-लेखनाथ काफ्ले/शिन्चु, ताइवान-
“सबै प्रदेशहरू बर्गाकार हुनुपर्छ बुझ्नु भो। लम्बाई-चौडाई सबै बराबर। प्रदेशको एउटा छेउबाट अर्को छेउसम्म पुग्न उत्तिकै दुरी” एउटा नेताले यसो भन्दा अरुहरू ट्वा परे। “अरे बाबा, यस्तो गजबको आइडिया हाम्रो दिमागमा किन आएन” उनीहरूले त्यहि सोचे। “ल बाँकी भोलिको बैठकमा” सभापतिले भने।
“बर्गाकार होइन, गोलाकार बनाउनु पर्छ। केन्द्रबाट सीमासम्म उत्तिकै दुरी, सीमाबाट केन्द्रमा उत्तिकै पहुँच” आज अर्को नेताले झन् खतरा प्रस्ताब ल्याइदियो। “बर्गाकारमा भएका कमजोरी सच्याएको मात्रै हो” भनेपछि बर्गाकारवाला नेता पनि उसकै पक्षमा उभियो”। चियापान-खानपानपछि बैठक सकियो।
“देशै लाम्चो छ अनि बर्गाकार र गोलाकार प्रदेश कसरी बन्छन? हिमाल, पहाड, तराई का लाम्चा प्रदेश। देशको बनौट र माटो सुहाउदो” उसको तर्क सुनेर सबैको दिमाग शून्य भयो। सबैले भने “ल यसको बारेमा अध्ययन गरेर भोलि बैठक”।
“धान फल्ने मदेश आफूलाई। फापर फल्ने पहाडमा हाम्ले के खाने हो, हुदैन” एउटाले भन्यो। “उवा फल्ने हिमालमा हाम्ले केले पेट भर्ने हो, हुदैन” अर्कोले भन्यो। “त्यसो भए के गर्ने भनेर भोलि बैठक” सभापतिले टुंग्याए।
“हिमाल-पहाड-तराई सहितका ठाडा प्रदेश” बैठक शुरु हुनासाथ कहिल्लै पालो नपाएको नेताले आज फ्याट भन्यो। “न संस्कृति मिल्छ, न रितिरिवाज। बख्खु लगाउने, टोपी लगाउने र लुंगी लगाउने कसरी एकै ठाउँमा बस्ने। यस्तो प्रतिगामी प्रस्ताब मानिदैन” टाई लगाउने नेताले भन्यो। “लौ भोलि बिशेषज्ञ र बुद्धिजीवीहरू सहितको बैठक” सभापतिको रुलिङ।
देशी बिशेषज्ञहरू अगाडी लहरै बसे। बैठक शुरु हुनासाथ कुर्था लगाउले भन्यो “बिशेषज्ञहरू टोपी लगाउने धेरै छन्”। टोपी लगाउनेले भन्यो “फलाना पार्टीका धेरै छन्”। बख्खु लगाउनेले भन्यो “चुच्चेवाला धेरै छन्”। त्यसमै घनघोर बिबाद भयो। देशी बिशेषज्ञहरू लुरुलुरु फर्के। “लौ भोलि बिदेशी बिशेषज्ञहरूसंग बैठक, पाँच तारेमा” सभापतिको उर्दी।
धोतीवाला कल्सौदो छाला, रातो टोपीवाला पहेलो छाला र ह्याटवाला रातो छालाका तीनथरी बिदेशीहरू आए।
“फेडेरल सिस्टम इन नेपाल शुड बी लाइक दिस…” उनीहरूले पावर प्वाइन्टमा लेजर प्वाइन्टरले कोर्दै भने। कल्सौदोले दक्षिणमा चिरा पार्यो, पहेलोले उत्तरतिर रेखा तान्यो, रातोले जताततै धर्का पार्यो।
बैठकमा उपस्थित नेताहरूले चुपचाप सुनिरहे। तर बिदेशी तीनजना मै मत बाझियो। “लौ आज बिदेशी महाशयहरू सहित अवाशीय बैठक गर्ने” सभापतिले सुनाए। रातभरी बार, वेटर, रेस्टुरेन्ट, नेताका मोबाइल र नेताका कोठाहरू व्यस्त भए।
भोलिपल्ट फ्रेश मुडमा सबैजना बैठकमा फेरी जम्मा भए।
फुर्सदमा रहेका देशी बिशेषज्ञ र पढेलेखेकाहरू भने साइबर जान थाले। हिजोबाटै डिभी जो खुलेको थियो।
उताको बैठक निरन्तर जारी छ।
राम्रो लाग्यो
समाएको बर्बाद, पैसाको स्वाहा पार्ने निर्णय लिन नसक्ने हुतिहारा हरुको दैनिकीको चित्रण पढेर नेपालमा हुने यो भन्दा केहि होइन भन्न कर लग्यो|
अति सुन्दर.
कथा त राम्रो छ, शब्द संख्याले ‘लघुकथा’को मान्यतालाइ सन्तुलन गरेन की ?