Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : नाटककी परी

Posted on August 6, 2016 by mysansar

saturday-fiction साथीले रातको ११ बजे फोन गर्दै भन्यो, “तपाइँ निदाइ सक्नु भएको? भोलि के गर्ने हो? काम छ? नत्र म तपाईंलाई नाटक हेर्न लैजान्छु।”

नाटक यो शब्दमा नै कृत्रिम भाव छ जस्तो लाग्छ मलाई। कस्तो नाटक गर्न जानेको ? कस्तो नाटक जस्तो ? कस्तो नौटन्की ? खैर जे होस् मैले साथीसँग नाटक हेर्न जाने प्रतिवद्धता जनाए। धेरै सुनिरहेको छु, आजकाल सिनेमा हलमा लाग्ने भन्दा पनि स्तरीय नाटकहरु नाटक घरमा मन्चन हुन्छन्। अनि धेरै जना नाटक भनेपछि आजकाल मरिमेट्छन।

घडीमा साढे चार बजेछ, हामी नाटक घरमा पुगिसकेका थियौँ। नाटक सुरु भयो, साँच्चै नाटक हेर्न लायक थियो। कलाकारहरुको अभिनय साँच्चै जीवन्त थियो। हामीले दैनिक जीवनमा प्रयोग गर्ने बोली व्यवहार दुरुस्त अनि कथा पनि। नाटकको अन्तले झनै आँखा नै रसायो। हामीभन्दा पछाडिका केही महिला समूहहरु समवेदनाका बाँधहरु फुटेर होला घुँक्कघुँक्क नै गर्दै थिए। म भने छोरा मान्छे नै परे, मन छोयो, आँखा रसायो। तर रोइनँ, बरु, धत्त! भनेर मुस्कुराए।

woman-507204_640

बाटोमा मैले साथीलाई सोधे अब अर्को कथा चाँही कहिले लाग्छ?

म अब अर्को कथा पनि नछुटाउने भएँ। कान्तिपुरका मध्यपृष्ठलाई पल्ट्याउने र नाटकको बारे केही लेखिएका छन् भने पूरै पढ्ने भए। अर्को हप्ता अर्को कथा सुरु कहिले हुन्छ? म भौतारिन थाले। अरु हप्ता नयाँ कथा सुरु हुने बितिकै साथीलाई फोन गरे र भने, “नयाँ नाटक सुरु भइसक्यो। के छ विचार जाने होइन त?”

हामी नयाँ नाटक हेर्न पनि सँगै गयौँ। अरुलाई चुरोटको लत लाग्छ, रक्सीको लत लाग्छ, लागू औषध अन्यको लत लाग्छ तर मलाई नाटकको लत लाग्यो। यो कस्तो लत ? एउटै नाटक मैले दोहोर्‍याएर समेत हेरे।

मेरो नाटकप्रतिको मोह त्यति झन् बढ्यो जतिबेला मैले एउटा नाटकीलाई देखेँ। म पानी खाने सोचमा जार राखिएको नजिक पुगेँ जहाँ बोत्तलमा पानी भर्दै गरेकी एउटी केटी थिई। मैले सोधेँ,” यो खान मिल्ने हो?”

मैले उसले भरिराखेको पानी खाने निहुँ गरे, “हुन न त नहुने हो।”

उसले भन्दै गर्दा मैले बोतल समाइसकेको थिएँ र मैले उस्को कुरा नै नसुनी पानी खाएँ र बोतल राख्दिँदै उसको आँखामा हेरेर भने,” तिर्खा लाग्यो, पानी खाएँ, मैले के बिराएँ?”

उसको ओठमा मुस्कान आयो। उस्ले हाँस्दै भनी, ‘त्यसपछि चाँही गीत आउँदैन कि के हो?”

“आउन त आउँछ तर गाउन मिल्ला र ?” मेरो जवाफमा उस्ले केही बोलिन र हाँस्दै भित्र गई।

नाटक सुरु भयो। मलाई थाहा छ ऊ पनि त्यो नाटकको कलाकार हो तर मलाई लाइट र त्यो नाटकको रोल अनुसारको पहिरनले मैले छुट्ट्याउनै सकिनँ। बल्ल बल्ल मान्छे चिनेँ, उस्को आँखा मतिर पर्ला भनेर धेरै पल्ट आश गरेँ तर उसले मलाई त्यो भीडमा देख्दै देखिन। बस मैले देखे उस्ले गरेका नाटकहरु।

नाटक सकिएपछि साथीलाई भनेर धेरै बेर कुरेर बसेँ। खै किन हो, नबोले पनि हेर्न र हेरेर मात्र जान मन लाग्यो।

त्यस पछाडिका नाटक शृङ्खलाहरुमा मेरो खोजी नाटकको कथाभन्दा पनि परको नाटकको त्यही पात्रको हुन थाल्यो। कहिलेकाही अरु नै समूहको नाटक मन्चन हुन्थ्यो। तब उस्लाई देख्न अर्को शृङ्खला कुर्नु पर्थ्यो। नाटकै नाटकको शहरमा म फरक नाटक हेर्दै थिएँ।

मेरो जीवनमा अरु उतारचढावहरु आउन थाले र मैले नाटक हेर्न जान बन्द गरेँ। तर नाटकप्रतिको मेरो मोह र ऊप्रतिको त्यो चाह भने कम भएको थिएन। यसै बीचमा मैले उस्लाई मुस्किलले फेसबुकमा जोडिसकेको थिएँ र हामी सामान्य हाइ, हेल्लो मात्र गर्थ्यौ। उसको फेसबुक पाउन मैले धेरै संघर्ष गरे। तर पनि हामी बीच सामान्य कुरा मात्र हुन्थ्यो।

एकचोटी उसले सोधी,” तपाईं के गर्नु हुन्छ ?”

“म केही गर्दिनँ। नाटक हेर्छु अनि कहिलेकाहीँ मन लाग्यो भने लेखहरु लेख्छु, कथाहरु लेख्छु।”

शायद धेरै बेर कुरा गरेको भनेको त्यति होला बस सन्चो बिसन्चो बाहेक।

म एकदिन टेम्पोमा यात्रा गर्दै थिएँ। हुनत म टेम्पो कम नै चढ्छु वा भनौ विरलै चढ्छु। तर त्यस दिन मलाई टेम्पो चढ्न मन लाग्यो। म टेम्पो चढेँ। टेम्पो चल्न सुरु गर्‍यो तर एक्छिन मै रोकियो र एक जना परिचित अनुहार टेम्पोमा चढिन्। त्यही अनुहार, नाटककी परी, तर ऊसँग एउटा केटा पनि सँगै थियो। सँगै चढ्यो र मेरो विपरीत सिटमा दुबै जना बसे। रिसाएको अनुहार जस्तो लाग्थ्यो। हाँसो थिएन उनको अनि केटाको पनि।

मैले आफ्नो जुत्तामा हेरेँ। हैट साउनको महिनामा परेको पानी र त्यसले बनाएको हिलो रंग भर्खर लडिबुडी गरेर खेलेर आएको। मैले ऊतिर हेर्न सकिरहेको थिइनँ। एक्कासी उस्ले मेरो नाम लिएर कराउँदै भनी,” ओेई तिमी यहाँ कसरी ? व्हाट अ को इन्सिडेण्ट यार।”

उसले मलाई मेरो हालखबर सोधी, मैले उस्को सोधेँ र नाटकको बारेमा सोधे,” के हुँदैछ त ?”

उसले सबै ठीक छ भनी। अनि भनी अस्ति तिमी त बोल्दै नबोली हिंड्यौ त?

फिस्स हासेँ, र भनेँ, “को म ?”

“अनि को त ? तिम्रो भूत ? हाहा”

मैले उसको केटा साथीलाई हेरेँ, ऊ पीरो अनुहार लगाउदै परपर हेरिरहेको थियो।

उस्ले अझै भन्दै गई,”मलाई किन कल नगरेको?”

म अचम्ममा परेँ। मसँग उस्को नम्बर नै कहाँ छ र?

म हाँसे मात्र। “तिमी त फेसबुकमा नि बिन्दास कुरा नगरी बस्छौ ? मेरो अस्तिको कुराले रिसाको ? ल हुन्छ नि त म तिमीसँग पर्सि घुम्न जान्छु। तर मलाई चाँडै फर्किनु छ नि! ओके भए डन गरेँ !”

यो केटीले मलाई अर्कै केटा भन्ठानी कि के हो? म आँफै आश्चर्य र अचम्ममा परेँ।

यतिकैमा टेम्पो रोकियो र त्यो केटा केही नबोली झर्‍यो र पैसा दिएर हेर्दै नहेरी लम्कियो।

टेम्पोभित्रै पनि एक प्रकारको सन्नाटा थियो। मैले उसलाई सोधेँ, ” को हो ऊ?”

उस्ले भनी, मेरो साथी!

टेम्पो चलेको केही समय मात्र भएको थियो, उस्ले टेम्पो रोकी र केही नबोली झरेर गई।

म झन चकित परेँ। सोच्न बाध्य भएँ। घर पुगेर फेसबुक खोलेँ, “हाइ” लेखेर पठाएँ, उ अन्लाइन आइन, पर्खेँ। कुरेँ। ल्यापटप खोलेँ, बन्द गरेँ, खोलेँ फेरि बन्द गरेँ। फेसबुक लगइन गरेँ त कहिले लग आउट गरेँ। उस्को प्रोफाइल हेरेँ। हरेक पोष्टहरु कन्ठ भए। ऊ अनलाइन आइन। दिउँसोको कुरा सम्झेँ। बस टोलाएर बसेँ, किन हो कुन्नि त्यस्तो ब्यवहार गरेको।

झुपुक्क निदाएछु।

राति बिउँझिएँ र फेसबुक खोलेँ र फेरि हाई लेखेर पठाएँ।

यतिबेला उसलाई पठाएको मेसेज ऊ कहाँ पुग्न सक्दैन भन्यो। प्रोफाइल चेक गरेँ, ऊ त मेरो पहुँच भन्दा टाढा भइछ। उस्ले मलाई अनफ्रेन्ड गरिछ।
मेरो छटपटीमै रात बित्यो। म भोलिपल्ट एक्लै रंगमन्च पुगेँ। ऊ त्यहाँ थिइन। एक्लै नाटक हेरेँ। नाटकको बीचमा कतै उनी आउँछिन कि भनी खोज्दाखोज्दै नाटक सकियो।

एकदिन साथीसँग त्यही ठाउँमा नाटक हेर्न गएँ। अब नाटक मेरो लत भन्दा पनि बहाना बन्न पुगेको थियो। मैले उसलाई देखेँ। उसले मलाई देखी तर उस्का नजरले मलाई नदेखे झै गरे।

मैले नाटक भरी उस्लाई हेरेँ। तर उस्ले मलाई देख्दै देखिनँ। नाटक सकियो। सबै आ-आफ्नो गन्तब्य तिर लागे। मेरो नजरले उस्लाई खोज्यो। मात्र सोध्न चाहन्थे “किन ?’

केही समय पछाडि मलाई आफैले आफैलाई चित्त बुझाउने एउटा बाटो पाएँ र सोचे “ऊ त नाटक गर्ने मान्छे न हो।”

1 thought on “कथा : नाटककी परी”

  1. Rajesh Parajuli says:
    August 6, 2016 at 1:42 pm

    अत्यन्तै घत लाग्दो कथा । “ऊ त नाटक गर्ने मान्छे न हो।”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme