनु हुँदैन । एउटा सत्य मैले सिकेको छु अन्त्यमा असल मान्छेले सधैं असल मान्छेलाई नै आफ्नो जीवनको नजीक पाउँछ ।’
उसको अनुहार चम्केको छ यतिखेर । ‘म पनि तिमीजस्तै धेरै मान्छेलाई विश्वास गर्ने मान्छे हुँ । तर विगत केही वर्षदेखि म काममा कति धेरै व्यस्त भएँ भने आफ्ना साथीहरूलाई सम्झन समय पनि भएन । अहिले म एक्लै धेरै खुसी छु र यो खुसी स्थायी होस् भन्ने मेरो कामना छ ।’ मैले पनि जबाफ दिएँ – ‘ मलाई तिम्रो कुरामा सत्यता छ जस्तो लाग्यो ।’
‘हामी डुङ्गा चढेको एक घण्टा भइसक्यो हैन त ? म तिम्रो केही फोटोहरू खिच्न चाहन्छु ।’ उसले अनुमति माग्यो । मैले सहमतिमा टाउको हल्लाएँ । यतिखेर उसको हातको क्यामेरा मेरो फोटो खिच्न व्यस्त भएको छ । म भने उसको क्यामेराभित्र कैद भावुक भएकी छु । समुद्रबीचमा थुप्रै मान्छेहरूको भीडबाट छुट्टै बसेर आज हामीले जीवनलाई सम्झेका छौँ ।
आफ्नो विचार पोख्नु. त्यसमा पनि यति स्वतन्त्रताका साथ, कति आनन्ददायक हुन्छ मैले अनुभव गरेकी छु । यो अनुभवले मलाई खुसी दिएको छ । खुसीलाई एकैसाथ अनुभव गर्नु कति आनन्ददायक हुन्छ मलाई थाहा छ ।
यतिखेर मलाई मृत्यु र जीवनका बारेमा सोच्न मन छैन । मात्र जीवनको र मायाको बारेमा सोच्ने मन छ । जीवन एउटा लामो यात्रा हो र कहिल्यै नसिद्धिने यात्रा हो भनेर म कविता कोर्न चाहन्छु । कविता यस्तो होस् गुलाफको फूल जस्तो, सधैँ घरअगाडिको आँगनमा रोपेर मग्न भइरहने । माया गुलाफको फूलजस्तै चहकिलो हुनुपर्छ – मेरो पहिल्यैदेखिको मान्यता हो यो । ऊ मेरा फोटोहरू खिचिरहेको छ र म विभिन्न मुद्रामा आफूलाई उसको क्यामेराभित्र कैद गराउने कोसिस गरिरहेकी छु ।
‘अब एकैछिनपछि हाम्रो यात्रा सिद्धिनेछ ।’ उसले मुख अँध्यारो पार्यो । ‘आखिर हरेक कुराको सुरुवात भएपछि अन्त्य हुन्छ भन्ने मान्यता सबैलाई थाहा भएकै कुरा हो ।’ मैले प्याच्च बोलें । “तर जे भए पनि हामी फेरि भेट्नुपर्छ । हरेक दिन भेट्नुपर्छ । जीवनको अन्त्य नभएसम्म हाम्रा मनहरूले एउटा निश्चितताको रेखाङ्कन गर्नुपर्छ जुन स्वीकार्य पनि हुन्छ । आखिर मृत्यु निश्चित छ र जीवन भनेको सहज बाँच्नु पनि हो ।” उसले भन्यो । म भने अब एकछिनपछि फेरि हाम्रो भेट हुने छैन भन्ने सम्झेर दुःखी भइरहेँ । आखिर परदेशमै भेटेको भए पनि ऊ मेरो जीवनका लागि यति महत्त्वपूर्ण होला भन्ने त मैले सोचेकी पनि थिइनँ । (साहित्य सरितामा प्रकाशित यो कथा मझेरीबाट साभार गरिएको हो। तपाईँ पनि आफ्ना कथा, लघुकथा प्रकाशन गर्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा)
कथाको भाषा शैलीमा झर्रो नेपालीपन छैन, अनुदित हो?