Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : प्रवासीको देश हुन्न

Posted on August 15, 2015August 16, 2015 by mysansar

– पंचम अधिकारी –

saturday-fiction बाह्र वर्षपछि म स्वदेश फर्कंदा २४ वर्ष अघिकी मेरी मनकी राजकुमारी भेट भयो। मेरो जीवनका सबैभन्दा मीठा अनुभवहरू सँगालिएको हाइस्कूलमा। स्कूल छोडेको २४ वर्षमा काँचो माटोबाट म घैंटे बनिसकेको छु। अनुभवले र शाब्दिक रूपमा पनि। मेरो स्वदेश-फिर्ती योजनाको चाल पाएपछि प्रकाशले हाइस्कूल जान फर्माएको थियो। उसको नोस्टाल्जिक सुझावले म निथ्रुक्कै भिजेँ। त्यहाँ पुग्दा प्रियासँगको भेटले आफैलाई औपन्यासिक र झक्की पाएँ। उ उमेरसापेक्ष उत्तिकै सुन्दर थिई, तर त्यो आकर्षण होइन। उसको चमक उसँगै मुग्लान गएको थियो।

हो, हाइस्कूलताका प्रिया चिटीक्क परेकी मोहिनी थिई। पढाईमा मेघावी थिई। व्यवहारमा फुर्तिली र मनिषी थिई। उसका ती सबै गुणले म लट्ठ परेको थिएँ र मनमनै राजकुमारी बनाएको थिएँ। उसका नयनहरू ठूला थिए। ठूला सपनाहरू बोकेकी। ठूलो अठोट भएकी। एकपटक उसले एउटा कार्यक्रममा आउने निम्तो दिएकी थिई। म राजकुमार झैँ ठाँट्टीएर पुगेको थिएँ। त्यो मेरो किशोर जीवनको भयंकर दुर्घटनाग्रस्त दिन बन्यो। त्यहाँ थुप्रै राजकुमारहरू थिए। मैले आफ्नो हैसियत झुपडीको राजकुमार जस्तो पाएँ। त्यही दिन प्रियाप्रति मेरो मोहभंग भयो। मैले साधारण सत्य महशुश गरेको थिएँ- ‘मजस्तो औसत हैसियतको नाथेले प्रियाजस्ती विलक्षण किशोरीसँग के आशा गर्नु ?’



unnamedत्यही प्रियासँग अहिले २४ वर्षपछाडि भेट भएको छ। ऊ अमेरिका बस्दी रहिछे। म युरोपबाट फर्केको। उसलाई पनि प्रकाशले नोस्टाल्जिक बनाइदिएर यहाँ पठाएको रहेछ। त्यस अर्थमा हामी समान छौं।

ऊ धेरै सफल हुन सक्छे भन्ने मेरो कल्पना मात्र हो। मसँग त अनुभवका पोकाहरू मात्र छन्। हाइस्कूलमै घाइते भएकोले हुनसक्छ, त्यसपश्चात् म प्रेममा त्यति विश्वासिलो हुन सकिन। मलाई नेपाली मायाप्रति नै धैरै निष्ठा रहेन। फ्रेन्च भाषा सिक्ने चक्करमा एक फ्रेन्च मोरीसँग हिमचिम बढ्यो। उसले फ्रेन्च किस मात्र सिकाइन मलाई फ्रान्स मै लगी। फ्रान्समा बाह्र वर्ष बितेपछि एक दिन उसले भनी- ‘तिमी अति प्यारा छौ, तर तिमीप्रति मेरो फिलिङ्स खासै अनुभूति हुन सकेन।’ म मिठा शब्दहरूले तिरस्कृत भएँ। त्यसपछि पनि म अस्वीकृत भइरहेँ।

प्रियामा अस्वीकार गर्ने निर्णायक व्यक्तित्व छ। म अस्वीकृत भइरहन सक्छु। मेरो मन बरालियो।

त्यस्तैमा, प्रिन्सिपल म्याडम आउनुभयो र लामो सुस्केरामा भन्नुभयो- ‘यहाँका थुप्रै चल्लाहरू हुर्किएर देश-देशावर गए। यो बूढो भवन वृद्ध रोगी झैं बाँचीरहेछ।‘

मैले यो स्कूलको पुरानो शान सम्झेँ। भव्य सम्पत्ति, नामूद शिक्षकहरू र मुलुक कै उत्कृष्ट विद्यार्थीहरू। शिक्षामा नीजिकरण र सरकारी शिक्षामा राजनीतिकरण भएपछि यो सरकारी स्कूल अस्मिता र अस्तित्वका लागि संघर्ष गर्दै रहेछ। त्यतिखेरको भव्य भूमि र भौतिक संरचना अहिले अपव्ययी वैभव भएछ। खर्चिलो मर्मत-संभार धान्न नसक्दा आकर्षण ओइलाएछ। गर्विलो बिगत बोकेको नाजुक वर्तमान। लाखापाखा लागेका तेजस्वी सन्तानका अकेला रूग्ण पितामह जस्तो।

मैले प्रिन्सिपल म्याडम कै स्वास्थ्यस्थिति जान्न चाहेँ। औसत समवयी रैथानेलाई झैं उहाँलाई डायबेटीज र उच्च रक्तचापले च्यापेको रहेछ। ‘खान्की र कसरत मिलाए सबै कुरा ठिक चल्छ। नत्र …’, उहाँको बोली रोकियो। मेरो दिमागको एक पाटोले आर्तनाद ग‍र्‍यो।

स्कूलको हालचाल मनमा गह्रौं बोकेर प्रिया र म त्यहाँबाट बिदा भयौँ।

‘तिमी के गर्दैछ्‌यौ, प्रिया ?’ मलाई उनको बारेमा जान्ने कौतुहल जाग्यो।

प्रियाले मसिनो स्वरमा बाटो मोडी- ‘जाउँ, नदीकिनारको बाटैबाटो। त्यहाँ शितल छ।’

नारायणीमा धमिलो पानीको भदौरे भेल छ। हिउँदमा यो नदी कति शान्त र निर्मल रहन्छ ! मनसुनले यसलाई भयंकर हिंस्रक बनाइदिएको छ।

‘तिम्रो अनुहारमा कसूर देखिन्छ। जस्तोकी, तिमीले धूम्रपान छोडेँ भनेर अरूलाई भन्दैछ्‌यौ तर छोडेकी छैनौ।’ मैले खोस्रेँ।

‘श्रृंखलाबद्ध दुर्गतिका वाबजुद म आफैलाई बलवान् र आशावादी बनाउने चेष्टा गरिरहेकी छु’, प्रियाले लामो श्वास लिएर भनी- ‘तर तिमी जस्तो पुरानो मित्र भेट्दा खुशी छु भनेर दुःखलाई जबरजस्ती किच्न मन लाग्दैन। तिमी आफै भन हाइस्कूल र कलेजमा म कस्ती थिएँ ?’ प्रश्नवाचक उसले एउटा ढुङ्गा टिपेर नदीको छालमा फाली र टुङ्ग्याई- ‘अहिले म कतै हराए जस्ती छु।’

‘मतलब, अमेरिकी सपनाको सच्चाई सोचे जस्तो भएन ?’ मैले पहिलो पटक उसको व्यक्तिगत जीवनतिर लक्षित गरेर प्रश्न सोधेँ।

उसले भनी- ‘यहाँको सफल देखिँदो कामकाज छोडेर देवेनसँग अमेरिकामा घरजम गरेँ। अमेरिकामा घरजम गर्नुअघि मेरो ठूलो सपना थियो। अमेरिकामा मेरो योग्यताअनुसार कसैले काम दिएन। त्यसैले त्यहाँ मेरो क्यारियर पनि बनेन। छोरी हुर्काएर देवेन कै आम्दानीमा आश्रित बसेँ।’

मैले उसको ननिको चाल एकछिन घोरिएर हेरेँ, कुन शब्दहरूले ढाडस दिउँ।

हामी छुट्टीनु पर्ने ठाउँमा एउटा चिया पसल छ। अथवा त्यो भट्टी पसल हो। वा दुबैको समिश्रण हो। नदीकिनारको यो पसल बाफिलो र भीड छ। मैले २ चिया अर्डर गरेँ। तात्तातो चिया सुरूप्प पारेँ। ‘ओह, कति गुलियो !’ फुत्त फुत्किएछ।

‘तपाईं यहाँ बस्ने मान्छे होइन क्यारे,’ चिया दिने भाईले भन्यो।

मैले उसलाई ट्वाल्ल हेरेँ। ‘तिमीले ठीक भन्यौ भाई। प्रवासीको देश हुन्न।’ मैले भनेँ।

प्रिया कुर्सीमा घचक्क गरी, चिया सर्कीएर।

अपरान्ह छिप्पिन खोज्दै छ। त्यसैबेला, ह्वारह्वार्ती पानी वर्षन थाल्यो। चिया पसलको बाहिरपट्टी एक झुण्ड मान्छेहरूको कल्याङमल्याङ छ। विवाद सल्टाउन खोजे जस्तो। वा, सल्टीन-सल्टीन खोजेको विवाद पूर्णरूपेण सल्टीन नसकेको जस्तो। पानी दर्कंदा ती सबै पसलमा छिरे। पसलको हल्ला कोलाहल बन्यो। वर्षा बिसाउँदै गर्दा प्रियाले भनी- ‘जाउँ, हाम्रो घर। आमाले खाना बनाएर राख्नु भएको छ। बाँडीचुँडी खाउँला। तिमीलाई देख्दा आमा छक्क पर्नु हुनेछ।’

त्यसको आधा घण्टापछि म आफूलाई प्रियाको बैठक कोठामा पाउँछु।

‘वाइन पिउँछौ की ?’ भातको कुरा छोडेर प्रियाले पिउने कुरा निकाली। लोभलाग्दो गरी उसले थपी- ‘यो फ्रान्सबाटै आएको हो।’

मैले नामञ्जुर गर्न सकिन। ‘म खासै पिउन्न तिमीसँग सोसलाइज् मात्र गर्छु,’ उसले भनी। पिउने क्रममा उसले सोसलाइज् भन्दा ज्यादै गरी। उसको मनमा धेरै उकुसमुकुस छ। वाइनले भिजाएर साम्य पार्न खोज्दैछे, सायद। एक झपक वाइन सकिएपछि ऊ खाना पस्कन भान्सातर्फ लागी।
टेबुलमा कुहिनो राखेर औंलाहरूले बाजा बजाउँछु म। घरि-घरि ताल मिलेर आवाज आए जस्तो लाग्छ, अनि कहिलेकाँही भद्दा बजे झैं लाग्छ। टेलिभिजन खोल्छु। त्यहाँ कुनै ताज्जुबको कार्यक्रम छ। फिल्मको कहानी छिटो-छिटो बगेको हो वा फ्लिकरिङ ? कला जहाँ पनि हुनसक्छ। चुम्बनमा कला, नग्नतामा कला, याक्सनमा कला। यो संसार कलैकलाको सम्मोहनले भरिएको छ। भरिँदै छ।

दालभातको साथी छ- करेला, भिण्डी र आलु मिसीएको तरकारी। तरकारीमा अलिकति कागतीको रस र तिलको छोप मिसाएको हुनुपर्छ। स्वादले खाइयो।
खाना सकिएपछि पालो आयो— कफीको। कफी-गफमा पालो आयो— फ्रान्सको। मैले फ्रान्सेली मायाले टुटाएको दिलको वियोगान्त कहानी भनेँ र उसैलाई सोधेँ अमेरिकी सपना र जादूबारे।

‘अम्म्’ उसले गला सफा गरी तर तुरून्तै जवाफ फर्काइन। केही समय कोठाको चारैतिर नियाली। भित्ताको उतापट्टी एक सारङ्गी दाईको फोटो छ। ठीक विपरित एउटा पेन्टिङ छ, कष्टदायी अभिव्यक्तिको। एडभर्ड मुन्चको ‘द स्क्रिम’ नामक त्यो पेन्टीङ आकर्षक फ्रेममा सजाइएको छ। टि.भी. टेबलको छेउमा प्रिया, आमाबाबु र भाईको पारिवारिक फोटो छ। टि.भी. टेबल नजिकैको साँघुरो र्‍याकमा देश-परदेशका सम्झनाका चिनोहरू छरपस्ट छन्। नमिलाइएका र बाक्लै गज्याङमज्याङ।

‘अमेरिका पनि त्यस्तै हो’, उसले आंशिक असन्तुष्टिको भावमा भनी- ‘पछिल्ला वर्षहरू सुखमय रहेनन्।’ बल्लतल्ल शब्दहरू जोडजाड पारेर मुख फालेर बोलेको प्रस्टै बुझिन्थ्यो।

‘मेरो १५ वर्ष पुरानो अति मिल्ने साथीले दोस्ती तोडी। सायद उसमा असुरक्षा पैदा भयो,’ प्रियाले भनी- ‘मेरो त कुनै गल्ति थिएन। उसको फन्टुस श्रीमान्‌ले भनेछ— उसले मलाई मन पराउँथ्यो रे।’

‘यता नेपालमा एक सडक दुर्घटनामा बाबाको मृत्यु भयो। त्यही बेला अमेरिकामा छोरी बिरामी परी। म अत्येष्टीमा आउन सकिन। दुःख र निराशले मेरा दिन बिते। मलाई अमेरिका पुरै त्यागेर फर्कुँ जस्तो पनि नलागेको होइन। फर्कन पनि संबन्ध मात्र होइन छोरीको भविष्य समेत गाँसिएको छ।’ ऊ भन्दै गई- ‘फेरि, अमेरिकामा अर्को झन्झट आइलाग्यो। हाम्रो अपार्टमन्टको सन्मुखमा बस्ने चिनजान कै एक अधबैंसे बित्यो। अझ खराब त, उ बितेको अघिल्लो दिन हाम्रो गफगाफ भएको थियो। त्यही निहुमा प्रहरीले पटक पटक बयान लियो।’

‘यी सब कुराले…’, दुई ओंठ टम्म पार्दै ऊ दोब्रिई। म शब्दहिन उसका कुरा सुनी रहेँ। उसले थपी- ‘म रातमा सुत्न सक्दिन। निसास्सिएको प्रतीत हुन्छ। डाक्टरहरूले मलाई ‘प्यानिक डिसअर्डर’ भएको बताए।

यी समस्याबीच देवेन पनि वाक्क भएको हो की जस्तो लाग्छ। उसैले मलाई केही महिना नेपाल जान सुझायो र म यहाँ आएँ। अल्कोहल र क्याफेइन त मैले लिनै हुन्न, तर यी मेरा ‘बेस्ट फ्रेन्डस्’ हुन्। कसरी छाड्न सक्छु र ?’

म उसका कुरा वाल्ल परेर सुनिरहेको थिएँ। उसले मेरो पाखुरामा कुहिनोले घचेट्दै भनी- ‘तिमीलाई अचम्म लाग्यो है स्लिपिङ् डिसअर्डरको कुरा !’ उसले आफूलाई खुकुलो गरी र गंभीरतालाई सम्हाल्ने प्रयास गरी।

एक छिनको मौनतापछि मैले कुरा जोडेँ। ‘फ्रान्सबाट फर्कंदा म जीवनप्रति नै निराश थिएँ। त्यसैताका म सुत्न नसक्ने समस्याले पीडित थिएँ। अब छैन।’ मैले भनें।

‘कसरी समाधान भयो ?’ ऊ जिज्ञासु थिई।

‘एक दिन मध्य रातमा सुत्न नसकेपछि म छतमा गएँ। मलाई आकाश थर्कीरहेको महशुश भयो। अनौठो सुनें। घरि आकाशमा ट्रेन कुदीरहेको जस्तो आवाज सुनिन्थ्यो। घरि जेट विमान उड्न लागे जस्तो लाग्थ्यो। तर त्यो आकाश गर्जेभन्दा फरक अनौठो थियो। अजीबको विलाप। धेरैईईई टाढा-टाढा अन्तरिक्ष-अन्तरिक्ष जुधे जस्तो !’

भोलीपल्ट मैले सबै पत्रिका पढेँ। भूकम्प आयो की ? के भयो ? कुनै समाचार थिएन। यो दुनियामा के हुँदैछ ?

त्यो आवाज सुन्दै गर्दा मलाई धर्ति थर्के जस्तो लागेको थियो। त्यो भूकम्प हो वा कम्पन मात्र हो ? भूगर्भविद्हरूको के तर्क छ ? इन्टरनेटमा मैले धेरै खोजि गरेँ। त्यस्तो अन्यत्र पनि भएको पाएँ। त्यहाँ थुप्रै सिद्धान्तहरू रहेछन्। भूकम्प, एलेक्ट्रोम्याग्नेटिक न्वाइज, ज्वालामुखि, भूगर्भमा रहेको उच्च चापको ग्याँस निकासका कारण। अनेक। तर मैले जान्न खोजेको रहस्यबारे चित्तबुझ्दो जवाफ पाइन। यो ‘अनौठो हल्ला’ का बीच म कसरी सुत्न सक्छु ?
भोलीपल्ट पनि म सुत्न सकिन। पानी दर्कन बिसाएपछि छतमा गएँ। त्यही आवाज सुनेँ। घरबाट निस्किएँ र सरासर नदीकिनारतर्फ गएँ। त्यहाँ चट्टानको थुम्को छ। थुम्कोमा उक्लेँ। त्यहाँ कोही थिएन। मैले त्यो आवाज फेरि सुनेँ। अन्तरिक्षमा।

म बेस्करी चिच्याएँ। चिच्याइरहेँ। पण्डितले शंखनाद् गर्छन् नि। हो, त्यस्तै ‘चिच्या-नाद’ गरेँ। मलाई थाहा छैन कति बेर म चिच्याएँ। जब म मुखबाट आवाज निकाल्न नसक्ने गरी शिथिल भएँ, रोकिएँ। म थकित थिएँ, तर मेरो मनको अत्यास भागेको थियो। आफैलाई हलुङ्गो पाएको थिएँ। अचम्मसँग, मेरो दिमागको एक सय टनको भारी धुँवा झैं उड्यो र बिलायो।

‘त्यसपछि ?’ उसले सोधी।

‘मलाई कहिल्यै निद्राको समस्या भएन।’ एक छिन रोकिएर मैले भनें- ‘त्यसपछि मैले योग गर्न थालेँ। मनशान्ति भयो।’

‘मलाई पहिल्यै थाहा छ, आज राती मलाई निद्रा लाग्दैन।’ भित्ताको चीत्कार पेन्टिङमा उसले हेरी। ‘जाउँ नदीकिनार,’ उसले भनी।

मैले आलटाल गरेँ। उसको जाँगर घटेको देखिएन।

‘मलाई लाग्छ, योग गर्नु बढी महत्वपूर्ण हुन्छ।’ मैले भनेँ र मुसुक्क हाँसेँ।

‘योगा पनि गरौँला’, उसले अठोटका साथ भनी। पछाडि लर्केको कपाल गुजुल्टो पारेर चुल्ठो पारी।

‘त्यसो भए …’

मेरो बोली नटुंगिंदै उ जुरूक्क उठी र भनी – ‘हामी नदीकिनार जानुपर्छ।’ उसले त्यसो भनिरहँदा उसको निधारमा मर्करी बलिरहेको थियो।
‘यो मध्यरातमा’, गुनगुनाउँदै म पनि उठेँ। पथप्रदर्शक बन्दै ऊ ढोकाबाट निस्की। म पछि लागेँ। उसले एउटा लाठो समाती र अर्को मलाई दिई। परिवेश अँध्यारोको घुम्टोले ढाकिएको छ।

चट्टानी पाखोमा पुगेर ऊ टक्क उभिई। उतापट्टि चट्टानको ठाडो भीर छ। यतापट्टि बलौटे मैदान छ। चट्टानको चुलीमाथि ऊ उक्ली। मलाई उक्लन इशारा गरी।
उसले सावधानीपूर्वक चारैतर्फ हेरी। अनि आकाशतर्फ फर्की। बकुल्लाले माछा कुरे झैं आकाशतिर एकाग्र हेरीरही। एकछिनपछि दुबै हात उठाएर उसले भनी-
‘मैले अनुभव गरेँ।’

‘यो आवाज अनौठो छ। मैले अनुभव गरेँ।’ उसले उन्मादमा फेरि भनी।

ऊ बेस्करी चिच्याई। चिच्याईरही।

‘किन चिच्याएको ?’ बाटोतिरबाट स्वर आयो।

‘तिमी पनि चिच्याऊ’, हप्काएको स्वरमा च्याँठ्ठीएर मैले भनेँ- ‘नभए, मुख बन्द गर।’

ऊ डरायो वा हरायो। कम्तिमा त्यता सन्नाटा छायो।

प्रिया मच्ची मच्ची चीत्कार गर्न थाली। म पनि चिच्याउन थालेँ। स्यालको हुइय्या झैं हामी चिच्याईरह्यौँ। थाक्यौँ। गल्यौँ। थचक्क बस्यौँ। प्रियाले कस्तो महशुश गरी होला म अनुभव गर्न सक्थेँ।

त्यहाँबाट हामी घर फर्कियौँ। हलुका फुरफुर पर्दै। घर पुग्दा भित्ते घडीमा रातको दुई बजेको थियो।

थकान र संदीप्त उसको निधार पसिनाले भिजेको थियो। मैले पुछीदिएँ। उसले गहिरो श्वास लिई।

‘मेरो जिब्रोमा गीत ननाचेको एक युग भयो’, प्रियाले भनी।

बाबाको मृत्युपछि उसले गीत गुनगुनाउन चटक्कै छोडेकी थिई। पछि भावनात्मक गीतहरू गाउने रहर पलाएको त रहेछ, तर गाउन सकिन।
साथीहरूसँग बस्दा उसको रिदम खुलेन। देवेनको अघि पनि उसले गाउन सकिन। शिशिर गयो, गयो बसन्त पनि। उसको गलामा कुनै भाका आएन।

‘अहिले मलाई केही गरूँ जस्तो लाग्दैछ’, उसले भनी।

‘के गर्छ्‌यौ ?’ मैले सोधेँ।

ऊ मन्द मुस्कुराई- ‘म गीत गाउँछु।’

उसका आँखा चम्केका थिए।

‘गीत गाउनुपूर्व’ भन्दै ऊ अर्को कोठामा पसी। एकैछिनमा २ वटा सिरानी र २ वटा ब्ल्याङ्केट लिएर आई। एक जोडा मलाई दिई र सोधी- ‘ठीक छ ?’
दबेको मसक्क हाँसोको स्वीकारोक्तीमा मैले टाउको हल्लाएँ। ऊ सोफाको आडमा कार्पेटमाथि लम्पसार परी। ब्ल्याङ्केट मिलाई। सिरानी अनुकूल बनाई। गाउन थाली सुस्तरी। भावुक गीत। उसको गीत र मेरो निद्राले म लठ्ठ परेँ। म नतमस्तक थिएँ। जब मैले झुम्म टाउको झट्कालेर नीद भगाउँदै उसलाई नियालेँ- ऊ त पहिल्यै निद्रामा मग्न थिई।

हाल- ब्रसेल्स

4 thoughts on “कथा : प्रवासीको देश हुन्न”

  1. Bibek says:
    August 17, 2015 at 11:57 am

    सिर्सकसंग कथाको मेल नखाए पनि धेरै पछी अत्यन्त राम्रो र उत्कृस्ट कथा पढ्ने अबसर मिल्यो

    Reply
  2. सन्तोष says:
    August 16, 2015 at 2:40 am

    ओहो पन्चम बाबु। तपाई त गज्जबको साहित्यकार हुनु हुदो रहेछ त। अति उत्तम कथा।।

    Reply
  3. Krishna Thapa says:
    August 15, 2015 at 3:08 pm

    कथा एकदम राम्रो लाग्यो । स्तरिय छ । Screaming ले कथामा object को काम गरेको छ र त्यसले अर्थ बोकेको छ । दोहोर्याएर पढ्दा हुन्छ । शिर्षक आकर्षक भए पनि कथाको भाव फरक देखिन्छ । शिर्षक मिलाउने हो भने यो कथालाइ उत्कृष्ट श्रेणीमा राख्दा हुन्छ ।

    Reply
  4. Shankar says:
    August 15, 2015 at 1:08 pm

    कथा को सरिर त् भयो , तेस्मा ज्यान भएँन | देश र बिदेस जोडेकोलेकथा सुन्नियो तर मोटाएको थिएँन |
    फ्रेन्च केटीले १२ बर्स फ्रान्स लगेर किस मात्र गर्न सिकाइ भन्नुहुन्छ , नतिजा हेर्दा त् बेस्करी चुसी जस्तो पो छ त् मोरीले |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme