Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिसाब नजान्ने अर्थमन्त्रीहरु

Posted on July 6, 2014July 6, 2014 by mysansar

churot चुरोट लगायतका सूर्तीजन्य पदार्थको सेवनले के-के रोग लाग्छ हामी सर्वसाधारणले एक-एक गरी सबै जानिराख्नु जरुरी छैन। जानिसाध्य पनि छैन जबकि सुर्तीमा मात्रै ३ हजार भन्दा बढी प्रकारका रसायनहरु पाइन्छन्। त्यही सुर्तीमाथि उत्पादन गर्ने कम्पनीहरुले मान्छेमा सेवन गर्ने बानी परोस, र हाम्रो सामान सदैव बिकिराखोस् भनी कलुषित मनसायले मिसाउने विभिन्न रंग तथा बास्नादार रासायनिक मिश्रणसमेत भएको चुरोट, बिंडी, कक्कड़, तमाखु, सिगार, आदिमा आगो लागाउँदा त अन्य थुप्रै थप रासायनिक प्रतिक्रिया समेत भई ७ हजार प्रकारकासम्म रसायनहरु भेटिएका छन्। ती मध्ये ७० प्रकारका पूर्णत क्यान्सरजन्य (carcinogen) भएको कुरा पनि धेरै बिशेषज्ञहरुले धेरै पटक प्रमाणित गरिसकेका छन्।

तसर्थ आजको चुनौती भनेको सुर्तीजन्य पदार्थमा अझै अरु पनि हानिकारक तत्वहरु पाइन्छन कि भनेर अनुसन्धान गर्नु नभई यस्तो नरसंहारकारी विष सेवनको लत लाग्नुबाट मान्छेलाई कसरी जोगाउने, र लत लागिसकेकाहरुको लत कसरी छुटाई उनीहरुको जीवन बचाउने भन्ने हो।
churot
हाल प्रत्येक मिनेटमा ६.५ जना मान्छे सुर्तीजन्य पदार्थ सेवनको कारणले मरिरहेका छन्। एउटामात्र चुरोट खाँदा पनि मान्छेको जीवन ५ मिनेटसम्म छोटो हुन सक्छ। यसको हिसाब कस्तो हुन आउँछ भने यदि कसैले दिनको १ खिल्ली चुरोट १ वर्षसम्म खान्छ भने उसको प्राकृतिक आयु करिब १ महिना, र ५० वर्षसम्म खान्छ भने ४ वर्ष जति घट्छ।

देश अनुसार सुर्तीजन्य पदार्थको प्रकार र प्रयोग विधि अलिअलि फरक छ, तथापि जसरी प्रयोग गरे पनि त्यो सुर्तीकै विभिन्न रुप हो। यस्ता पदार्थहरु नै कारक बनी अकाल मर्ने मान्छेहरुको अनुपात पनि भुटान बाहेकका देशहरुमा करिबकरिब उस्तै छ।

स्थिति यस्तो भयाबह छ कि चुरोट खानुकै कारणले अमेरिकामामात्रै प्रत्येक वर्ष करिब ४ लाख ८० हजार जनाको मृत्यु हुन्छ। यसको सिधा अर्थ यदि ५ जना मान्छे मरे भने १ जना चुरोट सेवनको कारणले मर्छ, अथवा करिब २०% अमेरिकनलाई चुरोटले मार्छ।

अहिलेकै अवस्थामा समग्र विश्वको स्थिति हेर्‍यो भने बर्षेनी ६० लाख मान्छे सुर्तीजन्य पदार्थ सेवनको कारणले अकाल मरिरहेका छन्। २०३० सम्ममा यो संख्या ८० लाखसम्म हुने कुरा विश्व स्वास्थ्य संगठनले आंकलन गरेको छ।

हाम्रा अनुसन्धानकर्ता र डाक्टर साहेबहरुका धुम्रपान सम्बन्धि अनुसन्धान प्रतिबेदनहरु सत-प्रतिशत सही छन, तर धुम्रपानले बर्सेनी यति धेरै संख्यामा मान्छे मार्छ भन्ने भनाई सर्बसाधारणले राम्ररी नबुझ्ने प्रकारको भएर तथ्य नै अलि अपत्त्यारिलो हुनगई धुम्रपानमा लत बसाल्नु हुँदैन अथवा धुम्रपान गर्नु हुँदैन भन्ने कुरामा त्यति बल पुर्‍याइरहेको छैन। आखिर चुरोटको सर्को तान्दातान्दै आफ्नै अगाडि डङ्ङ ढलेर कोही मान्छे मरेको त कसैले पनि देखेको हुँदैन ! धुम्रपान नगर्ने व्यक्ति पनि पक्षघातले, फोक्सोको क्यान्सरले, अन्य क्यान्सरले, अन्य रोगले मरेको धेरैले देखेकै हुन्छन्।

चुरोटका बट्टामा राख्नुपर्ने चित्र
चुरोटका बट्टामा राख्नुपर्ने चित्र
तसर्थ आम जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने धुम्रपान जस्ता नरसंहारकारी बिषयमा शोधग्रन्थ (Thesis) तथा अनुसन्धान प्रतिबेदन (Research Report) तयार पार्दा, अथवा कलम चलाउँदा लेखनका मापदण्ड (Format), आकार, स्वरूप र सृंगार (Beauty) मा आधारित हुनु भन्दा कसरी सरल किसिमले सर्वसाधारणले प्रस्ट बुझ्न सक्छन् भन्ने कुरा मनन् गरियो भने त्यो नै जीवन बचाउने अभियानको कोसेढुङ्गो हुन आउँछ। जस्तै:- “सुर्तीजन्य पदार्थको सेवनले पक्षघात हुन्छ” भनी ठ्वाक्क अर्थ नलाग्ने गरी भन्नु भन्दा सुर्तीजन्य पदार्थको सेवन नगर्ने व्यक्तिलाई पनि पक्षघात हुन सक्छ, तर यस्ता पदार्थ सेवन गर्ने व्यक्तिलाई नगर्नेलाई भन्दा ६०% बढी पक्षघात हुने सम्भावना हुन्छ भन्नु,“धुम्रपानले फोक्सोको क्यान्सर हुन्छ” भन्नुभन्दा मान्छेलाई फोक्सोको क्यान्सर हुन्छ, जसमध्ये ८७% फोक्सोको क्यान्सर नियमित धुम्रपान गर्नाले हुन्छ भन्नु, अनि “सुर्तीमा अमोनिया पाइन्छ” भन्नु भन्दा सुर्ती, चुरोट आदि खाने मान्छेको मुख गनाउँछ त्यसको कारण सुर्तीमा पाइने अमोनिया ग्यास हो जुन रासायनिक मल बनाउन पनि प्रयोग गरिन्छ भन्दा त्यसको सिधा अर्थ लागी मान्छे तुरुन्तै प्रभावित हुने बढी सम्भावना हुन्छ।

“धुम्रपानको लत” रुपी यो महारोगको निदान नै नभएकोचाहिँ होइन। निदान त के यसलाई उन्मुलन नै गर्न सकिन्छ। तर त्यसको लागी जिम्मेवारीको बोध, नियतमा सच्चाइ, बेलैमा चेतना, र दृढ आत्मबल जस्ता सजिला ४ अस्त्रहरुलाई एकैचोटी प्रयोग गर्नु पर्ने हुन्छ।

जनताको स्वास्थ्य र जीवन रक्षाको जिम्मेवारीको बोध सरकारले गर्नु पर्दछ, सरकारका समारोहहरुको प्रायोजक बनी अर्थमन्त्रीलाई प्रभाब पार्ने र कम हानिकारक भन्दै सुर्तीको फूलदेखि जरासम्म सबै बिकाउनको लागी बिभिन्न परिकार उत्पादन गर्ने बदनियत उत्पादकहरुले छाड्नु पर्छ, १३-२२ वर्षका चुस्त मस्तिष्क भएका होनहार बाबुनानीहरुले यो धुम्रपान नामक राक्षसले स्वागत गर्ने कालको बाटोलाई सदैब तिरस्कार गर्नु पर्छ, अनि यसको पन्जामा परिसकेका निरीह जनहरुले अदम्य साहस र आत्मबल निकालेर यसका जन्जिरहरु तोडिछाड्ने हिम्मत गर्नु पर्छ।

परन्तु, विडम्बनाको कुराचाहिं के छ भने सुर्तीभित्र सकुनिको राजनीति, किन्सको अर्थशास्त्र, अनि बिकसित मस्तिष्कको कमजोर आत्मबल लुकेको छ।

पहिलेपहिले राष्ट्रहरुको खासै आम्दानीको श्रोत थिएन। अर्ध-बिकसित बिज्ञान र परीक्षण बिधि, साथै कुनै पनि बस्तुको असर सही किसिमले नाप्न सक्ने मापन यन्त्रहरुको अविस्कार नभैसकेकोले सुर्तीरुपी बिषको सर्वपक्षीय हानिकारक असरको जानकारी पनि थिएन मान्छेलाई। सुर्तीको सर्बप्रथम ब्यबसायिक उत्पादन नगदेबालीको रुपमा सन् १६१२ तिरबाट अमेरिकामा हुन थालेको हो। प्रयोगको हिसाबले ईसापूर्व कालदेखि नै केही मात्रामा ठाउँठाउँमा प्रयोग गरिए पनि सर्बब्यापी प्रचार र प्रयोग भने यही समयदेखि सुरु भएको हो।

त्यति बेला ब्रह्माण्ड, पृथ्वी, समुद्र सबैका ब्याख्या किम्बदन्तीमा आधारित थिए। पृथ्वी चेप्टो थियो, समुद्रको बिचमा कतै गहिरो खाडल थियो, परमेश्वरको इच्छामा मान्छे जिउँथ्यो मर्थ्यो आदिआदि। मान्छेको यही अज्ञानताको नाडी पक्डेर सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरुले चुरोट लगायतका पदार्थको सेवन गर्नुमा फाइदैफाइदा भएको एकोहोरो प्रचार रटाए। चुरोट, कक्कड़, तमाखु, सुर्ती आदि सेवन गर्ने व्यक्तिलाई परिपक्क, ठूलाबडा , नेता, अभिनेता, अभिनेत्री, आकर्षक, सफल, पौरखी, चिन्तक, विचारक, महाकवि सबै बनाइदिए।

यी त अल्ली पुराना कुरा भए। मैले माध्यमिक तहमा पढ्दा हामीलाई नेपाली पढाउने गुरुले अत्यधिक चुरोट खानु हुन्थ्यो। एकदिन कामविशेषले शिक्षककोठामा जाँदा चुरोट सल्काउन ठिक्क पर्नु भएको रहेछ। “गुरु चुरोट खानु हुँदैन, स्वास्थ्य किताबमा लेखेको छ” भनेको त “किताबको चुरोट हो खान नहुने, बट्टाको त हुन्छ” भन्दै बिजुली चुरोट सल्काएर लामालामा २ सर्का तानी फूउउउउ गरी धुवा उडाएर “देबकोटाको ओछ्यान डढेर चाल्ना परेको थियो, उनले एउटा चुरोटले अर्को चुरोट सल्काउँथे” पो भन्नु भयो ! नेपाल टेलिभिजनले अस्ति भरखरसम्म “साहसीको पहिचान” भन्दै शिखर चुरोट खाने मान्छे सजिलै सगरमाथाको टुप्पोमा पुगेको देखाएको बिज्ञापन सबै नेपालीले देखेकै हुनु पर्छ। मेरा केही साथीहरुले “सूर्य चुरोटको सान एमालेको पहिचान” भन्दै लामो सूर्य चुरोट ठड्याएर लामालामा सर्का तानेको कुरा मेरा आँखा अगाडि आइरहेको छ यति बेला।

पुरुषहरुलाई महामूर्ख बनाएरमात्र पुगेन उत्पादकहरुलाई। आधा आकाश ढाक्ने महिलाहरुलाई समेत १९६८ मा “भर्जिनिया स्लिम” नामक चिटिक्कको राम्रो, मसिनो, हिस्सी परेको चुरोट उत्पादन गरी, उक्त चुरोट खाएर कुनै केटी राम्री, पातली, र हिस्सी परेकी भएको देखाई सुर्तीको जालमा पारे। सुने अनुसार अधिकाम्स महिलाहरुको जीवनकोको पहिलो लक्ष नै राम्री, पातली, र हिस्सी परेकी बन्नु हुन्छ रे ! अनि त एक्कासी एकदमै धेरै महिलाहरुले चोरऔंला र माझिऔंलाले च्यापेर आकाशतिर धुँवाका गोला बनाउंदै दन्काउन थाले भर्जिनिया स्लिम ! त्यसपछि त सुर्ती माफियाहरुले संसार जितिहाले, अनि आजसम्म पनि एकछत्र राज्य गरिरहेकै छन्।

सुर्तीजन्य बस्तुमा हुने निकोटिनको असर बारेका छ्यापच्याप्ति बाहिर आउने कुराहरु जस्तै :- निकोटिन स्वास्थ्यको लागी हानिकारक छ, निकोटिनले क्यान्सर हुन्छ” आदि पनि सुर्ती माफियाहरुले नियतबस मान्छेलाई भ्रम पार्न भाडाका लेखकमार्फत लेख्न लागाएका जस्ता छन्। एकदमै ताजा अनुसन्धान अनुसार निकोटिनले शरीरका सद्दे कोषहरुलाई असर गर्ने, र केही हदमा क्यान्सरका कोषहरुको बृधिको साथै फैलावटमा भूमिका खेल्ने कुरा करिब प्रमाणित भएको छ, तर निकोटिनले क्यान्सरचाहिं हुँदैन।

सरल किसिमले भन्दा निकोटिन एउटा बिष हो, एकैचोटी धेरै प्रयोग गरेमा यसले श्वासप्रश्वास प्रक्रियामा भूमिका खेल्ने संपूर्ण तन्तुहरूको गति रोकिदिन्छ, र मान्छे तत्कालै मर्न सक्छ। तर थोरै मात्रामा प्रयोग गरिरह्यो भने, यसले दिमाग र शरीरको रासायनिक संयन्त्रलाई यसरी बदलिदिन्छ की प्रयोग कर्तालाई यसबाट सन्तुस्टी भएको, थकाइ मेटिएको, एकाग्र हुन सकेको, बौद्धिकता फुरेको आदि भान गराइदिन्छ। अनि यो आफै पनि शरीरलाई छिनछिनमा चाहिने अवाशक तत्व बन्नगै शरीरले यसलाई सदैब चाहिरहन्छ। त्यो भनेको नै बानी बस्नु वा लत लाग्नु हो। कतिपयलाई त यसले यो नखाई जाँगर नलाग्ने, निद्रा नलाग्ने, दिसा नआउने समेतका मनोबैज्ञानिक भ्रम समेत सिर्जना गरिदिन्छ।

यदि गहिरो गरी सोंच्ने हो भने सुर्तीजन्य बस्तुले यतिबिघ्न नरसंहार गर्ने अवसर पाउनुमा अहिलेका सरकारहरु नै पूर्णरुपमा जिम्मेवार छन्। या त जनताको दबाबबाट सुर्ती माफियाहरुलाई बचाउन अथवा आफै बंच्न सार्बजानिक स्थलमा धुँवा उडाउन नपाइने, बट्टामा तरुनीको फोटो राख्न नपाइने वा टेलिभिजन र रेडियोमा बिज्ञापन गर्ने नपाइने जस्ता देखावटी बहाना बनाइरहेका छन, या त माफियाहरुका सात घुम्तीहरु बुझिरहेका छैनन्। चुरोटमा फिल्टर राख्नु, अझ लामो फिल्टर राख्नु, बिभिन्न मात्रामा निकोटिन भएका चुरोट बनाउनु, धुम्रपान छाड्न सहयोग गर्ने भन्ने कथित चुइंङगम र टाँस्ने प्याच बनाउनु आदि बाहानाहरु सूर्तीको जरा, डांठ, पात, फूल सबै बेचेर मुनाफा कमाउने, र सदैब ब्यापार बिस्तार र प्रबर्धन गर्ने चोर बाटाहरु हुन्।

जनताको स्वास्थ्य र जीवनको त्यतिबिघ्न मायाँ लाग्ने भए सरकारहरुले सुर्तीबाट आउने करको मायाँ नगर्ने, अनि उत्पादकहरुले मान्छे मार्ने जस्तो जघन्य अपराध भएछ भनी पश्चाताप गरी अर्कै ब्यबसाय गरे भै हाल्यो नि ! तर सूर्ती माफियाहरुले भुलेर पनि त्यस्तो कुरा कालान्तरसम्म पनि कहिलै गर्ने छैनन किनकि हुन त यो लत बसाल्ने चरेस, हिरोइन, कोकिन, भन्दा पनि झनै खतरनाक लागु पदार्थ हो, तर बैधानिक रुपले नै अझै सरकारको संरक्षकत्त्व मै बेच्न सकिन्छ। अनि संसारमा सुर्तीमात्र यस्तो बस्तु हो जसलाई खासै रेखदेख चाहिंदैन, त्यति किरो पनि लाग्दैन, अनि जरादेखि टुप्पासम्मको सत-प्रतिशत भाग बेच्न मिल्छ। सुनमा बरु रसायन र जर्ती काटिन्छ !

हाम्रा अर्थमन्त्रीहरुले न त सुर्ती माफियाहरुको सरकारका बिभिन्न कार्यक्रमहरु प्रायोजन गरिदिने, मन्त्रीहरुलाई गाडी दिने कुराको हिसाब बुझ्छन् न त सुर्तीबाट प्राप्त हुने तुच्छ कर र अनमोल जीवन बिचको अन्तरको हिसाब नै बुझ्छन्। सूर्तीजन्य पदार्थमा कर बढाएर लत बसेकाहरुले सेवन गर्न छाड्दैनन् मन्त्रीज्यू ! त्यसको त झन् उल्टो असर हुन्छ। आखिर सूर्तीजन्य बस्तुको सेवन गर्ने एकदमै ठुलो हिस्सा निम्न वर्ग र मध्यम वर्ग न हो ! यस्तो बर्गले या त आफ्नो साबिको आहार अथवा बच्चाले खान पाउने दूधको मात्राले यस्ता बस्तुको मूल्य वृद्धिलाई पूर्ति गर्दछ या त कमसल दर्जाको ब्रान्डमा ओर्लिन्छ। यी २ मध्ये जे गरे पनि स्वास्थ्यमा झनै नकारात्मक असर पर्दछ। बिष वृक्षलाई उन्मुलन गर्नु छ भने जरामा नुन खन्याउनु पर्दछ, हाँगा छिमलेर हुँदैन, त्यसो गर्दा त अझै झाङ्गिन्छ मन्त्रीज्यू।

हामीलाई थाहा छ सुर्तीको करले अस्पताल बनाउन सकिन्छ भन्ने अर्को एउटा सूत्र पनि छ हजुरहरुसंग। मन्छे मारेर होइन चन्दा उठाएर वा दीनबन्धु र नारायणप्रसाद पोख्रेलहरुले जस्तै महायज्ञ लगाएर पनि सकिन्छ अस्पताल बनाउन मन्त्रीज्यू !
चुरोट खाने बानी पर्ने त जसको पनि उस्तैउस्तै माध्यम हुन्छ। भबिष्य नदेखिने अल्लारे बुद्धि, अर्काको लहैलहै र देखासिकी आदिआदि। सिकुन्जेल त सबैले आफूलाई आकर्षक (cool) नै सम्झन्छन् नि ! पैसा नोक्सान भएको त कुरै छाडौं। सिकिसकेपछि त्यसैले दास बनाई परिवारको छिछिदुरदुर हुनु परेको, मुखले नभने पनि अरुले नाक थुनेको वा यो मान्छे चुरोटे हो भनी उसको शरीरले सांकेतिक भाषा (Body Language) बोलेको, कसैसंग कुरा गर्दा आफैले मुख लुकाउनु परेको वा सास दबाएर बोल्नु परेको, मुख खोकल्दै, चुइंङगम चपाउँदै, ल्वांगसुकमेल टोक्दै हिंड्नु परेको, मान्यजनसंग जम्काभेट हुँदा भर्खर सल्काएको चुरोट फ्वात्त फाल्नु परेको वा पैतालामुनि दबाउनु परेको, चुरोट खाने मान्छेको उत्पादकत्व कम हुन्छ भन्दै जागिर दिनेले नदिएको, आधा रातमा पसलपसल चाहार्नु परेको, बेलाबखत अरुसंग हात फैलाउनु परेको, चुरोट खान नपाउंदा तनाब भएको, र कहिलेकाही त आफैले वा अरुले समेत फालेको ठुटोसमेत खानु परेको ब्यथा अम्मलीहरुलाईमात्र थाहा हुन्छ। त्यसैले सबै अम्मलीले पूर्ण मनन गरेको हुन्छ धुम्रपान गर्नु एकदमै तल्लो दर्जाको निकृष्ट कार्य हो भन्ने। तर के गर्ने ! निकोटिनको काम नै मान्छेलाई दास बनाउनु हो !

धुम्रपान कसले छाड्न चाहँदैन र, झन्डै सत-प्रतिशतले नै छाड्न चाहान्छन्। प्रत्येक वर्ष करिब ७०% ले कयौं पटक छाड्ने कोशिस गर्छन, तर ४-७% ले मात्र सधैको लागी छाड्न सफल हुन्छन्। तर यता ७% ले छाड्दा नयाँ १४% ले खान सुरु गरिसकेका हुन्छन्। सुरु गर्दा कसले पो सुरु गरेको हुन्छ र जिन्दगीभरि खान्छु भनेर ! तर निकोटिनले कमाल गरिदिन्छ !

निकोटिनले दिमाग र शरीरलाई रड्डी असर त गर्छ, तर नढाँटी भन्ने हो भने थोरै मात्रामा लिंदा यसले केही प्रकारको आनन्दचाहिं दिन्छ। त्यसको कारण के हो भने जब यसको असर केन्द्रीय स्नायु-प्राणालीमा पर्छ, दिमागले शरीरलाई नजानिँदो रुपमा अड्रेनलिन (adrenaline) उत्पादन गर्ने निर्देशन दिन्छ। adrenaline भनेको मान्छे डराउंदा, रिसाउँदा, आवेशमा आउँदा, मान्छेले रमाइलो मान्दा शरीरले निकाल्ने एक प्रकारको रसायन (hormone) हो।

धुम्रपान गरेको ५ सेकेन्डभित्र निकोटिन मस्तिष्कमा पुग्दछ, अनि त्यसको प्रभाब करिब २५ मिनेटमै सकिन्छ किनकी चुरोट जस्ता बस्तुमा निकोटिनको मात्रा एकदम थोरै हुन्छ। अलि अर्कै प्रकारले भन्ने हो भने करिब १ महिनामा निकोटिन लिने बानी बस्छ, त्यसपछि धेरै मात्रा त शरीरले यो बिष लिन सक्दैन, तर अलिअलिचाहिं छिनछिनमा खोजिराख्छ।

त्यसै कारणले धुम्रपानको लत बसेपछि छाड्न एकदम ग्राहो छ, तर ग्राहो हुनुको कारण बुझ्यो भने छाड्न एकदम सजिलो छ। चुरोट खानेले जब २-४ घण्टा खाँदैन, उसको शरीरमा हुनुपर्ने निकोटिनको मात्रा घट्दै जान्छ। घटेर पुरै सिद्धिन करिब २४ घण्टा जति लाग्छ। यो बेलामा त मान्छे पागल जस्तै हुन्छ। त्यसपछि पनि करिब २ हप्तासम्म अत्यधिक चाहिरहेको हुन्छ शरीरले निकोटिन, तर चाहाना नजानिँदो गरी घट्दोदरमा हुन्छ।

यो बेलामा मान्छेलाई भोक नलाग्ने, रिंगाटा लाग्ने, हातखुट्टा बाउँडिने, जिउ काँप्ने, दिसा नलाग्ने, चिटचिट पसिना आउने लगायतका शारीरिक लक्षण तथा मुड बदलिने, दुबिदा हुने, आत्तिने लगायतका मानसिक लक्षण कुनै या सबै हुन सक्छन्। यो बेलामा लत्तो छाड्न हुन्न। धुम्रपानले दिएको तनाब र गराएको बेइज्यती सम्झदै यसलाई घृणा गरिराख्नु पर्छ। मर्छु बरु तँलाई छुँदैछुन्न भन्दै त्यसलाई हाँक दिइरहनु पर्छ। दोश्रो हप्तापछि पनि खान त मन लाग्छ तर शरीरले निकोटिन चाहने दरचाहिं द्रुतगतिमा घटिरहेको हुन्छ। १ दिनमा एकाध पटकमात्र यसको याद आउँछ। ८ हप्ता भित्रमा त झन्डै ९०% जति सुधार भैसक्छ।

तर अर्को एउटा जोगिनु पर्ने एकदम खतरनाक कुरा पनि छ। छाडेको बर्सौंसम्म पनि, धोका दिने प्रेमिका वा प्रेमीको जस्तै, बेलाबेलामा यसको झिनो यादचाहिं आइरहन्छ। आआआ छाड्न सकिँदो रहेछ, आज एकदिन खान्छु भनेर कुनै एक पटकमात्र पनि पुन खाइयो भने जीवनमा धेरै पटक, उस्तै परे हरेक महिना छाडिन्छ, तर सधैको लागी भने किमार्थ छाड्न सकिन्न।

9 thoughts on “हिसाब नजान्ने अर्थमन्त्रीहरु”

  1. Manjul Gautam says:
    July 11, 2014 at 4:07 am

    चुरोट छाडेको बेलामा नजिकै कसैले चुरोट खायो भने तलतल लागी कन्ट्रोल गर्न गाह्रो हुन्छ, त्यस्तो बेलामा ध्यान अन्तै मोडेर अर्कै काम गर्न थाल्नु पर्छ | तर यो १० मिनेट भन्दा बढी रहँदैन | तलतलको बेलामा ल्वांग चुस्नु वा एक गिलास पानि पिउनु एकदम उपयोगी हुन्छ |

    Reply
  2. santosh says:
    July 8, 2014 at 4:44 pm

    म पनि चुरोट पिउछु तर कहिले कहिँ नियमित पिउछु कहिले काही चै २,३ दिन वा १,२ हप्ता सम्म पनि पिउदिन. पिउदा दिन मा १ खिल्ली देखि कहिले काही ३ खिल्ली सम्म पिउछु . म अहिले २८ वर्ष को भए . मैले चुरोट पिउन थालेको करिब १० वर्ष भयो होला वा त्यो भन्दा पनि धेरै भयो तर मैले बीच बीच मा १,२ वर्ष २,३ चोटी छोडेको थिय . तर फेरी पिउन थाले . मलाई मेरो आत्माबिस्वास ले के भन्छ भने म चुरोट पिउछु तर मलाई लत नै भने लाग्दैन जस्तो लग्छ . किनकि मैले बीच बीच म चुरोट छोड्दा मलाई १,२ दिन देखि कहिले पनि तल तल लागेन र खाउ खाउ लागेन. अहिले पनि म कहिले कहिँ १,२ दिन वा २,३ महिना सम्म पनि चुरोट नाखादा मलाई खाउ खाउ जस्तो वा तल तल लाग्दैन. अझ मलाई त के पनि हुन्छ भने म कुनै दिन दिनभरी फेमिली संग भए भने त मलाई चुरोट को याद सम्म पनि आउदैन . एकै चोटी भोलि पल्ट चुरोट पिउने बेला मा पो म सम्झन्छु कि मैले हिजो त चुरोट नै पिएन भनेर. तेसैले मलाई म आफै देखि अचम्म लग्छ मलाई यो चुरोट को कस्तो बानि लागेको हो? मलाई नपिउदा पनि तेती वास्ता लाग्दैन तर पनि म बिगत १० वर्ष भन्दा बढी समय देखि पिई रहेको छु.

    Reply
  3. लौटन अवधि says:
    July 7, 2014 at 1:17 pm

    निक्कै राम्रो जानकारी ! तर अमेरिका या अन्य देश मा सुर्ती काचै चुना संग मोलेर नखाइने हुदा, धुवा संगै हुने रसायन को मात्रै अध्यन गरिएको छ ! काचो सुर्ती ले के कस्तो बेफाइदा गर्छ अझै पनि अध्यन को बिषय नै रहेको छ ! एक जना भारतीय ले (नाम बिर्से ) सुर्ती को अध्यन गर्दा काचो सुर्ती मा निकोटिन रहेपनि एन्टी अक्सिडेन्ट अत्यधिक रहेको भन्ने खाले लेख प्रकासित गरेका थिए ! यहि कुरा मा धेरै अध्यन गरेर सुर्ती को नराम्रो पक्ष लाइ उजागर गरिदिनु भएमा काचो सुर्ती (चुरोट होइन ) प्रयोग गर्ने वाला हरु आभारी हुने थियोउ ! यो नै अन्तिम लेख नबनोस भन्ने कामना गर्दछु !!

    Reply
    1. सिर्जने says:
      July 7, 2014 at 11:31 pm

      लौटनजी,
      दक्षिण एशिया बाहेकका देशमा पनि काचो सुर्ती (खैनी जस्तो) खाने प्रशस्त चलन छ / अम्रिकामा पनि येसरी सुर्ती चपाउने मान्छेहरु मनग्गे छन् र तिनका असरहरुबारे पनि धेरै अध्ययन भएको छ / गूगलमा chewing tobacco भनेर खोज्नुभो भने धेरै जानकारी पाइन्छ /

      Reply
  4. anjan says:
    July 7, 2014 at 2:42 am

    मैले १३ बर्ष सम्म करिब -करिब दिनको १ बट्टा सम्म लगातार चुरोट सेवन गर्थे तर आज भन्दा ५ बर्ष अघि देखि अब आज बाट चुरोट पिउदिन भनेर छोडेको फेरी सेवन गरेको छैन I चुरोटको विकल्पमा सुर्ती तिर लागे झन् दुइतै सेवन गर्न थालिन्छ I तेसैले आत्मबल दह्रो बनौनुस मज्जाले छोड्न सकिन्छ I

    Reply
  5. हृदय says:
    July 6, 2014 at 11:02 pm

    उहिले पढेको यौटा जोक याद आयो ” A friend told other, Bro ! Giving up smoking is quite easy, I’ve done it so many times

    Reply
  6. shailendra says:
    July 6, 2014 at 9:02 pm

    यो महिना देखि खान छोड्छु भनेको अर्को महिना आउन लागि सक्यो. तर म छोड्छु तर कहिले त्यो चै थाहा छैन. ७ वर्ष भयो पिउन थालेको

    Reply
  7. Aashish says:
    July 6, 2014 at 5:15 pm

    आज एक हफ्ता भयो मैले चुरोट छोडेको…एकदम गार्हो भएको थियो २-३ दिन…आज सातौ दिन अलिक सुधार छ…मैले छोड्न सक्छु भने तपैहरुले पनि सक्नु हुन्छ…शरीरमा राम्रो लक्षण देखिरहेको छु… 🙂

    Reply
    1. सिर्जने says:
      July 7, 2014 at 11:34 pm

      आशिष जी,
      सफलताको शुभकामना !!! मैले जवानीमा साथीहरुको संगतमा २-४ चोटी चुरोट तानेपनी लत चै बसेन / चियाको लत छुटाउन मलाई १ महिना ठ्याम्मै लाग्यो, म बुझ्छु 🙂 (अलि अलि)

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme