– ईशा शाह –
घरमा श्रीमती हिजोआज मेरो वास्ता नगर्ने भएकोले म बाहिर बरालिन थालेको थिएँ । बिस्तारै साथिभाई र चिया पसलबाट शुरु भएको मेरो बरालिने काम बिस्तारै बढ्दै गयो । रोकतोक कतैबाट कसैले गरेन । म बिस्तारै अघि बढ्दै गएँ । बिभिन्न मान्छेसँगको सँगतले मलाई एउटा फुक्काफाल मान्छे बनाई दिएको थियो । पारिवारिक जिम्मेवारी पर कतै छुटेकोले मलाई कुनै बन्धनमा बाँधिने आवश्यक्ता थिएन । यसै क्रममा एउटी युवतीसँग मेरो भेट भयो । मेरो आँखाले मात्रै होईन मनले पनि मन परायो । तर यति बेला सोच्छु मैले शरिरको लागि मात्रै हो कि के हो उसलाई मन पराएको ! मैले मेरो स्वार्थ पुर्तिको लागि मात्रै उसलाई प्रयोग गरें । बदलामा उसले मसँग केही मागिनँ । न मैले उसको अवस्था बुझें न बाध्यता ! मलाई त बस् उसको शरीरसँग मतलब थियो ।
आज धेरै पछि भेट हुँदा ऊ म प्रति उदास देखिई । उसमा आएको परिवर्तनले मलाई अचम्म लाग्यो ।
” सन्चो छैन कि के हो साध्वी ? ”
” विसन्चो भए नि हजुरलाई के हुने हो र ? ”
” के भनेको त्यस्तो ? ”
” ठिक भन्दैछु , यत्रो महिना कता बेपत्ता ? फेरि कुन ईच्छाले आउनुभयो यहाँ ? ”
” तिमीलाई सम्झेर आएको नि ! ”
” कि म जस्तो अरु कोही भेट्टिएन ? ”
” त्यस्तो होइन । ”
” कस्तो हो त ? आफुलाई चाहिने भएपछि मन भित्र राखेर माया गर्न सक्नुपर्छ , मान्छे हुनुको नैतिकता निभाउनुपर्छ । होईन भने आखाँबाट बगेको आँसुले नाता र सम्बन्ध बगाउँछ र कसैको आवश्यक्ता महसुस गरिन्न । ”
” तिमी गलत भन्दैछौ । ”
” म ठिक भन्दैछु , जानुहोस् तँपाईंको सम्पतिमा पालिने श्रीमती र छोराछोरी माथि अधिकार जताउनुहोस् । मलाई तँपाईंको खल्तिको पैसा नठान्नु होस् । जसले तँपाईंको लागि आवश्यक्ता अनुसार न्यानो किन्न सकोस् । ” (लघुकथा कुनोबाट साभार)