– डा. मान रोकाया –
हरेक वर्ष दुई चार सालदेखि मलाई एउटा समाचारले उत्सुक बनाउने गदर्छ र सोच्छु – के सिराहास्थित सलहेस फूलबारीमा यो वर्ष पनि फेरि अनौठो सुनाखरी फूल्यो भनेर समाचार आउला त? वैशाख १ गते दिनभरी विभिन्न न्यूज पोर्टलहरु हेर्न व्यस्त रहें। अन्ततः दिउँसोतिर नागरिकले समाचार छाप्यो र वैशाख २ गते ठूलो क्याप्सनसहित मुख्य पृष्ठमा फोटो छाप्यो – ‘… हरेक वर्ष बैशाख १ गते नै यो फूल किन फूल्छ भन्ने रहस्यमै छ …’
अब वर्षेनी एउटै समाचार दोहोरिँदा मलाई यसबारे केही लेख्नै पर्छ जस्तो लाग्यो। हो, फूल फूलेकै हो। समाचार पनि छापिएकै हो। यसमा दुविधा छैन। तर वनस्पतिसंग सम्बन्धित व्यक्ति भएकोले समाचारको यथार्थथतामा मलाई शंका लाग्यो । मलाई लाग्यो – समाचार तोडमोड भएको छ । यसलाई स्पस्ट पर्नै पर्छ । अझ सिराहास्थित सलहेस फूलबारीमा हारमको रुखमा रहेको सुनाखरीको बारेमा त बिस्तृत रुपमा लेख्नै पर्छ ।
नेपालमा फूल फुल्ने बिरुवाहरुको संख्या जम्मा जम्मी ७००० को हाराहारीमा छ । यी मध्ये करिब २३००-२५०० बिरुवाहरु नेपालीहरुले विभिन्न प्रयोजनका लागि उपयोग गर्छन् । अब रह्यो सुनाखरीको कुरो । नेपालमा जम्मा ४५४ प्रजातिका सुनाखरीहरु पाइन्छन् । यिनीहरु लाई सुनगाभा पनि भन्ने गरिन्छ र अंग्रेजीमा ‘अर्कीड’ (orchid) भनिन्छ । नेपालमा यी बोट बिरुवाहरु समुद्री सतह ६० मीटर देखि ५२०० मिटरसम्म भेटिन्छन् ।
सुनाखरीहरु कहिले विभिन्न रुखहरुमा झुन्डिएको अवस्थामा (epiphytic) भेटिन्छन् त कहिले जमिन (lithophytic) वा अर्धपरजीवी (saprophytic) पनि भएर उम्रन्छन् । विभिन्न सुनाखारीहरु फुल्ने समय बिरुवा पाउने स्थान विशेषका आधारमा फरक पर्न जान्छ । समग्रमा सबै प्रजातिहरु लिने हो भने सुनाखरीहरु वर्षभरि नै फुल्छन् भन्दा अनुपयुक्त नहोला र छुट्टा छुट्टै प्रजातिहरु केलाउदै जाने हो भने फूल फुल्ने समयमा प्रचुर मात्रामा भिन्नता पाइन्छ । वसन्त ऋत शुरु भए संगै विभिन्न सुनाखारीहरु फुल्न शुरु गर्छन् ।
असार, साउन र भदौमा सबै भन्दा बढी प्रजातिहरु फुलेको पाइन्छ भने वर्षको अन्तिम हिउदमा पनि केहि सुनाखरीहरु फुल्छन् । यो त तथ्यक नेपालमा पाइने ४५४ प्रजातिका सुनाखरीहरुको कुरा भयो । अब कुरा रह्यो – सिराह स्थित सलहेस फूलबारीमा रहेको हारमको रुखमा उम्रने सुनाखरीको । इमानन्दार भएर भन्नु पर्दा म आजसम्म सिराहको सलहेस फूलबारीमा पुगेकै छैन र त्यो अच्चमको सुनाखरी देखेकै छैन । फोटो हेर्दा मलाई त्यो सुनाखरी ‘डेन्ड्रोबियम’ (Dendrobium) समुहमा पर्ने सुनाखरी हो भन्ने लाग्यो ।
यता उता सबै तिर बाट जानकारी संकलन गर्दा मेरा एक मित्र भक्त रास्कोटीले सिराहको सलहेस फूलबारीबाट ल्याएको त्यो अनौठो डेन्ड्रोबियम हेरेका रहेछन् र भने दाई त्यो तपाईले भन्नु भएको डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) नै हो । वनस्पति शास्त्रमा कुनै पनि बिरुवाहरु को नाम लाटीन (Latin) भाषामा राखिन्छ । प्रथम नामले विरुवाको समुह वा जिनस (Genus) बताउछ भने दोस्रो नामले प्रजाति वा स्पेशीष (Species) बताउछ । चाहे त्यो बिरुवा जतासुकै पाईयोस् यो लाटीन (Latin) भाषामा राखिएको नाम एउटा संसारभर एउटै हुन्छ ।
अब त्यो सिराहको सलहेस फूलबारीमा उम्रने बिरवा सुनाखरी नै हो भन्ने पक्का भो किन कि भक्त रास्कोटी अहिलेका जल्दा बल्दा सुनाखरीविद हुन् । नेपालका धेरै भू-भागहरु घुमेर नेपालको सुनाखारिहरुको बारेमा ‘द अर्कीडस् अफ् नेपाल’ (The Orchids of Nepal) भन्ने पुस्तक नै छपाई सकेका छन् ।
नेपालमा डेन्ड्रोबियमका जम्मा ३१ प्रजातिका सुनाखारीहरु पाईन्छन् । विभिन्न प्रजातिहरु छुट्याउदा हामीहरु जरा, काण्ड, पात, फूल र फलको आकार प्रकार हेरेर छुट्याउने गर्छौ । विगतका अनुसन्धानहरु बाट पत्ता लागे अनुसार डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) पूर्वी र मध्ये नेपालमा पाइन्छ । समुद्री सतहबाट १०० देखि १५०० मीटर उचाईमा यो सुनाखरी कटुस, चिलाउने, उतिस, शिशौ, खिरो र फिरफिरे जातिका रुखहरुमा झुण्डिएर उम्रन्छ । यो चैत्रमसान्तदेखि असारसम्म फुल्दछ ।
नेपाल भित्र यो बिरुवा सरस्वति-सिमात खोला (सन् १९६९/४/१९), तीनपाने भन्ज्याङ-ललितपुर (सन् १९७८/५/३), सिस्वाटारमाथितिर-संखुवासभा (सन् १९९४/६/८), गोदक-इलाम र मर्स्याङ्दी उपत्यका-गण्डकी क्षेत्रमा पाइने उल्लेख गरिएको छ । नेपाल बाहिर यो भुटान, बंगलादेश, भारत (पूर्वी र पश्चिमी हिमाली क्षेत्रहरु र आसाम), इन्डोनेसिया, लाओस, माल्दिभ्स, मलेसिया, म्यानमार, श्रीलंका, थाईल्याण्ड, भेतनाम र अष्ट्रेलिया (कुइन्स्ल्याण्ड) मा पाइन्छ ।
वर्षको १ गते फुलेर हप्तादिनमा ओइलाउने भनेर समाचारमा उल्लेख भए अनुसार समाचार सत्य होइन । अहिलेसम्म कुनै पनि डेन्ड्रोबियम प्रजातिका बिरुवाहरु यति छोटो समयसम्म फुल्ने भनेर कुनै पनि वनस्पतिका किताब वा अनुसन्धात्मक लेखहरु मा लेखेको मैले देखेको छैन । मलाई के लाग्यो भने ठाउँको उच्चतम महत्व देखाउन स्थानीय बासीहरुले पत्रकारको राम्रै प्रयोग गरे । समाचार लेख्नेले लेख्यो तर सम्पादकले अलिकति भए पनि वनस्पति विज्ञहरु संग परामर्स गरेर समाचार प्रकाशित गरेको भए हुन्थ्यो ।
अझै पनि यो फूल बैशाखमा फुल्नेमा मेरो बिमति छैन । तर उल्लेखित निश्चित समय भने पक्का होइन । फूल फुल्न निश्चित मात्रमा तापक्रम, सापेक्षिक आद्रता, प्रकाश र अध्यारो मिल्न पर्छ अनि मात्र फूल फुल्दछन् । त्यही पनि बैशाख १ गते नै फुल्छ भन्ने फूल अरु ठाउँहरु मा पाइने भएकोले आम मानिसमा पर्न गएको भ्रम चिर्न मैले यो लेख लेखें । तर पनि कसैले धर्म, स्वार्थ वा अन्य कुनै फाइदा जनक कारणले हो यो बैशाख १ गते नै फुल्दछ भन्यो भने मेरो भन्नु केहि छैन । म केवल यति भन्छु – विज्ञानले यो तथ्यलाई स्वीकार गर्दैन । तसर्थ: यो बैशाख १ मै फुल्ने भन्ने कुरा गलत हो । यस्ता निराधार कुराहरु गलत सावित गर्न तथ्य परक अनुसन्धानको जरुरत छ ।
अन्त्यमा अर्को एक दैनिक पत्रिकाले (हे. http://annapurnapost.com/News.aspx/story/10559?hc_location=ufi) पनि सप्तरीको कञ्चनरूप नगरपालिकाको दुई स्थानमा त्यस्तै प्रकारको फूल फेरि बैशाखमै फुलेको भनेर समाचार प्रकाशित गर्यो । त्यो पनि सिराहको समाचारले प्रेणित भएर लेखिएको हो र त्यसमा पनि सत्यता छैन । फूल बैसाखमा फुले पनि बैशाख १ गते नै चाहिँ अवश्य होइन ।
(डा. मान रोकाया वनस्पति विषयमा विधावारिधि गरि हाल चेक गणतन्त्रको राजधानी परागमा वनस्पतिविदका रुपमा कार्यरत छन् ।)
हो यो सुनाखरी नै हो। एस्ता समाचार विश्वाशमा confirmation bias ले ठुलो भूमिका खेलेको हुन्छ। अहिले धेरै वस्तबिकता र बैज्ञानीक कारणको खोजी भन्दा हामी confirmation bias को शिकार भएका छौ साथै ठुला पत्र पत्रीका पनि
डाक्टर रोकायालाइ धेरै धन्यवाद | मैले यो भन्दा पहिलेको ब्लगमा नै भनिसकेको छु यो सुनाखरी फूल हो र नेपालमा मात्रै होइन अन्यत्र पनि फुल्ने गर्छ | शायद हाम्रो नेपालमा आजको मितिमा सबै भन्दा सजिलो काम भनेको पत्रकार बन्नु हो | कलम, कपी, फोन र क्यामेरा भए पुग्यो; योग्यता पनि चहिन्दैन | तालीम त नेपालमा पत्रकारिता कोर्स कति कति | जति दिनको चाहियो उति दिनको पाइन्छ | यति महिना उति महिनाको तालीम भने पनि घण्टाको हिसाबमा हेर्नु हो भने केही घन्टाको मात्र हुन्छ त्यस्तो तालीम | ज्ञान भन्दा प्रमाणपत्र बोकेर सस्तो पत्रिकाहरुमा घन्टे जागिर खानेहरुले कुनै नया समाचार सुने वा देखे भने रिसर्च गर्ने वा त्यसको वास्तविकता जांच गर्ने अनि मात्र सठीक कुरा लेख्ने गर्ने उनीहरुको ल्याकत छैन भने हुन्छ | तलबै थोरै छ, जे जस्तो ल्याउ हुन्छ भनेर खटाएको हुनाले यस्तो खाले फूलको पनि ठूलो समाचार बनाएर पेश गरिन्छ | छापियो, पैसा आयो, भयो पुग्यो ; अरु टाउको नदुखाउँ | माइसंसारले यसको चिरफार नगरेको भए अझै कति हजार तराइ झर्ने थिए वैसाखी फूल हेर्न | वाह रे नेपाली जनता |
आशा छ, मेरा मित्र डा. मानजीले लेख्नु भएको यो लेखले भ्रममा परेका सबैलाई सत्य जानकारी दिनेछ ।