Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपल्लो हुम्लाको सुन्दरता १४ फोटोमा

Posted on September 9, 2016 by mysansar

– राजु आचार्य –

photo-14नेपाल सरकारले सदरमुकाममा अझै बाटो पुर्‍याउन सकेको छैन। महिलाहरुको अवस्थाको बारेमा झन् बयान गरी साध्य छैन। हुम्ला धेरै कुरामा पछि परेको छ।  मानव सूचकांकमा पनि पछि नै छ। तर विकासमा भर्खरै बामे सर्दै गरेको उपल्लो हुम्लाको सुन्दरता बयान गरी साध्य छैन। जैविक विविधतामा धनी मानिन्छ। उपल्लो हुम्लाको लिमि उपत्यकासम्मको यात्राले सम्भावना मात्रै देखाउँछ। प्रकृति र संस्कृतिमा आधारित पर्यटन, जडिबुटी , विद्युत उत्पादन, चीनसँगको व्यापार ती मध्यका केही हुन्।  आउनुस् लिमिसम्मको यात्राको केही झलक फोटोमा हेरौं।

कसरी पुग्ने ?

काठमाण्डौबाट बसमा (१ रात) वा हवाईजहाजमा (करिब १ घण्टा) नेपालगन्ज पुग्न सक्छौं । नेपालगन्ज वा सुर्खेतबाट हवाईजहाजमा हुम्लाको सदरमुकाम सिमिकोट ४०-५५ मिनेटमा पुग्न सकिन्छ ।  यो नेपालको सबै भन्दा उचाइमा रहेको सदरमुकाम पनि हो (२९०० मीटर) । पैदल यात्रा मनपराउनेहरु मुगुको सदरमुकाम गमगढीसम्म गाडीमा गएर थप ४-५ दिनमा सिमिकोट पुग्न सक्छन्  । यस दौरान ३५०० मीटर उचाइको चम्खेली लेक काट्नु पर्दछ ।

सिमिकोटदेखि पैदल यात्रामा ५-७  दिनमा लिमि गाविस पुगिन्छ ।  यस दौरान ४६०० मीटरको नारा भन्ज्यांग वा न्यालु भन्ज्यांग (५००० मीटर) प्रयोग गर्नु पर्ने हुन्छ । न्यालु भन्ज्यांगबाट जाँदा २ दिन सम्मको बाटो छोटीन्छ ।  हिल्सा र न्यालु भन्ज्यांगबाट  नजिकको बस्ति पुग्न बिचमा बास बस्नै पर्छ ।  स्लीपिंग ब्याग, म्याट्रेस र केहि खाने कुरा सधै साथमा राख्नु होला । समुहमा यात्रा गर्दा सहज हुन्छ । सदरमुकाम देखि ३-४ दिन सम्म मोबाइलले काम गरिरहन्छ ।

के हेर्न ?

कर्णालीको  तिरबाट शुरु भएको यात्रामा  ढुंगाले बनेका माटोका छाना भएका घरहरु देख्न सकिन्छ । तल्लो भेगमा सल्लाका वनहरु  देखिन्छन्  भने माथि जाँदै गर्दा उजाड चिसा पठारहरु । तिब्बतसंग मिल्ने संस्कृति यो क्षेत्रको विशेषतानै हो ।  बहुपति प्रथा माथिल्लो भेगमा सामान्य मानिन्छ ।  पुराना गुम्बाहरु पनि गाउँ पिच्छेनै दर्शन गर्न सकिन्छ । ब्वाँसो र हिउँ चितुवाका पाइलाहरु संगै हिड्न पाउनुको रमाइलो नै बेग्लै  ।  बिशाल पहाडहरुको  भूबनोटल भूगोलका बिद्यार्थीलाई मोहनी लगाउछ । ११५ थरि भन्दा बढी चराहरुको चिचिर बिचिरले नेपाल चीन सीमाको हिल्सा पुग्दा रमाइलो नै बेग्लै । नेपालमा बन चौरीगाई पाउने एक मात्र ठाउं लिमि पुग्ने बेलासम्म तपाईंले अर्कोपटक आउने बाचा गरि सक्नु हुन्छ ।

कति खर्च लाग्छ ?

हवाईजहाजमा काठमाडौँ देखि सिमिकोटसम्म (यती तथा तारा एयरको कनेक्टिक उडान) एकतर्फी भाडा कम्तिमा १६५०० र फर्कंदा ९९६० लाग्छ । जहाजमा पनि दुइ दिन नै लाग्छ । काठमाडौँबाट बसमा नेपालगन्ज गएर पनि फेरी हवाईजहाजमा सिमिकोट पुग्न सक्छौं । नेपालगन्ज होटेलमा बासको लागि कम्तिमा ७५० र खानाको लागि ५०० खर्च लाग्छ । सिमिकोटमा दैनिक करिब १५०० ले खान बस्न पुग्छ । जति माथिलाग्यो तेती नै सस्तो हुँदै जान्छ (हिल्सा बाहेक) । माथितिर दैनिक १००० जति हुँदा खान बस्न पुग्छ ।

सम्भावित यात्रा तालिका (१९ दिन)

काठमाडौँबाट नेपालगन्ज (हवाईजहाज वा बस), नेपालगन्जबाट सिमिकोट (हवाईजहाज), सिमिकोटबाट धारापुरी, धारापुरीबाट केर्मी, केर्मीबाट याल्बांग, याल्बांगबाट यारी, यारिबाट हिल्सा (४६०० मीटर अग्लो भन्ज्यांग) , हिल्साबाट  मानेपेमे (गुफामा बस्ने, तर हिड्न सक्नेहरु हिल्साबाट १२ घन्टामा तिल गाउँ सम्म पुग्न सक्छन), मानेपेमेबाट तिल, तिलबाट हाल्जी, हाल्जीबाट जांग, जांगबाट तुम्लिंग , तुम्लिंगबाट तलुंग खोला (गोठको बास), तलुंग बाट छुन्ग्सा (लामोबाटो र ५००० मीटरको भन्ज्यांग),  छुन्ग्साबाट ओखरथला, ओखरथलाबाट धारापुरी , धारापुरीबाट सिमिकोट, सिमिकोटबाट नेपालगन्ज, नेपालगन्जबाट काठमाडौँ) ।

तयारी के गर्नु पर्ला

केहि औषधिहरु झोलामा अवस्य राख्नु होला । कालो चस्मा र टोपी नभई हुँदैन । पानीको बोत्तल, चिपिस्टिक, निविया क्रिम र फेश मास्क पनि हालौ । लेकको यात्रा गर्नु भएको छैन भने लेक लाग्न सक्छ । बैशाख देखि भाद्रसम्म यात्रा गर्दा सहज हुनेछ । यात्रा अबधिभर धुम्रपान र मध्यपान नगरेकै राम्रो।

photo-1
हुम्लाको सदरमुकाम । एअरपोर्ट नजिकै रहेको ‘सिम’ क्षेत्र र डाँडामा रहेको  ‘कोट’ को  कारणले यसको नाम सिमिकोट रहेको स्थानीय बिस्वाश गर्छन्।

photo-2
कर्णालीको तिर र सल्लाको वन । जडिबुटी र अन्य बनस्पतिको लागि पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ ।

photo-3
नेपाल चीनको सिमानामा रहेको हिल्सा । तस्वीरको दायाँ पट्टी चीन पर्दछ जसमा कालोपत्रे सडक, प्रहरीको भवन  देख्न सकिन्छ । नेपाल पट्टी बाटो निर्माणको क्रममा रहको छ । यहि बाटो हुँदै हजारौं भारतीयहरु कैलाश मानसरोवर जाने गर्छन्।

photo-4
हिल्सा नजिकैको भिर हुँदै स्थानियहरु लिमि उपत्यकातर्फ जाँदै।

photo-5
‘अमोगा तितु’ नामको सुन्दर चरा । यस क्षेत्रमा विश्वमै दुर्लब मानिएका चराहरुको अभिलेख गरिएको छ ।

photo-6
फ्याउ मुसा , उच्च हिमाली पठारहरुमा हिउँ चितुवा, हिमाली रातो भालु  र ब्वाँसोको आहारा ।

photo-7
हिल्सा पुगेर खाद्यान्न लगायत सामानहरु बोकेर बझांग जाँदै महिलाहरु । कुनै बेला घुमेर जीवन बिताउने यिनीहरु घर र जग्गा हुँदैनथ्यो। यिनलाई गाउँ पुग्न कम्तिमा ११ दिन लाग्छ ।

photo-8
तुम्लिंगबाट स्याउ बेचेर न्यालु भन्ज्यांग हुँदै सेडा गाउँसम्म जान लागेका स्थानीयहरू गाडीमा ।

photo-9
घ्याउ खोला र सक्या खोला, जसको माथिल्लो भागमा नेपालमा पहिलो पटक बन चौरीगाई फेलापरेको थियो ।

photo-10 लिमि गाबिसको तिल गाउँ । १२०० बर्ग किलोमीटरको यो गाविसमा तिन गाउँमागरि  जम्मा १८० घरधुरी बसोबास गर्छन ।

photo-11 स्थानीय गोठ । यहि गोठ भित्र जीवन बिताउने परिवारहरु पनि छन्  ।

photo-12 तिल गाउँका महिलाहरु उन काट्दै ।

photo-13
छुन्ग्सा नजिकै रहेको झरना । तुम्लिंग बाट न्यालु भन्ज्यांग काटेपछि पहिलो बास नजिकै भेटिन्छ , यो झरना ।

photo-14 ङीन खोला नजिकै थकाई मार्दै आन्तरिक पर्यटकहरु । लुकेको उपत्यका नामले परिचित यो क्षेत्र पछिल्लो समयमा पर्यटकहरुको गन्तब्य बनेको छ ।

8 thoughts on “उपल्लो हुम्लाको सुन्दरता १४ फोटोमा”

  1. बाबु लामा says:
    September 16, 2016 at 8:38 am

    राम्रो जानकारी र राम्रा फोटोहरु ….फोटो सहितका यात्रा सस्मरण लाई नियमित बनाउनु होला

    Reply
  2. pawan says:
    September 15, 2016 at 8:26 am

    सारै राम्रो

    Reply
  3. santosh says:
    September 12, 2016 at 10:31 am

    wow nic साह्रै राम्रो लाग्यो….

    Reply
  4. राज says:
    September 11, 2016 at 11:08 am

    एकदम जानकारीमुलक लेखाई , माइसंसार ले येसरी नै आन्तरिक गन्तब्य हरुको प्रशय गर्ने गरि नया नया ठाउको जानकारी हरु दिने गरेमा आन्तरिक पर्यटन को बढावा हुने थियो

    Reply
  5. दिवाकर says:
    September 10, 2016 at 6:37 am

    सारै राम्रो !! येसरी घुम्ने सम्बन्धि महत्वपूर्ण कुरा लेख्नुभएको मा धन्यबाद !!

    Reply
  6. सिर्जने says:
    September 9, 2016 at 10:27 pm

    नारायण वाग्लेको कफी गफ भन्दा नितान्त भिन्न, पढ्दा अल्छी नलाग्ने!

    Reply
  7. सिर्जने says:
    September 9, 2016 at 10:20 pm

    राम्रो प्रस्ट लेखाइ अनि जानकारीमुलक! लेखकलाइ धन्यबाद/

    Reply
  8. Prem says:
    September 9, 2016 at 8:12 pm

    Excellent piece! मनै लोभ्याउने ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme