-कात्यायन-
एकदिन अड्डामा :
– ‘तपाईंहरू बीचको मतान्तर के हो ?’
– ‘केही छैन |’ – ऊ भन्छ |
– ‘वहाँ असन्तुलित हुनुहुन्छ |’ – ऊनी भन्छिन् |
– ‘के कुरामा ?’ – सम्बन्धित अधिकारी प्रश्न गर्छन् उनीलाई |
– ‘सम्पूर्ण रूपले |’
– ‘खराब आचरण छ ?’
– ‘थाहा छैन |’
– ‘हिम्सा आदि गर्नुहुन्छ ?’
– ‘गर्नुहुन्न |’
– ‘माया गर्नुहुन्न ?’
– ‘गर्नखोज्नुहुन्छ |’
– ‘समस्या के छ त श्रीमानमा ?’
– ‘विचलन |’
– ‘मैले त खासै समस्या देखिन | घर गएर फेरि ठण्डा मनले सल्लाहा गरेर आउनुहोला | जिन्दगीको सवाल छ | पारपाचुके गरिहाल्नु ठिक हैन |’
***
घरमा :
– ‘हैन किन बुझ्दिनौ ? म तिमीलाई माया गर्दिन ?’
– ‘खण्डित मायाको अर्थ छैन |’
– ‘तिमी विदेशमा सम्पर्कविहिन थियौ | परवशताले विवाह गरें | तिमीलाई अंगाल्नुभन्दा पहिले नै छोड-पत्र पनि त गरिसकें |’
– ‘सम्बन्ध त तोडिएको छैन नि ! मायाको अंश त बाँडिएकै छ नि ! अर्को परिवारको बारेमा म अनभिज्ञ थिएँ |’
– ‘तिमी शिक्षित छौ | उनीहरू पनि त मेरो जिम्मेवारी हो ?’
– ‘ऊनी पनि त विभाजित हुन चाहंदिनन् होला नि ! आफ्नो जिम्मेवारी निर्धक्क वहन गर्नुहोस् | मलाई नि छोड-पत्र दिनुहोस् | मेरो जिम्मेवारीबाट मुक्त गर्छु !’
– ‘यो विदेशी पढाईको प्रभाव हो !’
***
अर्कोदिन अड्डामा :
– ‘कुरा मिल्यो ?’
– ‘मान्दिनन् |’
– ‘रिक्तता ठूलो छ श्रीमान !’
– ‘कस्तो रिक्तता ?’
– ‘स्खलित |’
– ‘मतलब ?’
– ‘माया अधकल्चो ! आवेग अपूर्ण !’
– ‘झगडा छैन | श्रीमान माया गर्छन् | छोड-पत्रको औचित्य के हो ?’
– ‘सायद हजुर बुझ्नुहुन्न नारी-हृदय ! पूर्णरूपेण: समर्पित हुनु र टुक्राएर माया दिनुमा र टुक्राएर लिनुमा ! संसार भुलेर समाहित हुनु र जिम्मेवारी-बोधले अधमरो बनाउनुमा ! पूर्व-स्खलितहरूको स्खलनमा पूर्ण-आवेग हुनै सक्दैन | सम्बन्ध सम्झौता मात्र हैन | यो मेरो अन्तिम निर्णय हो |’ (लघुकथा कुनोबाट)
मैले त छेउ-टुप्पो केहि पनि बुझिन(“सायद हजुर बुझ्नुहुन्न नारी-हृदय !……” कथाकार ले माथि भने जस्तै ) तर मलाई विश्वास छ कि लेखक कात्यायन ले यो कथा को अर्थ पूर्ण रुप मा बुझ्नुभा छ र अरु लै पनि बुझाउन सक्नुहुन्छ |…..आम पाठक ले बुझ्ने कथा पढ्न मात्रै मज्जा आउने हो कि कुन्नि…………
विक्की देव