मेसिनले पढ्न मिल्ने राहदानी (एमआरपी) अहिले विदेशमा बस्ने र काम गर्ने नेपालीहरुका लागि प्रमुख चासोको विषय बनेको छ। सन् २०१५ को नोभेम्बर २४ पछि अनिवार्य हुनेछ। यस्तो पासपोर्ट बिना तपाईँ विदेश जान पाउनु हुन्न। अहिलेको हातले लेखिने पासपोर्ट मान्य नहुने हुनाले कागजको खोस्टामा सीमित हुन जान्छ। रोजगारीका लागि विदेशिने नेपालीले भने पछिल्लो जेठ १ गतेदेखि नै एमआरपी चलाउनु पर्ने, त्यसमा मात्र अन्तिम श्रम स्वीकृति दिने सूचना जारी भइसकेको छ। त्यसैले यो जरुरी भइसकेको छ। तर पासपोर्टका लागि अरु देशले भन्दा तुलनात्मक रुपमा चर्को शुल्क उठाउने नेपालले न काठमाडौँमा न विदेशस्थित दूतावासमा नै नेपालीहरुलाई राम्रो सुविधा दिन सकेको छ। काठमाडौँमा जस्तै विदेशका दूतावासमा पनि भद्रगोल छ एमआरपी वितरण। दोहामा माइसंसारका एक पाठक जीवनले एमआरपी फाराम बुझाउन गरेको संघर्षलाई युद्धको संज्ञा दिएका छन्। पढौँ उनको विवरण।
म यो साता दोहाको दूतावासमा एमआरपी फाराम बुझाउन गएको थिएँ। बिहान नौ बजे खुल्ने अफिस भए पनि म एम्बेसीमा पुग्दा बिहान ७ बजेको थियो। टोकन सिस्टम त त्यहाँ पनि छ तर दिनमा ३ सय वटा टोकन मात्रै बाँडिदो रहेछ।
यहाँ लगभग बिहान ५ बजे नै चर्को घाम लागिसकेको हुन्छ। एम्बेसीको गेट अगाडि थोरै लाइन बसेका थिए। बाँकी सबै जना चर्को घामबाट छेकिन पर्खाल छेउमा बसेका थिए। म पनि लाइन बसेँ। चर्को घामले हिरिक्कै बनायो ज्यान।
बल्ल बल्ल बिहान आठ बजे गेट खुल्यो। गेट खुल्ने बित्तिकै लाइन त कहाँ गयो गयो। आफू बीचमा परिएछ, पछाडिको मान्छे पनि एकै चोटी भित्र छिर्न भनी आए। त्यो हुन्छ नि बाख्रालाई बिहान ढोका खोलिदिँदा एकैचोटी सबै निस्कन खोज्दा कोही पनि बाहिर आउन नसक्ने, हो त्यस्तै भयो। भिडले यस्तो च्यापियो कि झण्डै मेरो सास गयो। अनिकालमा बिऊ जोगाउनू, हुलमुलमा जिउ जोगाउनू भन्ने उखान त सम्झिएको थिएँ। तर सम्झन बाहेक अरु गर्न केही सकिएन।
पछाडिको मान्छेले ठेलेर ल्याएपछि म पनि भित्र छिर्न सफल भएँ। भित्र गएर हेर्दा म भन्दा पछाडि आउने मान्छेहरु सबैभन्दा सुरुमा टोकन लिन पुगिसकेका थिए। आफू परियो लास्ट लास्ट तिर।
धन्न म त अलि अगाडि थिएँ, बिहान चारै बजे आउने मान्छे त मभन्दा पछाडि। टोकन लिएँ।
अब सुरु भयो मेरो फाराम बुझाउने यु्द्ध। मैले सुनेको थिएँ फोटो अन्त खिच्दा त्यहाँ रिजेक्ट हुन्छ भनेर। ठीकै छ भनेर म पनि त्यहीँ छेउछाउको स्टुडियोमा लगभग १५ मिनेट तातो घाममा हिँडेर फोटो खिचाएँ। बिहान लगभग साढे ८ बजेतिर फोटो पनि खिचियो। फोटो स्टुडियोवालाले बिहान साढे १० बजेको टाइम दियो फोटो लिन आउन।
अब फोटो कुर्नुपर्ने भयो। फोटो भर्ने ठाउँमै फाराम भर्ने ठाउँ पनि रहेछ। मैले त आफ्नै अफिसमा भरेको हुनाले फोटो मात्र कुरेर बसेँ। फोटो आयो लगभग ११ बजे अनि फेरि १५ मिनेटको घाममा हिँड्दै एम्बेसीतिर बाटो लागियो।
चर्को घामको के कुरा गर्नु र। हिरिक्क हुँदै पुगियो एम्बेसी। त्यहाँ पुग्दा त मेरो पालो आएर कटिसकेको रहेछ। अनि हत्त न पत्त भित्र छिरेँ।
तलबाट फाराम ठीक छ भनेर पठाएको माथि पुगेपछि फाराम त रिजेक्ट भयो। साइज मिलेन रे। वेबसाइटमा हेरेर आफै भरेको थिएँ। लौ अब फेरि फाराम भर्ने ठाउँमा जानु पर्ने भयो। मलाई फेरि त्यो १५ मिनेटको बाटो चर्को घाममा जानुपर्ने सम्झँदै रिङ्गटा लागेर आयो। त्यहाँ माथि १२ बजेको घाम।
तर गर्ने के, आफू ड्युटी छाडेर आएको छु। फेरि आउँ भन्दा अर्को पल्ट पनि काम छाड्नु पर्ने हुन्छ। अरु उपाय नै छैन।
त्यही भएर लागेँ त्यही बाटो मिनेट फेरि। फाराम भरिदिने ठाउँमा एकदम भिड थियो। अनि मैले फाराम आफै भरेर प्रिन्ट गर्न लगाएँ। प्रिन्ट गरेको मात्र २५ रियाल लियो। त्यो भनेको अहिलेको रेटमा नेपाली ६५० रुपियाँ हुन्छ। टाइम सकिन्छ भनेर हत्तपत्त कुद्दै् एम्बेसी फर्किएँ।
ज्यान त्यसै पनि थकित भइसकेको थियो। बल्ल बल्ल एम्बेसी पुगेँ। अनि फाराम बल्ल ठीक भयो। पास भन्यो। तल हेरेको त लाइनमा अझै बस्नु पर्ने रहेछ। त्यहाँ भित्र एसी त थियो तर भित्र मान्छेको चाप बेसी भएर बाहिरभन्दा भित्र गर्मी हुने रहेछ। कुर्दाकुर्दा बल्ल पालो आयो। पैसा बुझाएँ। मलाई ठूलै युद्ध जिते जस्तो भयो।
बिचरा मभन्दा पछाडि त झन् ४ बजे आउने मान्छे अझै लाइन मै उभिरहेका रहेछन्। म चाहिँ फर्के तर पनि अझै शंका छ कि ४ महिनापछि पासपोर्ट आउँछ कि वेबसाइटमा फाराम मिलेन भनेर नाम आउँछ। पर्खेर बस्नुबाहेक अरु विकल्प पनि त छैन। भगवानसँग प्रार्थना गर्छु कि मेरो फाराम मिलेन भनेर फिर्ता नआओस्। यहाँबाट गएको फाराम अहिलेसम्म २ हजारभन्दा बढी फिर्ता भइसकेका छन् रे। कतिको त्यही एमआरपीका कारण घर जाने प्लान पनि रोकिरहेको छ। भगवानसँग प्रार्थना गर्छु कि त्यस्तो दुःख गरी दुई तीन पल्ट महँगो तिरीतिरी भरेको फाराम फिर्ता नआओस् कसैको पनि।
यो पनि पढ्नुस्-
आम्मै नि, केको लाइन हो यो यस्तो ?
किन एमआरपी प्रिन्ट गर्दा गल्ती हुन्छ ? के छ उपाय गल्ती हुन नदिने ?
एमआरपी भर्दा तपाईँले पनि दूतावासमा यस्तै दुःख पाउनु भएको छ कि ? आफूले भोगेको कुरा माइसंसारमार्फत् बाँड्न चाहनु हुन्छ भने यहाँ क्लिक गरी पठाउनुस्।
देशको आफ्नो गाउ ठाउँको माया त सबैलाइ लाग्छ , मलाई पनि लाग्छ यी र यस्तै कुराहरुले देश छोडी अन्त जाउ जस्तो लाग्छ ,
मैले पनि मलेशिया को दुताबास मा गएर तिन दिन लगाएर युद्द जितेर फारम चै बुझाएर आए /पासपोर्ट चै भाग्य मा लेखेको भए ५/६ महिना मा आउला भन्ने आस छ /
नेपाली हुनु दुर्भाग्य कै कुरा हो कि क्या हो? जहाँ गए पनि नेपाल सरकार र सरकारका कर्मचारीको ब्यबहार त्यस्तै छ/
कतार बस्ने साथीहरुलाई मेरो सानो सुझाव, मैले पनि हालसालै एम आर पी को लागि प्रक्रिया पुरा गरे.
एम्बेसी जानु अघि येसो सुक्रबार घुम्न दोहा तिर आएको बेला नै फर्म भरि राखे एकदम सजिलो हुन्छ. दोहा घुम्न आउने प्राय साथीहरु कोर्निश पुग्ने गर्नु हुन्छ, बाटोमा क्रेजी सिग्नल नजिक (तरवार गेट) SNOW WHITE सुपर मार्केट भएको भवनको माथि डिजिटल स्टुडियो छ जहाँ नेपाली हरुनै छन्, फारम भरेको २० रियाल र फोटो खिचेको २० रियाल लिन्छ सम्पूर्ण कुरा उनीहरुले गरिदिन्छन जस्तै फारम भर्ने ठिक ठाउमा औठाको छाप लगाई दिने, फोटो टास्ने इत्यादी र भिडभाड पनि हुन्न यो काम पहिले सकेर मात्र अरु कुनै दिन एम्बेसी गए धेरै सजिलो हुन्छ.
यसरि सम्पूर्ण तयारी गरेर आरामले एम्बेसी गए आधा झंझट कम हुनका साथै दुख पनि कम पाइन्छ.
हजुर कतार मा मात्र हैन यु ए इ मा पनि तेस्तै हालत छ नेपाली राजदुताबास को तेती चर्को रकम असुलिसकेपछी न त दुताबासका कर्मचारी ले नम्र भएर बोल्छन न त समयमा नै फारम बुझाउन पाइञ्छ . हुदा हुदा ऐले त दुताबास को कम्पाउण्ड भित्र खोलेको दोकान का कामदारले पनि रुखो आवाज निकालेर सोझा साझा दाजुभाइ /दिदि बहिनि लाइ थर्काउने गरेको मैले देखेको छु /अर्को कुरा दुताबासले चर्को मासुल असुल्ने गरेपनि पिउने पानि को जार छ तर गिलास छैन l एउटा सरसफाई गर्ने मान्छे छैन सौचालय सयाद दुताबास सरेपछि एकपल्ट पनि सफाई नगरेको जस्तो भान हुन्छ जब सौच गर्न सौचालय गईन्छ .
म चाही यो युद्ध न लड्ने विचार गरे, अरुको सुन्दै सातो गइ सक्यो । २०१५ को नोवेम्बर सम्म हस्तलिखित राहदानी ले काम गर्छ भन्ने सुनेको छु । नोवेम्बर को पहिलो या दोश्रो साता तिर इक्जिट हानेर निस्कने । भो अब बरु नेपाल मै हलो जोत्ने तर यो मरुभूमि को घाम नखाने । पुग्यो बाबा । नर्क नै काटे जस्तो भो, आफ्नै छोरा छोरि ले चिन्दैनन् । कुन्नि कुन पापको सजाय काट्नु लेखेको रहेछ । धन्यबाद यम.आर.पी. तिम्रो कारण अब नेपालमै बसिएला जस्तो छ ।
नया passport बनाउन मान्छेको फोटो र आबस्यक सूचना जरुरि हो कि , फारम कुन साइजको कागजमा प्रिन्ट गरेको छ , त्यो जरुरि हो ? जुन देशमा दुताबाश छ , त्यहि उपलब्ध हुन सक्ने कागजमा किन यो फारम प्रिन्ट गर्न सक्किन ? कि चै यो सबै आम नेपालीलाई यौटा अर्को दुख दिने यौटा अर्को नाटक हो ? अनि संसार कहाँ बाट कहाँ पुगिसक्यो , कागजमा नै किन फारम भर्नु पर्ने , online भरेको सूचना प्रयोग गर्न सक्किन र ? कि चै नेपालमा passport साखमा कम्प्युटर चलाउन जान्ने मान्छे छैन ? कि चै हामी नेपाली अझै ढुंगे युगमा छौ भनेर संसारलाई चिनाउनु छ ?
हामी नेपालीको सहनशीलताको सिमा नै छैन जस्तो छ (अनाबस्यक थिचो मिचो सहने कुरामा ). लोड शेद्दिंग , खानेपानी शेद्दिंग (बिना पनि को धारामा सुल्क) , भ्रस्टचारी मन्त्रि , अब हुँदा हुँदा त्यत्रो पैसा तिरेर पनि सरकार संग passport को लागि भिख माग्दै छौ ? नेपाली नागरिक हुनु र आबस्यक सुल्क र सूचना दिएपछि हामी नेपाल सरकारको ग्राहक हौ कि भिकारी ?
मैले पनि यहाँ अमेरिकामा ३ पल्ट लगायर युद्ध जिते जस्तो छ यदि पासपोर्ट आयो भने. २ महिना अगाडी पासपोर्ट renew गर्न निकै ठुलो तयारी गर्नु परेको थियो. A4 size को paper बल्ल बल्ल पाइयो amazon.com मा. २ पेजको लागि १ रीम नै किन्नु पर्यो. त्यस पछि ल्याप्चे लगाउने ink pad पनि किनियो. फोटो पनि खिचियो. website मा भनेको जस्तो प्रिन्ट पनि गरियो, $150 को money order बनायर return envelope सहित मेल गरियो. त्यसको २ दिनमा mail delivery भएको थाहा पाइयो tracking number बाट. ५ दिन पछि त मेल पो छ mailbox मा. म त छक्क परे कति चाडो पासपोर्ट बनेछ भनेर. कहाँ हुनु फारम को साइज मिले न छ, फोटो पनि अलि कालो भयो रे. २ वटा printed फारम पनि पठाएको रहेछ. फारम भरियो तर ख्याल गर्दा गर्दै ल्याप्चेले box छोयो, अब परेन फसाद. I compared these new printed forms with mine. There was a little, may be 0.1 inch, shift in my old forms because I was using by-pass feeder in my printer. यो पटक चाही १० प्रति फारम प्रिन्ट गरे र ओरिजिनल संग तुलना गरे. २ वटा मिल्ने छाने. फेरि फोटो खिचियो. फारम मेल गरियो. फेरि फिर्ता फोटो नमिलेर, फोटो अझै कालो भयो अरे. आफु परियो कालो बर्णको कहाँ बाट सेतो फोटो आउनु, This time I shot photos myself and edited using photoshop and made bright and white. Then mailed the package. No news for the last two months. I hope everything is OK. They should have at least let me know they received the application and that is in process. I can see from tracking that the package is delivered. जय नेपाल.
नेपाली दुतावासको यो चाला ठिक लागेन है / संसारकै अत्यन्त गरिब देशका जनतासंग पैसो चै कुस्त (बिकसित मुलुकको पासपोर्ट शुल्कभन्दा महँगो) लिने अनि सामान्य सुबिधा पनि दिन नसक्ने कस्तो लाजमर्दो व्यवस्था हो यो? फारम पनि अनलाइन भर्न सकिने बनाउन कुनै गारो काम होइन, अनि फोटोको लागि: पैसो लिएर दुतावासमै फोटो खिच्ने अथवा डिजिटल फोटोनै पासपोर्टमा प्रिन्ट गर्ने गरे हुदैन? यहाँ त PDF फारम पनि साइज नमिल्ने कागज परेर दुतावास मै फारम लिन जानु पर्ने रे, कस्तो वाहियात कुरा / जनतालाइ कति दुख दिन सकेका? उनीहरुले १५ मिनट समय नदिनाले दुनियाको १५ घण्टा बर्बाद भैराख्या छ / केहि गरम न करमचारी हो /
के गर्नु अभागी जिन्दगी जहाँ गएनी ठकारै ठकर