Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सावधान, अस्ट्रेलियामा करोडपति सपना बाँडिदैछ, वास्तविकता बुझ्नुहोस्

Posted on April 4, 2016 by mysansar

-मदनमणि अधिकारी-

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई सबै भन्दा चिन्ता हुन्छ, काम अनि पैसाको। ‘कसरी कमाउने पैसा?’, ‘सँधै किचन र क्लिनिङको काम गरेर त सकिन्न’, ‘फिजिकल काम मात्र कति गर्नु?’, ‘कसरी जोड्ने अष्ट्रेलियामा घर?’, ‘खैरेहरू जस्तो ७० वर्षसम्म काम गर्न त सकिन्न?’ यस्तै प्रश्नहरूका बिच यतिखेर अष्ट्रेलियामा नेपाली माझ झाँगिन थालेको छ ‘करोडपति सपना’ र त्यसलाई साकार पार्ने उपाय। अनि हरेक जसो साता नयाँ सदस्यको ‘इन्ट्री’ गराउने अभियान। त्यसका लागी अभियन्ताहरू लागि रहेका छन्, कामबाट फुर्सत पाउने बित्तिकै। आफ्नो चिनजान भएका हरेकलाई फोन गर्न अनि भेट्ने अनुरोध गर्न। अनि सिड्नीको सजिलो करोडपति बन्ने योजना र बाटोबारे चर्चा गर्न। थोरै आर्थीक र धेरै सम्बन्धको लगानीले देखाउने अनन्त सम्वृद्धिको योजना चाहिँ हामी धेरैका लागि परिचिर ‘एमएलएम’ अर्थात ‘मल्टिलेबल मार्केटिंग’ नै हो।

नेपालमा धेरैले धेरै गुमाएको अनि धेरैलाई रुवाएको ‘यूनिटी’, ‘लाइफभिजन इन्टरनेशनल’, ‘गोल्डक्वेष्ट’, ‘हर्बो’को मल्टिलेबल मार्केटिंग (पिरामिड शैलीको मार्केटिंग)को चक्कर अनि ढुकुटीको खेला हावा फुस्केको बेलुन बनेपनि अष्ट्रेलिया आएर अलिकति सेटल भएका नेपालीहरू फेरी बिना कुनै ठूलो परिश्रम करोडपति बन्ने सपनाका साथ नेटवर्क तयार पार्नमा लागेका छन्। जोसँग नेटवर्क र आफन्तलाई हाबा भरेको बेलुन बनाएर सपनाको करोडपति संसारमा पुग्ने योजना छ।

त्यसको लागि पछिल्लो समय नेपालीहरू ‘एमवे’ र ‘एसीएन’मा कस्सिएर लागेका छन्। ‘एमवे’ र ‘एसीएन’मा लाग्ने नेपालीको संख्यामा उल्लेख्य रूपमा विद्यार्थीहरू पनि छन् जो शारिरीक परिश्रम पर्ने कामको बिकल्पमा यो नेटवर्क मार्केटिंगले वार्षिक १ लाख ५० हजार डलर सम्म कमाइने मिठो सपनामा छन्। र त्यसैको चक्करमा ५०० डलर खर्चेर सदस्य बन्दै आफ्नो लगानी उठाउन आफ्ना साथीभाई अनि आफन्तलाई यसमा लगाउन कम्मर कसेर लागेका छन्।

एमवे’को लाईनमा लाग्नेहरूले पैसा कमाउनको लागी ‘एमवे’को सामानहरू बेच्नुपर्छ। ईकमर्श वा प्रोजेक्ट जे भने पनि ‘एमवे’मा लागेको सदस्यले ‘एमवे’को स्टोरबाट सामान आफ्नो रिफरेन्समा अर्को (साथीभाई, आफन्त)लाई किनाउने नै हो। यस्ता सामान ‘एमवे’ भन्दा अर्को स्टोरमा पाईंदैन र ‘उलवर्थ’ ‘अल्दी’ लगायतका स्टोरमा पाइने उस्तै सामान भन्दा महँगा हुन्छन्। जसको बिक्रिको कमिसन पिरामिड शैलीमा बनेका पुराना सदस्य (आइबिओ, वा यस्तै कुनै पद तथा श्रेणी दिएको)हरूलाई तोकिएको प्रतिशतमा मिल्छ। आफुभन्दा तल बनेका सदस्यहरूको कारण भएको बिक्रीको पनि कमिसन आउने भएकाले पछी कुनै समयमा कमिसनको रकम धेरै हुँदै जाने हो। तर त्यसका लागी आफूभन्दा तल बनेका सदस्यले थप सदस्य पनि बनाउँदै जानुपर्छ र तिनले ‘एमवे’को सामान किनेर प्रयोग गर्नपर्छ। यसमा लाग्नको लागी ८५ डलर जति खर्च गरे पुग्छ त्यसको पनि विभिन्न सामान दिन्छन् सदस्य बनाउनेले। यसमा ४०० जति खर्च गर्दा आफुलाई कमिसन १२ डलर जति आउँछ। तर त्यसका लागी ‘एमवे’को टुथपेस्ट देखी ट्वाइलेटपेपर सम्म खरिद गर्नु पर्छ नि। ‘उलवर्थ’ वा ‘कोल्स’ वा ‘अल्दी’मा सस्तो देखेर किन्न थाल्नु भो भने चैं कमिसनको मात्रा नि चट।

‘एमवे’ र ‘एसीएन’ दुवैले ग्राहकसँख्या र सेवा वा सामान बिक्रीको आधारमा कमिसन दिने हुन। पिरामिड शैलीमा एकबाट दुई, दुईबाट चार हुँदै जाँदा सेवा सामान खरिदकर्ता र सदस्यको नेटवर्क ठूलो रूपमा फैलँदै जाँदा तह बढ्ने, कमिसन धेरै हुने हो।

के यो नेटवर्किङ हो?
यो तपाईलाई चिनाउने मानिसले यो दुवैलाई अवसर, बिजनेस वा प्रोजेक्टको रूपमा चिनाउँछन। गुगल गरेर हेर्नुभयो भने ‘एमवे’ र ‘एसीएन’ दुवै मल्टिलेबल मार्केटिंग कम्पनी हुन्। जसले आफ्ना सदस्यहरूलाई थप सदस्य बनाउन र आफुले मार्केटिंग गर्ने सेवा र उत्पादन किनाउन प्रोत्सासित गर्छन्। जुन कुरा सदस्यले आफ्ना साथीभाई आफन्तको नेटवर्क नबनाई र नेटवर्कमा नकिनाई बिजनेस अनि कमिसनको आम्दानी हुँदैन। त्यसमा पनि यसको विस्तार शैली नै पिरामिड छ। एकबाट दुई अनि दुईबाट चार।

नेपालमा त गैरकानुनी थियो त!

मल्टीलेबल मार्केटिंग (एमएलएम) पश्चिमा देशहरूमा कानुनी मात्र होइन राम्रो व्यवसायका रूपमा रहेको छ। मल्टीमिलियन डलर नाफा गर्ने यस्ता कम्पनिको आर्थिक अवस्था नि राम्रै हुन्छ। अष्ट्रेलियामा पनि यी दुवै व्यवसाय कानुनि मान्यता प्राप्त मार्केटिंग कम्पनी हुन। अष्ट्रेलियामा उपभोक्ता अधिकार र सुरक्षा सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था भएकाले यीनमा लाग्न चैं डराउन पर्दैन। त्यसमा पनि दुवै कम्पनी भौतिक रूपमा नै अष्ट्रेलियामा छन्। ‘एसीएन’ले त भोडाफोन, टेलष्ट्रा र एनबीएनको समेत मार्केटिंग गरिरहेको छ। कानुनी र व्यवस्थाको हिसाबमा कुनै शंका छैन, नलिंदा हुन्छ। अष्ट्रेलिया विधिको शासन भएको देश हो।

के सफल भइएला?
शंका गर्न र सोच्न पर्ने कुरा चैं यो हो। एमएलएममा लागेर सफल हुने नहुने भन्ने लाग्ने मानिसमा भर पर्छ। अनि आफ्नो सामाजिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमिमा। तपाईंका साथीभाई नेटवर्कको साथ यसमा कस्तो हुन्छ तपाईको लागी महँगो र निश्चित ब्राण्डको सामान किनिदिन्छन त साथीभाई, आफन्तले। तपाईंको लागी मोबाईल अपरेटर, बिजुलीको रिटेलर अनि ईन्टरनेट सेवामा परिवर्तन गर्नेको संख्या कति हुनसक्छ र कतिलाई तपाईंले कन्भिन्स गर्न सक्नुहुन्छ त्यसमा तपाईंको सफलता निर्भर गर्छ।

मेरो विचार
सुन्दा राम्रो र सजिलै पैसा कमाइने धनी बनिने कुरा कसलाई पो नराम्रो लाग्छ। त्यसमा पनि मानिसहरू सफल भएको सक्सेस स्टोरी जो सुनिएको छ। निजी जहाजै किन्न समेत सफल भएका मानिसहरू छन् यो लाइनमा। तर म आफू चैं यसमा लाग्ने सोचमा छैन। किनभने:

१. ज्याक्की च्यान, आर्नोल्डले हलिउडमा सफलता पाएर नाम, दाम कमाए भनेर त्यसको अनुसरण गर्न जसरी सक्दिन त्यसैगरी ‘एमवे’ र ‘एसीएन’का जहाजै किन्न सफल विलियम वा ज्याकको अनुसरण पनि गर्न सक्दिन। मेरो धरातल उनीहरूको भन्दा फरक छ।

२. म आफू महँगो तथा एउटा कुनै निश्चित ब्राण्ड जिवनभर उपभोग गर्न, किन्न सक्छु भन्ने लाग्दैन र आफन्तबाट पनि त्यसको आशा राख्दिन।

३. सानो तिनो काम गरेर मैले करोडौं कमाउँछु र हलिउड स्टार झैं नीजि जेटमा हिँड्छु भन्ने खालको सपना पनि छैन र वास्तवमा त्यो सम्भव पनि छैन।

४. काम नगरीकन पैसा आउँछ भन्नेमा मलाई विश्वास छैन। बाँचुन्जेल सक्रिय जिवन जिउने सोच र स्कुलिङ छ।

५. आफुले कमिसन पाउने र लेबल बढ्ने भनेर आफन्त र साथीभाईलाई कुनै निश्चित सेवा, सामान लिनको लागी दबाब, कन्भिन्स अनि उत्प्रेरित गर्न सक्दिन।साथीभाई, आफन्त यही ठाममा ठिक छन् उनिहरूलाई ‘क्लाईन्ट’को ठाममा सिफ्ट गर्नु ठिक पनि होइन भन्ने लाग्छ। अनि बेकारमा लिच्चड छबि बन्छ अनि त्यसो गर्नु मेरो सोचले पनि दिँदैन।

तपाईंहरूलाई यो व्यवसायको शैली र तरिका राम्रो लाग्छ, यसमा लागेर केही गर्न सक्छु भन्ने लाग्छ भने लाग्नुस। मेरो शुभकामना!!

21 thoughts on “सावधान, अस्ट्रेलियामा करोडपति सपना बाँडिदैछ, वास्तविकता बुझ्नुहोस्”

  1. Shyam says:
    April 8, 2016 at 2:31 am

    सबै को मन्तब्य देख्दा सबैले multilevel marketing को बारेमा बिधालय जानुपर्ने आबस्यकता देखे/

    Reply
  2. विजय says:
    April 6, 2016 at 8:11 am

    जे जस्तो भएनी यो एमवे ग्लोबल र विभिन्न छद्म नामबाट नेटवर्क मार्फत बजारमा अाएका कम्पनीहरू सोझासिधा व्यक्तिलार्इ दुइ चार बर्षमै मर्सिडिज, बिएमडब्ल्यु गाडी र महलको सपना बाँडदै सदस्य बनाएर लुट्न अाएका त हुन् नी । अहिले भर्खरै यस्तो धन्दामा लागेका र नफसेकाहरूले यीनको बारेमा जतिसुकै सकारात्मक वकालत गरेनी कस्ले पत्याउने र यो ठगी धन्दाको?

    Reply
  3. रैथाने says:
    April 5, 2016 at 2:53 am

    A little knowledge is very dangerous.
    माथिको लेख र थुप्रै प्रतिक्रिया हरु मा यो टुक्का ठ्याक्क लागु हुन्छ!
    कोहि AMWAY दुइ तिन वर्ष अगाडि नै अमेरिकामा सुरु गरेको भन्दैछ कोहि पिरामिड!
    AMWAY भनेको American Way को सर्ट फर्म हो! यो कम्पनि झन्डै बिस वर्ष अगाडि नेपालमा आयको थियो भने अमेरिकामा कहिले होला त?
    पिरामिड, नेटवोर्क मार्केटिंग रेफेर्रल मार्केटिङ्गको बारेमा थुप्रै ज्ञानको अभाब देखिन्छ यी लाल बुझक्कड काग हरुलाई!
    नेटवोर्क, पिरामिड रेफेरल मार्केटिङ्ग आफैमा नराम्रो हुदै होइन बरु यो त हामीजस्तो साधारण व्यक्तिहरुलाई ठुलो ब्याबसायिक कम्पनि र बिश्वो व्यापारमा उपस्थिति गराउने शक्ति हो!
    हो जवार्दस्ती र गलत अनि झुट साथै फ़टाइपुर्ण छलकपटको जानकारी र सुचना प्रबाह गरि छाक्कायर फसाउनु चाहि सोह्रै आना गलत हो!
    सहि जानकारी दियर टिमवोर्क आग्रह र आह्वान गर्नु बजारमा उपलब्ध साधन सामान आदिको सुचना एउटा सम्भावनाको अवसर दिनु पनि त हो!
    सकारात्मक सोचौ
    यो दुनियाको सबैकुरा सबै जनाको लागि होइन तर कुनैकुरा तपाइकोलागि हो या होइन भनेर कसैले न कसैले त भन्दिनु परोनि!
    नेटवोर्क मार्केटिङ्ग र तपाइलाई बिश्वासगारी एउटा अवसरको जानकारी गराउने व्यक्तिहरुलाई नराम्रो भन्दै आफु राम्रो हुन सकिन्न !

    Reply
  4. शन्तनु says:
    April 4, 2016 at 8:51 pm

    त्यस्ता टप्परटुइयाँ हरु अमेरिकामा पनि प्रशस्त छन / केहि वर्ष अघि यस्तै यौटा ठगले न्new jersey मा बसेर हिन्दु धर्म र नेपालीहरुको संस्था भनेर मेम्बरशिप बाँड्दै अमेरिकाका सबै कुनामा बसेका अनेकन नेपालीलाई ठग्यो र अझ पनि मौका पाए ठग्ने गरेको छ/ यस्ता संग सावधान रहौं

    नाना थरि आदर्श बकगरी, जागीर छोड्दिएं
    सारालाई फर्कने सुझदिई, आफु यहीं भुल्दिएं
    टप्परटुइयाँ डलर ठगीको, मौका त्यहाँ मिल्छ के ?
    दशकभो सित्तैमा ठगेर रमेको ,फर्केर पाइन्छ के ?

    कम्प्युटरमा निकम्मा भएपछि, लिएँ सनातन अड्डन
    धर्म र सामाजिकता भयो , मेरो नयाँ पहिचन
    यस्तो ठगी र डलरखेती , घरमा उता पाइन्छ के?
    साथीहरु संग ठग्न नपाए , फर्केर पाइन्छ के ?

    मेम्बरशीप बेचिंदै गए , चन्दा उठिंदै गए
    सेंजेभीयराका बाल्य संगी , सजिलै ठगिंदै गए
    तिनका दानमा मेरा मोज, मस्ती कहाँ मिल्छ के ?
    ठग्दैछु अझ ती मुर्खहरुलाई, फर्केर पाइन्छ के ?

    अनिवार्य संस्कृत, हिन्दूत्व लादौं , “गाउँफर्क” जनता जन
    फलाक्छु नारा माग्छु कचौरा , New Jersey मेटुचन
    कामै नगरी खल्ती यो भर्ने , मौका त्यहाँ मिल्छ के ?
    हाँकेर गफ्फा चन्दा सोहर्छु , फर्केर पाइन्छ के ?

    Reply
  5. sarita says:
    April 4, 2016 at 8:26 pm

    कस्तो महगो भने मूल्य डबल ! मलाई पनि एकजना मिल्ने साथीले मेम्बर बन्नुपर्यो भनेर हत्ते गरिकी छे ! कस्तो गारो !

    Reply
  6. Sarita says:
    April 4, 2016 at 8:24 pm

    मलाई पनि एकजना साथीले “एमवे” को सदस्य बन्नु पर्यो भनेर हैरान ! लौन कसरि छुटकारा पाउने होला ? कैले यो “टुथपेस्ट” किन्दिनु भन्छिन ! कैले “क्रिम” रे के हो के हो ! फेरि कति महँगो भने ! यता स्टोर को भन्दा डबल मूल्य छ, कसरि किन्नु तेस्तो महँगो समान ! फेरी मिल्ने साथी नाइँ भन्न नि गारो ! कस्तो अप्ठ्यारो !

    Reply
  7. rajan says:
    April 4, 2016 at 5:11 pm

    अमेरिकाका खाते नेपालीले खाते ब्यापार चलाऊन (असल ब्यापार चलाऊन त बैकले रिन दीहाल्छ नि) ढुकुटी खेलेको जस्तो हो कि क्या हो | यहाँ राम्रो अफिसमा काम गर्ने नेपालीको सन्ख्या नगन्य छ |

    Reply
    1. dor rampur says:
      April 4, 2016 at 7:29 pm

      खाते भनेको फूट पाथ को बेपार हो राजन जी ? सरसफाई गर्ने र सानातिनो जागिर भन्दा तेही नै राम्रो भएँ न र — आफै मालिक …. येसो एकदुई जना लै जागिर दियो …

      Reply
  8. Suman says:
    April 4, 2016 at 12:28 pm

    सबै business का आफ्ना आफ्ना बिसेस्ता हुन्छन. AMWAY तथा ACN , Direct Marketing Association मा register भएका कम्पनी हरु हुन्, तेसैले उनीहरुका product हरु individual business owners हरु को मध्यम बाट move गरिन्छ . लेखेक ले भन्नु भएको पिरामिड शैलीको मार्केटिंग को आर्थ के होला थाहा भएन तर अस्ट्रेलिया लगायत अन्य देश हरु मा pyramid schemes illegal मानिन्छ.

    आरु को कुरा सुने र ऎस्तो उस्तो भन्नु भन्दा आफुले research गरेर आफु लै यो business suitable छ कि छैन भनेर अगाडी बढ्नु नै उचित होला.

    कसै लाइ AMWAY को बारेमा धेरै जानकारी चिए तल को लिंक मा गएर हेर्नु होला.
    – http://www.forbes.com/companies/amway/
    – http://directsellingnews.com/index.php/view/2015_dsn_global_100_list#.Vवीळ०खृ९४ह्च

    – https://www.uschamber.com/steve-van-अन्देल
    – http://www.melbournecb.com.au/articles/view/amway-delegates-make-australian-history-in-melbourne/878/

    Reply
    1. sarita says:
      April 4, 2016 at 8:28 pm

      मूल्य महँगो अति !! अरुलाई फसाउनु पर्ने, कस्तो घिनलाग्दो ब्यापार ! छि छि छि

      Reply
      1. HarataraH says:
        April 6, 2016 at 1:06 pm

        “कुरा नै नबुझि हास्नु हुन्न साथि,
        कालिदास झैं हागो तास्नु हुन्न साथि!” – मित्र मिजास तेम्बेको कविता हो यो | “अरुलाई दोष प्लिज नलगाउनुस..महँगो, असजिलो भए जस्ट लिभ देम! नत्र त तपाइकै गल्ति देखिन्छन..!!!

        Reply
  9. sushil says:
    April 4, 2016 at 7:34 am

    एकजना मलाई पनि फसाउन आएको थियो यो सामान किनबेचमा, मैले त हप्काएर पठाइदिएँ. यो सब वाहियात ठग्ने धन्दा हो. कतै कुनै वैज्ञानिक प्रमाण नभएको सामानको अनावस्यक हल्ला मच्चाएर प्रयॊग गर्नु गराउनु हुदैन. शर्टकटमा पैसा कमाउन पर्यो भने बरु त्यो नेटवर्किंगको सबै मिलेर त्यहाँ अपराधी संगठन खोल्यो र लागु पदार्थ कारोबार, पैसा वसुली, ठेक्का पट्टामा लाग्यो भने चाँडो धनी भइएला. पावर पनि हुन्छ. पछि बरु लोकतान्त्रिक माफिया, प्रगतिशील माफिया, फलानो जिल्ला सम्पर्क माफिया, ढिस्कानो समाज माफिया भनेर गुट उपगुट बनाए पनि भयो.
    तर अलि गाह्रो (खतरा) र कुटाइ खानुपर्ने खालको काम त कहाँ गर्छन र? सबलाई सजिलो बाटो चाहिने.

    Reply
    1. sarita says:
      April 4, 2016 at 8:29 pm

      ठिक गर्नु भो तपाइले !! आफु त तेसो गर्न नि गारो, मिल्ने साथीले किच किच गरेर हैरान छ !

      Reply
      1. sushil says:
        April 5, 2016 at 11:02 am

        पैसा थुत्न खोज्ने पनि मिल्ने साथी हुन्छन र? एक पटक साथीलाई राम्रो संग सम्झाउनुहोस, मित्रता ठुलो कि जुवा? भनेर. अझै किच किच भयो भने तपाई पनि सोच्नुहोस, ती मित्र ठुलो कि आफ्नो आर्थिक भविष्य? भनेर.

        Reply
  10. hari says:
    April 4, 2016 at 4:39 am

    निकै राम्रो लेख | पैसा त दुख गरे पछी अलि अलि आउला, तर एम्वे जस्तो एमएलएमा लागेकाहरुको दुइ वटा कुरा अलि पचाउनै गार्हो :
    १) यस्तो लाग्छ कि उनीहरु ब्यापार हैन धर्म प्रचार गर्दै छन् | जो लाग्न मान्दैन, उसलाई फुटेको आँखाले देख्न सक्दैनन् | यस्तो सिकाइदो रहेछ कि यसमा जो लाग्दैन उ तेरो साथि हुन सक्दैन — त्यस्ताको संगत त्याग |
    २) जति बेला पनि घुमाइ फिराइ उही बिजनेस र साबुन कै कुरा — अब कति मेम्बर बनाए पछि डायमण्ड बनिन्छ र बसी बसी १५०,००० डलर आउछ | त्यो बसी -बसी भन्नु फेरी चौबिसै घण्टा त्यहि नेटवर्ककै कुरा, खादा बस्दा उठ्दा टोइलेट जादा — मानौ संसारमा अरु केहि छैन | तपाइँ एक जना कोहि त्यस्तोमा लागेको छ र घरमा खाना खान बोलाउनुस — यति ग्यारेन्टी छ कि त्यो बिषयमा मात्र ९५% समय बित्ने छ |

    पैसा त कमाउनु होला, तर साथी-भाई, परिवार संग जुन तरिकाले जिउनु हुन्थ्यो — त्यो गुमाउनु हुनेछ | किनकि त्यसमा लागेका मात्र साथि हुनेछन, एक अर्कालाई वाह वाह गरेर बस्नु हुनेछ, अरु सबैलाइ बिर्सनुहुनेछ |

    Reply
    1. sarita says:
      April 4, 2016 at 8:32 pm

      “एमवे” को कुरा सुन्दा नि बान्ता आउला जस्तो भैसक्यो भन्या ! एकजना साथीले खान खान बोलाएर गएको, ९९% टाइम “एम्वे” कै कुरा गरेर , किन खाना खान गए जस्तो भयो !

      Reply
    2. एच. says:
      April 5, 2016 at 9:57 am

      यी कम्पनीहरु अमेरिकामा बैध नै हुन्; त्यो कुरामा शंका रहेन तर एकचोटी ‘मलाई यो काम मन परेन वा गरेर सफल हुन्छु जस्तो लागेन’ भन्दा पनि १२-२७ कुरा गरेर अर्काको समय वर्वाद गर्नेदेखि चैं सारै दिक्क लागेर आउने रैछ। जब ‘यो मान्छेले कसै टेरपुच्छर लगाएन’ जस्तो उनीहरुलाई लाग्छ, अनि नानाभाँती उदाहरण दिएर आस्वश्त पार्न खोज्छन्। मेरो विचारमा सयौंलाई बिश्वास दिलाउन सकेको खण्डमा १ जना माथि जाने कुरा हो यो। आफ्नै मिहिनेतमा विश्वास गर्ने भएकोले यस्तो कमाईमा विश्वास लाग्दैन मलाई त। कमाइ भैहाले पनि दुनियालाइ रुवाएर भएको कमाई के कमाई? बेकारमा राम्रा मित्रहरुसंगको सम्बन्ध सत्यानाश! अर्को कुरा प्रोजेक्ट/सेल्फ बिजनेस/फाइनान्सियल फ्रीडम जे भने पनि गाँठी कुरो अर्काको सामान बेच्ने नै हो। लेखकका “५ बिचार” ले मेरो पनि मनकै कुरा बोले।

      Reply
  11. विजय says:
    April 4, 2016 at 4:09 am

    यो एमवे भन्ने नै अमेरिकामा दुइ तिन बर्ष पहिले अाइसकेको ‘एमवे ग्लोबल’ नामको नेटवर्किङ व्यवसाय हो । यो पनि पिरामिड शैलीकै नेटवर्किङ व्यवसाय भएकोले अाफू सदस्य भएपछि अरू कसैलार्इ फसाउनै पर्ने वाइयात व्यवसाय हो । सदस्य भइसकेपछि प्रत्येक महिना निश्चित रकम बराबरको समान एमवे ग्लोबलसँग किन्नै पर्ने र त्यो समान अाफैं राख्ने वा अरू कसैलार्इ बेच्ने सदस्यको बिचार हुन्छ । मेरो बिचारमा उत्पादकले खु्द्रा बिक्रेता मार्फत नभर्इ सदस्यहरूको नेटवर्क मार्फत समान बेच्न बनाइएको संयन्त्र जस्तो लाग्यो । धेरै साथीहरूले यसमा पैसा र समय बर्बाद पारे अन्त्यमा हात लाग्यो सुन्ना । यस्तै केही बर्ष पहिले एउटा टेलेक्स फ्रि नामक ब्राजिलिएन कम्पनि पनि एकाध बर्षमै पैसा उठाएर टाप कस्न खोज्दा बोस्टनमा पक्राउ परयो र अझै जेलमै छ । यसमा चाँही नेपालीहरू भन्दा पनि दक्षिण अमेरिकाका धेरै देशका मान्छेहरू फसे । त्यसैले रातारात धनी बन्छु भनेर कोही पनि यस्ता वाइयात कार्यमा नलाग्न मेरो सुझाव छ ।

    Reply
    1. Suman says:
      April 4, 2016 at 1:12 pm

      बिजय जी-लिटल नलेज इज डेन्जरस भनेको येहि हो। Amway Global भनेको 1959 मा आमेरिका मा खुलेको company हो जस्मा समान किन्नुपर्ने कुनै बध्यता छैन। कसै ले केही भनेको सुनेको भर म सबै कुर जने भनेर तेस्को बरे मा बसह गर्नु उचित नहोला जस्तो लग्छ ।

      Reply
  12. eklavya says:
    April 4, 2016 at 2:56 am

    The question is about the last man of that pyramid who will feel being used at last because there will be no more he can make any member to gain his money and that last man will not be one or in thousand there will be millions of last man who will never gain that so call commmison these kind of networking business was initially started in hongkong but now these are ban in so many countries including nepal.

    Reply
  13. gabesh prasad sangroula says:
    April 4, 2016 at 1:35 am

    जस्ले यो नेटवर्क मा लाग्छ त्यो जिवन्को कंगाल ब्याक्तिमा गनिन्छ यो साबै लुटको धन्दा हो मत फसि सके को चेतेको मान्छे हौ तर तपाईं हरु यस्मा नफस्नु होला मेरो यो अनुरोध छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme