Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संघीयताका लागि लभर्स पार्टी (बोकावादी) को नौलो प्रस्ताव

Posted on March 13, 2015 by mysansar

-साक्षात सुशील-

nauloसंविधानको हलो अड्केको अड्केकै छ। हलो तान्नुपर्ने कुनै गोरु दिल्ली तिर चर्दै ब्यस्त, कुनै गोरु मलाई ज्यानको खतरा छ भन्दै बुलेट प्रुफ ज्याकेट किन्ने तयारीमा छन। कुनै गोरु उखान टुक्काका नयाँ नयाँ किताब घोक्दै होलान्। एक्लो बुढो गोरु बिचराले ‘विन विन सिचुवेसन’ भनेको हो की ‘मिन मिन नुडेल्स’ भनेको थोप्पो बुझिन्न।

सबैलाई प्रष्ट थाहा छ संविधानको हलो अड्किनुको कारण संघीयताको आधारलाई लिएर हो। एक थरी भन्छन् जातीय राज्य नभई हुन्न, अर्का थरी भन्छन् जातीय राज्य कदापी हुन्न। यी दुई थरी अडान बीच न त सहमति हुन सक्छ न त प्रक्रियामा गएर संविधान बन्न सक्छ। यसर्थ हाम्रो पार्टी ‘ नेपाल लभर्स पार्टी (बोकाबादी) को मध्यस्ततामा सबै दलहरूलाई मिलाएर नेपाललाई संघिय राज्यमा परिणत गर्न नयाँ खाका प्रस्तुत गरेको छ।

प्रकृतिले मानिसको जात दुईवटा बनाएको छ। महिला र पुरुष। मानिस आफैले सिर्जना गरेको जात क्रमश परिवर्तन हुँदै जाने भएकोले अन्य मानव निर्मित जातको आधारमा भन्दा प्राक्रितिक जातको आधारमा प्रदेश निर्माण गरिएको खण्डमा त्यो स्थायी हुने हाम्रो पार्टीको ठहर छ। साथै नेपालको आम समस्याको कारण महिला र पुरुष भएको हुँदा त्यसलाई समाधान गर्न पनि यसरी बिभाजन गर्नु अत्यावश्यक छ।

यसर्थ अब बन्ने संविधानमा नेपालमा तीन प्रदेश हुनेछन्।

naulo

१. पुरुष प्रदेश : काठमाडौं पुर्वको स्थानलाई पुरुष प्रदेश नामकरण गरिनेछ। यस प्रदेशमा पुरुषलाई अग्राधिकार प्रदान गरिनेछ। मुख्यमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म पुरुष नै रहनेछन।

२. महिला प्रदेश : काठमाडौं पश्चिमको क्षेत्रलाई महिला प्रदेश घोषणा गरिनेछ। यस प्रदेशमा महिलालाई अग्राधिकार प्रदान गरिनेछ। राज्य संयन्त्रको सबै तह र तप्कामा महिला नै हुनेछन।

३. केन्द्रीय सरकार : केन्द्रीय सरकार रहने राजधानीलाई पनि एक प्रदेशको रुपमा राखिनेछ जहाँ लिङ्ग नखुलेका, तेस्रो लिङ्गी, समलिङ्गी र सभासदको बसोबास रहनेछ।
प्राकृतिक जातको आधारमा गरिने यस किसिमको संघीयताको निर्माण विश्व मै नौलो प्रयोग हुनेछ। साथै नेपालमा ब्याप्त लैङ्गिक बिभेदको कारण सिर्जित यावत समस्या हल गर्न अचुक उपाय हुनेछ।

यस किसिमको संघीयताका फाइदाहरु यस प्रकार छन् :
•३३ प्रतिशतको लफडा : जनसंख्याको ५० प्रतिशत महिलाले ओगटेको भए पनि ३३ प्रतिशत आरक्षणको लागि ल्याङ ल्याङ गरिरहनुपर्ने अवस्था छ। जाबो ३३ प्रतिशत त्यो पनि ‘आरक्षण’ शब्दले महिलालाई झनै कमजोर झै देखाएको छ। यसर्थ पुरै एउटा राज्य नै चलाउन दिए, टण्टै साफ भन्ने हाम्रो बुझाई छ।

•घरेलु हिंसामा कमि : साइलीको भट्टीमा दुई बोत्तल सोमरस चढाएर रातदिन श्रीमतीको बाजा बजाउने पुरुषहरु यत्रतत्र छन। अहिलेको अवस्थामा घरेलु हिंसाबाट पीडित महिला न त छुट्टेर बस्न सक्छिन न त प्रतिकार गर्न सक्छिन। एकल महिलालाई समाजको गिद्दे पुरुषबाट जोगिन गाह्रो पर्ने बुझाईको कारण अपराध सहन वाध्य छिन। यदी आफ्नै महिला प्रदेश निर्माण हुने हो भने श्रीमानले निहुँ खोजेको भोली पल्टै आफ्नै प्रदेश जान्छु भनेर कपडा पोको पार्न सक्नेछिन, जसरी अहिले माइती जान्छु भनेर पार्छन।

•शान्ति सुरक्षा : बाटो ढुकेर तरुनी जिस्काउने समुहको कुटाकुट। स्कुल कलेजमा मेरो गर्लफ्रेन्डलाई आँखा लगाईस भनेर कुटाकुट। बलात्कार र यौन जन्य घटनाले शान्ति सुरक्षाको निम्ती सुरक्षाकर्मी परिचालित गर्नु परेको छ। महिला प्रदेश निर्माण गरिने हो भने असुरक्षित महसुस गरेको खण्डमा आफ्नै प्रदेशमा बस्न सकियो। न बाटो ढुकेर जिस्काउनेको डर न सार्वजनिक यातायातमा यौन हिंसाको शिकार। आफुलाई मन लागेको समयमा बाहिर निस्कियो, मन परेको कपडा लगायो। कसैको बाल भो ?

•टेन्सनमुक्त समाज : महिला आफ्नै प्रदेशमा पुरुष आफ्नै प्रदेशमा भएपछी श्रीमानले अरु तिर आँखा डुलाउलान भनेर महिला टेन्सन नहुने त्यस्तै श्रीमतीलाई छिमेकीको जस्तो गरगहनाले ढकमक्क पार्न नसकेकोमा पुरुषलाई टेन्सन नहुने। देखावटी कै कारण मौलाएको भ्रष्टाचारमा कमि आउने। हामीले बोल्ने भाषालाई मात्रिभाषालाई भनिन्छ, पित्रीभाषा भनिन्छ। किन भने बिहेपछी पुरुषले बोल्ने मौकै पाएको हुन्न। श्रीमतीको रातदिनको कचकच पनि पुरुषलाई हुने डिप्रेशनको प्रमुख कारण हो।

•प्रेम : आ आफ्नै प्रदेशमा बसेका श्रीमान श्रीमती, दिदी भाई र साथी सङ्गी बीच अहिले भन्दा बढी प्रेमाभाव हुनेछ। जसरी अहिले उत्तर कोरिया र दक्षिण कोरिया बीच पारिवारिक पुनर्मिलनको निम्ती सिमाना खोलिदा रुवाबासी गरेर भेटघाट गर्छन्, त्यसैगरी महिला प्रदेश र पुरुष प्रदेशको ढोका समय समयमा खोलिदिदा आपासमा अगाध प्रेम दर्शाउने समय मिल्छ।

•बचत र विकास : युवाहरुले युवतीलाई इम्प्रेस गर्न न मोटरसाइकल किन्नु पर्‍यो, न जिम गएर ज्यान बनाउनुपर्‍यो न महँगो रेस्टोरन्टमा लगेर खुवाउने र गिफ्ट किन्नुपर्‍यो। बस आफ्नो पढाईमा ध्यान देउ, काममा जाउ, घर आउ, सुत। दोहोरो थकान पनि नहुने। त्यस्तै युवतीहरु पनि राम्री नानाभाँती मेक अप घस्नु परेन, आए जतिको फेसनका कपडा लगाउनु परेन। कसलाई इम्प्रेस गर्नु छ र ? आफ्नो पढाई र कामको निम्ती ध्यान दिन प्रशस्त समय मिल्ने भयो। दुबै समुहको समय र पैसाको बचत हुने भयो जसलाई बिकासको काममा लगाउन सकियो।

यसरी महिला र पुरुषको निम्ति छुट्टाछुट्टै प्रदेश बनाएको खण्डमा लैङिक बिभेदता पनि हट्नेछ, जातिय एकता पनि रहनेछ। देश टुक्रिने खतरा पनि हट्नेछ। एउटै प्रदेशमा पहाड, हिमाल र तराई पनि रहनेछ। अरु त अरु सदियौ महिला र पुरुष बराबर सक्षम छन कि छैनन भन्ने परिक्षण पनि हुनेछ।

अध्यक्ष
नेपाल लभर्स पार्टी (बोकाबादी)

12 thoughts on “संघीयताका लागि लभर्स पार्टी (बोकावादी) को नौलो प्रस्ताव”

  1. chandra says:
    March 25, 2015 at 7:22 am

    Rubbish article ! It appears, the author has no knowledge/understanding and respect to “Federelaism”, “Decentralisation” and “Cultures” !

    Reply
  2. madan bajracharya says:
    March 16, 2015 at 12:48 am

    संघियताको बिषय ठट्टा बा व्यंगको बिषय होइन/ आजको राजनैतिक परिबर्तनको आधार मावोबादीको बिद्रोह नै हो/ तर मावोबादिले बिद्रोह गरेको बेला संघियता चाहिन्छ भनेको थियन जातीय पहिचानको आधारमा संघियतामा जाने निर्णय दिल्ली सम्झौता पछि गरेको निर्णय हो र यो निर्णयलाई आधार बनायर नै सम्पूर्ण तराईलाई मधेसीको स्वशासित तथा आत्म निर्णय गर्न सकिने राज्य बनाउन पाउनु पर्ने कुरा उठेको हो/

    सम्पूर्ण तराइलाइ मधेसीको आत्म निर्णय समेत गर्न सकिने स्वशासित मधेश बनाउन बिना जातीय पहिचानको आधारमा संघियता सम्भव नै थियन/ दिल्ली सम्झौता गरेर फर्केको नेताहरुले जातीय पहिचान हुने संघियता अपनाउने निर्णय गरेको लगतै मावोबादिका केन्द्रिय स्तरका जय कृष्ण गोइत मात्रिका यादव लगायत नेताहरुले मधेशबादी दल खोलेर तराइ नेपालको भुमि नभयको भन्दै तराइलाइ नेपाल बात अलग्यायर “मध्यदेस” बनाउने भनेर हतियार समेत उठायो/

    मधेश भन्ने सब्द मध्य देस बात बनेको हो/तराइको संदर्वमा “मध्यदेस” को अर्थ नेपाल र भारत बिचको देस हो/ मधेश्बादिहरुले जे जस्तो मागहरु राखेर तराइलाइ अहिलेको निमित नेपालको संघीय राज्य बनाउन खोजेको छ तेस्ले उनीहरुको नियत तराइलाइ नेपालकै संघीय राज्य बनाउन होइन नेपाल बात अलग्गिने अधारलाइ संविधानमै ब्यबस्था गराउन खोजेको हो/

    भारत लगायत बिस्वको अन्य रास्ट्र र संयुक्त रास्ट्र संघले समेत नेपालको मानेको तराइलाइ तेतिकै नेपाल बात अलग्यायर उनीहरुको मध्यदेस बनाउन सकिंदैन/ तराइ नेपाल बात अलग्ग्याउन खोज्ने अनन्य उपाय काम नलाग्ने भयकोले तराइ नेपाल बात अलग्गीयोस भनेर चाहने समुह र तत्वहरुले जातीय पहिचानको संघियतालाइ आधार बनाउंदै अब बनिने संविधानलाई तराइ नेपाल बात अलग्याउने हतियार बनाउन खोजेको हो भन्ने कुरा तराइ सिट कुनै पनि हालतमा पहाड नजोड्ने मधेश्बादिको हठ र बिगतमा इनिहरुले बोले गरेको कुराले स्पस्ट गर्छ/

    मधेशी जातको छुट्टै सेना हुनु पर्ने/ विदेश सिट उनीहरुले नै सन्धि सम्झौता गर्न पाउनु पर्ने/ मध्यदेस बनाईने तराइमा कानुन पनि उनीहरुले नै बनाउन पाउनु पर्ने/ तराइमा उपलब्ध श्रोत र अबशरमा मधेसी समुदायकै अग्राधिकार हुनु पर्ने अनि तराइमा बसोबास गर्ने अन्य पहाडी मुलका नेपालीलाई मधेसी नमान्नु र रास्ट्रिय आत्म निर्णय गर्ने अधिकार(जसको सिधा अर्थ भोलि उनीहरुले चाहेमा नेपाल बात अलग्गिने निर्णय गर्ने अधिकार नै हो) खोज्नु आदि बात इनिहरुले संघियता खोजेको होइन नेपाल बात अलग्गिन खोजेको हो भन्ने देखाउंछ/

    उनीहरुले तराइलाइ पहाड सिट जोड्न नचाहेको अर्को यौटा कारण पनि छ/ तराइलाइ मधेश देस बनाई सके पछि तराइ नेपाल बात अलग्गिने घोसना गर्नको निमित जनमत लिनु पर्ने अबस्था आउँछ/ तेसैले उनीहरु पहाड सिट तराइ जोड्न नचाहेको हो र सके जत्ति आफ्नो जातिकालाई सजिलै सिट नेपालको नागरिकता दिलाउदै तराइ बात अलग्गिन चाहनेको बहुमत बनाउन खोजेको हो/

    अहिले सम्पूर्ण तराईलाई मध्य देस बनाउन दिने नदिने, झापा मोरंग सुनसरी कैलाली कन्चन पुर् पनि मधेशमै गाभ्न दिने बा नदिने बिबादमा संबिधान बनाउने काम बल्झेको छ/ के ई बिबाद सुल्झे संबिधान बन्छ? बन्दैन/ किन भने यो बिबाद सुल्झिना साथ् मधेशबादीले चाहे जस्तै उनीहरुलाई रास्य्त्रिय आत्म निर्णय गर्न दिने बा नदिनेमा बिबाद हुन्छ र संबिधान बनाउन दिने काम फेरी बल्झिन्छ/ यो बिबाद पनि सुल्झे पनि संबिधान बन्नाउने काम फेरी पनि अल्झिन्छ/ किनभने तराइको सबै स्रोत हरुमा मधेश्बादिकै मात्रै हक स्थापना गर्न दिने बा नदिने बिबाद त् उठ्छ नै/ यो बिबाद पनि सुल्झे फेरी तराइमा मधेश्बादिलाई नै कानुन बनाउन दिने बा नदिने भन्ने कुरामा बिबाद उठ्छ/ मधेश्बादिलाई नै मधेशमा कानुन बनाउने अधिकार दियो भने हिजो खुलेआम गैरकानुनि हतियार बोक्ने मधेसी समुहलाई जिल्ला प्रसासनले कानुनि कार्यवाही गर्न सक्ने कानुनको बिरोध गर्ने, मधेसी समुदायलाई तेतिकै नेपालको नागरिकता दिलाउन खोज्नेले कस्तो कानुन बनाउला भन्ने कुरा जोकोहीले बुझ्ने कुरा हो/

    यसकारण आज हामीले मधेश सम्भंदित मागहरु मा व्यंग होइन गम्भीर भयर सोच्नु पर्ने देखिन्छ/ हिजो शोसित भयका को बारेमा नेपाल संग्लो रहे अनेकौं उपाय गर्न सकिन्छ तर समुर्ण नेपाल र सबै जातिको नेपलिको बाच्ने बिकसित हुने श्रोत समेटेको तराइ नै ……भयो भने …………के गर्ने?

    Reply
  3. chhetri sher says:
    March 14, 2015 at 12:27 pm

    यो लेखकको विचार मलाई अतिनै राम्रो लग्यो त्येस कारण यो लेख मा भएको विचार लाई मेरो सलाम छ किर्पया हाम्रो नेता हरुलाई पनि जानकारी गराउनु पर्यो सबैले.

    Reply
  4. Shankar says:
    March 14, 2015 at 6:17 am

    हैन देश लाइ तिन प्रदेश मात्र बनाउने
    १) छ्यांग प्रदेश २) भाङ्ग प्रदेश ३) गाँजा प्रदेश

    अनि जब सुर्यास्त , सारा नेपालि मस्त |
    बिकाश पनि चाहिएन , संबिधान पनि चाहिएन , सरकार पनि चाहिएन |

    Reply
  5. krishna says:
    March 14, 2015 at 4:06 am

    केन्द्र प्रदेश तेस्रोलिंगी लाई !

    Reply
  6. Alikhit says:
    March 14, 2015 at 1:49 am

    तेस्रो लिंगीलाई प्रधान मन्त्रि बनिदियो भने पुर्व र पश्चिम तिरका दुवै लिंगी माथि भेदभाव नहुने हुदा देशमा अमन चैन कायम गई मुलुकले बिकाशको उच्च गति समात्ने पक्का छ | त्यस हुदा यस तर्फ पनि बिचार पुर्याइयोस श्रीमान |

    Reply
    1. bibek dhakal says:
      March 14, 2015 at 9:58 pm

      अर्कोपालि प्रधानमन्त्री पड्काउने बिचार रहेछ साथि को :p

      Reply
  7. karki D says:
    March 14, 2015 at 1:48 am

    क्रमश:

    बुदा नम्बर दुइ बमोजिम श्रीमान-श्रीमती,वालवालिका,असक्त-अपाङ्ग, कछाड ,धोति,लबेदा,बख्खु लगायतको आधारमा छुट्टै आत्मनिर्णयको अधिकार सहितको क्षेत्र निर्धरण गरिनुपर्ने / आवत-जावतको लागि तोकिय बमोजिम हुनुपर्ने/
    ३. महिला प्रदेशको हकमा पनि बुदा नम्बर दुइ बमोजिम हुनुपर्ने /
    ४. प्रेम नगरी,रेड एरिया दुवै तर्फ़ हुनुपर्ने/ प्रवेशको लागि तोकिय बमोजिम हुनुपर्ने /
    ५. व्यापार बट्टा,सिक्षादिक्षा,स्वास्थ्य,सुरक्षा सम्बन्धि व्यबस्था तोकिय बमोजिम हुनुपर्ने / तोक्ने जिम्मा…….
    ६. एक प्रदेश वाट अर्को प्रदेश तथा प्रदेश भित्र स्वायत्त प्रदेश र क्षत्रको आन्तरिक आवत जावत सम्बन्धि व्यबस्था निर्दिष्ट कानून बमोजिम हुने/
    ७. अन्य व्यबस्था तोकिय,सोचिए बमोजिम हुनेछ……..

    Reply
  8. karki D says:
    March 14, 2015 at 1:05 am

    बोकावादी पार्टीलाई सुझाब :
    १. पार्टी नामाकरणम संसोधन गरि गन्हाउने बोकाको मात्र झल्को दिएकोले नेपाल बोका-बाख्री नश्ल सुधारवादी पार्टी हुनुपर्ने /
    २. पुरुष प्रदेश भित्र सबै उमेर समुहको पुरुषको ईच्छा,चाहना,आबश्यकतामा एकरुपता नहुने भएकोले निश्चित उमेर समूह निर्धारण गरि स्वायत्त प्रदेश गठन गर्नुपर्ने / मिलेसम्म कालो,गोरो,होचो अग्लो,चुच्चे,नेप्टे,चिम्रो हरुलाई शारीरिक बनावट अनुरुपको बिशेष क्षेत्र को व्यबस्था गरि अग्रगामी व्यबस्था गरिनुपर्ने/श्रीमान-श्रीमती,वालवालिका,अपाङ्ग,

    Reply
  9. Prakash_Edm_Canada says:
    March 13, 2015 at 10:46 pm

    प्रस्ताब नराम्रो छैन | मेरो पनि एउटा प्रस्ताब ! १०० वर्ष को लागि :
    १) हिमाली भेग चीन लाइ भाडा मा दिने
    २) तराई भेग भारत लाइ भाडा मा दिने
    ३) पहाडी भेग अमेरिका लाइ भाडा मा दिने

    सबै नेपाली भाडा खाने, संसार घुम्ने, मोज मस्ती गर्ने ! LOL

    Reply
  10. subash says:
    March 13, 2015 at 10:33 pm

    गज्ज़ब कै नौलो सोच हो यो त ! ल ल साक्षात सुशीलजी, तपाई नै प्रधानमन्त्री बनिदिनुपर्यो! अहिले नै सुशील कोइरालाजी लाई फोन गरेर साक्षात सुशीलजी लाई नै प्रधानमन्त्रीको कुर्सि हस्तान्तरण गर्न आग्रह गर्नुपर्यो सबै नेपालीले .

    Reply
  11. सिर्जने says:
    March 13, 2015 at 9:51 pm

    क्याबात सुशील जी!
    महिला प्रदेशमा गर्लफ्रेन्ड भेट्न जादा विसा चाहिने होला / विसाको लागि गर्लफ्रेन्ड को लिखित स्वीकृति पनि चाहिने होला / अनि साथसाथै एउटा बडीगार्ड पनि चाहियो / बडीगार्ड उतै अमरिकामा नेपालि लुकेजस्तो लुक्द्यो भने के गर्नी होला? फेरि पुरुष प्रदेशमा फिलिपिनो केटीहरुको आयात हुन थाल्यो भने कसो गर्ने?
    कपडा, जुत्ता र ब्याग पसले जति महिला प्रदेशमा बस्ने भए / रक्सी, चुरोट, गाजा अनि भात पसलेहरु पुरुष प्रदेशमा रहने भए / लिङ्ग नखुलेका नेताहरु काठमाडौँमा अटाउलान?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme