Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : रिस शान्त पार्ने औषधिहरु

Posted on December 7, 2014December 8, 2014 by mysansar

angry रिस तथा रिस उठ्नुलाई अहिलेको सामाजिक परिप्रेक्षमा झट्ट हेर्दा नराम्रो अथवा नकारात्मक मानिए पनि जीवको अस्तित्व रक्षाको इतिहासमा रिसले नै सबैभन्दा ठुलो भूमिका निर्बाह गरेको छ | कुनै यस्तो समय थियो जहाँ मानिसले सिंह, बाघ, भालु लगायतका हिंश्रक जन्तुसंगै बस्नु पर्थ्यो | यस्ता जनावरसंगको जम्काभेटमा सकेसम्मको ठुलो आवाजले नाचिच्च्याउने हो भने र रिसले जलेको रौद्ररुप तथा भौंजाहा प्रतिक्रिया नदेखाउने हो भने अहिले पनि तिनीहरुबाट बच्न सकिन्न | झम्टिन लागेको बाघसँग प्रतिकार गर्न योजना बनाउनु अथवा सिधान्त प्रतिपादन गर्न लाग्नु भन्दा रिसले नै प्रतिकार गरी तर्साउनु बुद्धिमानी ठहर्छ |
हरेक मानिसमा कुनै निश्चित तहसम्मको रिस हुनै पर्छ | रिस त डर, आश्चर्य, घृणा, दुख, पिर, खुसियाली जस्तै एउटा आधारभूत संवेग हो | निश्चित प्रकारका परिस्थितिहरुलाई यी मध्ये कुनै न कुनै संवेगले प्रतिक्रिया जनाउनै पर्छ |

साधुसन्तको शिक्षामा नरिसाउनु राम्रो मानिए पनि नरिसाउनु भनेको एकातर्फ जटिल समाजको प्रतिष्पर्धामा पछि पर्नु, आक्रामक तरिकाले प्रस्तुत नहुनुकै कारणले कतिपय अवस्थामा हुनुपर्ने काम पनि नहुनु, अन्याय नै सहन पर्नु आदि हो भने अर्कोतर्फ शारीरिक तथा संबेगात्मक कुराहरुमा सन्तुलन नहुनु हो | तसर्थ कुनै निश्चित तहसम्मको रिस आफैमा नराम्रो होइन, तर स्वस्थ किसिमले रिसलाई ब्यक्त गर्न नसक्नु भने समस्या हो | बिकसित समाजको सर्वश्रेष्ठ प्राणीले रिस पनि सभ्य किसिमले ब्यक्त गर्न सिक्नु पर्दछ |

मानिसमा अन्य प्राणीमा झैं सुरुदेखिको आधारभूत संवेग पनि छ, अनि त्यसमाथि एकदम जटिल सही र गलतको भेद छुट्याउन सक्ने ब्रह्म (Rational System) को पनि बिकास भएको छ | जसको कारणले उसमा Aggressiveness र Self-consciousness पनि थपिएको छ |

यही बिकसित Rational System कै कारणले मानिस सर्वश्रेष्ठ हुन त पाएको छ, तर त्यसैको कारणले उसको स्वस्थ सम्बेगात्मक जीवनमा चुनौती पनि थपेको छ | समाज जतिजति बिकसित भइरहेको छ त्यतित्यति सामाजिक तबरले स्वीकृत हुने गरी सामाजमा प्रतिस्प्रधा गर्न चुनौती पनि बढेको छ | परिणामस्वरूप आधारभूत संवेग र Rational System को बिचमा सामन्जस्यता (Coordination) आउन नसकी मान्छे झनपछि झन अस्वस्थ पाराले रिस जस्ता संवेगहरु ब्यक्त गर्न विवस छ |

आजभोलि रिस ब्यबस्थापन सम्बन्धि थुप्रै सिधान्त र तरिकाहरु प्रचलनमा छन् | ती मध्ये Dialectical Behavioral Therapy (DBT) लाई सबभन्दा बैज्ञानिक पाराको सिद्धान्त मानिन्छ किनकि यसले “संयम र बिबेकशील” (Wise Mind) भन्ने धारणामा आधारित रहेर काम गर्दछ | “संयम र बिबेकशील” भनिने धारणा अनुसार हाम्रा संवेग र बिबेकलाई प्राथमिकताको आधारमा परिचालन गरिन्छ | यसको अर्थ हो रिस घातक हुन सक्छ भन्ने तथ्यलाई मनन गरेर रिस ब्यक्त गर्नुभन्दा पहिले आफैले आफैसंग कुरा गर्ने | यदि रिस ब्यक्त गर्दा परिणाम सकारात्मक हुन्छ भन्ने बिबेकले बोलेमा नियन्त्रित रुपले ब्यक्त गर्ने, तर परिणाम सकारात्मक हुँदैन जस्तो लागेमा रिसलाई शान्त पार्न पनि बिबेक नै प्रयोग गर्ने अथवा बिबेकलाई प्राथमिक र संवेगलाई गौण बनाउने | व्यापारको लागि जे-जस्ता नाम दिइए पनि सबैको उद्देश्य चित्त नबुझ्दा कुनै निश्चित प्रतिक्रिया दर्साउने संवेग (Emotion) र असल खराब छुट्याउने तार्किकता (Reasoning) मा सन्तुलन ल्याउनु नै हो |

यही सिद्धान्तमा आधारित रहेर बिकसित देशहरुका स्कूल कलेजहरुमा खासगरी रिसको कारणले साथीहरुसंग मिल्न नसक्ने बिद्यार्थीहरुको लागि काउन्सेलर राखिएका हुन्छन, जसले काउन्सेलिंग गर्नु भन्दा बढी त्यस्ता बिद्यार्थीहरुका आफ्ना साथीहरुसंगका राम्रा नराम्रा कुराहरु निकै ध्यानपूर्बक सुनिदिने र बिशेष संबेदनशील प्रसंग उठेमात्र यसो गर्नु राम्रो हुन्छ भन्ने सल्लाह दिने गर्दछन् | यसो गर्दा एकातर्फ रिसले बाहिर निस्कने सुरक्षित चर (outlet) प्राप्त गर्ने र अर्कोतर्फ बिस्तारै संवेगलाई संयमित र स्वस्थ किसिमले ब्यक्त गर्ने बानीको बिकास हुने बिश्वास गरिन्छ |

रिस सान्त पार्ने कुनै भौतिक औसधि पनि छैन र आजको मितिसम्म कुनै प्रक्रियाबाट रिसाउँदै नारिसाउने बन्न पनि सम्भब छैन | यदि कोही रिसै नउठ्ने व्यक्ति संसारमा छ भने त्यो पनि समस्या नै हो | त्यसको अर्थ उसमा सम्बेगात्मक समस्या छ भन्ने हुन्छ|

संबेगात्मक समस्याहरु धेरै प्रकारका हुन्छन | ती मध्ये आफूले पत्तै नपाई अर्ध-चेतन (Sub-conscious) अवस्थामा आफ्नै मस्तिष्कको आफ्नै अन्तर-ज्ञान (inner-judgment) ले आफूलाई आफ्नै नजिकका अरुसंग तुलना गरी आफू कमजोर भएको महसुस हुनु अथवा अर्को पक्ष भन्दा जान्नेबुझ्ने भएको घमण्ड हुनु दुवै प्रवृति बिनाकारण र बेमेसैमा रिस उठ्ने कारण हुन् |
यस्ता प्रवृतिले बाहिर भन्दा पनि आफ्नै परिवार र नजिकका मान्छेसंग रिस साँध्ने कुरामा बल पुर्याउँछन् | यसो हुनुको मूल कारण के हो भने आफ्ना बाबुआमा र छोराछोरीसंग कुनै पनि बिषयमा प्रतक्ष अथवा अप्रतक्ष प्रतिस्प्रधा हुने गरी मानब मस्तिष्कमा इर्श्या (Jealousy) ले बिकास हुने अवसर पाएको छैन, तर यी दुई अवस्था बाहेक अन्य अवस्थामा आफ्नै सहोदर दाजुभाई तथा दिदीबहिनी समेत कुनै निश्चित तह भन्दा माथी अथवा तलको स्थितिमा हुनेबित्तिकै मानब मस्तिष्कले या त ऊ प्रति प्रतक्ष अथवा अप्रतक्ष रुपले इर्ष्याको भाब ब्यक्त गर्दछ या त घमण्डको | यस्ता प्रवृति नै Sub-conscious अवस्थामा inner-judgment को कारणले व्यक्तिमा रिस उत्पन्न गर्ने र परिवारमा बेमेल तथा कलह ल्याउने कारणहरु हुन् |

मान्छेलाई रिस जगाउने अन्य मूल कारणहरुमा बाह्य जगतका वा बतावरणका आफूलाई मन नपर्ने कुराहरु जस्तै :- आफ्ना इच्छाहरु पुरा गर्न बाधा उत्पन्न गर्ने परिस्थितिहरु र आफूले मन नपराउने घटनाक्रमहरु, र मन नपर्ने कुराहरु पनि परिस्थितिले गर्न बाध्य पर्ने स्थितिहरू नै हुन् | आजको जटिल समाजमा हामीलाई मन नपर्ने सयौं कुराहरु दैनिकजसो नै सामना गर्नु पर्दछ | सामान्य अवस्थामा हाम्रो अनियन्त्रित (Uncontrolled) मस्तिष्कले आफूलाई मन नपर्ने कुराहरु प्रति असजिलोपन अथवा प्रतिक्रिया ब्यक्त गर्दछ | यदि सचेत सोच (Wise Mind) ले यस्ता प्रतिक्रियाहरु प्रति Reasoning गरिएन भने रिस नामक संवेग बढ्दै गई अनियन्त्रित र घातक सिद्ध हुन सक्दछ |

तसर्थ चित्त नबुझ्ने कुराको प्रतिक्रिया स्वरूप जन्मिने रिस जस्तो संवेगलाई बिनातर्क र बिना औचित्य त्यहीरुपमा ब्यक्त हुन दिनु हुँदैन |

यो संसार आफ्नोलागि मात्र आनुकुल हुनेगरी सृजिएको छैन भन्ने कुरा, अनि संसारका हरेक मान्छेहरु आफ्नो विचार अनुसार र आफूलाई चित्त बुझ्नेगरी मात्र चल्न बाध्य छैनन् भन्ने कुरा ब्यबहारले स्वीकार्नु पर्दछ |

मनोबैज्ञानिक दृष्टिकोणले भन्नु पर्दा कसैसंग रिसाउनु भनेको उसलाई अथवा उसको क्रियाकलापलाई मन नपराउनु र उसलाई हाँक दिनु नै हो | आफूले अरुलाई मन नपराएपछि अरुले पनि त आफूलाई मन पराउंदैन ! हामीलाई कसैका क्रियाकालप मन पर्दैन भने हाम्रा पनि उसलाई मन पर्दैन ! तसर्थ अर्काको अस्तित्व र बिचारलाई पनि हृदयदेखि नै स्थान दिनु पर्छ | त्यसो गर्दा बिष्फोटन हुनेगरी उच्च बिन्दुमा पुग्ने र मान्छे अन्धो नै बन्नेगरी रिसको संयन्त्र नै बिकसित हुन पाउँदैन, सक्दैन |

रिसलाई उम्लिन नदिने र स्वस्थ तरिकाले ब्यक्तगर्ने अर्को एउटा ब्रह्मास्त्र क्षमा हो | क्षमा दिने भनेको आफूलाई मन नपर्ने काम गर्नेलाई मुख फोरेर तँलाई माफ भो भन्ने होइन की उसले गरेको चित्त नबुझ्दो अथवा गलत कार्यलाई आफूले आफ्नै मनमा सच्याईदिने हो | भनाइको मतलब “यो कार्य उसले यसरी गर्नु पर्थ्यो तर उअसले यसरी गर्यो” भनी आफैले आफैसंग कुरा गरी उसको गल्तीलाई आफ्नो मनले सच्याइदिने | यसो गर्नु भनेको बिबेकलाई पहिलो प्राथमिकतामा र रिसलाई त्यसको छायाँमा पार्नु हो | त्यसो गर्दा रिस पनि ब्यक्त हुन पाउँछ, अनि त्यसले नराम्रो परिणाम ल्याउन पनि सक्दैन |

रिसलाई समाल्ने अन्य औषधिहरु भन्नु पर्दा चित्त नबुझ्ने कुराहरुलाई बढी बोझिलो किसिमले लिनु हुँदैन | आफू रिसाउनु पर्ने कारण ठिक छ कि छैन आफैले पुनरावलोकन गर्नु पर्छ, र रिस ब्यक्त गर्नु भन्दा पहिले त्यसबाट हुने जोखिम र उपलब्धीलाई पनि तुलना गर्नु पर्दछ | यसो गर्दा एकातर्फ रिसलाई पारो चडाउने संयन्त्र मत्थर हुँदै जान्छ भने अर्कोतर्फ रिसलाई स्वस्थ पाराले ब्यक्तगर्न शरीर र संवेग पनि अभ्यस्त हुँदैजान्छ |

4 thoughts on “विज्ञान ब्लग : रिस शान्त पार्ने औषधिहरु”

  1. Limbu HarataraH says:
    December 12, 2014 at 3:26 pm

    ‘रिस’ बिनाको मान्छे र सर्प बराबर सुन्या थें, हो पनि किनकि ३.५ दशक बिताउदाको अनुभव छन् मेरो I वैकल्पिक मेडिसिन भने थोरै जान्या छुं I (रिस त डर, आश्चर्य, घृणा, दुख, पिर, खुसियाली जस्तै एउटा आधारभूत संवेग हो) मा नै सहमत भएँ
    |

    Reply
  2. Bhumika says:
    December 9, 2014 at 8:25 am

    Interesting! I thought there are actually some medicines. Thank you

    Reply
  3. Bhumi Pradhan says:
    December 9, 2014 at 7:22 am

    भोको पेट भयो भने पनि रिस छिटै उठ्छ / त्यसैले सके सम्म भोको पेट नबस्नु राम्रो हुन्छ (यो मेरो अनुभव हो).

    Reply
  4. balakji says:
    December 8, 2014 at 3:45 pm

    ओशो को सक्रिय ध्यान लगातर २१ दिन गरेपछि रिस कुन चारको नाम हो भन्ने कुरानै बिर्सिन्छ. meditation ले मानिसका दुर्गुणहरु हराउदै जान्छन र देब गुण हरु बिस्तारै पर्कट हुन सुरु हुन्छन .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme