त्यसो त आफ्नै कर्म र पेशाका बारेमा लेख्ने, बोल्ने बेला हैन यो। यो बेला जस्ले जहाँबाट जति सक्छ, भूकम्प पीडितहरुका लागि तन मन र धनले सहयोग गर्ने बेला हो। तैपनि नेपाली पत्रकारिता र खासगरी टेलिभिजन पत्रकारिताका बारेमा केही अहं पक्षहरुमा बहस होस भन्ने हेतुले यी पंत्तिहरु बुन्दैछु। यी सवाल बढी व्यवहारिक पक्षसँग जोड्ने उदेश्य हो मेरो। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भएका हदसम्म माफी चाहन्छु।
सरकारले केही दिन अघि एभिन्युज टेलिभिजनको लाइसेन्स नविकरण नभएको पत्र थमायो एटिभी व्यवस्थापनलाई। टेलिभिजन संचालकहरुको संगठन टिबिएनले उपाध्यक्षको नाममा विज्ञप्ति जारी गरेर त्यसको विरोध गर्यो । भोलिपल्टै सरकारका प्रवक्ता विभागीय मन्त्री मिनेन्द्र रिजालले सरकारको निर्णय उल्टाए र एटिभी प्रसारण जारी रह्यो। सरकार कति निकम्मा र हुतिहारा छ भनेर हेर्न यो भन्दा पर जानु नपर्ला। रद्द किन गर्नु अनि फेरि निर्णय किन लागू गर्न नसक्नु ?सरकार आफनै ऐना हेर्दैन कि क्या हो ? व्यक्तिगत रुपमा एटिभीको लाइसेन्स खारेजीको निर्णयको पक्षपाति म कदापि हैन, म जस्ता सयौँ पत्रकारको गुरुकुल जो हो एटिभी।
यसै मेलोमा सामाजिक संजालहरुमा व्यापक पोखियो एभिन्यूजले पत्रकारलाई तलब नदिएको प्रसंग। बहाना एटिभीको भए पनि टेलिभिजन पत्रकारले समयमा मासिक तलब नपाएको मुद्दाले यतिबेला काठमाडौँका लगभग सबै टेलिभिजन स्टेशनहरु भूकम्पमा भन्दा ज्यादा हल्लिरहेका छन्। एक दुई तीन मात्रै हैन त्यो भन्दा ज्यादा अवधि व्यवस्थापन तलब दिन नसक्ने अनि पत्रकार बिना तलब पनि काममा जुटिरहने, रमाइरहने बडो अप्राकृतिक सम्बन्ध देख्छु म व्यवस्थापन र पत्रकार तथा कर्मचारी बीचको। व्यक्तिगत रुपमा मैले पत्रकारले तलब पाउनु पर्दैन भनेर सोच्नसम्म पनि सक्ने कुरा भएन। तर मेरा त्यस्ता पदीय मर्यादाका नैतिक बन्धनहरु छन जसका कारण म प्रायः बोल्न सक्दिन, मिल्दैन।
मेरो पूरै सहमति छ तलब दिनैपर्छ काम लाएपछि। तर मेरो बडो गम्भीर प्रश्न छ किन तलब नदिँदा नदिँदै पनि हामी पत्रकारहरु संस्थामा काम गरिरहन्छौं? म यसको उत्तर खोज्ने तहमा यो प्रसंगलाई बहसको रुपमा प्रस्तुत गर्न चाहन्छु। त्यही संस्थामा हामी जुका टाँसिए झै बस्छौं, त्यही संस्थाको व्याकबाइटिङ गछौं अनि त्यही संस्थालाई हामी उँभो नलाग्ने भनेर धारे हात लाउँदै झारा टार्ने पाराले काम गछौं। के हो यो हामी पत्रकारहरुको रवैया? हामी सन्तुष्ट छैनौँ भने किन विकल्प खोज्दैनौं ? हामी पत्रकारले नै अब सच्चिन पर्ने भएको हो कि ? के छैन विकल्प हामीसँग ? सक्दैनौं हामी अरु धेरै रचनात्मक काम गर्न?
दुई चार थान मौसमी नेता पत्रकारहरुले तलब दिन नसक्नेले टिभी, पत्रिका, रेडियो बन्द गर्नु नि भन्दै घुक्र्याउँदै, धम्क्याउँदै स्टेशनहरु चाहरेको पनि देखियो, भोगियो। तर तिनैले फेरि रातारात व्यवस्थापनका डिनर, लन्च र गिफ्ट स्वीकारेको धेरै घटनाहरुको रमिते पनि हुं म। अनि त्यस्ता नेता पत्रकारहरुले वैतरणी तार्छन् भनेर हामी व्यवस्थापनसँग सिङ थाप्न खोज्ने पत्रकारहरु कति पानीमा छौ भनेर पनि समीक्षा गर्नु पर्ने पो हो कि?
म प्रष्ट छु कि मेरो वर्तमान मेरो र संस्था बीचको स्वार्थको अस्थायी सम्झौता हो। मलाई पत्रकारितामा पेन्सन हुन्छ भन्ने भ्रम छैन। मेरा हकमा यो सूर्यास्तको बेला हो किनकि यो सूर्योदयको साइकल पनि हो। तर जतिन्जेल हामी संस्थामा आवद्ध रहन्छौं त्यो बेलासम्म त मनैदेखि काम गर्नु नै पर्छ नि हामी पत्रकारले, पर्दैन त ?
ठीक छ हामी तलब नपाउने अफिसमा काम नगर्ने प्रण गरौं। संस्थालाई बाधा नपार्ने गरी हामी संस्थाहरुसँग बिदाइका हात मिलाऔं। के त्यो साहसी कदम चाल्न तयार छौ त हामी? प्रश्न आफैले आफैलाई प्रश्न गरौं र उत्तर खोजौं। हामीले पैसा नदिएकै कारण अफिस पनि जाने, काम पनि गर्नका लागि मात्रै गर्ने र हरेक कुरामा पैसा छैन के गर्नु र ……………. भनेर पन्छने प्रवृतिलाई बिराम लाउन किन सकेनौं ?
काम भगवान हुन् र अफिस आमा हुन् भन्ने मर्मलाई हामी किन स्थापित गर्न सक्दैनौं ?अफिस धाउने, काम झारा टार्ने हिसाबले मात्रै गर्ने प्रवृति त हाम्रा लागि नै हानिकारक छ नि छैन र ? के यो उमेर र समय हामीले नकारात्मकतामा बिना उपलब्धि समय किल गर्ने समय हो र? काम चाहे जे गरौं त्यसले त हाम्रै क्षमता तिखार्ने हो नि हैन र ? अर्को कुरा अफिसका साथीहरुले तलब नपाएको महिनौं बितेको ज्ञात हुँदाहुँदै हामी कहाँ फेरि लाइन लाग्छ त्यही संस्थामा काम गर्ने पत्रकारहरुको। जो सुरुमा जागिर पाउनलाई व्यवस्थापनका सबै शर्त मान्न तयार छन् अनि अलिपछि आफै शेर र डन पल्टिन्छन। यो प्रवृतिगत समस्यालाई कसरी चिर्ने त ?
व्यवस्थापन भनेका एक हदसम्म व्यापारी पनि हुन्, वौद्धिक वर्गका पैसावाल, पहुँचवाल। तिनीहरुले पहिले आफनो अनि कर्मचारीको हित हेर्ने कुरो नौलो भएन। तर मेरो जिज्ञासा किन पत्रकारहरु नै एकलाई शहीद बनाएको मिनेट भरमा उस्लाई रिप्लेस गर्न खुट्टा उचालेर बसेका हुन्छन त ? एटिभी प्रकरण, नागरिकले सम्पादक बदलेको प्रसंग होस् वा एबिसिमा लगानी थपिएर नयां केटिभी हुदै गरेको प्रसंग वा तराई टेलिभिजन बन्द गरिएको र एकजना संचालक पक्राउ गरिएका प्रसंगहरु निकै ठूला सबकहरु हुन जस्तो लाग्दैछ मलाई। खै सिक्नुपर्नेले चाहि कति सिक्ने हुन् कुन्नि ?
महाभूकम्पको चपेटामा परेको यो असामान्य बेलामा पत्रकारहरुले सँधैभन्दा ज्यादा बढी काम गनुपर्ने बेला हो यो, भत्किएको घर, उठेको बास, खोसिएको गांस र रित्तिएको खल्तिका बीच। यो म किन भन्दैछु भने अहिले हामी जो परिचय पत्र बोकेर हिड्छौ, त्यसको मौलिक महत्व छ। हामी त्यसै चौथो अंगका सदस्य मानिएका होइनौं नि हौं र ? हामीले तलब नपाएको झोकमा संस्थामा आआफनो दायित्व पूरा नगरिदिने हो भने हामीले आफना आम दर्शक, श्रोता वा पाठकलाई के अन्याय गरेको ठहर्दैन ? त्यसो गर्ने छुट हामीलाई दिएको छ कस्ले अनि मिल्छ त्यसो गर्न ? परिचय पत्र हेरेर यस्ता सवालमा हामीले विचार गर्नु पर्दैन ? पत्रकारले तलब नपाउनु र समाचारलाई नै प्रभाव पार्ने गरी हामीले काम गर्नु बीच कहाँनेर तादम्यता रहन्छ ? मेरो पेट भोको छ भने म हिँड्न स्वतन्त्र छु तर संस्थाको छविलाई, पेशाको मर्यादालाई बन्धक बनाउने छुट हुन्छ र मलाई ? म र मेरो जिम्मेवारी के भनेर हामी पत्रकारले सोच्ने र सच्चिने बेला पनि हो यो महाभूकम्पको पीडा हैन र ?
मलाई लाग्छ, व्यवहारिक पाटोबाट हेर्दा संचालकहरु कानूनी दायित्व पुरा गर्न वा लाभ हानीको हकभोग गर्ने कुरामा मात्र बढी जिम्मेवार हुन। व्यवाहरतः कुनै पनि संचार माद्यमको असली स्टेकहोल्डर पत्रकार र उसको क्रयू हो, टीम हो। बिना तलब उसलाई काम नलगाऊ भन्दै गर्दा हामीले कुनै पनि मानेमा जनताको सूचनाको अधिकारमा धावा बोल्न मिल्दैन भन्ने तथ्यलाई सम्झिने कि नसम्झिने ?
सबै व्यवस्थापकहरु एउटै डालोमा पर्ने खालका पनि छैन्न। हामी सबै पत्रकार पनि एउटै ड्यांगका मूला पक्कै होइनौं। त्यसो भए हामी कसरी यो आपतबाट निस्कने त ? मध्यमार्गी बाटो कि हामीले नै खोज्नुपर्छ कि हामीले संस्थासंग कुरा नमिलेको हदसम्म, पैसा दिन नसक्ने भएको मानेमा विकल्प खोज्नुपर्छ। हामी त्यो राजमार्ग रोजौं जहां हामी आफू खुसी हुन सकौं, संस्था उचो हुन सकोस। र किन संचालकहरु यति धेरै निष्ठुरी, वैगुनी वा निरीह देखा पर्दैछन भन्नेबारे मेरो अनुभव अर्को अंकमा माइसंसारमै शेयर गर्ने नै छु।
जाने ठाउँ नभए पछि के गर्ने? कमसेकम तलब नदिए पनि परिचय पत्र त् दिएको छ……घरबेटी र किराना पसले लाई ठग्न.
Very nice article and Waiting for next.
केहि साल अगि सम्म इमान्दार , बाहादुर भनेर चिनिने नेपालि हरु अब आएर एक ले आर्कालाई बिस्वास नगर्ने तह सम्म पुगेको छ , यो इमान्दारीको खडेरी पर्नु अघि को आधी बेहरी र हुरी बतास नै बिटुलो थ्यो |