Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डा. गोविन्द केसी असोज ३ गतेदेखि फेरि अनसन बस्ने

Posted on September 10, 2016 by mysansar

drkcस्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि निरन्तर संघर्ष गर्ने क्रममा पछिल्लो पटक आमरण अनसन लगायतको आन्दोलन नेपाल सरकारसँग भएका चार बुँदामा टुंगिएको विदितै छ । त्यस क्रममा चिकित्सा शिक्षा ऐनको विधेयकमा हामीले सुझाव दिएका विभिन्न बुँदाहरु संलग्न गरेर संसदको यसै अधिवेशनबाट पास गराउने समझदारी भएको थियो । सो ऐन पारित भएर कार्यान्वयन नहुँदासम्म कुनै पनि नयाँ मेडिकल शिक्षण संस्था खोल्न नदिने समझदारी यसअघि नै पटकपटक राज्यले हामीसित गरिसकेको छ । मेडिकल शिक्षाको क्षेत्रमा समेत नाजायज हस्तक्षेप र व्यापारिक स्वार्थमा लिप्त भएका अख्तियार प्रमुख लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि महाभियोगको विषय पनि संसदमार्फत अघि बढाउने प्रतिबद्धता राजनीतिक दलका नेताहरुले दिएका थिए । अनसनको चरण सकिए पनि त्यस यता सम्झौता कार्यान्वयन गर्न हामी खाएरै निरन्तर लागी परेका छौं र त्यस क्रममा प्रधानमन्त्रीलगायत जिम्मेवार पदाधिकारीहरुलाई विभिन्न चरणमा भेटेर दबाद दिइरहेका छौं ।

तर यसैबीच पछिल्लो सम्झौता तथा त्यसअघिका सम्झौता र प्रतिबद्धताहरु कुल्चँदै मेडिकल माफियाको स्वार्थ पूर्ति गर्ने गरी विभिन्न चलखेलहरु भएको र त्यसमा राज्यकै विभिन्न जिम्मेवार पक्षहरु सक्रिय भएको भन्ने समाचारहरु आइरहेका छन् । नयाँ ऐन नआउन्जेल थप मेडिकल कलेजलाई सम्बन्धन नदिने सम्झौता विपरीत एउटा मेडिकल कलेजलाई सम्बन्धन दिलाउन चलखेल भएको मात्र हैन माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेज नखोल्ने भनेर राज्यले स्वीकारिसकेको मान्यतालाई कुल्चेर एउटा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिलाउन अहिले चलखेल भइरहेको अवस्था छ । उता लोकमानविरुद्ध दर्जनौं प्रमाणसहित भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेको फेहरिस्त हस्तान्तरण गर्दा समेत संसदले महाभियोग त के सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नसमेत सकेको छैन । वरिष्ठताका आधारमा तत्काल हुनुपर्ने आइओएमको डिन नियुक्ति महिनौंदेखि हुन सकेको छैन । चिकित्सा शिक्षा ऐन संसदमा अहिलेसम्म अघि बढ्न सकेको छैन । अघिल्लो साल आइओएमले काउन्सेलिङ गरेर मेरिटमा विद्यार्थी भर्ना गरेकोमा यसपल्ट मेडिकल माफियाको मिलेमतोमा काउन्सेलिङ नै रोक्ने र पहिले झैं मोलमोलाइको भरमा विद्यार्थी भर्ना गर्ने षड्यन्त्र भइरहेको छ ।

यस्तो परिस्थितिमा हामीले थप कदम नचाल्ने हो भने पछिल्लोपटक भएको सम्झौता कार्यान्वयन नहुने मात्र नभई चिकित्सा शिक्षा ऐन ल्याउने काम पर सारेर यस अघि भएका विभिन्न सहमति र सम्झौताहरु समेत उल्टिने र आम मानिस र विद्यार्थीको हितको सट्टा मुठ्ठीभर व्यक्तिहरुको स्वार्थका लागि विभिन्न कदमहरु चालिने अवस्था आएको छ र त्यसका प्रारम्भिक कामहरु अहिले नै भइसकेका छन् । त्यस्ता विभिन्न षड्यन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौताहरु अविलम्ब इमान्दारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई हामीले यसै विज्ञप्तिमार्फत आगामी असोज २ गतेसम्मको अल्टिमेटम दिन चाहन्छौं । अहिले भइरहेका सबै चलखेल रोकेर हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्ने तथा लोकमान सिंह कार्की र राजनारायण पाठकमाथि महाभियोगको प्रक्रिया अघि बढाउने लगायत पछिल्लो सम्झौताको सबै बुँदाहरु अक्षरशः कार्यान्वयन नगरिएमा यही असोज ३ गतेदेखि पुनः आमरण अनशन बस्ने कुरा पनि म घोषणा गर्दछु । त्यसबाट उत्पन्न हुन सक्ने असहज अवस्थाका लागि राज्य जिम्मेवार हुनेछ । साथै विगतका सबै चरणहरुमा झैं यसपल्ट पनि यो अभियानलाई समाजका सबै हिस्साबाट सहभागिता, सहयोग, सद्भाव र समर्थन प्राप्त हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौं
मितिः २०७३।५।२५

2 thoughts on “डा. गोविन्द केसी असोज ३ गतेदेखि फेरि अनसन बस्ने”

  1. Ekraj says:
    September 11, 2016 at 9:55 am

    नेपालमा जरैबाट मास्न पर्ने बेक्ती र समूह हरुले राज्य को हरेक कानुन को मर्यादा पालना गराउनु पर्ने पदमा बशेर सर्बलूत र कानुन को धोज्जे उधाई राखेको छन् | लोकमान सिङ्ग माओबादी, कांग्रेस, एमालेका लुटेरा हरुले नेपालमा विधिको बिधान चल्न कहिलेइ पनि दिदैनन| यो लूट नै इनिहरुको राजनैतिक आदर्श र दैनिकी को| त्यो लूट को अग्र पन्गती मा रहेका मधेसी हरु पनि तेसैको को लागि मारी मेटेका छन् र कुएको हड्डीको लुछाचुडी हामी जनताले देखि राखेका छम|

    Reply
  2. Shankar says:
    September 10, 2016 at 6:19 pm

    कुरा गर्यो भने खालि भारतीय लाइ गाली गर्यो भन्छन कोइ कोइ , न भए यो देश को कर्मचारी तन्त्र , राजनीति सब भारतीय हस्तछेप ले तहस नहस बनाएको छ | सी आइ ये , युरोपियन युनियन आदि ले मरिच मान , बिरेन्द्र जस्ता लाइ यो देश मा टिक्न दिएनन् , गिरिजा र प्रचण्ड , ब्स्स्बुराम , उपेन्द्र यादब , अमरेश सिङ्ग , माकुने जस्ता इन्डियन खुफिया हरु देश मा हिरो भए | अनि कार्की जस्तालाई कसले कारबाही गर्ने ? खासै भन्ने हो भने देश को कानुन ले बहुबिबाह मान्दैन , प्रचण्ड पुत्रलाई कानुन लेछुन्छा ? छुदैन |
    संयुक्त रास्ट्र संघ मा नेपाल भनेको भारत को स्टेट जस्तो मात्र हो सदस्यता दिन पुनर्विचार गरियोस भन्ने बि पी महामानव अरे |
    बास्तब मा चिनिया जासुसी संस्था ले पनि नेपाल मा येस्ता इन्डियन खुफिया लाइ टार्जेट बनाउने बेला आइसकेको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme