Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेताको अर्थतन्त्र : नेताले बाख्रा पाल्दा के हुन्छ?

Posted on October 23, 2014 by mysansar

-लेखनाथ काफ्ले/शिन्चु, ताइवान-

भर्खरै डा. बाबुरामले शुरु गरेको बाख्रापालनको काममा सहरका केहि मानिसहरुबाट चिसा प्रतिक्रियाहरू आए, “पुर्व प्रम भएर पनि बाख्रा पाल्ने रे”। यसलाई मानिसहरुको एउटा जमातले हाँसोमा उडाए, कसैले होच्याउने काम गरे, कसैले “ढिलै भए पनि बुद्धि फिरेको” प्रतिक्रिया दिए। के साँच्चै नेताले बाख्रा पाल्नु हुदैन? के नेताले आफ्नो आर्थिक उपार्जनको मेसोमेलो मिलाउनु हुदैन? के नेताले आफ्नो आर्थिक स्रोतको लागि भरपर्दो काम गर्नु पर्दैन?

अमेरिकामा अहिलेका बाराक ओबामा सहित जम्मा ४४ जना राष्ट्रपति भए। अमेरिकाका पहिला राष्ट्रपति जर्ज वाशिंगटन स्वयं एक किसान थिए, उनको बिशाल फलफूल बगैचा थियो। उनले सेनामा पनि लामो समय बिताए। जब उनको राष्ट्रपतिको दोश्रो कार्यकाल सकियो उनी फेरी आफ्नो पुरानो फलफूल बगैचामा मै फर्के, साथै डिस्टिलरीको नयाँ ब्यबसाय पनि शुरु गरे। त्यसैगरी जो जो राष्ट्रपति आफ्नो पदबाट मुक्त भए उनीहरु या त पुरानै पेसामा फर्के या त नयाँ काम सुरु गरे। त्यस्तै बेलायती भूतपूर्व प्रधानमन्त्री टोनी ब्ल्येरले याले विश्वविद्यालयमा पढाउछन र बिभिन्न पेसागत कार्यक्रमहरुमा बक्ताको रुपमा काम गर्छन। ९० मिनेटको प्रबचनको लागि २ लाख ५० हजार पाउण्ड लिने उनी अहिलेका संसारका सबैभन्दा महँगा बक्ता हुन्। हाम्रोमा भने नमरुञ्जेल पार्टी र सत्ताको कुर्ची छाड्न चाहदैन नेताहरु किनकी उनीहरुको राजनीति बाहेक अरु कुनै पेसा नै हुदैन। कति होलान हाम्रोमा मन्त्रि हुनु अघि कै पेसामा मन्त्रि पदबाट मुक्त हुनासाथ फर्किने ?

संसारका धेरै असल नेताहरुले जहिले पनि आफ्नो आर्थिक स्रोत स्थापना गरेर त्यहि स्रोतलाई उपयोग गर्दै राजनीति गरेका छन्। जब अर्थौपार्जन गर्ने आफ्नो मुख्य पेसा हुन्छ र त्यसैले जीवन चल्छ त्यस्ता व्यक्तिको राजनीति समाजसेवा बन्न जान्छ। भ्रष्टाचार त कम भै नै हाल्छ तर हाम्रोमा नेताहरुको मुख्य पेसा नै राजनीति भएकोले त्यो समाजसेवा भन्दा पनि जीवननिर्वाह गर्ने ब्यबशाय बन्न पुगेको छ । त्यसले भ्रष्टाचारलाइ अवश्य नै बढावा गर्छ। कति होलान हाम्रोमा राजनीतिलाई पेसा होइन समाजसेवा बनाउने ? पुर्ख्यौली संपत्ति छ भने त राजनीति गर्न स्रोत खोज्नु पर्दैन तर यदि बेरोजगार मान्छेहरु राजनीतिमा पसे भने उनीहरुको जागिर, ब्यबसाय र पेसा नै राजनीति बन्न जान्छ। त्यसमा पनि २५ बर्ष नपुग्दै बिहे, बिहे गरेको बर्ष दिनमै सन्तान जन्माउने समाजमा त्यो बेरोजगार मान्छेले राजनीति गरेर कसरि जहान केटाकेटी हुर्काउने, खान लाउन दिने, राम्रो शिक्षा दिने ? न त अरु केहि पेसा छ राजनीति बाहेक, न त केहि जानेको छ, न त हातमा कुनै सिप छ। पैसा नभई जीवन चल्दैन, काम नगरी पैसा आउदैन। जे जानेको छ त्यसैलाई उपयोग गरेर पैसा कमाउने हो। राजनीति जानेकाले राजनीतिलाई प्रयोग गर्नु बाहेक अरु के नै गर्न सक्छन र? त्यसले भ्रष्टाचार बाहेको अरु केहि नै हुन सक्छ र।

भर्खर बहुदल आएपछिको कुरा हो। एकजना हाम्रा गाँउले थिए, पार्टीमा लागेका। उनी चुनाबमा पार्टीलाई जिताउन खुब दगुरे, पार्टीले जित्यो र सरकारमा पनि पुग्यो। त्यसैमेलोमा जिल्लातिरबाट एउटा कल्भर्ट बनाउने कामको बजेट ल्याए। गाउँमा कल्भर्ट त साँच्चिकै नै चाहिएको थियो। यताउता गरेर हिँउदमा कल्भर्ट बनाए। कल्भर्ट बनाइसकेको मैना दिनमा घरमा पनि टिनको छानो हाले। बर्खा आयो, टिन हालेको नयाँ छानो त चुहिएन तर एउटा सानो बर्खाको हल्कोले कल्भर्ट उत्तानो पर्‍यो। दुईचार दिन गाउँमा गाईगुइ भयो र तेत्तिकै सामसुम पनि भयो, काण्ड सकियो। त्यसैगरी त्यो कल्भर्ट ५ बर्षमा ३ चोटी बन्यो र तीनचोटी नै उत्तानो पर्‍यो। घरमा टिन हाल्ने पात्र फेरीए तर कल्भर्टको दशा फेरिएन, गाँउलेको दुख घटेन।

अरु आम्दानी छैन। आफ्नै घरखर्च, कार्यकर्ताको चियापानी खर्च कताबाट ल्याउने? त्यसैले गाउँमा कल्भर्ट उत्तानो पर्छन, जिल्लामा पुल नै हावाले उडाउछ, केन्द्रमा छ लेनको बाटो बनाएको ६ मैनामा खाल्टो पर्छ।

भारतमा गान्धीले आफैले खादी बुनेर लगाए, आफैले चर्खा कातेर आत्मनिर्भर अर्थतन्त्रको संस्कार बसाले। नेपालमा भने २००७ को आन्दोलन गर्न बिमान अपहरण नै गरेर बैंकका नोट लुटियो। यसरी नेपाली राजनीतिको शुरुवाती कदम नै लुटेर शुरु भयो। आन्दोलन वा राजनीति आफ्नो होइन, अरुको पैसाले गर्ने हो भन्ने बुझाइ स्थापना भयो हाम्रा छोटे देखि बडेबडे नेता सम्ममा। हुँदाहुँदा अहिले त समाजसेवा गर्ने सामाजिक संस्थाहरू (NGO) समेत आफ्नो स्थानीय स्रोत परिचालन गरेर होइन, अरुको पैसामा समाजसेवा गर्न हातमा प्रोपोजल बोकेर यता र उता दगुरिरहेका हुन्छन। यो माग्ने र अप्रत्यक्षरुपमा लुट्ने कामको सुचिमा नेताहरु मात्रै होइन, समाजसेवा गर्छु भनेर गमक्क पर्नेहरू पनि धेरै नै पर्दछन।

यस्तो बिषालु प्रवृतीको अन्त्य जरुरी छ। वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ताको गोजी आफ्नै इलमको पैसाले भरिनु जरुरी छ। गाउँटोल देखि केन्द्रसम्म खुलेका सामाजिक संस्थाहरुका स्वयंसेवकहरुको पनि आफ्नै आर्थिक स्रोत हुनु जरुरी छ। त्यसकोलागि गर्ने भनेको जे बस्तुको बजार छ, जे जानिएको छ र जुन काममा आफ्नो दखल छ त्यहि गर्ने हो।

हामी किसानै किसानले भरिएको देशका मान्छे। हामीमध्ये धेरैले जाने र बुझेको भनेकै कुटो कोदालो, हँसिया, डोको, गाईबस्तु, हलो-जुवा, कुखुरा, हाँस, भेडा, बाख्रा हुन् । नेपालमा सबैभन्दा रुचाइने मासु खसीको हो। अहिले नेपालमा बिक्री हुने मध्ये लगभग ९०% खसी बोका भारतबाट आउँछन। ति खसी बोकाहरु हाम्रो गाँउघरमा पालिएका जस्ता होइनन, ति त दाना र दबाई खुवाएर ब्रोइलर कुखुरा पाले जस्तो पालेर छिटै हुर्काएका हुन्। त्यस्ता खसी बोकामार्फत नेपालबाट अरबौ रुपैया विदेशिएको छ।

हाम्रा डाँडाकाँडामा घाँस रोपे बाताबरण राम्रो हुन्छ, त्यहि घाँसले बाख्रा अघाउछ। बाँझो बारीमा मकै, भटमास र अरु खेती गरे बाख्राको दाना बन्छ। सानो लगानीबाट शुरु गर्न सकिने र पुस्तौंदेखि जानेको काम गरेर मलेसिया, अरबमा १६ घण्टा काम गरेर मैनाको १०००० जोगाउनु भन्दा घरमै बसीबसी अझै धेरै आम्दानी गर्न सकिन्छ। त्यसैले बाबुराम मात्रै होइन, अब सबै “राम” हरु, “प्रसाद” हरू, “बहादुर” हरू, “बरण” हरू, “दोर्जे” हरूले भेडा, बाख्रा, गाई, भैसी, कुखुरा, हाँस, बंगुर, जडिबुटी, च्याउ, कागती, टिमुर, ओखर, मरिच, दालचिनी, बेसार, विकासे कटुस आदिको खेती गर्नु पर्दछ।

जनता बिमारी हुँदा सिटामोल देख्दैन भने देशलाई भड्खालोमा हाल्ने नेता बिरामी हुँदा, जापान, सिंगापुर, अमेरिका र भारत पुर्‍याएर उपचार गराउन जनताले अब कर तिर्न सक्दैन। देश सपार्ने नेतालाई सम्मान गर्न कुनै चिन्ता छैन तर देश बिगार्ने नेतालाई आफ्नो भाग काटेर जीन्दगीभरी किन पाल्नु पर्ने हामीले ? नेता र समाजसेवा गर्छु भन्नेहरूले पनि अब आफ्नै आर्थिक स्रोत खोज्नु पर्दछ। आत्मनिर्भर नेताले मात्रै राजनीतिमा आफ्नो अडान राख्न सक्छन। होइन भने, चन्दा दिने बेपारीका कुरा, विदेश घुमाइदिने राजदुतावासका कुरा, तारे होटेलमा खुवादिने NGO/INGO का कुरा सुन्दासुन्दै तिनिहरुले गाउँघरका कुरा, जनताका कुरा बिर्सने रहेछन। जुन हामीले २०४७ साल देखि भोगी आएका छौं।

बाबुरामको थालनी पनि उहिल्लै गगन थापाले गरेको हल्ला जस्तो नहोस। उनको प्रयासमा व्यंग्य गर्नेहरुले पनि फेरी सोचुन, आर्थिक उपार्जनको मेसो। ठूला महल र राम्रा गाडीको सपना देख्ने नेता-कार्यकर्ताहरूले पनि यसबारे गम्नु जरुरी छ। आफ्नै देशको हावा, पानी, माटो, बाताबरण र मानवस्रोत उपयोगले नै देश उँभो लाग्छ। सिंगापुर बने पनि स्विजरल्याण्ड बने पनि यहि डाँडाकाँडा, खोल्सा, बुट्यान, हिमाल, पहाड, तराई, खोलानाला र हिमाल कै उपयोगले बन्ने हो। संसारकै बिशाल बजारहरूका बिचमा रहेका हाम्रो आत्मनिर्भर र निर्यातमुखी खेती गर्नुमा नै भलो छ। अष्ट्रेलिया, न्युजिल्यान्ड र युरोपका अन्य देशहरू कृषि व्यवसायबाट नै धेरै राम्रो गर्ने देशहरु हुन् भने हामीले किन सक्दैनौ ? बिगतमा गरिबीमा रहेका हालका बिकशित देशहरुको अर्थतन्त्र पनि परम्परागत कृषिबाट आधुनिक ब्यबसायिक कृषि हुदै कृषिको आडमा औद्योगिकीकरण भएका हुन्।

अझै महत्वपूर्ण कुरा के हो भने कम्प्युटर, मोबाइल, टिभी, मोटर, हवाईजहाज आदि नभएर जीवन चल्छ तर खाना नभएर जीवन चल्दैन। त्यसैले देशको सुरक्षानितिकारहरु सधै देशलाई चाहिने पानी, अन्न, नून, तेल र इन्धनलाई देशको रक्षाको लागि सबैभन्दा महत्वपूर्ण हतियार मान्छन् न की सैनिक, तोप, ट्यांकर वा बमहरु। त्यसैले शास्त्रमा भनिएको छ “कृषि मुलश्च जीवनम्” अर्थात् कृषि नै जीवनको आधार हो।

चाहे देशमा बसेर युरोप/अमेरिकाको सपना देखौं वा बिदेशमा बसेर देशको सपना देखौं, हामी संसारकै अति गरिबतम देशको माथिल्लो लाइनमा छौं। हाम्रो उत्थान कृषिको रुपान्तरणबाट मात्रै सम्भव छ। कृषि पछिको दोश्रो हामीलाई माथि उठाउने भनेको पानी हो तर त्यसको लागि अत्यन्तै धेरै पैसा चाहिन्छ। हामीसंग धेरै पैसा नहुदा बाहिरकालाई बोलाउछौं तर उसले सरकार, कर्मचारी र नेताहरुलाई लटरपटर पारेर फाइदा सबै आफैले लैजाने सुर गर्छ।

त्यसैले नबुझिने ठूलाठूला कुरा होइन, आडभरोसा दिने स-साना काम गरौँ। सागपात, गोलभेडा, खुर्सानी, लसुन, प्याज र धनिया रोप्ने कुरा गरौँ। माग्ने होइन दिने कुरा गरौँ। कुरा गर्ने काम होइन काम गर्ने कुरा गरौँ। यसले नै हामी सबैको भलो हुन्छ। सबैको जय होस्।

11 thoughts on “नेताको अर्थतन्त्र : नेताले बाख्रा पाल्दा के हुन्छ?”

  1. Lok Bhatta says:
    October 28, 2014 at 2:10 pm

    Work is always suitable for the leadar or farmer if the leadar is not perfect to become a politician this will be a good profession to them.

    Reply
  2. HARI PRASAD LAMICHHANE-SAUDI says:
    October 24, 2014 at 6:43 pm

    बाबुराम त नेपाल देशनै म्यानेज गरेर सम्पूर्ण नेपालीको मुहार फेर्न सक्ला भन्ने आश गरिएको मान्छे हो , ५० -६० ल १००-२०० बाख्राको खोरमा अल्झिने मान्छे हैन भन्ने धेरैको आश अनुरुप मान्छेहरुले बाबुरामको बाख्रा पाल्ने कुरालाई चिसा प्रतिक्रिया दिए |

    लेखकजी ले त्यो कुरा नोटिस गर्नु भएन कि क्या हो , कहाँ कता कता अमेरिका र बेलायतका उदाहरण दिएर हाम्रा धुर्बे लाइ तिनीहरुको समान बनाउनु भयेछ , हासो लाग्यो है |

    Reply
    1. Sudip says:
      October 27, 2014 at 9:27 pm

      मित्र हरि पर्साद, तिमिलाइ बाख्रा पाल्ने बुद्धि भाको भए त साउदी किन पुग्थ्योउ र? आफु पनि नगर्ने, गर्ने लाइ पनि उडाउने !! बाबुराम ले बाख्रा पाल्नुको अर्थ उनि राजनीति गर्न नसकेर भन्ने काइते तर्क चाही नगरौ..त्यो त तिमि जस्ता मनुवा हरुलाई प्रेरणा पो हुनु पर्ने !!

      Reply
  3. hari har sharma says:
    October 23, 2014 at 7:38 pm

    मान्छेको सिप अनुसारको सबै भन्दा बढी के गर्दा राम्रो हुन्छ त्यो गर्नु पर्छ / क्रेनले सियो उठाउन सकिन्छ भन्दैमा तेसो गर्नु ठुलो मुर्ख्याई हो / बाबुरामले आफनो PhD को ज्ञानले सहि काम गरे धेरै निमुखाको जिबन फेरिन्छ, बाख्रा मुला त पुछरको कार्यकर्ताले पाल्ने हो /

    Reply
  4. Gajen Tamang says:
    October 23, 2014 at 6:42 pm

    अनि अब देश Switzerland बन्ने भयो होइनत? मरु भुमी मा दश हजार कमाउने हामि हरुले गर्नु बेश hunxa अनि तेत्रो क्रान्ति केको लागि बाख्रा पालनको लागि ! वास्तबमा बाबुराम को हकमा हुतिहारा bhanxu मत !

    Reply
  5. Shankar says:
    October 23, 2014 at 3:00 pm

    राम्रो कुरा लेख्नु भयो लेखनाथ जी ले | नेता हुने , इन्जिनियार हुने , हाकिम हुने किन ? ठेक्का पट्टा लिएरबा आफ्ना लाइ दिलाएर , घुस खाएर चाडै धनि हुन्| धान फलाएर धनि हुने भन्दा पनि सिधै धन फलाउने बाटा हरु प्रसस्त छन् पहुच वालाको लागि नेपाल मा | अनि धान फलाएर को ढुकी बस्छन ?
    सशक्त कानुन बनाएर , कार्वान्वयन गरेर यी सब धनि हुने चोर बाटो बन्द गरिदिम त् |
    अनि धान फल्छ , बाख्रा कराउछ | धान भन्दा पहिले संबिधान को खेति जरुरि छ |

    Reply
  6. Tin Aankhe says:
    October 23, 2014 at 1:51 pm

    लेखनाथजीकाे लेख सार्है राम्राे छ । शैली पनि मिठाे छ । विषयवस्तु पनि सही छ । एउटा सानाे तथ्यगत त्रुटी रहेछ ।

    नेपालमा भने २००७ को आन्दोलन गर्न बिमान अपहरण नै गरेर बैंकका नोट लुटियो।

    याे विमान अपहरण २००७ सालकाे अान्दाेलनकाे लागि नभइ २०३० सालमा भएकाे थियाे ।

    Reply
  7. वल says:
    October 23, 2014 at 1:32 pm

    लेखमा उल्लिखित डा बाबुरामको प्रयास सराहनीय छ र सफलताको कामना गर्दछु| उदाहरणीय बन्न सकोस|
    हाम्रा नेताहरु बिशेष जो समाजवाद र समानवादमा भाषण दिन्छन, आफै उदाहरणको रुपमा प्रस्तुत हुन् आवश्यक छ| खालि आफ्नो छोरा छोरी नातालाई राम्रो स्कुल कलेजमा शिक्षा दियो र साधारण जनतालाई भाषण मात्र दिने प्रथा तोड्नु पर्छ|
    हाम्रो देशमा मौसम अनुसार उन्नत जातको र बैज्ञानिक तरिकाले तरकारी फलफुल खेति, होटल समारोहहरुमा प्रयोग गरिने कट फ्लावर, माछा र बट्टाई चरा पालन आदि गर्न बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थाहरु मार्फत सल्लाह तालिम उपलब्ध गराए देशमै अर्थोपार्जनको निम्ति पर्याप्तै बिकल्पहरु सिर्जना गर्न सकिन्छ|
    संघ संथाहरुले पहिले नमुना रुपमा पालेर अनि उत्पादन गरी देखाएर जनतालाई आकर्षित गराउन पर्छ|
    राजनीतिमा लागेर मेह्नतै नगरी धनी बन्ने सपना बोकेकाहरुले हाम्रो समाज बिकृति तिर ढकेलीरहेका छन| धेरैजसो जसरि रातारात धन कमाऊ भन्ने सपनातिर मात्र मोढेका छन्| चिट्ठा परे मात्र हो नत्र जायज रुपमा रातारात धनी बन्न सकिंदैन|
    आज बिदेशिएको युवा शक्तिलाई कसरि देशमै रोजगार र व्यवसाय शुरु गर्न प्रेरित गर्ने भन्ने तिर सरकारको ध्यान गएको छैन|
    बिदेशमै कमाउन जाने हो भने पनि कुनै सीपको तालिम (बिजुली मिस्त्री, सिकर्मी, प्लम्बर, गाडी मिस्त्री, बेकर कन्फेक्सनर, कुक इत्यादि) देशमा दिएर पठाउन पाए राम्रो हुने थियो| दुखले आफ्नो जीवनको तन्दृस्ती रहुन्जेल उग्र गर्मीमा उँठ चराएर वा अस्वस्थकर जीवन बिताएर नेपाल फर्केपछि जीवन कस्तो हुने हो? घरको छानु छाउला तर बाँकी जीवन कस्तो हुने होला भन्ने बारे सरकारले केहि चासो राखेको होला?

    Reply
    1. Shankar says:
      October 23, 2014 at 3:12 pm

      नेता हरुले बाख्रा पाल्ने , गोलभेडा खेति गर्ने भनेको ठेक्का पत्ता गर्दा लिएको , भ्रास्ताचार गर्दा लिएको कालो धन लाइ सेतो बनाउन को लागि हो नत्र हग्न समेत फुर्सत नहुने नेताहरुले कसरि पाल्छ बाख्रा ? बाबुराम आफु मुस्ताङ्ग चढेर , अमेरिका मा जादा मितव्ययिता गरेर , गरिब को घर गएर नाटक गर्छ हालै म फर्पिंग मा केहि जग्गा हेर्न गएको थिए , दलाल ले तल फाट देखाएर भन्थ्यो सयौ रोपनी हिसिया यमी ले लिनु भएको छ हजुर यो जग्गा लि हाल्नुस , भबिस्य छ |

      Reply
  8. BT Malla says:
    October 23, 2014 at 12:17 pm

    कुरा राम्रो गर्नु भयो . वास्तव मा हुनु पर्ने र गर्नु पर्ने येही हो / तेसैले लेखनाथ जी, ताइवान छोडेर नेपाल आइ हाल्नुस तपाईं र म मिलेर काउली र भन्टा लगाउँ हैन भने विदेश म बसेर खोक्नु बेकार छ !!!

    Reply
  9. xyz says:
    October 23, 2014 at 7:43 am

    It is too much to compare our politicians with American presidents and Gandhi-ji.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme