Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेकुवा स्वादिलो लाग्छ? यो हेर्न नछुटाउनुस्

Posted on June 26, 2014 by mysansar


सेकुवा भनेपछि हुरुक्कै हुनेहरु धेरै यो सहरमा छन्। निकै रुचाइने भएर न धेरै बिक्री हुन्छ सेकुवा। खसी, राँगा, भेडा, बाख्रा, कुखुरा हाँस, जेसुकैको होस्- सेकुवा प्रिय छ धेरै मांसाहारीका लागि। तपाईँ पनि त्यस्तैमा पर्नु हुन्छ भने न्युज २४ टिभीले यो साता बजाएको अनुसन्धानमूलक रिपोर्ट हेर्न छुटाउनु भएको त छैन ?

सेकुवा पोल्ने कोइला वा त्यसलाई गोल पनि भनिन्छ त्यो कहाँबाट कसरी आउँछ ? यो पत्ता लगाउनका लागि न्युज २४ को टिमले धेरै दिन अनुसन्धानमा बिताएछ। निकै समय लगाएर गरिएको रिपोर्टिङले देखायो एउटा घिनलाग्दो सत्य। लाशदेखि सेकुवासम्म। त्यही कोइला वा गोल प्रयोग गरिँदोरहेछ जो मान्छेको लाश पोलेर आर्यघाटमा बचेको हुन्छ ठुटाहरु। त्यसलाई इँटाभट्टामा लगेर कसरी कोइला बनाइन्छ, अनि कसरी सेकुवा पसलसम्म ल्याइन्छ, न्युज २४ ले प्रमाणहरु देखाएको छ। त्यही कोइलाबाट सहरमा मकै पनि पोलेर बेचिँदोरहेछ, अनि सुन पसलमा सुन पोल्ने काम पनि त्यही कोइलाबाट गरिँदो रहेछ।

पढ्नुस् न्युज २४ का रामशुभक महतोको खोजीरिपोर्टको स्क्रिप्ट-

लाशदेखि सेकुवासम्म!


यो पशुपतिनाथको मन्दिर हो।


यससँगै रहेको यो आर्यघाट हो र यहाँ मानिसहरुको लाश जलाइन्छ। आर्यघाटमा दैनिक ७५ देखि एक सयसम्म मानिसको लाश जलाइन्छ।


र, विषय यो छ कि, मानिसको लाश जलाउन काठका मुडाहरुको प्रयोग हुन्छ, जब लाश जलाइन्छ, लाश त खरानी बन्छ तर लाश जलाउन प्रयोग गरिएको काठको मुडाका ठूटा बाँकी रहन्छ।


र, यो लाश जलाएर बाँकी रहेको त्यस्तै मुडाका ठुटाहरु हो। दृश्यमा देखिन्छ, यहा घाटेले लाश जलाइसकेपछि थोरै बाँकी रहेको दाउरा र सँगै रहेको आगो खरानी सोहोर्दै बागमतीमा फालिरहेका छन्।

यति बेला हामी पशुपतिनाथको पूर्वी भागको माथिलो डाँडामा छौं, तलको एक/एक दृश्य क्यामेरामा कैद गर्दै हामी त्यहाँबाट तल आयौं, आर्यघाटको पारीपट्टी। लाश जलाएर बाँकी रहेका मुडाका यी ठुटाहरु कहाँ लगिन्छ र केका लागि प्रयोग गरिन्छ भन्ने तथ्य खोज्न यहाँ आएका हौं, त्यसैले हामीले यसको फलोअप गरिरहेका छौँ। यो लाश जलाइसकेपछि बाँकी रहेको ठुटा यहाँ यसरी संकलन भइरहेको छ।


यहाँ तीन जना मानिस बागमती नदीमा गाडा गुडारहेका छन्। र उनीहरु लाश पोलिसकेपछि बचेको मुडाका ठूटा संकलन गरिरहेका छन्।


हामीले दृश्य खिचेको देखेर ठूटा संकलन गरिरहेका मानिसहरु यस्तो नखिच्नका लागि हामीलाई भन्दै थिए। तर हामीले आफ्नो काम रोकेनौं। हामी उनीहरुको एक/एक गतिविधिका दृश्य संकलन गरिरहेका छौं।

यही क्रम चलिरहेको छ यहाँ, लाश जलाइसकेपछि घाटेले बाँकी रहेको ठुटाहरु चिताबाट सोहोर्दै बाग्मती फ्याँकिरहेका हुन्थे, त्यसपछि नदीमा रहेको युवकहरु गाडामा राखेर त्यही ठूटा वारीबाट पारीतर्फ लगिरहेको हुन्थे।

उनीहरुले ल्याएको ठुटा यसरी यहाँ जम्मा गर्थे र फेरि उनीहरु पारी नै जान्थे।


यो उनीहरुको दैनिकी हो। जुन दिन हामीले दिनभर आर्यघाटमा बितायौं र यी जल्न बाकी ठुटाहरु केका लागि प्रयोग हुन्छ भने खोजी गरिरह्यौं।


यसबीच एउटा गाडानजिक पुग्यौं हामी। यही कालो दाउरा टिपेकामा आफूहरुले १ सय २५ रुपैयाँ पाउने जानकारी गराइरहेका थिए। साँझ ७/८ बजेतिर गाडी आएर यो लिएर जाने उनीहरुको भनाई थियो।

यसबेलासम्म साँझ परिसकेकाले उनीहरु घर फर्किए र हामी पनि फर्कियौं। भोलिपल्ट फेरि हामी यही आयौं तर यस दिन पनि ठूटा लिनका लागि गाडी आएन।

त्यसपछि फेरि पर्सिपल्ट हामी भक्तपुरतर्फ लाग्यौँ, कुन इँटाभट्टामा आर्यघाटबाट ल्याएको कालो दाउराले इँटा पोलिन्छ पत्ता लगाउनका लागि।

र, यहाँबाट थाहा भयो कि चाँगुनारायण भन्दा केही किलोमिटर दक्षिणमा रहेको एउटा इँटाभट्टाले आर्यघाटबाट ल्याएको कालो दाउराले इँट्टा पोल्छ भनेर।


त्यसपछि हामी चाँगुनारायण तर्फ लाग्यौ र बल्ल यो इँटा भट्टामा पुग्यौं र यहीँ देखियो आर्यघाटमा मान्छेको लाश पोलेर बाँकी रहेको मुडाको ठुटा। यहाँ यसको चाङ नै थियो।

यो इँटा भट्टाको दर्ता गरिएको कुनै नाम त छैन तर सबैले यसलाई कलात्मक इँटा भट्टा भनेर चिन्ने रहेछन्। यो इँटा भट्टामा हामीलाई खुला रुपले क्यामेराले खिच्न दिइएन तर पनि हामीले गोप्य क्यामेराबाट यहाँको सबै दृश्य खिचिरहका थियौं। यहाँ आर्यघाटबाट ल्याइएको ठूटाले इँटा पोलिनेरहेछ र त्यसबाट निस्किने कोइलाको कथा सेकुवाँसग सम्वन्धित रहेछ।

यही भट्टा हो र यहीँबाट मान्छेको लाश पोलेको काठका मुडाबाट गोल बनाइँदोरहेछ। एक झोला गोलको ५० देखि १ सय रुपियाँसम्म लिइँदो रहेछ। हामी पुग्दा यहाँ काम गर्ने एक युवक एउटा प्लाष्टिकको झोला लिएर आएका थिए र यही झोलामा यसरी कोइला अर्थात् गोल राखेर गोल बेच्ने लाने तयारी गरिरहेका थिए।


र, यसरी आर्यघाटबाट ल्याएको कालो दाउराबाट गोल बनाएर फेरि काठमाडौं तर्फ पठाइने रहेछ।


त्यसपछि हामी त्यहाँबाट काठमाडौंको न्यूरोड आइपुग्यौं र यो न्यूरोडको कोइला गल्ली। यहाँ धेरै गोलको कारोबार भइरहेको हुनाले यसको नाम नै कोइला गल्ली राखिएको रहेछ।


यहाँ बोराको बोरा गोल राखिएको छ बेच्नका लागि। यही ठाउँबाट काठमाडौंको अधिकांश सेकुवा पसलहरुमा गोलको कारोबार हुनेरहेछ। यहाँ हामीले सोध्यौं यो कहाँको गोल हो ?

त्यसपछि हामीले उनलाई यो त आर्यघाटबाट ल्याएको कालो दाउराबाट बनाएको गोल होइन भनेर सोध्यौं तर बुमै फालेर रिसाए।

त्यसपछि हामीले अर्का एक व्यवसायीलाई पनि साध्यौं तर उनीहरु यसबारे बोल्नका लागि तयार भएन।


भोलिपल्ट फेरि साँझमा हामी आर्यघाट पुग्यौं। र उनीहरुले नदेख्ने ठाउँमा बस्यौं। किनकि हामी प्रति शंका लागेको कारणले उनीहरु यी मुडाका ठूटा लिन नआएको शंका भयो हामीलाई। केही समयको प्रतिक्षा पछि एउटा पिकप भ्यान आयो यी ठूटा लिनका लागि। र, उनीहरु फटाफट दाउरा लोड गर्न थाले।


हामी क्यामेराले खिच्दै नजिक पुग्यौं र दृश्य कैद गर्न थाल्यौं।


उनीहरु र भ्यानको चालकसँग कुरा गर्न खोज्दै थियौं तर मानेनन्। तैपनि हामीले सोधिहाल्यौँ, यहाँबाट लगेको कालो दाउरालाई गोल बनाएर सेकुवा पोल्छ हो ? उनीहरुले हाँस्दै भने, सेकुवा पोल्दैन इँटा भट्टामा इँटा पोल्छ।


त्यसपछि हामीसँग भएको मोबाइलमा इटा भटाबाट सेकुवा पोल्नका लागि बेचिएको भिडियो देखिएपछि उनीहरु डराए। भिडियो हेरेपछि चालकले इँटा भट्टाबाट सेकुवा पोल्नका लागि बिक्री हुने गरेको स्वीकारे।


यति बेलासम्म त्यहाँ भएको सबै कालो दाउरा भ्यानमा लोड भइससकेको थियो। र त्यसपछि हतार हतार भ्यान लिएर उनीहरु गए।

यति बेला रातिको ८ बजिसकेको थियो। आर्यघाटमा कालो दाउरा टिप्ने तीन जना युवकहरु त्यहीँ थिए। भ्यान जानेबितिकै उनीहरु हामीसँग प्रतिवाद गर्न थाले। यो काम नगरे के काम गर्ने ? चोरेर खाने ? लुटेर खाने भन्दै हामीमाथि जाइलागे।

हामीलाई सक्दो गाली गरे।

त्यसपछि हामीले उनीहरुलाई केही समय सम्झायौं। त्यसपछि उनीहरुले पनि भने आर्यघाटबाट लगेको गोलले सेकुवा पोल्छ।

अर्को दिन फेरि हामी आर्यघाट गयौं। कालो दाउराको व्यापार गर्न लगाइएका कामदारहरु फेरि फेला परे। र उनीहरुले आफ्नो अनुहार नदेखाइदिने शर्तमा हामीसँग खुलेरै भने कि सेकुवा पोल्नका लागि यहाँको दाउरा प्रयोग हुन्छ। तल भिडियोमा सुन्नुहोस्।

त्यस्तै अर्का एक व्यक्तिले यहाँको दाउराबाट मकै पोलेर बेच्ने गरिएको पनि बताए यसरी।

यसबाट के पुष्टि हुन्छ भने शहरमा पशुपतिनाथ, आर्यघाटमा मान्छेको लाश पोलेर बचेको मुडाका ठूटाबाट गोल बनाएर शहरमा सेकुवा पोलिन्छ, मकै पोलिन्छ र सुन पोलिन्छन्।

आर्यघाटबाट ल्याएको गोलबाट शहरमा सेकुवा पोलेर बेचिन्छ होला भनेर पत्याउन सुरुमा हामीलाई पनि निकै गाह्रझ परिरहेको थियो। तर अब यो पुष्टि भयो कि, शहरमा निकै मीठो मानेर खाइने सेकुवा मान्छेको लाश पोलेको गोलबाट पोलिँदोरहेछ। अब यो अनुसन्धानले पुष्टि गरिसकेको सत्य भएको छ।।


तर, यसको अर्थ शहरमा जति पनि सेकुवा पसलहरु छन् ती सबैले आर्यघाटको गोल ल्याएर सेकुवा पोल्छन् भन्ने नलागोस्। केही सेकुवा पसलका सञ्चालकहरुले आफै उत्पादन गर्ने गरेको वा केहीले बाहिरी जिल्लाबाट आयात गर्नेगरेको पनि बताएका छन् तर, सेकुवा यसरी पनि पोलिदो रहेछ भन्ने प्रमाण चाही यो हो कि, आर्यघाटबाट लाश पोलेर बाकी रहेको काठका ठूटा संकलन गरेर त्यसलाई कोइला बनाएर त्यसबाट सेकुवा पोलिदोरहेछ। र, यस्तोसम्म धन्दाको शहर रहेछ र यहा हरप्रकारको धन्दा मौलाएको रहेछ।

धन्दैधन्दाको शहर

लाश जलाइसकेपछि बाँकी रहेको गोलले सेकुवा पोलिरहेको पुष्टी भएपछि हामी शहरका केही सेकुवा पसलहरुमा पुगेका थियौं।

उनीहरु कसैले पनि आफुले पशुपतिनाथको आर्यघाटबाट ल्याएको गोलले सेकुवा पोलिरहेको स्वीकार गरेनन् तर उनीहरु एकले अर्कालाई आरोप लगाइरहेका थिए।

यसरी यो शहरमा खुलेका सेकुवा पसलहरुलाई सेकुवा बनाउन प्रयोग हुने कोइला आर्यघाटमा मानिस जलाउन प्रयोग गरिएको मुडाबाट बन्ने नयाँ रहस्यको खुल्यो। शव जलाइसकेपछि बाँकी रहेको कालो दाउरालाई भक्तपुरको चाँगुनारायणको इटा भटामा लगेर गोल बनाउन ठूलै गिरोह परिचालन भइरहेको छ। त्यही गोलले काठमाडौंका अधिकांश सेकुवा पसलहरुमा सेकुवा पोलेर बेचिरहेका छन् जसलाई हामीले स्वादिलो मानेर खाँदै आएका छौं।

यसो भन्छ विकास कोष

आर्यघाटमा मानिस जलाइसकेपछि बाँकी रहेको दाउराको बन्ने कोइलाबाटै सेकुवा पोल्ने काम हुन थालेको लामो समय वितिसकेको छ तर यसबारे कसैको ध्यान जान सकेको छैन। शव जलाएपछि बाँकी रहेका दाउरालाई वाग्मतीमा बगाउन नपाउँदै सेकुवा लागि कोइला बनाउने ठूलो गिरोह घाटै मुनि लाश पोलेका काठका ठुटाहरु कुरेर बसिरहेको हुन्छ। जानकारहरु अनुसार यो वर्षै अघिदेखि नै यो गिरोह सक्रिय छ तर यसबारे पशुपति क्षेत्र विकास कोष भने वेखवर बसिरहेको छ। कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई यो रहस्य बारे सोध्दा उनले जानकारी दिनुभएकोमा धन्यवाद भने।

उनले हामीलाई धन्यवाद दिइसकेपछि यसलाई पशुपति क्षेत्र विकास कोषले छानविन गर्छ त भनेर सोधेका थियौ तर उनी यसबाट पनि पन्छिए।

लाश पोलेको दाउरा अरु कुनै काममा प्रयोग गर्न नहुने र यदि प्रयोग गरिए धार्मिक हिसाबले राम्रो नहुने उनको भनाई छ।

आर्यघाटमा लाश पोलेर बाँकी रहेको दाउराबाटै सहरका प्रतिष्ठित सेकुवा पसलमा कोइला पुग्छ र त्यही कोइलाले पोलिएको सेकुवा हामीले उपभोग गरिरहेका छौं। सित्तैमा पाइने काठका ठुटाहरु संकलन गरेर जनस्वास्थ्यमा असर पार्दै कमाउने गिरोहलाई छानविन गरि कानुनी दायरामा ल्याउन जरुरी छ।

हिन्दू धर्मवालम्वीको संख्या अन्य धर्मको तुलनामा बढि भएको देश हो नेपाल र त्यस संस्कार अन्तर्गत पशुपति आर्यघाटमा लाश जलाउने क्रममा बाकी रहेका ठुटाहरुलाई कोइला बनाएर त्यसबाट सेकुवा पोलेर बेच्नु, खानु, खुवाउनु दुवै अधर्मी विषय हो हिन्दू धर्मअनुसार।

त्यस्तै अन्य कुनै पनि धर्म बमोजिम पनि मानव लाशजन्य गतिविधिका सामग्रीको प्रयोग गलत मानिन्छ। यसका साथै यसबाट स्वास्थ्यमा पर्ने नकारात्मक असर पनि छ। अझ समाज र सभ्यताले अस्वीकार गर्ने यस्तो विषयको व्यापार जायज छैन भन्छन् पशुपति विकास कोषका सदस्य सचिव। तर उनी भन्छन्, पशुपति क्षेत्रभित्रै भएको भएपनि यस्तो विषयमा कारबाही गर्ने अधिकार हामीलाई छैन।

मान्छेको लाश पोलेपछि बाँकी रहेको काठका मुढाका ठुटा लगेर त्यसलाई कोइला बनाई सेकुवा पोलिएबारेको छ, जो शहरका सबै सेकुवा पसलले नगरेका हुनसक्छन्। र, यस विषयमा आर्यघाटबाट त्यस्ता ठूटा लगिए पनि आफूले कुनै कारबाही गर्न नसक्ने बताउँछन् विकास कोषका सदस्य सचिव।

कति विषय यस्ता हुन्छन्, कानुनभन्दा धेरै माथि हुन्छन्। सभ्यता र संस्कार यस्ता हुन्छन् जेलनेल र बन्दूकको गोलीभन्दा डरलाग्दा हुन्छन्। यो त्यस्तै विषय हो मान्छेको लाश पोलेपछि त्यसबाट बाँकी रहेको मुडाका ठूटा उठाउनेदेखि कोइला बनाउने र त्यसबाट सेकुवा पोलेर जनतालाई बेच्ने, खुवाउनेसम्मका सिलसिला यस्तै सभ्यता र संस्कारविपरीतका हुन्। हामी कानुनतिर पनि जाउँला तर यो विषय कानुनभन्दा धेरै माथि भएकाले हामीले सबैलाई सचेत गराएका हौं।

भिडियो रिपोर्ट हेर्नुस्-

45 thoughts on “सेकुवा स्वादिलो लाग्छ? यो हेर्न नछुटाउनुस्”

  1. Pingback: लाश जलाएको कोइलामा पोलिने सेकुवा र बहुलाउने बिमारको महामारी « Mysansar
  2. suzee says:
    June 29, 2014 at 12:28 pm

    सबै कमेन्ट हेरियो ,
    अनि त्यो ठुटो ले पोलेको इट्टा भट्टा को ईटा ले बनको घर मा चाही बसेकै छन् त मनुवा हरु,
    यो कुरो नि सोच्नु पर्यो नि , नकारात्मक कुरो मात्र हेर्ने हो भने,
    अहिल्या क़ाला RECYCLE लै PRIORITY दिनु पर्छ

    Reply
  3. pratik says:
    June 29, 2014 at 1:22 am

    त्यो खर्पन मा बोकेर लागेको डुंग डुंग गनआउने, मान्छे को मल मुत्र हालेको काउली र रायो को डउकु लै चै वह क्या फस्टाएको तरकारी भन्दै एक दुइ चोटी मात्र पखालेर खान हुने रे/ त्यो भन्दा त यो कोइला मापोलेको सेकुवा नै ठिक होला नि/ तेस्तो ताप मा पोलेपछि कोइला बनिसकेपछि सब किटाणु dna etc कहाँ हो कहाँ/ बरु कम से कम बागमती सफा गर्नु मा त मदत पुगेको छ/ good recycling concept…. बरु “सेकुवा खाउ बागमती बचाउ” को नारा promote गरे राम्रो हुन्छ होला /

    Reply
  4. Mitra Sunuwar says:
    June 28, 2014 at 5:38 pm

    सायद पशुपतिको इलेक्ट्रिक machine संचालन मा आए पछि समाधान हुन्छा होला . आशा गरौँ

    Reply
  5. बद्री पोखरेल says:
    June 27, 2014 at 5:18 pm

    अतिरंजित बनाई प्रस्तुत गरिएको समाचार प्रति गरिएको सबैका कमेन्ट पनि पढियो त्यस मध्ये “गगने जी र रैथाने जी ” को कमेन्ट उपयुक्त लाग्यो । फालिएको बस्तुलाई पुनः अर्कों रुपमा तयार
    गरीएका बस्तु फेरी हामीले हाम्रो भान्सा तथा पूजामा प्रयोग गरिनै रहेका छौं । रह्यो गोल को कुरा दाउराबाट लाश पोल्नुको साटो बिद्ध्युत भट्टी संचालनमा ल्याउन सरोकारवालालाई दवाव दिन सबै एक जुट भएमा वन बिनास र वातावरण प्रदूषण हुन पाउने थिएन अनि लाश पोलेको गोलबाट सेकुवा पनि पोलिने थिएन,सेकुवाका पारखीले घिन मानि मानि सेकुवा खानु पर्ने पनि थिएन ।

    Reply
  6. अनोज शाक्य says:
    June 27, 2014 at 2:12 pm

    यो ठुलो समस्या नै होइन जस्तो लाग्छ / खुल्ला आकासमुनि लास जलाउनु नै सबै भन्दा पहिला हाम्रो गलत संस्कार हो / बच्चा जन्मिदा सुत्केरीको सरिर बाट बच्चासंगै निस्किने सालको कस्तो कस्तो भिटामिनको औषधि बन्छ / तर पनि त्यी बिचरा भाइहरुले बागमती सफाई गर्ने अभियानमै लागे जस्तो गरेर मेहनत गरेको देख्दा खुसि नै लाग्यो / सेकुवा त खाए खाउला न खाए नखाउला / सुँगुरको मासु खाने बेला पनि सुँगुरले कस्तो दाना खाएको रहेछ भनेर एकपटक सोच्नु पर्ने बेला भएर आए जस्तो छ /

    Reply
  7. डिल्ली says:
    June 27, 2014 at 7:44 am

    नयाँ समाचार हैन । वर्षौ अघिदेखि थाहा भएको हो । यौटा मूल विषय यदि यो चीतामा प्रयोग गरिएको दाउरा सङ्कलन गरेर अरूले नलैजाने भए पशुपति क्षेत्र झन कस्तो हुन्थ्यो होला ? ईटा पोल्न प्रयोग गरेको भए त ठीक हो तर सेकुवाकालागि लैजानु चाहीँ मनले मान्दैन । तर्क आफ्ना आफ्नै हुन् । मरेको पोल्दा दाउरामा लाश झुण्डिदैन भनि जानेरै खानेलाई मर्का पर्ने विषय भएन तर जस्ले अन्जानमा खाइरहेको छ र त्यस्तोमा पोलेको खानुलाई उसले राम्रो ठान्दैन त्यस्ता मानिसकालागि घात नै हुन्छ । जानिबुझी मानिसको लाश खाने अघोरीहरू लाई पनि हिन्दू नै भन्छन् । शुद्ध शाकाहारीदेखि मानव लाश खानेसम्म हिन्दू हुन सक्छन् । हिन्दू धर्मको कुनै ग्रन्थले त्यसरी पोलेको नखाउ भनेको छैन होला तर झुक्याएर खुवाउ वा ढाँट चाहीँ कुनै धर्मले भनेको छैन होला ।

    Reply
  8. कृष्ण भारद्वाज, अस्ट्रेलिया says:
    June 27, 2014 at 5:51 am

    लाश पोलेको अनि फेरी इट्टा भट्टी मा लागि जलाई कोइला बनाएकोले सेकुवा खादा कुनै समस्या हुनु पर्छ जस्तो लाग्दैन ..तर..यो संस्कार गलत हो, जसलाई जे मन लग्यो तेही गर्या छ खोइ कानुन ? खोइ डर, लाज ?

    Reply
  9. गगने says:
    June 27, 2014 at 5:17 am

    प्रस्तुति नकारात्मक पाटो र तरिका बाट भयो तर कुरा तेस्तो नकारात्मक मान्न सकिन्न!
    लाश को अन्त्यस्ती गरि आर्यघाटमा जलाय पछि बालेर नसकिएको बाकि ठुटो संकलन गरि इट्टाभट्टामालगि इट्टा पोलि सकेर बनेको कोइला लगि सेकुवा पोल्नुलाई यतिविधि नकारात्मक भन्दा सकारात्मक पाटो बाट हेरौ, यसमा एउटा स्पिरिचुएल सेन्टिमेन्ट बाहेक अरु सबै द्रिस्त्रिकोणले यो सहि छ!
    तेसोत त्यो बल्न नसकेको र जलेर नसकिएको काठका ठुटालाइ दोश्रो प्रयोगगरी सकेर तेसको सहायक वा उप उत्पादन लाइ अर्को प्रयोजन गरिनुलाई यत्ति ठुलो र धेरै आपत्ति मान्ने हो भने,
    त्यो जलेर सकिएकोकोइला र खराली अनि लाशको जल्न नसकेको बा जल्न बाकि रहेको अस्तुलाई बागमतिमा मिसाई सेलाइञ्छ मतलब बागमतीको पानीमा घोलिंछ र बगाइञ्छ अनि तल पुगेर तेही पानीले भक्तपुर मकवानपुरको बारी सिञ्चिएर कत्राकत्रा मुला आलु र अन्य तरकारी काउली भेण्टा गोलभेडा आदि फ़लाइञ्छ!
    अर्गानिक र स्वादिस्ट अनि पौस्टिक मानिने त्यो तरकारी तेही बागमतीको पानि जसमा त्यो लाश जलाइयको कोइला खरानी र अझै लाशको जल्न नसकेको अस्तु आदि घोलिएको पानीले सिञ्चिएको छ फ़लाइएको छ त्यो पनि बिक्रिगर्ना खान परहेज वा बन्देज गर्नु पर्योनि गाठे!
    तेस्तो कुनै गलत बुझ्दिन म त्! तर प्रस्तुति त लाश पोलेर नसकिएको काठको ठुटा बाट गरिएको सब प्रडक्ट कोइला ले पोलेको सेकुवा भन्दा नि लाशाकै सेकुवा बनाएर बेचेको जस्तो भयो के!
    इण्डियन प्रस्तुतिको नक्कल उतार्दा राम्रोकुरालाई पन्छायर नराम्रो बनाउन उध्धत्ता समाचार प्रस्तुत कर्ताहरु,
    ‘ यहि बैठे रहिय कहिँ जाइएगा मत, हम फिर आएङ्गे बहुत सनसनिखेज बाट लेकर और हम आपको यही मिलेंगे, देखते रहिएगा कहिँ जाइएगा मत, यही रुकाकर हमको वैट किजिए’ भनेर धम्क्यायर टिभिबाट गयो रे प्रस्तोता सात्तो गयको दर्शकपुरै गाउले दुइ दिन टिभि अगाडि कुरेर बस्या थ्योरे इन्डियामा अनि दुइदिन पछि अर्को कोइ मान्छे आयर त्यो टिभि प्रतोतालाई पुलिस ले समातेर लग्यो जेल मा छ भनेपछि बल्ल गाउले शान्तिको शास फेरी आफ्नो आफ्नो काममा लागेर भन्थ्यो तेसैको सिको हो!
    सकारात्मक भन्दा नकारात्मक कुरामा दुनियाको बढी चासो र चर्चा हुने हुदा यी टिभि प्रस्तोताहरु जे कुराको पनि नकारात्मक प्रस्तुतिमा बढी जोड दिने गर्छन!
    धत्!

    Reply
  10. abhi says:
    June 27, 2014 at 3:37 am

    म आफै कट्टर हिन्दु हो/ तर येस्मा मैले केहि दोष देखिन/ न चिता बाट बाँकि भएको मुडा मा कसै को लास को ठुटो बाँकि नै रहन्छ/ येस्बता सिर्फ प्रसोधन मात्र भय्यो/ मासु न खाए कुरै सियो नि यार/ मासु खान चोद्नुस /

    इट्टा भट्ट मा HIGHT DEGREE मा पोल्छ केहि फरक पर्दैन

    Reply
  11. बशन्त राज says:
    June 27, 2014 at 12:34 am

    त्यो ठुटा दाउरा इट्टा भट्टामा प्रयोग भो एकदम राम्रो लाग्यो / आगोमा पोले पछि हरेक चिज शुद्ध हुन्छ तसर्थ सेकुवा खादैमा स्वाथमा असर गर्ला जस्तो लागेन / यदि राम्रो लाग्दैन भने शाकाहारी बने भैगो नि / अर्को कुरा म कुबेतमा बस्छु यहाँको इस्थानिया पत्रीकामा केहि समय अगाडी मरेको जनवार, बिमारी जनवोर आदिलाई सस्तोमा किनेर तथाकथित ठुला रेस्टुरेन्टहरु (के एफ सी, मैक डोनाल्ड आदि) राम्रै कामाई गरेको कुरा पत्रीकामा आएको थियो / पछि यहाको सरकारी कार्यालले तिनलाई जरीवाना गरेर ति खाने कुराहरु नस्ट गरिएको फोटो पनि प्रकासन गरेको थियो / मलाई लाग्छ एस्तो घटना हरेक ठाउमा हुन्छ / तर त्यो कोईला सेकुमानै प्रयोग नगरेको भय हुन्थ्यो भन्ने हामीलाई लागिराछ /

    Reply
  12. Dipendra says:
    June 26, 2014 at 11:34 pm

    मरेको भैसी र मरेको मान्छे मा क फरक छ र? आखिर लास, लास नै हो! म त येस्मा खासै समस्या देख्दिन. Its just a process of recycling . मान्छे मरेपछि पानी म़ा जाञ्छ र त्यहि पानीले तरकारी म़ा सिंचाई हुञ्छ. येस्मा त केहि समस्या छैन. रोगका जिबनु मरेपछि केइनि हुन्न re use गर्नलाई

    Reply
    1. samrat~ says:
      June 27, 2014 at 8:08 am

      तेसो भए मरेको खसी र मरेको कुकुर या मुसा मा पनि केहि फरक छैन तपाइँ को अनुसार ..कुकुर, मुसा पनि खाए हुन्छ त ?

      Reply
      1. लौटन अवधि says:
        June 27, 2014 at 1:22 pm

        सम्राट जी म खान्छु कुकुर र मुसा ! मरेको होइन मारेको अर्थात बेच बिखन या घर मै खान प्रयोजन को लागि प्रसोधित गरिएको ! मुसा नेपाल मै तराई मा थारु साथि हरु संग खाएको हो ! कुकुर कोरिया काम बिसेस ले जादा खाएको हो ! यति मात्रै होइन अक्टोपस देखि एक किसिम को लिजर्ड ( छेपारो), सर्प को सुप देखि रोस्टेड बिच्छी समेत मज्जा ले खाएको छु ! खास गरि चाइना गएको बेला (कुकुर बाहेक ) येस्ता मेनु भएका रेस्टुरेन्ट खोजि खोजि पस्छु ! कुकुर मुसा भनेर मंगलग्रह बाट झरेको झैँ गर्नु पर्ने केहि देख्दिन !

        Reply
  13. Regmi says:
    June 26, 2014 at 9:03 pm

    पावर न्युजले मेहनतगरि तयार पारेको कार्यक्रम र माई संसारले प्रकाशित गरेको यस सामाग्री महत्वपुर्ण छ/ हाम्रो आवस्यक पुरा गर्न बाताबरणलाइ असर नपारी यौटा बिरुवा/रुखले जंगलबाट आर्यघाट हुँदै रुप फेर्दै सेकुवा पसल सम्म आइपुगेर मानबको सेवा गर्दो रहेछ भन्ने जानकारी प्राप्त भयो/ यो प्रक्रियाबाट मुख्य सचिबको बागमतीलाइ सफा गर्ने योजनालाई सहयोगै पुगेको हुनुपर्छ/ नत्र त दैनिक ५० देखि १०० वटा लास जलाउदा बाँकी रहेको ठुटा सबै बागमतिमा फाल्दा समस्यानै हुन्थ्यो र त्यसको लागि थप योजना बनाउनु पर्थ्यो होला/

    बाँकी रह्यो सेकुवाको कुरा: आफ्नै घरमा बनायर सेकुवा नखाने हो भने नेपालमा बजारको सेकुवा र विदेशको फास्ट फुड/रेस्टुराण्टमा खाना खानु हिन्दुहरुको लागि उस्तै उस्तै जस्तॊ लाग्यो/ रिसानी माफ – कुरा साफ/ के गर्ने लौ सोचौं है/

    Reply
  14. रैथाने says:
    June 26, 2014 at 7:07 pm

    यो कुरा र यसमा त कुनै समस्या देखिन्न त् ल!
    म त् राम्रै गरेछ पो भन्छु!
    नचाहिदो काम त होइन त यो भन्छु म!
    यसो त् लाश पोले पछि बाकि नजलेको ठुटा पो लैजाने रैछ!
    मैले धेरै अघि सेकुवा चपाउने क्रममै सुनेको हो यो कुरा कि ‘यो सेकुवा हरु पशुपति आर्यघाटमा लाश पोलेको कोइला यहा ल्यायर पोलिन्छ तेसैले एकदम स्वादिलो हुन्छ’ भन्दै हास्दै खाइ रहेको थियो केहि मान्छेहरु! र मैले सुनेर सोध्दापानी तेसै भंदथियो तेतिबेला त मलाइ घिन लागेर खान मन लागेको थिएन किनकि मैले सोचेको थिए त्यो लाश जलायाको कोइलाहरु सोहोरेर ल्यायको होलान भनेर, तर तेसो होइन रहेछ!
    तै पनि सेकुवा चाहि भेटाको बेला खान छोडिएन गाठे!
    हाम्रो गाउको कैलो मगर आँप खादैन थ्यो किन भन्दा उसको बाउ गाडेको ठाउमा आँपको रुख उम्रेर आँप फलेछ त्या देखि आँप खान छोडिदियो उसले!
    तर,
    यिनीहरुले यो काम गरेको त राम्रो पो गरेछन त!
    यी बन्धुहरुले त्यो लाश पोलेर नसकियको ठुलो संकलन गरि पुन प्रयोग गरे यदि तेसो नगर्दो हो त् यो फोहोर कसरि ब्याबस्थापन गर्थ्यो होला सरकार अनि पशुपति क्षत्र ब्याबस्थापनले? त्यो पशुपति त अहिले सम्म डडेको ठुटो र कोइलाले पुरिने थियो होला!
    यसले त पर्यावरण र सफाई अनि रिसाइक्लिन श्रम बस्तुको उपभोग ब्याबस्थापन आदि कुरामा निकै सकारात्मक भूमिका पो देखिन्छ त्!
    तेहा थुप्रै मान्छेले काम र रोजगारी पायको छ!
    थुप्रैको ब्याबसाया चलेको छ आम्दानि बनेको छ!
    पर्यावरण र बाताबरण सफा राख्न निकै गहन मद्दत पुगेको छ!
    खेर गयको बस्तुको पुन प्रयोग भयको छ!
    आदि आदि सकारात्मक कुरा थुप्रै छ!
    यहा सम्मकि यो टिभि र यसका खोजि पत्रकारले पनि काम पायछ, यिनीहरुलाई पनि फाइदा भयो!

    मेरो सल्लाह,
    यो कार्य ब्याबस्थित तरिकाले पशुपति क्षत्र ब्याबस्थापन बाटै गर्नुपर्ने पो देखिन्छ, तेता सोच्दाहोला के!
    – शहरको सेकुवा आदि ब्यापारी जसले यो होलि कोइला प्रयोग गरि ब्यापार चम्कायाको छ तिनीहरुसंग ‘पशुपति ट्याक्स (शुल्क)’ जोडी पशुपति सरक्षण ले रकम वोसुल्नु पो पर्ने होकी?
    – अनि सेकुवा खाने संग पशुपति आर्य घाट ब्याबस्थापन शुल्क सेकुवामा जोड्ने होकी?
    प्रत्यक सुइरो सेकुवामा एक रुपैया घाट ब्याबस्थापन वा पशपति क्षत्र ब्याबस्थापन शुल्क तिरौ र सेकुवा थप स्वाद लिदै देश र समाजप्रति उत्तरदायी बन्दै खाउ!

    पसले हरुले पनि अब,
    ‘यहा होलि (पबित्र) काठको कोइला द्वारा सेकुवा पोलिन्छ!’
    भनेर आफ्नो सेकुवाको एड्भर्टाइज गर्दा होला!
    तेसोगारे कसो होला?

    Reply
  15. अर्जुन says:
    June 26, 2014 at 7:04 pm

    पशुपतिमा नि मासु ने पोलेको त हो नी फरक यत्ति हो नि त्यहाँ मान्छेको मासु पोलिन्छ। फेरि आगोमा पोल्दा त सबै किटाणु पनि नाश हुन्छन नि हो।।।।

    यहाँ स्वास्थयको कुरो हो कि आस्थाको? मानिसको आस्था एकको आधारमा यसो गर्न नहुने हो तर विक्लप के त? यो खेर जाने दाउराको उचित व्यवस्थापन के त?

    Reply
  16. Madhu says:
    June 26, 2014 at 6:54 pm

    सुन्दा अनौंठो त छ नै कुरो तर यसले बन बिनाश चैं रोकेको रैछ है! मान्छे पोल्न पनि बन फाँड्ने अनि सेकुवा पोल्न पनि त्यसै गर्दा निकै दाउरा चाहिन्थ्यो तर यसरि पुनः प्रयोग गर्नाले राम्रै भाको रैछ! फेरि उसैत बागमती मा के हि पनि बग्दै न ….दाउरा पनि त्यहि छोडेको भए के हुन्थ्यो होला! अर्को महत्व पूर्ण कुरा चैं के भने इट्टा भट्टामा लगेर पोले पछि त नया दाउरा पनि उहिहो मान्छे पोलेको दाउरा पनि उही हो…..अब राम्रै दाउरामा पोलेको सेकुवा खान मन लागेको छ भने अब देखि घरमै बनाएर खानु पर्यो!!

    Reply
  17. अनुराधा पौडेल फ्रान्स says:
    June 26, 2014 at 5:34 pm

    पृथ्वीमा भएका तर खेर जाने चिजहरुको पुन प्रयोग राम्रो । तर पुन प्रयोग गर्दा प्रयोग गरिने चिज रोगी छ कि छैन त्यो मात्र हेर्न पर्यो । जाँच हुने हो भने यहाँनेर हुन पर्यो । काठमान्डु या नेपालका सबै सेकुवा पसलमा यस्तै मात्र कोइला पनि पुग्दैनन होला । अनि सेकुवा पसलेहरुले पनि के थाह पाउन् कि उनीहरुले किनेको कोइला को स्रोत पशुपतिका लासहरुका काठहरु हुन् या बनारसका । बनारसमा त झन् हजारौँ लास हरु दैनिक यसैगरी पोलिन्छ र त्यहाँ पनि बटुलिन्छ काठका टुक्राहरु ।

    Reply
  18. Jenish says:
    June 26, 2014 at 5:17 pm

    I don’t think there is any problem with that. It’s called ‘recycling’. Enjoy your shekuwa!

    Reply
    1. deepak says:
      June 26, 2014 at 5:47 pm

      सेकुवा पसले दाइ हुनुहुन्छ कि कसो?

      Reply
    2. Sarik says:
      June 26, 2014 at 6:26 pm

      Problem is about nasty.

      Reply
  19. मणि says:
    June 26, 2014 at 5:14 pm

    बानियाजिको आवाज किन थर्थराएको/डराएको/हस्यांग्फस्यंग जस्तो? स्टुडियो मा त सजिलै बोल्नु पर्ने हो|

    पुनः प्रयोग गरिएको चिज सब्बै घिन लाग्दा हुन्नन्, तर यो कुरा चै स्वास्थ्य सम्बन्धि छ, कुरो बुझ्नु जरुरि हुन्छ| तर जसलाई मन पर्दैन नखाए भो| १००यौ+ डिग्री आगोमा किटाणु मरिसकेको हुन्छ खास असर कहाँ गर्छ त्यो पनि बुझ्नु पर्छ|

    पसल मा किन्ने धेरै कुरा पुनः प्रयोग गरिएको समान बाट उत्पादित हुन्छन, जस्तै प्लास्टिकका भाडा जुन फोहोर/खोला छेउबाट उठाएको हुन्छ, प्रयोग गर्ने कि नाइँ, तजबिजको कुरो हो|
    भिडियोमा भने जस्तै लुटेर/चोरेर पक्कै खाएका छैनन्, कुरा राम्रै गरेका हुन् ३ जना केटा (भाई)हरुले|

    खासमा त्यो लास पोल्न लागिएको दाउरा किन पूर्ण रुपमा पोलियेन? किन बागमतिमा सोझै बगाएको? एकातिर मुख्य सचिब बागमती सफा गर्ने अभियान मा करोडौ खर्च गर्ने, अर्को तिर पशुपति छेउमै यस्तो दुर्गति, के भन्नु हुन्छ उहाँ?

    कसैलाई लक्षित नगरी लेखेको फेसबुक कमेन्ट बाट जेल हालेको उधाहरण हाम्रो नेपाल मा छ, अब यता यो-संसारमा लेखे बापत के हुनी हो कुन्नि, “भगवान् त्वं सरणम”|

    Reply
  20. Devendra Basnet says:
    June 26, 2014 at 5:07 pm

    यो कुरा पहिले देखि नै सुनेको हो. र यो साँचो पनि हो. तेसैले मा सके सम्म सेकुवा खान्न

    Reply
  21. Sudarshan Ghimire says:
    June 26, 2014 at 4:45 pm

    अब यो संसार बुझेर बुझिसाध्ये छैन् ……!!
    बुझ्न पर्ने कुरा के भने , अर्थशास्त्रको सिद्दान्त अनुसार हरेक चिज जब उसको अन्तिम बिन्दुमा पुग्छ तव त्यो स्वोत: पुन: तल झर्न थाल्छ , त्यस्तै , अब बिस्तारै यो संसार को मानब सभ्याताको रफ्तार पनि करिब करिब अन्तिम बिन्दुमा पुग्न लागेको जस्तो संग्केत हो यो किनकी हरेक क्षेत्रमा केहि न केहि प्रकार का कूकार्य देखिनु नै अब संसार को अस्थित्त्वो धेरै छैन भन्ने कुरा को संग्केत हुनु हो हो !

    Reply
  22. purna prasad khatiwada says:
    June 26, 2014 at 4:07 pm

    नया नेपाल भन्ने सुनेको थिय साचै हो रहेछ नया मात्रै सुन्न पाइने | आजकल त लाश पोलेको दाउरा र कोइला ले काठमाडौँ बासि ले खाने सेकुवा बन्दो रहेछ | काठमाडौँ बासी को जिब्रोमा झुन्डिने गुदपाक , मो. मो. को खबर सेलाउन नपाउदै सेकुवा को खबर ले राम्रो संदेश दियको छ |

    Reply
  23. Basant says:
    June 26, 2014 at 4:02 pm

    सुँगुर बुन्गुर गाई गोरुको मासु खाने लाइ घृणा र हेय को दृष्टिले हेर्ने समाज अनि मंसाहरिलाई होच्याउने साकाहारी समाज लाइ गतिलै जवाफ हो यो मान्छे पोलेको छाना मुनि बसी सास फेर्न सक्नेले यो कुरा पचाउन के गरोह होला र सबै सोच कै कुरा त् हो ठुला

    Reply
  24. kedar says:
    June 26, 2014 at 3:41 pm

    मानबता मर्दै गएको स्वार्थी समाज उन्मुख हुँदै गएको हाम्रो संकेत हो यो | आफ्नो र आफ्नो परिवारको सुखका लागी जे सुकै गरेर किन नहोस पैसा चैं कमाउनै पर्छ, छोड्नु हुँदैन भन्ने तिर उन्मुख हाम्रो समाज हो यो | केहि भ्रष्ट कर्मचारी, केहि भ्रष्ट नेता, तथाकथित डनहरु, विभिन्न प्रलोभन देखाएर सर्बसाधारणको पैसा धुत्नेहरु, अपहरणकारीहरु, बैदेशिक रोजगारको ब्यापार गर्ने सरकारी र मेनपावरहरु, केहि डाक्टरहरु र यी लाशका कोइला व्यापारीहरु सबैले प्रत्यक्ष वा अप्रत्यक्ष कुनै न कुनै रुपमा जिउंदालाई लाश बनाएर हुन्छकी मरेको लाशलाई प्रयोग गरेर हुन्छ लाशकै ब्यापार गरिराखेका छन् | केहि मुठ्ठीभरहरुको पैसा प्रेमले नै इज्जत पाइराखेको छ, इज्जत दिने त फेरी हामि नै हौँ, कस्लाई गालि गर्ने खै ?

    Reply
  25. purna prasad khatiwada says:
    June 26, 2014 at 3:41 pm

    नया नेपाल भन्ने सुनेको थिय मैले, साएद यहि होला सबै थोक नया मात्रै सुन्न पाइने | नया नेपाल बनाउने भन्थे, नमुना यहि रहेछ | लाश पोलेको दाउरा र कोइला ले सेकेको सेकुवा काठमाडौँ बासी हरु ले मिठो मानी मानि चपाइरहेका छन् | यस्तो सुबिधा पाउनु काठमाडौँ बासी को अधिकार हो | news 24 chennal ले यसलाई गुड news बनायर प्रशारण गर्नु पर्थो जस्तो लाग्छ मलाई , पहिला पनि एउटा गुड news यहि चान्नेल ले फुकेको थियो सबैले मिठो मानी मानि खाने गुदपाक कसरि बन्छ भनेर अहिले अर्को त्यस्तै खबर काठमाडौँ बासी लाइ दियको छ news २४ चान्नेल बाट, मा स्यालुट गर्छु news २४ चान्नेल परिवार लाइ ,

    समाचार संकलन गर्न जादा परेका अप्ठेरा हरु को प्रबाह नगरी दिन रात आफ्नो कर्तब्य , जनताले पाउने सुचनाको अधिकार लाइ यहाँ सम्म ल्याई दियको मा हामि अत्यन्त खुसि छौ | आगामी दिन मा पनि यसरि नै अगाडी बडीरहोस , नया नया खबर पस्किरहोस शुभकामना news २४ लाइ

    Reply
  26. Sunil. London says:
    June 26, 2014 at 3:21 pm

    कुरो २०४० बि.सं. तिर को हो बझांग पुग्ने अवसर पाएको थिए, airport नजिकै माछा बेच्नेको हुल थियो, त्यहाको माछा निकै स्वादिलो हुन्छ भन्ने थाहा पाए ! तत्कालिन शाही नेपाल बायुसेवा का pilot हरु पनि एकैछिन बिमान बाहिर आएर माछा किन्दा रहेछन ! १-२ दिन बझांग बसे पछि माछा खाने मनसाय ब्यक्त गर्दा एक जना सरकारी कर्मचारीले भने हत्तेरी एस्तो माछा पनि खानु हुन्छ , मैले कुरा बुझिन त्यसपछि उनले मलाई त्यहाको नदि तिर घुमाउन लगे ! त्यहाँ अचम्मको चलन रहेछ , मान्छे मरेपछि लाश जलाउदा शरीर मा भएका रौ मात्र जलाई बाकी लाश लाई नदीमा फालिदो रहेछ, त्यस पछि त त्यहाका माछालाई दशैं नै आउदो रहेछ ! २-३ वटा तेस्ता लाशमा माछाले रजाई गरिरहेको देखे, ति कर्मचारी भन्दै थिए हजुर यहाका माछा निकै चाडो ठुला हुन्छन , जन्मेको २-३ हप्तामै वयस्क हुन्छन र अति नै स्वादिलो पनि , अब सिधै मान्छेका मासु खाएर बढेका माछा खान मनले के मान्थियो र अब काठमाडौँ जादा सेकुवा कसरि खाने भन्ने पिर पनि थपियो !

    Reply
  27. Anjali says:
    June 26, 2014 at 3:14 pm

    काठमाडौँ सहर,
    हेर्दा लाग्छ रहर…
    गिद्दै गिद्दको सहर !!

    Reply
  28. Ganesh says:
    June 26, 2014 at 3:03 pm

    त्यो मान्छे पोलेको काठलाइ इट्टाभट्टमा प्रयोग गरि सके पछि त्यो काठ chemically अलिकति फरक हुञ्छ तेस्मा भएका लासका अबयेबहरु पनि नास हुन्छन. तेस्तो कोइलामा पकाएको सेकुवा खान मलाई त अप्ठेरो लाग्दैन. म भन्छु ठिक छ त्यो काम.
    तपाई हामीले अपेक्छया गरेको खनिज कोइला पनि त Fossil नै हो नि. नेपाल म़ा कोइला खानी होला जस्तो मलाई लाग्दैन. आयात गरेको कोइला भन्दा घरमै बनेको कोइला बेस नि.

    Reply
  29. khim Ghimire says:
    June 26, 2014 at 3:02 pm

    ओहो योत बडो अचम्मको कुरा सुनाउनु भो छि अबत मा कहिल्लै पनि काठमान्डू आएर सेकुवा खादिन यसलाई कानुनि दायरामा ल्याउनु पर्छ है पत्रकार महाशय ………………

    Reply
  30. Rama says:
    June 26, 2014 at 2:45 pm

    खेर जाने चिजलाई उपयोग गर्दा नराम्रो नहुन पर्ने हो तर स्वास्थ्यको दृष्टिले नराम्रो हुन्छ भने समयमा नै यो कम रोक्नु पर्छ.

    Reply
  31. Shankar says:
    June 26, 2014 at 2:03 pm

    काम पाइनस बुढी ”- – – – कन्या ” भने जस्तो | सरकारी अफिस मा टेबिल मुनि बाट पैसा लिने , नागरिकता को अभिलेख माग्दा समेत हाका हाकी घुस माग्ने हरु प्रति कुनै ध्यान छैन त् एता किन ? एसले खासै कस्तो किसिम को असर गर्छ ? हो थाह पाएपछि सायद घिन लाग्छ न भनेको भए त्यो मतलब हुदैनथ्यो |
    कोइला युज गर्ने हरुक लागि आखिर कोइला कोइला नै त् हो | बिचरा के गरोस ?
    तेसो त् मुर्दा समाउने ले तेही हात ले पैसा समाउछ , कसाइ( भैसी , सुगुरको ) ले रगत लागेको हात ले पैसा समाउछ ति पैसा पनि फाल्ने हो कि ?

    फेरी म लाइ के लाग्छ मान्छे हरु तेत्रो पोलेको मकै खान्छ , सेकुवा खान्छ त् के घाट को कोइला ले मात्र त्यो सम्भब छ ?

    विदेश तिर त् टोइलेट को झोल लाइ नै सुद्दिकरण गरेर पानि वितरण गर्छ त् |

    Reply
  32. Lochan Gautam (Qatar) says:
    June 26, 2014 at 1:02 pm

    मान्छे पोल्दा बाकी रहेको दाउरा बाट गोल बनाई त्यसैमा सेक्वा पोल्न किन नहुने ? कम्तिमा बागमती त सफा भाको छ, सेक्वा खाने जड्या त देरै हुन्छन नी जद्याले जाड खानु चै राम्रो होर?

    Reply
  33. ramesh says:
    June 26, 2014 at 12:59 pm

    एस्तो हल्ला त मैले धेरै पहिला १० बर्ष अगाडी नै सुनेको थिए तेसैले काठमाडौँ मा सेकुवा खादिन.

    Reply
  34. biplov says:
    June 26, 2014 at 12:41 pm

    तन्दुरी रोटी आदि पनि पोलिन्छ कि ? ढावा हरूमा गइ खोजविन गरिदिनुभए राम्रो हुने थियो । अर्को कुरा बच्चा सेक्ने कार्यको लागी पनि कोइला बजारबाट कोइला ल्याइन्छ क्यारे, त्यो त्यही कोइला बजार हो ? स्पष्ट पारिदिनुभए कम्तिमा यस्ता कृयाकलापहरूसंग सजग हुन सकिने थियो ।
    धन्यवाद ।

    Reply
  35. Narayan says:
    June 26, 2014 at 12:13 pm

    “Recycling” अबधारणा को उच्चतम नमुना देख्न पाइयो!
    पैसा भने पछि जे गर्न पनि पछि नपर्ने गाठे!!!थुक्क पापी हरु!

    Reply
  36. cRIS says:
    June 26, 2014 at 12:07 pm

    Disgusting. Absurd. Pathetic.

    Reply
  37. sagun dhakal says:
    June 26, 2014 at 12:05 pm

    अब हुदा हुदा हामी ले मान्छे को मासु नि खानु पर्नी भयो है
    अब त मान्छे बाट हामी लाइ नरसंहार बनाउने भय होटल वालाहरु ले

    Reply
  38. Siyan says:
    June 26, 2014 at 12:00 pm

    लाश जलाएर बाकी बचेको गोलले सिनामंगलको एउटा प्रसिद्ध सेकुवा पसलेले सेकुवा बनाउछ रे भनेर त आज भन्दा १५-१७ बर्ष पहिले नै सुनेको बिषय हो नि काठमाडौँमा…

    Reply
    1. suzee says:
      June 26, 2014 at 1:39 pm

      हो यो कुरो मैले पनि १५ वर्ष अघि सुनेको थिए , मकै अनि सेकुवा पोलिञ्छ भनेर ,

      Reply
  39. अनिल says:
    June 26, 2014 at 11:40 am

    यो कार्यक्रम आएको त थाहा पाएको थिए तर म त घिन लागेर हेर्न सकिन

    Reply
  40. sandesh says:
    June 26, 2014 at 11:03 am

    hmm … disgusting ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme