— मुरलीधर काफ्ले/दिल्ली —
कुनै जमानाका काठमाडौं महानगरका गन्यमान्य नगरपिता पीएल सिंह अहिले दिल्ली बाराखम्बा रोडको नेपाली दुतावास परिसरमा अचम्मैको हतारमाझ भेटिन्छन्।
कहिले फूलको गमला यताबाट उता सार्दै, कहिले दुतावासका स्थानीय कर्मचारीसँग हँसीमजाक गर्दै पीएल दिन बिताइरहेका भेटिन्छन्। “ओ पासा, मेरो कुकरको सिटी बिग्रेको छ। बनाएर ल्याऊ त…”,उनी हतारमै कसैलाई अह्राइरहेका पनि हुन्छन्।
खासमा पीएल दिल्ली किन अडिएका हुन्, कसैलाई पत्तो छैन। यहाँसम्म कि उनैलाई पनि थाहा छैन।
गत प्रजातन्त्र दिवस अर्थात फागुन ७ को पूर्वसन्ध्यामा दिल्ली उत्रिएका सिंह धेरैजसो दिल्ली दुतावासका पाहुना छन्, बाँकी समय शान्तिबाटिका वा अन्यत्र भेटिन्छन्। स्वास्थ्य जाँचपड्तालका लागि उनी दिल्लीमा अडिएको भन्ने हो भने पीएलकै शब्दमा ‘डाइग्नोसिस गर्दा पनि शरीरमा कुनै रोगबेथा भेटिएको छैन।’
नेपालीमा एउटा कहावत छ— जोगीका घरमा सन्यासी पाहुना।
आफैं दूतावासको आश्रयस्थलमा आड लिएर बसिरहेका पीएलका सामु जो बातचित गर्न आइपुग्छ, उनी भनिहाल्छन्—“आज यतै बसौं। म पकाएर ख्वाउँछु, नेवारी स्वाद पासा नेवारी…”
नभन्दै दुतावासले दिएको एउटा कोठामा आफ्नै स्वादको चिया, खसीको मासु वा फरक स्वादका खानपिन पकाइरहन्छन्, पीएल दा। एउटा कोठा जहाँ उनी ४ महिनादेखि बसेका छन् र, जहाँ भित्तामा वा टेबलमा पीएल दा’कै हँसमुख मुद्राका तस्वीर राखिएका छन्। लाग्छ, यो उनको पुस्तैनी आरामीकक्ष हो।
दुतावासको आश्रय कोठामा पुग्ने जोकोहीलाई काठमाडौंको बिशेष पुष्टकारी र चिया (वा बियर) सर्भ गरिहाल्छन्, पिएल दा । अस्ति काठमाडौंबाट दिल्ली आउँदा १०/१२ केजी त पुष्टकारी नै ल्याएका थिए रे।
७५ वर्षे उमेरमा पनि पीएलले देखाउने शारीरिक तुजुक उस्तै छ— काम र गफ दुबैको तुजुक। पत्रकार, लेखक, राजनीतिज्ञ वा जोकोही सामुमा पर्नासाथ पीएल दा थालिहाल्छन्— राजनीतिक इतिहास र वितृष्णाको कथा सुनाउन। उनी अहिलेको गणतन्त्र, संविधानसभा वा लोकतन्त्रकै पक्षधर होइनन् कि जस्तै लाग्छ।
फाटफुट पत्रिकामा लेखेको कुरा उक्काउँदै उनी भनिरहेका हुन्छन्—“यदि बाक्लो भयावह जंगलको बीचमा हामी हरायौं भने सुरक्षित अवतरणका लागि जुन बिन्दू या ठाउँबाट हामी हराएका थियौं, त्यहीं पुग्ने प्रयास गर्नुपर्छ। २०४७ सालको संविधान त्याग्नु हाम्रो विचलनतर्फको यात्राको प्रारम्भ थियो। अरु बाटोतिर लाग्नु भयावह र थप अराजकता निम्त्याउनु सरह हुनेछ। त्यसैले सबैभन्दा पहिले त्यहींँ पुग्नुपर्छ, त्यही संविधानलाई पुर्नस्थापित गर्नुपर्छ।”
तर, त्यही प्रजातन्त्र पुर्नस्थापना पछिको बहुदलीय उपलब्धिमा सन् १९९२ मा उनी स्वयम् काठमाडौं महानगरका निर्वाचित मेयर भएका थिए भनेर उनले निराशा र वितृष्णाका कुरा गरिरहेका बेला सम्झाइदिनु पर्ने हुन्छ।
पीएल माओवादी र कम्युनिष्ट उग्रजनका निम्ति सँधै विरोधी रहे। “कस्तो बिडम्बना ! साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको विरोधका नाममा जन्मिएको रक्तक्रान्ति तिनै शक्तिको पृष्ठपोषणका लागि रचिएको पो रहेछ”,फेरि पत्रिकाको अर्को चिकर्टो निकाल्दै पीएल सुनाउँछन्।
नेपाली कांग्रेसमा नीति, सिद्धान्त र आदर्श नरहेको भन्दै त्यत्तिकै विरक्तिनेहरुको संख्या पनि उत्तिकै छ। अहिले चाक्सीबारी वा कोइराला कोटरीभन्दा देउवा मोर्चामा कांग्रेस तानिएको क्षणले पीएललाई झनै पिरोलेको हो कि जस्तो लाग्छ। न सुनिदिने कोही छ, न बोलिदिने। बरु दिल्लीमा आएका बेला ‘यु क्यान विन’ पुस्तक र अभियानका अगुवा शिव खेराको संगतमा पीएल लागेका छन्। “अब नेपाल लैजान्छु खेरालाई, प्रवचन कार्यक्रममा”,अर्को भेटमा उनले खुस्काइहाले।
लौ यति कुरा त भयो। तर, यी कांग्रेसका अविवाहित पूर्वयोद्धा पीएल सिंह दिल्लीमा किन बसिरहेका हुन्, कुनै खोज पत्रकारले पनि पहिल्याउन सकेको छैन। एकदिन नेपाल टेलिभिजनका पत्रकार (पीएलका निकटस्थ समेत) किरण चित्रकारलाई दुतावासका बरिष्ठ कुटनीतिक अधिकारीले फोनमा भन्दै थिए—“लौ न, पीएल दा’लाई कसरी हुन्छ, काठमाडौं लैजानुपर्यो ।”
किरणको आवाज पनि प्रस्टै सुनियो, हेन्ड्सफ्री–लेन्डलाइनमा—‘म त सक्दिन बा !’
यो संवाद चलिरहेका पीएल दा भने दुतावास आँगनको गुलाबको फूल वल्लो कुनाबाट पल्लोतिर सार्दै थिए ।
राजाको पालाँ राजदुतावास दरवारियाको गेस्ट हाउस थियो भने राजदुत गेस्ट हाउस किपर थिए|
अहिले आएर पलिटिसियनहरुको गेस्ट हाउस हुन् थालेको छ| घोक्रेठ्यांक लाएर ससम्मान निकाल्न पर्यो पीएल दाईलाई| यस्ता कर्तुतहरुको खुलासा गर्दै जानपर्छ| भारतका राजदुतावासमा मात्र होइन अरु ठाउँमा पनि त्यस्तै भैरहेछ| राजदुतावास आनेजाने र चिनेजानेकाहरुका लागि राजनीति, बेपार र स्वास्थ्य भ्रमण गर्ने ठाउँ होइन| नत्र भने आम नेपालीलाई पनि खुल्ला गरिदिन परो|